Friday 29 Magh, 2072 |
Menu

अर्थ

istl

हामी कम्युनिस्ट नेपाली !

(0 votes)
गत साता हामी मोरङको रंगेली घटनाले दुःखी हुनुपरे पनि खुसी हुने केही कारण पनि पायौँ । खुसी हुनुको मुख्य कारण दुईवटा थिए । पहिलो, नेपाल आयल निगमले मोटरसाइकललाई ५ लिटरका दरले इन्धन बाँड्यो। दोस्रो कारण, ग्यास उत्पादकहरूले आधा होइन अब पूरा सिलिन्डर ग्यास दिने सपना बाँडे।


राजु नेपाल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepalipatro-nagarik
लामो समयदेखि आयल निगमले निजी सवारी साधनलाई इन्धन नबाँड्दा पनि हामीले आफ्नो सवारी गुडाएकै थियौँ । तर, निगमले काठमाडौँका मुख्य सहरका चौडा बाटो दिनभरि जाम हुनेगरी इन्धन बाँड्दा र भएभरको सबै काम छाडेर केही घन्टा लाइनमा बसेर ५ लिटर पेट्रोल पाउँदा हामीले आफूलाई संसारकै भाग्यमानी ठान्यौँ । यी हाम्रा वर्तमान नियति र शासकहरूका गतिविधि हुन् । जनजीविकाप्रति उनीहरूको संवेदनहीनताले हामी अझै धेरै तल खस्ने निश्चित छ । हिजोसम्म नाकाबन्दीको कारण भारतमात्रै हो र हाम्रा कुनै पनि नेताको त्यसमा दोष छैन भनेर वकालत गर्दै हिँड्ने यो पंक्तिकार पनि अब आएर भन्न बाध्य भएको छ– आजको विषम परिस्थितिको जिम्मेवार कोही छ भने नेपालका शासक र नीतिनिर्माण तहमा बस्ने कर्मचारीतन्त्र नै छन् ।

अमानवीय नाकाबन्दीको चार महिना बितिसक्दा पनि जनतामा यसको असर कम गर्न कुनै पाइला नचाल्ने सरकारलाई के उपमा दिने ? प्रत्येक सेकेन्डको महŒव भइरहेको आजको विश्वमा नेपाली जनता भने ५ लिटर पेट्रोलका निम्ति दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको जिम्मेवार को ? के अब हाम्रो खुसी संसारमा उपलब्ध सबै अवसरबाट वञ्चित हुँदै दिनभरि लाइनमा बस्नुमा सरेको हो ? संसारमा इन्टरनेटलाई मानवजातिको मौलिक अधिकारको रूपमा हेर्न थालिसकिएको स्थितिमा हामी भने सातामा ५ लिटर पेट्रोल, महिनामा एक सिलिन्डर ग्यास र दिनमा १२ घन्टा बिजुलीको लागि तड्पिनुपर्ने ? के पाप गरेका थिए नेपालीले विगतमा ? के सबै नेपालीले आजका नेतालाई यो ठाउँसम्म पु¥याउन उनीहरूले आह्वान गरेका सबै आन्दोलनमा शरीर, समय र स्रोत लगाएका थिएनन् ? त्यो बलिदानको बदला सरकारले जनतालाई दिने यही पीडादायी जीवनशैली हो ? संवेदनहीनता र क्रूरताको पनि हद हुन्छ !

अब निष्कर्ष निकाल्नुपर्ने बेला भएको छ, हामी किन संसारमा पछाडि पर्यौँ ? यो अवस्था कहिलेसम्म रहिरहने हो ? संसारका कतिपय देशका इतिहास केलाउँदा र विभिन्न शासनपद्धति तथा शासकहरूका किताब पढ्दा एउटामात्र निष्कर्षमा पुग्न सकियो, अब नेपाल पूर्णकम्युनिस्ट मुलुक भइसकेको छ, कम्युनिज्ममा जनताको दुःख यस्तै हुन्छ । सन् ५० देखि ८० को दशकमा दोस्रो विश्व भनिने कम्युनिस्ट मुलुकमा जनता जेमा खुसी हुन्थे, अब हामी त्यसैमा खुसी हुनुपर्ने भएको छ । किनकि, अब हामी कम्युनिस्ट मुलुकका गौरवशाली नागरिक हौँ । यस्तो लाग्छ– लाइनमा बस्नु हाम्रो नियति हो । अभाव हाम्रो भाग्य हो । हाम्रो खुसी र संसारका अरु देशका नागरिकका खुसीमा आकाश–जमिनको अन्तर छ । अमेरिका, बेलायतका कुरा त परै जाओस्, अब भारत र चीनका नागरिकले उपभोग गर्ने सुविधा पनि हाम्रा लागि सिनेमाको रमाइलोमा सीमित हुन पुगेको छ र यो क्रम अझ बढ्ने निश्चित छ ।

कम्युनिस्ट शासन प्रणालीमा सरकार सञ्चालन गरिन्न, राज्य कब्जा गरिन्छ । प्रथम संविधान सभाको निर्वाचनपछि बनेको पुष्पकमल दाहालको सरकारका एकजना वरिष्ठ मन्त्रीले भनेका थिए, हामी सरकारमा छौँ– राज्य हाम्रो छैन । उनको कुरा शतप्रतिशत ठीक थियो । सिद्धान्तअनुसार त्यहाँ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विभिन्न पदमा गैरकम्युनिस्टहरू थिए । तर, आज दिन बदलिएको छ । नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधान मन्त्री, उपप्रधान मन्त्री, गृह, अर्थ र रक्षामात्रै हैन धेरैजसो कर्मचारीसमेत पूर्णकम्युनिस्ट छन् । अब हामी दैनिक जीवनका अत्यावश्यक सामानको लागि लाइनमा नलागेर के गर्नु ? हामीले लाइन लागेर भोट हालेकै भोलिका दिनमा लाइनमा बसेर इन्धन किन्छु भन्नलाई थियो ! एक किलो चिनी किन्न साल्ट टे«डिङको लाइनमा जान्छु भन्नलाई थियो !

समाचारमा देखिन्छ, सुनिन्छ उत्तर कोरियाका शासकका कारण त्यो देशमा मानवीय संकट व्याप्त छ । तसर्थ, संसारका अरु शासकले उत्तर कोरियाका शासकलाई तानाशाह भन्छन् । अर्को समाचारले भन्छ, भारतीय नाकाबन्दी र त्यसबाट उत्पन्न समस्या अनि उक्त समस्या समाधान गर्न हालको सरकारले नचाहेका कारण नेपालमा मानवीय संकट परिरहेको छ । अब हाम्रा शासकचाहिँ के त ? सिरियामा युद्ध छ, मानिस मरिरहेका छन् । गत साता आएको समाचारमा त त्यहाँका केही स्थानमा मानिस खानेकुराको अभावमा माटो खान थाले रे ! अनि हामी अर्थ लगाउँछौँ त्यहाँका शासक तानाशाह हुन्, इतिहासकै क्रूर हुन् ।

नेपालमा गोरखा, सिन्धुपाल्चोक, रसुवालगायतका क्षेत्रमा भूकम्प गएको ९ महिनापछि पनि पीडितले राहत पाएका छैनन् । चिसोका कारण ती स्थानका सर्वसाधारण मरिरहेका छन् । सरकार निदाएको बहाना गरिरहेको छ । हामी कम्युनिस्टराजमा छौँ, त्यसैले हामीले सरकारले जे भन्यो त्यसमा ताली बजाउनैपर्छ । हामीले कहिल्यै सोच्यौँ संसारले हामीलाई के भन्दै होला ? कति निकम्मा सरकार भन्दै होलान् ?

कुनै पनि मुलुकमा सरकार बन्छ, त्यो सफल वा असफल हुन्छ । अधिकांश सरकार असफल हुने कारण कि त राम्रो काम गर्न नसकोले हुन्छ कि त भ्रष्टाचार मौलाउनाले । तर, विश्व इतिहासमा विरलै सुनिने र देखिने कालोबजारी सरकार भनेर सबैले भनिरहँदा पनि हामी मौन छौँ । जब सरकार नै कालोबजारलाई प्रोत्साहन गर्न अगिसर्छ, तब जनताले भोग्नुपर्ने अवस्था कस्तो होला ? यो हो नेपालीको आजको विडम्बना !

सरकारले सय दिन पूरा ग¥यो । सबैलाई थाहा छ, यो अवधिको उपलब्धिशून्य छ भन्ने । यो अवधिमा मुद्रास्फिति बढेर झन्डै १२ प्रतिशतको हाराहारीमा पुग्यो । अत्यावश्यक सामानको भाउ ४५ प्रतिशतसम्म बढ्यो । हामी हरेक दिन अत्यन्त गरिब बन्दै गइरहेका छौँ । तर पनि सरकार मौन छ, किनकि हामी कम्युनिज्म मौलाएको देशका नागरिक हौँ । अब त यस्तो लाग्छ, कालोबजारी हाम्रो पेशा हो अनि कृत्रिम अभाव हाम्रो साझा चरित्र ।

हरेक दिन प्रधान मन्त्री र मन्त्रीहरूको 'जनहितका निम्ति' भनिएको भाषण सुनिन्छ अनि पढिन्छ । तर, यथार्थमा आजसम्म यस्तो एउटा समाचार पढ्न पाइएको छैन– जहाँ सरकारले कुनै निर्णय लिएको होस् जनताको सुविधाको लागि । बरु सबै मन्त्री भन्छन्, यस्तो हुनुप¥यो– उस्तो हुनुप¥यो । कसैले यस्तो गरेँ भन्दैन । किनकि हामी कम्युनिस्ट राज्यमा छौँ र त्यस्तो राज्यमा यस्तै हुन्छ । कम्युनिस्ट शासन व्यवहारबाट हैन, किताबबाट चल्छ र सय वर्षअघिको त्यो किताबमा यही कुरा लेखिएको छ, जुन कुरा हाम्रा अहिलेका शासकहरू गरिरहेका छन् !

मन्त्रीहरूले जे पायो त्यो बोल्ने अधिकार प्रधान मन्त्रीबाट पाएका छन् । जनतालाई तत्काल राहत र सुविधा दिने कुनै मनशाय नभएका प्रधान मन्त्री कहिल्यै पूरा गर्न नसकिने आश्वासनमुखी भाषण गर्छन्, अनि हामी त्यही कुरा पत्याउँछौ र हातै दुःख्नेगरी ताली बजाउँछौँ । किनकि, हामी कम्युनिस्टपथमा हिँडेको मुलुकका नागरिक हौँ । प्रधान मन्त्री भाषणमार्फत् जनताको कानलाई खुसी पार्छन् । यो गरिदिन्छु र त्यो गरिदिन्छु भनेर अनि हामी जनता पनि उनको हरेक भाषणमा ताली बजाएर उनको कानलाई आनन्दित पारिदिन्छौँ । नतिजा, हात लाग्यो शून्य ।

७० को दशकमा सोभियत संघमा मानिस अधिकांश समय लाइनमै हुन्थे रे ! पाउरोटीको लाइनमा हरेक दिन घरको बूढो मानिस जाने गरेको यथार्थ हामीले सुनेकै हौँ । आज आएर हामी त्यही नियतितर्फ अग्रसर भइरहेका छौँ । हरेक दिन घरका एक न एकजना लाइनमा बस्न नगएको नेपाली होला र अचेल ? किताबी कम्युनिज्म संसारबाटै करिबकरिब लोप भइसक्यो, तर हामी भने त्यही कुरा हुबहु प्रयोग गर्ने प्रयासमा छौँ ! अमेरिकालगायत विश्वका प्रजातान्त्रिक मुलुकले त्यस्तो व्यवस्था अन्त्यका लागि धेरै पैसा र समय खर्च गरे । भारतजस्तो ठूलो देशको एकाध राज्यमा भएका कम्युनिस्टलाई सरकारबाट विस्थापित गर्न विभिन्न पार्टीसमेत फुटाइयो । हामी भने त्यही पुरानो पद्धति लागु गर्ने क्रममा छौँ । हामीलाई देशको विकासका निम्ति विभिन्न देशको सहयोग चाहिएको छ, तर जबसम्म अहिले देखापरिरहेको कम्युनिज्मउन्मुख अवस्था रहन्छ हामीलाई कसैले फर्केर पनि हेर्ने छैनन् । खोप, परिवार नियोजनजस्ता मानवीय सहयोगबाहेक अब नेपालमा ठूला सहयोगमा गिरावट आउन थालेको र भएका पनि पलायन हुन थालेको हामीले सुने–बुझेकै हो । हामीसँग सरकारको जस्तै आत्मरतिमा रमाउनुबाहेक अर्को कुनै विकल्प छैन । सरकार बनेको ४ महिना हुन लाग्दा पनि प्रधान मन्त्रीले एउटा छिमेकी मुलुकको भ्रमण गर्न सकेका छैनन् । कारण स्पष्ट छ, आजको जमानामा सय वर्ष पुरानो किताब लिएर सरकार चलाउँछु भन्नेसँग कुरा गर्न कसलाई फुर्सद होला र ?

युवा जनशक्तिमध्ये पढाइ राम्रो हुनेहरू विकसित मुलुक र कमजोर शिक्षा हुने तर काम गर्न सक्ने खाडी मुलुक जाने क्रम रोक्ने हामीसँग कुनै उपाय छैन । यसले आगामी २५ वर्षमा पार्ने असरको कल्पना अहिले गर्न गाह्रो छ । हिजोसम्म छोराछोरी विदेश गएर पढेर पर्केपछि देशको सेवामा आउन् भनी इच्छा गर्ने अभिभावक अब स्वदेश नफर्क भन्न थालेका छन् । किनकि, मुलुकमा अब पूर्णकम्युनिस्ट शासन पद्धति लागु हुँदैछ । र, यस व्यवस्थामा यस्तै हुन्छ । कम्युनिस्टलाई जति दोष दिए पनि कम हुन्छ, तर दोषबाट उम्कन यो मुलुकको एकमात्र लोकतान्त्रिक तथा गैरकम्युनिस्ट पार्टी नेपाली कांग्रेसले पनि पाउँदैन । यस्तो विकराल परिस्थिति देशमा आइसक्दा पनि कानमा तेल हालेर बसेको छ उक्त पार्टी । सत्तामा जान कहिले आफ्नो पालो आउला भनेर चुपचाप बस्ने कांग्रेस पनि जनविरोधी पार्टी नै हो । यही सोचाइमा कांग्रेस रहिरहने हो भने, उनीहरूको उज्यालो भोलि कहिल्यै नआउन सक्छ !

@rajunepal

प्रतिक्रिया

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...