Thursday 6 Kartik, 2071 |
Menu

प्रवास

एडमन्टन बसाइँ सर्दै क्यानडाका नेपाली

  • आइतबार १५ बैशाख, २०७०
  • यम घिमिरे
  • DISQUS_COMMENTS
(4 votes)

एडमन्टन (क्यानाडा) – क्यानाडाका नेपाली कामको अवसर र राम्रो जीवनशैलीको खोजीमा विभिन्न राज्यहरुमा फैलने क्रमसँगै पश्चिम क्यानाडातिर बसाइँ सर्न थालेका छन्। विशेषगरी क्यानाडाको मध्यपश्चिमी राज्य अल्बर्टाको प्रान्तीय राजधानी एड्मन्टनमा एक वर्षयता सिधै नेपालबाट आउने र आन्तरिक बसाइँ सराइबाट आउने नेपालीहरुको बसोबास बाक्लिएको छ।

शिशु स्याहार केन्द्रमा बच्चा राखेर दुवैजना काममा जान पाउनु, कामका अबसरमा अलिक बढी छनोट हुनु, आम्दानी चार दाम बढी नै हुनु र वस्तु तथा सेवामा लाग्ने प्रान्तीय कर टोरन्टोको १३ प्रतिशतको तुलनामा यहाँ ५ प्रतिशत मात्रै हुनु एडमन्टन बसाइँ सर्नुका आकर्षण हुन्।
सुरुमा नेपालबाट आउँदा धेरै नेपालीहरु बस्ने क्यानाडाको सबैभन्दा ठूलो र आधुनिक जीवनशैली र सभ्यताले चमकदार पूर्वदक्षिणी सहर टोरोन्टो नै सबैजसोको रोजाइमा पर्छ। बस्दै गएपछि ठूलो र अधिक आबाद भएको टोरन्टो सहरका सीमितताहरु बुझ्न समय लाग्दैन्। रोजगारमा चर्को प्रतिस्पर्धा, कम अवसर र धेर मानव संसाधन, बढ्दो महँगीका कारण पनि नेपालीहरुले अन्यत्र आँखा लगाउन थालेका हुन्। ओत र पहिरनका आधारभूत खजाना, सहरिया जीवनले पत्र मन्जुसामा तान्ने अनेकथरि बिलभौचरको थिचाइले कमाइ सकिन थालेपछि विकल्पको रुपमा नेपाली एमन्टनतिर लागेका हुन्।  देशमा हुँदा सोचेजस्तो र अहिले उता हुने परिवार इष्टमित्रले ठाने जस्तो आहा ! क्यानडा भन्ने खालको स्थिति पटक्कै छैन। टोरोन्टोमा दुई वर्षदेखि बस्दै आएका र अब पश्चिम सर्ने तयारीमा लागेका एकजना नेपालीले आफ्नो फेसबुक स्टाटसमा भर्खरै टाँसेका यी दुई हरफे प्रश्नवाचकले धेरै कुरा कहन्छन्-

"यताउति कतै पनि रुखमा पैसा फलेको छ र हजुर ?

दुई चार थोपा पसिना धुलोमा नझारी चुलोमा आगो बलेको छ र हजुर ?"

नेपालीहरु क्यानाडामा बस्न थालेको इतिहास ४० बर्ष पुरानो हो भनिन्छ। तर सन् २००८ यता क्यानाडा सरकारको दक्ष जनशक्तिलाई स्थायी बसोबासको भिजा दिएर संसारैभरिबाट उच्च जनशक्तिलाई आफ्नो देशमा तान्ने नीतिको फाइदा लिंदै थुप्रै विश्वविद्यालयका उत्पादन नेपालीहरु लालाबालासहित यता बस्न आएपछि क्यनडामा नेपाली डायस्पोरा फैलिएको हो। टोरन्टो, अटवा, भ्यानकुभर, एडमन्टन, मन्ट्रियल, विनिपेगमा छरिएर बसेका नेपालीहरुको सङ्ख्या २० हजारको हाराहारी रहेको अनौपचारिक तथ्यांक छ।

पहिले नै आएका र यहाँको जनशक्तिको आव्यश्यकतालाई पूरा गर्ने प्राबिधिक शिक्षा लिएकाहरुले सरकारी पेशा लगायत अन्य निजी क्षेत्रमा राम्रै हैसियत बनाइसकेका छन्। नयाँहरूमा कोही पढ्न जाने, कोही पढिसकेर जागिर खाने, कति तत्काल काममा पहुँच दिने कार्यमूलक तालिम लिएर काममा जाने, कोही के पढ्ने र के नपढ्नेको अन्योलमा रहने र कोही चुपचाप काम गरेर दामको जोहो गर्नेहरु छन्।

विकसित देसको विकसित अपेक्ष्या, भिन्न काम गर्ने शैली र संस्कार, भाषा र अन्य सामाजिक मूल्य पद्धतिलगायतका नयाँपनहरुमा एकैचोटी हाम्फाल्न क्यानडा आइपुगेका नेपालीहरुले समायोजनका अनेक कठिनाइसँग जुध्नु पर्छ अन्य पराई भूमिमाजस्तै ।

'टोरन्टोको तुलनामा कामका छनौटहरु अलिक बढी छन् यहाँ, अनि आम्दानी पनि केही माथि नै हो कि जस्तो' टोरन्टोबाट ८ महिना अघि सरेका झापाका कृष्ण उप्रेती भन्छन्। 'पोहोर मेदेखि यता झन्डै १ सय २५ नेपाली परिवार टोरन्टो क्षेत्रबाट यहाँ आए, र यो क्रम निरन्तर छ छिट्टै रोकिने देखिदैन' पहिले नै टोरन्टोबाट यहाँ आएर पछि आउने धेरै नेपालीलाई डेराडन्डा मिलाउन सघाएका उदयपुरका पेशल बाँस्तोलाले भने। 'हामी हिजो नयाँ ठाउँमा सरेका, काठमाडौँबाट कतार गए जति नै टाडा पहिलेको ठाउँबाट' भर्खर टोरन्टोबाट सरेकी बाला रिजालले आफ्नो ४ घन्टे पश्चिम उडानको बखान गरिन फोनमा पाँचथर बस्ने आमालाई।

पछिल्लो समय नेपालीलाई तानिरहेको एडमन्टन क्यानाडाका ३ घाँसे मैदानका राज्य(The Prairies) भनेर चिनिने मनिटवा, कास्काचेवन र अल्बर्टामध्ये अल्बर्टाको राजधानी हो। ध्रुबीय हावापानीको प्रत्यक्ष प्रभाव आइपुग्ने यहाँको मौसम हिउँदमा अति नै चिसो हुन्छ। हिउँदमा औसत -४६ डिग्रीसम्म र ग्रिष्ममा अधिकतम् ४० डिग्रीसम्म तापक्रम हुने एडमन्टन उस्तै परे बैसाखका दिनमा टाउकामा हिउँ बर्सिने ठाउँ हो। विशाल भूगोल र प्रति वर्ग किलोमिटर एक जना भन्दा कम जनघनत्व भएको यो राज्य तीब्र आर्थिक प्रगति गर्दै अघि लम्किरहेको मानिने भएर आप्रवासीका लागि अवसर खोज्ने थलो जस्तो भएको छ। वर्षमा ६ महिना भन्दा बढी बाटोघाटो चोकबजार हिउँको थुप्रोले ढाक्ने एडमन्टन सहरमा हिउँदे जीवनचर्या गृष्मको तुलनामा निक्कै कष्टकर मानिन्छ। मध्य अप्रिलबाट बिस्तारै वनबुट्टाले पालुवा फेर्न थाल्ने र वरपर हरियाली छाउने भएकाले न्यानो मौषमको उन्मत्त बषन्ति जीवनशैली सबैको व्यग्र प्रतिक्षाको कुरा हुन्छ यहाँ। सन् २०१२ को तथ्यांकअनुसार कुल जनसंख्या ८,१७,९९८ हो एडमन्टनको जुन बिगत ५ वर्ष यता धेरै भन्दा धेरैलाई आफ्नो भूमिमा तान्ने राज्य सरकारको नीतिको परिणाम हो। परिवारको आम्दानी हेरी शिशु स्याहार केन्द्रमा बच्चाराख्नेलाई सतप्रतिसतसम्म खर्च अनुदान दिएर सकेसम्म बाबुआमा दुवैलाई काम गर्न प्रेरित गरेको छ राज्यले जसको फाइदा नेपाली परिवारले पनि राम्ररी लिएका छन्।

शिशु स्याहार केन्द्रमा बच्चा राखेर दुवैजना काममा जान पाउनु, कामका अबसरमा अलिक बढी छनोट हुनु, आम्दानी चार दाम बढी नै हुनु र वस्तु तथा सेवामा लाग्ने प्रान्तीय कर टोरन्टोको १३ प्रतिशतको तुलनामा यहाँ ५ प्रतिशत मात्रै हुनु यहाँ बसाईं सरेर आउनुका आकर्षण हुन्।