बैठकले तयारी समितिको सह संयोजकमा वेदप्रसाद खरेल (न्यूयोर्क) लाई नियुक्त गर्ने यस अघिको निर्णयलाई अनुमोदन गरेको छ। यसैगरी समितिको सदस्य सचिवमा अर्जुन बञ्जाडे (टेक्सास)लाई जिम्मेवारी दिइएको संयोजक जीसीले गर्नुभएको प्रस्तावलाई पनि अनुमोदन गरेको छ। बैठकले आगामी मार्च महिनाको २० तारिखभित्र साधारण तथा क्रियाशील सदस्यता वितरण तथा नेपाली काँग्रेसका शुभेच्छुकहरु छरिएर रहेका अमेरिकाका सबै राज्यस्तरका स्थानीय च्याप्टर तहको अधिवेशन सम्पन्न गर्ने र सोही मितिभित्रै महाधिवेशन प्रतिनिधिहरुको चयन सम्पन्न गर्ने सर्वसम्मत निर्णय गरेको छ।
समितिको केन्द्रीय महाधिवेशन मार्च महिनाको २७ र २८ तारिख सम्पन्न गर्ने निर्णय समेत गरिएको छ। महाधिवेशन स्थान आगामी बैठकबाट घोषणा गर्ने सहमति भएको छ।
बैठकले आइतवारका मितिदेखि लागू हुने गरी १० दिनभित्र अन्तरिम मस्यौदा विधान तयार गर्न समितिका सदस्य सुशील अधिकारी (टेक्सास) लाई संयोजक तोकी जिम्मेवारी सुम्पेको छ। यसैगरी अमेरिकाभर छरिएर रहनुभएका काँग्रेस शुभेच्छुकहरुलाई तत्काल सदस्यता लिईदिन आग्रह गर्ने निर्णय गरेको छ। यसका लागि तीन वर्षे साधारण सदस्य बहाल रहने गरी विद्यार्थीलाई एकमुष्ठ २० अमेरिकी डलर र अन्यलाई एकमुष्ठ ३० अमेरिकी डलर साधारण सदस्यता शुल्क निर्धारण गरिएको छ। पार्टीको क्रियाशील सदस्यताका लागि आवेदन शुल्क २५ डलर र पार्टीको भवन निर्माण समितिमा जम्मा हुने गरी क्रियाशील सदस्यता फारामसँगै स्वेच्छिक चन्दा संकलन गर्ने निर्णय समेत गरिएको छ।
महाधिवेशनलाई व्यापक र भव्यरुपमा सम्पन्न गर्नका लागि आईतवारको बैठकले चित्रा केसी (मेरिल्याण्ड)को संयोजकत्वमा सदस्यता तथा संगठन उपसमिति, धर्मराज श्रेष्ठ (कोलोराडो) को संयोजकत्वमा आर्थिक उपसमिति, गौतम दाहाल (मेरिल्याण्ड) को संयोजकत्वमा सूचना तथा प्रचार प्रसार उपसमिति, रबिन्द्र राई (क्यालिफोर्निया)को संयोजकत्वमा सामाजिक,सांस्कृतिक एवं अल्पसंख्यक मामिला सम्बन्धी उपसमिति,प्रभा शर्मा (मेरिल्याण्ड)को संयोजकत्वमा महिला उपसमिति, कृष्ण पोखरेल (न्यूयोर्क) को संयोजकत्वमा युवा तथा विद्यार्थी परिचालन उपसमिति र भगवान मैनाली (टेक्सास)को संयोजकत्वमा अभिनन्दन तथा सम्मान उपसमिति गठन गरेको छ। साथै महाधिवेशन तयारी समितिको कार्यालय न्यूयोर्कमा राख्ने निर्णय समेत गरिएको छ।
बैठकको आरम्भमा संयोजक जीसीले हालैको आफ्नो नेपाल भ्रमणको क्रममा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालगायत कार्यवाहक सभापति सुशील कोइराला,संसदीय दलका नेता रामचन्द्र पौडेल,पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता शेरबहादुर देउवा,सहमहामन्त्री एवं पार्टी प्रवक्ता अर्जुननरसिंह केसी,केन्द्रीय सदस्य डाक्टर रामशरण महतलगायतका केन्द्रीय नेताहरुसँग भेटघाट तथा जनसम्पर्क समितिको महाधिवेशनका बारेमा छलफल भएको जानकारी दिए। उनले पार्टी सभापति कोइरालाको सन्देश भन्दै तयारी समितिमा रहनुभएका र अमेरिकाभर छरिएर रहेका काँग्रेस शुभेच्छुकहरुप्रति पार्टी नेतृत्वले संगठन निर्माण र विस्तारमा महत्वपूर्ण योगदानको अपेक्षा राखेको सन्देश सुनाए। सभापति कोइरालाले अमेरिकामा रहेका पार्टीका साथीहरुलाई जिम्मेवार र अनुशासित भएर संगठन सुदृढ गर्न निर्देशन दिएको बैठकमा जीसीले जानकारी गराए। सभापति कोइरालाले अमेरिकामा हुन लागेको समितिको महाधिवेशनले काँग्रेस शुभेच्छुकहरुलाई विगतका तिक्तताहरु भुलेर सुदृढ एकताको सन्देश प्रवाह गर्न सफलता प्राप्त होस् भन्ने सन्देश दिनुभएको संयोजक जीसीले बताए।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





