अनुसन्धानका क्रममा न्यु दाहाल बिजनेस इन्टरप्राइजेज र न्यु टिना इन्टरप्राइजेजका नामबाट हङकङका बैंकमा रकम जम्मा भएको फेला परेको उच्च समाचार स्रोतले बतायो।
उच्च स्रोतका अनुसार हङकङका कृषि विकास बैंक चाइना, बैंक अफ इन्डिया हङकङ, चाइना मर्चेन्ट बैंक, एचएसबिसी, इन्डष्ट्रियल एन्ड कमर्सियल बैंक, सेनजेन डेभलपमेन्ट बैंक, बैंक अफ लिम्बो र हाङस्याङ बैंक लिमिटेडमा ५ करोड ८१ लाख अमेरिकी डलर जम्मा गरेको फेला परेको हो।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले गरेको अनुसन्धानले तिब्बतबाट ऊन र अन्य सामान आयात गर्ने बहानामा आठ अर्ब रुपैयाँ अपचलन गरी विदेश पलायन भएको आशंका गरेपछि राजस्व अनुसन्धान विभागले थप अनुसन्धान गरिरहेको छ। यसक्रममा दुई फर्मको कारोबारमाथि अनुसन्धान जारी छ भने एक पक्राउ परेका छन्।
न्यु दाहालले हिमालयन बैंकबाट १ लाख ५७ हजार र नेपाल इन्भेस्टमेन्ट बैंकबाट १ लाख ७४ करोड अमेरिकी डलर अपचलन गरेको फेला परेको छ। टिना इन्टरप्राइजेजले हिमालयन बैंकबाट १ लाख ४८ हजार र इन्भेस्टमेन्ट बैंकबाट १ लाख २ हजार अमेरिकी डलर अपचलन गरेको पाइएको छ। यस्तै टिना इन्टरप्राइजेजले नै बैंक अफ काठमाडौंबाट २ करोड ६२ लाख रुपैयाँको कारोबार गरेको देखिएको छ। तर, यो कारोबारबाट विदेशी मुद्रा अपचलन भए/नभएको पुष्टि भएको छैन।
'दुई फर्मबाट मात्र यति ठूलो रकम अपचलन भएको देखिएपछि यो प्रकरणमा आठ अर्बभन्दा पनि बढी रकम विदेश पलायन भएको हुनसक्ने थप आशंका गरिएको छ,' उच्च समाचार स्रोतले भन्यो, 'अनुसन्धान गर्दै जाँदा रकम पनि अनुमान गरिएभन्दा बढ्दै गएको छ।'
अहिले ४० हजार डलरभन्दा बढी रकमको कारोबारमाथि मात्र अनुसन्धान गरिएकाले रकम थप हुने सम्भावना देखिएको हो। '१० हजारभन्दा माथिका अधिकांस कारोबारमाथि अनुसन्धान गर्दा रकम धेरै बढी हुने संभावना बढेको छ,' स्रोतले भन्यो।
अनुसन्धान विभागले यसअघि नै दाहाल इन्टरप्राइजेजका प्रोपाइटर पदमबहादुर राउतलाई विदेशी मुद्रा अपचलनमा संलग्न रहेको देखिएपछि पक्राउ पुर्जी जारी गरेको थियो।
अनुसन्धानकै क्रममा टिना इन्टरप्राइजेजका प्रोपाइटर लालबहादुर गुरुङले पनि विदेशी मुद्रा अपचलन गरेको फेला परेको छ। विभागले आइतबार नै उनलाई पक्राउ पुर्जी जारी गरेको छ। तर, सोमबारसम्म उनीहरू दुवै पक्राउ परेका छैनन्। विभागले दाहाल इन्टरप्राइजेजसँग कारोबार गर्ने व्यवसायी नारायण पौडेललाई भने पक्राउ गरी बयान लिइरहेको छ। उनले तिब्बती महिलासँग विवाह गरेको देखिएको छ। विभागले गुरुङ र राउत दुवैको बैंक खाता रोक्का गरेको छ।
'दुई वटा फर्मको एकै प्रकृतिको काम देखिएकाले मूल व्यक्ति एउटै भएको हुनसक्ने आशंका छ,' स्रोतले भन्यो, 'हामी त्यसैको नजिक पुग्ने प्रयासमा छौं।'
भन्सार, बैंक र व्यवसायीको मिलेमतोमा विदेशी मुद्रा अपचलन गर्ने काम भएको प्रारम्भिक अनुसन्धानले देखिएकाले यसतर्फ पनि थप अनुसन्धान सुरु गरिएको छ।
'कारोबारको प्रवृति हेर्दा व्यापारीसँग भन्सार र बैंक कर्मचारीको मिलेमतोमा काम भएको देखिन्छ,' स्रोतले भन्यो, 'प्रज्ञापनपत्र, बैंक धरौटी र भन्सार तिरेको रसिद सबै नक्कली हुँदा पनि बैंकले रकम दिएको छ। पटक- पटक दोहोरिएको यस्तो काम मिलेमतोबिना हुन सक्दैन।' यस्तै प्रज्ञापनपत्रमा भन्सार प्रमुखको हस्ताक्षर पनि सक्कली जस्तै देखिएकाले भन्सार कर्मचारीमाथि पनि आशंका गरिएको हो।
दुबै फर्मले तिब्बतबाट सामान मगाएको नक्कली प्रज्ञापनपत्र र राजस्वको भौचर पेस गरेर बैंकहरूबाट टिटी र ड्राफ्ट लिने गरेका थिए। तर, चालू आवको ६ महिनासम्म उनीहरूले कुनै पनि सामान भन्सारमार्फत् आयात गरेको फेला परेको छैन।
अर्थमन्त्री सुरेन्द्र पाण्डेले यो प्रकरणमा सरकार गम्भीर रहेको बताइसकेका छन्। यसबारे छानबिन गर्न निर्देशन गइसकेको र गल्ती गर्नेलाई कडा कारबाही गरिने उनले गत बिहीबार नागरिकलाई बताएका थिए।
राष्ट्र बैंकले पनि ड्राफ्ट र टिटीको दुरुपयोग भएको देखिएपछि तिब्बतबाट कुनै पनि व्यवसायीलाई उधारोमा सामान ल्याउने सुविधा रोकेको छ। यसअघि १० प्रतिशत रकम धरौटी राखेर व्यवसायीले उधारोमा सामान ल्याउने व्यवस्था थियो। सामान ल्याएपछि भन्सारको प्रज्ञापनपत्र र भन्सार तिरेको रसिदका आधारमा बैंकहरुले बाँकी रकम भुक्तानी दिन्थे। तर, व्यवसायीले सामान आयात गर्ने निहुँमा प्रज्ञापनपत्र र रसिद दुवै नक्कली बनाई रकम हङकङ पठाएपछि बैंकले यस्तो नीति बनाएको हो।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



