विसं २०१९ को चैतमा बी.एस्सीको परीक्षा सकेर आफ्नो गाउँ लमजुङको दुराडाँडा जान लागेको थाहा पाएपछि काठमाडौंबाहिर कहिल्यै नगएका सहपाठी मित्र भाष्कर रिसालले पनि मसँगै पहाड जाने इच्छा गरे। दुराडाँडा पुग्न ६-७ दिनको पैदल बाटो हिड्नु पर्थ्यो। हामी त्रिशुली भएर हुलाकी मूल बाटो हुँदै गएका थियौँ। हिउँद भए पनि बेलाबेलामा पानी परेकाले ठाउँठाउँमा रातो माटोको चिप्लो बाटोमा लड्दैपड्दै गएका थियौँ। दरौँदी नदीको किनार पुगेपछि नदीमा सङ्लो पानी हेर्दा जँघार तर्न सकिने ठान्यौ। अनि, दुवै जनाले सुरुवाल फुकालेर काँधमा हाली नदी तर्ने तयारी गर्यौँ। कहिल्यै यसरी जँघार नतरेका साथीलाई समातेर नदीको छेउको भंगालोमा आधाजस्तो पुग्नै लागेका बेला पारिबाट एक जनाले कराएर भने - 'ए केटा हो मर्न मन छ कि क्या हो? देख्दैनौ माथिबाट भेल आएको? लेक बर्सेको देखेनौ?'


काठमाडौंमा 'गज्जब'को अभियान थालिएको छ। प्रधानमन्त्री बाबुराम भट्टराई दम्पति सडकमा कुचो लिएर निस्केकाले हो कि एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका नेपाली हाकिमले त अति उत्साहमा एसएमएसै गरे- मैले यति सफा काठमाडौं यसभन्दा पहिले कहिल्यै देखेको थिइन। काठमाडौंबाहिर भएकाले ठाने- होला। र उनको एसएमएस फर्काएँ- कतै माओवादीका अरू कार्यक्रमजस्तै प्रचार र पाखण्ड सिद्ध नहोस्।




