इराकका नेपाली फर्कने तयारीमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
मणि दाहाल, काठमाडौं, साउन १०- अमेरिकी सेन्टर कमान्डको निर्देशनपछि इराकमा रहेका नेपाली कामदारले स्वदेश फर्कने तयारी सुरु गरेका छन्। कमान्डले नेपाली र फिलिपिनी कामदारलाई साउन २४ भित्र इराक छाड्न निर्देशन दिइसकेको छ।

  अमेरिकी सेनाको सहयोगका लागि कम्पनी नियुक्त गर्ने निकायले २० दिनभित्र त्यस्ता सबै कामदार हटाउन मंगलबार चेतावनी पत्र पठाएको थियो।

इराक प्रवेशमा लगाएको प्रतिबन्ध नहटाएकाले फकुनुको विकल्प नभएको राजधानी बग्दादबाट १७ किलोमिटर उत्तरको ताजीस्थित अमेरिकी सैनिक शिविरमा काम गर्दै आएका तुलसी श्रेष्ठले फोनमा बताए। 'सबै सामान प्याक गरिसकें,' श्रेष्ठले नागरिकलाई भने, 'जति बेला इराक छाड् भन्छ, फर्कन तयार भएर बसेको छु।'

काठमाडौं कोटेश्वरका श्रेष्ठले पितासँग चार वर्षदेखि इराकमा अमेरिकी सेनालाई बस्तोबस्तीमा सघाउने र्‍याडिसेन म्यानेजमेन्ट सपोर्टमा काम गर्दै आएका छन्।
श्रेष्ठका अनुसार ताजी शिविरमा मात्रै १ हजार ७ सय नेपालीका साथै भारत, पाकिस्तानी, बंगलादेशी, युरोपेली र अफ्रिकी राष्ट्रका कामदार छन्।

नेपाल सरकारले प्रतिबन्ध फुकुवा नगरे सेन्टर कमान्डको निर्णय काट्न नसक्ने कम्पनीले बताइसकेको छ। 'कम्पनीले नेपाल सरकारले केही गर्छ कि भनेर पर्खन भनेको छ,' उनले भने, 'देशभित्र रोजगारीको अवसर नभएर जोखिम मोलेर आयौं। शान्ति सुरक्षाको अवस्थामा पनि सुधार आएकाले यसरी प्रतिबन्ध लगाइरहनुको औचित्य छैन।'

सार्क क्षेत्रमा इराक रोजगारीका लागि प्रतिबन्ध लगाउने मुलुक नेपाल मात्रै हो। चार साताअघि भारतले इराकमाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ।

एउटा आतंककारी संगठनले २०६१ भदौमा १२ नेपाली कामदारको अपहरण र हत्या गरेको घटनापछि सरकारले नेपालीलाई इराक प्रवेशमा रोक लगाएको थियो। सरकारी प्रतिबन्धले पनि रोजगारीका लागि जाने क्रम रोकिएको छैन।

तेस्रो मुलुक भएर हजारौं नेपाली रोजगारीका लागि इराक पुगेका छन्। यसरी गैरकानुनी रुपमा रोजगारीका लागि इराक पुगेका नेपालीको संख्या ३० हजारभन्दा बढी रहेको अनुमान छ।

इराकमा रोजगारी गर्न जाने विषय नेपालीबीच नौलो कुरा नभए पनि श्रममन्त्री मोहम्मद अफताव आलमले प्रतिबन्धित मुलुकमा कसरी त्यति धेरै नेपाली पुगे भन्नेबारे सरकार आश्चर्यचकित भएको बताएका छन्।

'उनीहरुको उद्धारमा के गर्न सकिन्छ भनेर एक, दुई दिनभित्रै निर्णय गरिहाल्छौं,' उनले आइतबार बीबीसी नेपाली सेवासँग भने, 'इराकको प्रतिबन्धबारे निर्णय गर्न सरकार तयार छ।'

नेपाली फर्काइँदै छ भन्ने समाचार शुक्रबार नागरिकमा प्रकाशित गरेपछि सूचना संकलन र छलफल सुरु गरिएको मन्त्रालयले जनाएको छ। श्रम मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले भने, 'शुक्रबार र आइतबार सूचना संकलन गरेर त्यसबारे छलफल थालेका छौं।'

इराकमा छरिएर रहेका अमेरिकी शिविरहरुमा बहुराष्ट्रिय कम्पनीमार्फत नेपालीले सुरक्षा गार्ड, भान्से, वेटर, चालक, सिकर्मी, प्लम्बर, सामान्य कामदारदेखि सूचना प्रविधि कार्यालयको अधिकृतस्तरसम्मका रोजगारी गरिरहेका छन्। उनीहरुले ५ सय ३० अमेरिकी डलरदेखि ४ हजार ५ सय अमेरिकी डलर कमाउँदै आएका छन्।

प्रतिक्रियाहरू (1)Add Comment
0
ankit lwagun
July 27, 2010
208.79.15.146
भोट: +0
...

नेपाली सम्पूर्ण दाजुभाईहरुलाई के कुरा अवगत गराउन चाहन्छु भने यो चुप लागेर बस्ने बेला होइन। यो केही गर्नुपर्ने बेला हो।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ