Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

हङकङमा सकिँदैछन् घरेलु कामदार

smaller text tool iconmedium text tool iconlarger text tool icon
पूर्ण बस्नेत, हङकङ, मंसिर २८- नयाँले भिसा नपाउने र पहिले आएका पेसाबाट विस्थापित हुने क्रम बढेकाले हङकङमा नेपाली घरेलु कामदार सकिन लागेका छन्। नेपालीलाई भिसा बन्द गर्ने बेला चार वर्षअघि २ हजार महिला घरेलु कामदार रहेकामा अहिले ७ सयमा झरेको छ। घरेलु कामदारका लागि आकर्षक र सुरक्षित मानिने हङकङमा भिसा खुलेन भने एक-डेढ वर्षमै नेपाली कामदार बाँकी रहने छैनन्।

'विदेशी घरेलु कामदारमध्ये हामी थोरै छौं, भिसा खुलेन भने चाँडै सकिन्छौं,' नेपाली घरेलु कामदार युनियन हङकङकी अध्यक्ष माया राई भन्छिन्, 'हङकङमा हाम्रो २० वर्षभन्दा लामो इतिहास मेटिनु राम्रो होइन।'

हङकङले भिसा बन्द गरेकाले २००५ यता नेपाली महिला घरेलु कामका लागि यहाँ आउन पाएका छैनन्। हङकङस्थित कार्यवाहक नेपाली महावाणिज्यदूत सुशील लम्सालका अनुसार यहाँ घरेलु कामदारले दुई वर्षको भिसा पाउँछन्, त्यो अवधि सकिएको दुई हप्ताभित्र कि पुरानै मालिकसँग नवीकरण गर्नुपर्छ कि नयाँ खोजेर सम्झौता गरिसक्नुपर्छ। दुई हप्ताभित्र काम नखोजे घर फर्कनुको विकल्प रहँदैन।

अन्य देशका कामदार घर फर्के पनि काम खोजेर आउन सक्छन् तर भिसा बन्द भएकाले नेपाली आउन पाउँदैनन्। घरेलु कामदारको भिसामा आएकामध्ये धेरै नेपाली महिलाले यहींका नेपालीसँग विवाह गरेर हङकङ परिचयपत्र लिएका छन्। भिसा सकिएका केही शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (युनएचसिआर) मा शरण दाबी गरेर बसेका छन् भने फाट्टफुट्ट घर फर्कने पनि छन्।

हङकङमा घरेलु कामदारको प्रमुख स्थान इन्डोनेसिया र फिलिपिन्सले ओगेटेका छन्। अघिल्लो वर्षसम्म फिलिपिन्सले सबभन्दा बढी महिला कामदार पठाउँथ्यो भने अहिले इन्डोनेसियाले ३/४ हजारले उछिनेको छ। अध्यागमन विभागले हङकङमा १ लाख ३० हजार ९ सय ७४ इन्डोनेसियाली कामदार रहेको जनाएको छ जुन यहाँका विदेशी घरेलु कामदारको ४९ प्रतिशत हो। यसबाहेक थाइल्याण्ड, भारत, चीन र नेपालका घरेलु कामदार छन्।

इन्डोनेसिया, फिलिपिन्सका अधिकांश कामदार तालिम लिएर आउँछन् र सजिलै काममा भिज्न सक्छन्। घरेलु कामका लागि आउने अधिकांश फिलिपिनोले स्नातक पढेका छन् र उनीहरू राम्रो अंग्रेजी बोल्न सक्छन्। इन्डोनेसिया सरकारले क्यान्टोनिज भाषा तालिम दिएर पठाउने र चिनियाँको रोजाइमा पर्ने भएकाले उनीहरूको संख्या धेरै भएको हो। तालिम र भाषा अभावले गर्दा नेपाली कामदार कमजोर ठानिन्छन्। नेपालीका लागि भिसा बन्द हुनुमा अदक्ष कामदार पनि एउटा कारण मानिएको छ।

मेहनत गरेर सिक्ने र इमान्दार स्वभावले मात्र नेपालीले चिनियाँको विश्वास जित्न सकेका छन्। ७ सयमध्ये करिब ५ सय नेपाली अनुशासित मानिने चिनियाँको घरमा काम गर्छन्। 'हामी राइसकुकर चलाउन नजान्ने वा वासिङ मेसिन नै नदेखेको अवस्थामा आउँछौं,' १४ वर्षदेखि चिनियाँको घरमा काम गर्ने क्रममै भाषा सिकेकी राई क्यान्टोनिज अर्थ्याउँदै भन्छिन्, 'तर चिनियाँहरू- लोफोइयान हौ लौसात (जाँगरिला हुन्छन्) भनेर मन पराउँछन्।'

सरकारले घरेलु कामदारका लागि न्यूनतम ३ हजार ५ सय ८० हङकङ डलर (करिब ३५ हजार रुपैयाँ) तलब तोकेको छ। नेपालीलगायत कतिपय कामदारले तोकिएको तलब नपाउने गुनासो गर्दै आएका छन्। युनियनकी उपाध्यक्ष शोभा लामाका अनुसार भारतीय र नेपालीको घरमा काम गर्नेबाट बढी समय काममा लगाउने, सुत्ने खाने व्यवस्था राम्रो नहुने, कहिलेकाहीं कुटपिट र यौन शोषण गर्न खोजेका गुनासा आउने गरेका छन्। 'कानुनको शासन कडा भएकाले तत्काल श्रम विभागमा गएर समस्या सुल्झाउने गरेका छौं,' उनी थप्छिन्।

खाडी मुलुकका तुलनामा घरेलु कामदारका लागि हङकङ निकै सुरक्षित र इज्जतिलो भएको महिला कामदारको अनुभव छ। 'अपहेलित महसुस गरेका छैनौं,' छुट्टीको दिन आइतबार लिम्बु पहिरनमा साथीहरू भेट्न निस्केकी कल्पना तुम्रोक भन्छिन्, 'घरको काम पनि राम्रो हुन्छ भन्ने यहाँ आएर सिकियो।'

नेपाली मूलका दार्जिलिङ-सिक्किमका महिलाले अहिले नेपालीको ठाउँ ओगट्न थालेका छन्। नेपालीले पनि नेपाली मूलका भारतीय महिलालाई राख्न थालेका छन्। भिसा खुल्ने आस मर्दै गएपछि नेपाली महिलासमेत नक्कली भारतीय पासपोर्ट बनाएर घरेलु कामदारको भिसामा हङकङ छिर्न थालेका छन्। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

प्रवास

Nagarik Offer