लेखनाथ पाण्डे, काठमाडौं, साउन १३- सरकारले इराकमा कार्यरत नेपालीमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवाको निर्णयसँगै यसको कार्यान्वयनमा गम्भीर प्रश्न उब्जेको छ: नेपाली राहदानीमा छापिएको ‘नट भ्यालिड टु ट्राभल टु इराक फर वर्क' (इराकमा काम गर्ने यात्राका लागि मान्य नहुने)' वाक्यांश कसरी सच्याउने?
‘अवैध रूपमा इराकमा रोजगारीका लागि जाने प्रवृत्ति रोक्न राहदानीमै यस्तो लेखिएको हो,' परराष्ट्रका एक अधिकृतले भने, ‘कुनै घटनापछि गरिएको निर्णय राहदानीमा राख्नु गलत थियो।'
उनका अनुसार नेपाली कामदार इराक जान प्रतिबन्ध लगाइएपछि राहदानीमा ‘नट भ्यालिड' छाप्नु-सट्टा हातैले या छाप लगाएर सोही वाक्य लेखेको भए उपयुक्त हुन्थ्यो। परराष्ट्रले चैत १९ देखि एमआरपी जारी गर्न असफल भएयता साबिक राहदानीमा हातैले ‘दिस इज नट मेसिन रिडेबल पासपोर्ट' लेखेर जारी गर्दै आएको छ।
‘तत्कालीन अवस्थामा आवश्यक ठानेरै त्यस्तो वाक्य लेख्ने निर्णय भएको हुनुपर्छ,' परराष्ट्र सचिव मदन भट्टराईले नागरिकसँग भने, ‘यस्ता राहदानीलाई यथाशीघ्र संशोधन गर्छौँ।'
इन्डोनेसियाको पिटिपुरा कम्पनीले साबिक राहदानी आपूर्ति गरेको हो। करिब दुई वर्षयता यस्तो राहदानी जारी हुँदै आएको छ। पिटिपुरासम्बद्ध एक प्रतिनिधिका अनुसार अन्तिम खेप राहदानीका पृष्ठ ४ मा यो वाक्यांश छ। अन्तिम खेपमा १० लाख राहदानी आपूर्ति भएको थियो। करिब ७ लाख राहदानी जारी भइसकेका छन्। बाँकी राहदानी एमआरपी लागू नभएसम्म जारी हुनेछन्।
सचिव भट्टराईले बाँकी राहदानी संशोधन गरेरमात्र जारी गरिने र पहिल्यै जारी राहदानीमा भने आवश्यकताअनुसार व्यवस्था मिलाइने जानकारी दिए।
सचिव भट्टराईका अनुसार परराष्ट्रले यस्ता राहदानी लिइसकेका व्यक्तिमध्ये जसलाई जहाँ अप्ठेरो पर्छ, त्यहीँ आवश्यक संशोधनको व्यवस्था मिलाउन विभिन्न मुलुकमा रहेका आफ्ना दूतावास र नियोगलाई पत्राचार गर्नेछ।
‘पहिल्यै जारी भइसकेको भए पनि इराक नगएका र नजानेका लागि कुनै समस्या भएन,' भट्टराईले थपे, ‘जो इराकमै छन्, उनीहरूका लागि पनि आवश्यक व्यवस्था गर्नेछौँ।'
परराष्ट्र स्रोतका अनुसार इराकमा कार्यरत नेपालीका राहदानीमा रहेको उक्त बुँदा हटाएर कसरी वैध बनाउन सकिन्छ भन्ने विषयमा अमेरिकी सरकारसँग परामर्शमा निर्णय लिइनेछ।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



