काठमाडौँ, पुस १२ (नागरिक)- अमेरिकाको बोस्टन सहरस्थित टेडस्ची फुड स्टोरमा काम गर्ने सुरेन्द्र डंगोलको शनिबार गोली हानी हत्या गरिएको छ। ४० वर्षीय डंगोललाई स्थानीय समय अनुसार दिउँसो ४ बजे अज्ञात व्यक्तिले गोली हानेका थिए।
छातीमा गोली लागेका डंगोलको घटनास्थलमै मृत्यु भएको थियो।
मृतक डंगोलको शवलाई ब्रिंघम एण्ड उमन्स् हस्पिटलमा राखिएको बोस्टननिवासी उत्तमबाबु श्रेष्ठले जनाए। उनका अनुसार ४ वर्ष अघि डिभी भिसामा अमेरिका आएका डंगोल पछिल्लो पटक नेपालमा दशैँ मनाई अक्टोबर २२ मा अमेरिका फर्केका थिए।
पाकिस्तानी मूलका व्यापारीद्वारा सञ्चालित उक्त स्टोरमा गएको हप्तादेखि मात्रै काम शुरु गरेका थिए। साँखु मूल घर भएका उनको परिवार हाल वनस्थली काठमाडौंमा बसोबास गर्छन्। उनकी श्रीमती र एक छोरी अमेरिका आउने तयारीमा थिए।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भए पनि हालसम्म गोली चलाउने र उसको उद्देश्यबारे केही थाहा पाउन नसकेको बोस्टनहेराल्डले जनाएको छ।
आगलागीमा एक नेपालीको मृत्यु
यसैबीच, दक्षिण कोरियाको एक मोटलमा आज आइतबार आगलागी हुँदा एक नेपालीको मृत्यु भएको छ। प्रहरीलाइ उद्धृत गर्दै कोरियाको राष्ट्रिय समाचार एजेञ्सी योनहापले जनाए अनुसार बिहान ३ बजेर ५१ मिनेट जाँदा चुङनाम प्रान्तको सोसानमा रहेको परम्परागत मोटलमा आगलागी भएको हो। आगलागीमा एक नेपालीसहित अन्य तीनजनाको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते छन्।
नेपाली सम्पर्क समिति कोरियाका अध्यक्ष डेबिट राईका अनुसार मृत्यु हुने नेपालीको नाम श्यामबहादुर गुरुङ रहेको पत्ता लागेपनि थप जानकारी आइसकेको छैन। गुरुङ सन् २००० मा कोरिया प्रवेश गरेका थिए। पछिल्ला महिनाहरुमा उनी त्यही मोटलमा बसी चुङचङनाम क्षेत्रकै निर्माण कम्पनीमा कार्यरत थिए।
प्रहरीका अनुसार आगलागीको कारण पत्ता लाग्न सकेको छैन। प्रारम्भिक अनुसन्धानबाट आगलागीको कारण इलेक्ट्रिक सर्ट सर्किट हुन सक्ने देखिन्छ।
यही डिसेम्बर ११ मा ट्याक्सीभित्रै मृत फेला परेका अर्का नेपाली नागरिक कर्ण बहादुर थापाको आइतवारनै अन्त्येष्टी गरिएको छ । परिवारको सहमती अनुरुप मृतकको अन्त्येष्टी कोरियाको फेक्छे अन्त्येष्टी गृहमा गरिएको हो।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



