Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

'अर्को चुनावमा पनि एमाले तथष्टै'

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, साउन ८ (नागरिक) - अहिलेकै राजनीतिक स्थिति कायम रहे नेकपा (एमाले) आगामी १७ गते हुने प्रधानमन्त्रीको चुनावमा पनि तथष्टै रहनेछ। 'अर्को चुनावमा पनि एमाले तथष्टै रहन्छ,' पार्टी प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले शुक्रबार राति नागरिकसँग भने, 'अहिलेकै स्थितिमा हाम्रो पार्टीले मतदानको कल्पना पनि गर्न सक्दैन।'
अध्यक्ष झलनाथ खनालले बहुमतीय सरकार पुनः दुर्घटनाग्रस्त हुने बताउँदै दुई दललाई राष्ट्रिय सहमतिका लागि अव्हान गरिसकेका छन्।
प्रधानमन्त्रीको चयनका निम्ति जहाँबाट बहुमतीय प्रक्रिया सुरु भयो, त्यसलाई अन्त्य गरी त्यही विन्दुबाट सहमतिको सरकार बनाउनतिर लागेमा मात्र एमालेले मतदान गर्न सम्भव रहेको उनले बताए। 'पहिलेकै शून्य स्थितिमा नफर्काइ मतदान गर्न सकिन्न,' उनले भने, 'यसबीच पार्टीले बैठक बसेर अन्यथा निर्णय लियो भने बेग्लै हो, अन्यथा हाम्रो स्थिति यही हो।'

राष्ट्रिय सहमतिका लागि ४ सय १ मत नपुगेर बुधबार प्रधानमन्त्रीबाट उम्मेदवारी फिर्ता लिएको एमालेले बहुमतीय सरकारका लागि कसैलाई सहयोग नगर्ने बताएको छ। एमालेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार शुक्रबार पनि मतदान गरेन।

राष्ट्रिय सहमतिकालागि केन्द्रीय कमिटीले गरेको निर्णयको अडान यथावत रहेको स्थायी कमिटी सदस्य अमृत बोहोराले समेत बताए। माओवादीले दुई तिहाई बहुमत पुर्‍याउने अवस्था आएपछि छलफल गर्न सकिने उनले बताए।

'माओवादीले दुई तिहाई पुर्‍याउने भए सरकार निर्माणका लागि मात्रै मतदान दिने कुरा हुँदैन। त्यससँग जोडिएका शान्ति प्रक्रिया, संविधान निर्माणका विषयहरूमा समेत सहमति हुनुपर्छ', उनले भने।

राष्ट्रिय सहमतिको सरकार हुने सुनिश्चितजस्तै भएको बेला समय अभाव र केही प्राविधिक समस्याले मात्रै नबनेको बताएको एमालाई माओवादीले दुई तिहाई बहुमत पुर्‍याउन सुभेक्षा सहित आफ्नो पार्टीको २ सय ३७ मत दिने लिखित पत्र दिएको थियो।

व्यवस्थापिका सांसद् जिवित रहेकाले 'कार्यसंचालन नियमावली २०६५'लाई संशोधन गरेर राष्ट्रिय सहमति खोज्नुपर्ने एमालेले बताउँदै आएको छ। एमालेको केन्द्रीय कमिटीको निर्णय अनुसार भने अन्तरिम संविधानले व्यवस्था गरेको ३ सय १ बाट सरकार बन्ने मान्यतालाई चुनौति दिंदै ४ सय १ नपुगेसम्म सरकार निर्माण नगर्ने अडान लिएको छ।

खनालको पक्षमा ३ सय ९१ मत पुग्दा समेत उनको उम्मेदवारी फिर्ता भएको थियो। प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्व सरकार बहुमतीय नै भएको र त्यसबाट शान्ति प्रक्रिया र संविधान निर्माण हुन नसक्ने स्थिति देखिएकाले दुई तिहाईबिना सरकारमा नजाने निर्णय गरेको थियो।

तर, एमालेका केन्द्रीय सदस्य योगेश भट्टराईले भने माओवादीले १७ गते हुने चुनावमा दुई तिहाई बहुमत जुटाउन तयार भए पार्टीले सहयोग गर्ने तयारी गरेको दावी गरे। 'दुई तिहाई कसैले नपुर्‍याउँदासम्म हाम्रो अडान यथावत रहन्छ। १७ गते माओवादीले २ तिहाई जुटाउने वातावरण बनाउँछ भने एमालेले मतदान गर्छ', भट्टराईले भने।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
Last Updated ( Saturday, 24 July 2010 09:53 )
onlineversion