१५ दिनदेखि हिमाल ग्यास पाइएन भनेर उपत्यकाका उपभोक्ताले गुनासो गरेकाले अनुगमनमा आएको मन्त्रीले बताए। उद्योगले नक्कली बिल काटेर दैनिक ६ सय सिलिन्डरसम्म बिक्री गरेको भेटिएको थियो। उद्योगले उपभोक्तासँग प्रत्येक सिलिन्डरमा ७० रुपैयाँ बढी लिएर बिक्री गर्दै आएको पाइएको छ। इलाका प्रहरी कार्यालय बनेपाले उद्योगका फ्याक्ट्री म्यानेजर डेकराज भट्टराईलाई बुधबार नियन्त्रणमा लिएको छ।
उद्योगले नै कालोबजारी गरेकाले जिल्ला प्रशासन काभ्रेले हेर्ने गरी कालोबजारी मुद्दा चलाउन लागिएको मन्त्री भट्टले जानकारी दिए। भट्टले निरीक्षणमा सँगै रहेका वाणिज्य सचिव लालमणि जोशी र आयल निगमका कामु महाप्रबन्धक सुरेशकुमार अग्रवाललाई गौरीशंकर ग्यास उद्योगलाई पिडिओ (प्रोडक्ट डेलिभरी अर्डर) रोक्का गर्नसमेत आदेश दिएका छन्।
अनियमितता भेटिएपछि अनुमगन टोलीले हिमाल ग्यासको उत्पादक गौरीशंकर ग्यास उद्योगमा सिलबन्दी गरेको छ। उद्योगका फ्याक्ट्री म्यानेजर डेकराज भट्टराईले आफूले प्रधानमन्त्रीका स्वकीय सचिव र स्थानीय प्रशासनलाई उद्योगबाटै ग्यास बेच्ने गरेको जानकारी गराएको दाबी गरेका छन्।
गौरीशंकर ग्यासले कारखानाबाटै हिमाल ग्यास बेचेको भनेर 'हेलो सरकार'मा आएका उजुरीलाई प्रधानमन्त्री कार्यालयमार्फत पाएपछि प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालले मंगलबारमात्रै सहायक प्रजिअ महेश भट्टराईलाई उद्योगको अनुगमनमा पठाएका थिए। बिहीबारै उद्योगविरुद्ध कारबाही चलाउने जानकारी प्रजिअ बस्यालले दिए।
प्रशासनले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारबाही अघि बढाउने भएको हो। अनुगमनको क्रममा उक्त उद्योगको सुरक्षा अवस्था नाजुक रहेको, रिफिलिङमा कार्यरत मजदुरहरु असुरक्षित रुपमा काम गरिरहेको, १५ वर्षभन्दा पुरानो प्रणालीबाट ग्यास रिफिलिङ गरिरहेको पनि भेटिएको थियो। हरेक सिलिन्डरमा २ सय ग्राम ग्यास कम भेटिएको पनि आयल निगमका महाप्रबन्धक सुरेशकुमार अग्रवालले जानकारी दिए।
बुधबार नै अनुगमन टोलीले काभ्रेका सूर्य र सगरमाथा ग्यास उद्योगमा समेत निरीक्षण गरेको छ। सगरमाथा ग्यासले दुई बुलेट ग्यास हुँदाहुँदै समेत बुधबार उद्योग बन्द गरेकोमा मन्त्री भट्टले आपत्ति जनाए। यस दिन उद्योगमा ३६ टन ग्यास मौज्दात थियो। चार घन्टामा एउटा बुलेट खाली हुन्छ। 'ग्यास भएर पनि रिफिलिङ नगरी उद्योग बन्द गर्नु नाजायज हो। यो उपभोक्तालाई मार पार्ने काम हो,' मन्त्रीले भने, 'बिहीबार सगर ग्यास बजारमा गए नगएको अनुगमन गर्न स्थानीय प्रशासनलाई अह्राएको छु।'

Ani mantri aya matra jilla prashanle kam karbahi garne. Natra uniharu sabaiko milo mato ma animiyatta bhayako pakka ho. Sadahin matri le matra anugaman garna sakchhan. CDO/ACDO ra tertra prasahan ka karmachari lai karbahi gara pahile. yi nai sab bhanda janataka dushman hun.









