टुरिस्ट गाइडले पारिश्रमिक ७० प्रतिशत बढाए

smaller text tool iconmedium text tool iconlarger text tool icon
सुशील भट्टराई, काठमाडौं, साउन ११- नेपाल घुम्न आएका पर्यटकले अब दृश्यावलोकनमा जाँदा टुरिस्ट गाइडका लागि पहिलेभन्दा ७० प्रतिशत बढी शुल्क तिर्नुपर्ने भएको छ।

स्वतन्त्र टुरिस्ट गाइडहरूको छाता संगठन टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) ले गाइडको पारिश्रमिकमा भारी वृद्धि गरेपछि पर्यटकले सम्बद्ध एजेन्सीलाई बढी शुल्क तिर्नुपर्ने भएको हो। पर्यटन व्यसायीले भने बढाएको पारिश्रमिक दिन नसक्ने बताएपछि दुवैबीच विवाद उत्पन्न भएको छ।

 

यस्ता गाइडले ट्राभल र ट्रेकिङ एजेन्सीमार्फत् आएका पर्यटकलाई दृष्यावलोकनमा लाने गर्छन्। गाइडले पर्यटकलाई घुमाएवापत्को शुल्क एजेन्सीसँग लिने गर्छन्। गाइडले तीन घन्टासम्मलाई आधा दिन र छ घन्टासम्मलाई पूरा दिनको दृष्यावलोकन मान्ने गरेका छन्। सरकारबाट टुरिस्ट गाइड इजाजत लिन स्नातक गरी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट तालिम लिनुपर्छ।

 

‘हामीले लिइरहेको पारिश्रमिकमा ७० प्रतिशतले वृद्धि गरेका छौं,' टुर्गानका अध्यक्ष हरेराम बरालले सोमबार नागरिकसँग भने, ‘बढेको पारिश्रमिक आगामी असोज १५ बाट लागु हुन्छ।'

 

सन् २००१ मा सामान्य बढेपछि २००७ मा आइपुग्दा २० प्रतिशतले शुल्क वृद्धि गरेको जानकारी उनले दिए। त्यसयता खर्च बढ्दै गएको तथा महँगी र बजार भाउ उच्च भएका कारण बाध्य भएर शुल्क वृद्धि गरेको उनले बताए। ‘गाइडहरूले वर्षमा अधिकतम १ सय दिनसम्म काम पाउँछन्,' उनले भने, ‘त्यही आम्दानीले जीवन गुजारा गर्न कठिन भएको छ।'

 

टुर्गानले गत अप्रिलमा गाइडको पारिश्रमिक बढाउन टुर तथा ट्राभल व्यवसायीहरूको संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लाई पत्राचार गरेको थियो। यसबारेमा नाट्टाले ‘वास्ता' नगरेको आरोप बरालले लगाए। जुन पहिलो साता दोस्रो पत्र पठाएपछि दुवै संस्थाले वार्ता समिति बनाएका थिए।

 

‘वार्ता सफल नभएपछि हामी हाम्रो निर्णयमा अडिग छौं,' ७ सय स्वतन्त्र गाइडहरूका अध्यक्ष बरालले भने, ‘बढेको पारिश्रमिक लिएरै छाड्छौं।' बढेको पारिश्रमिकका बारेमा टुर्गानले सबै ट्राभल र ट्रेकिङ एजेन्सी, दूतावास, सरकारी निकायमा जानकारी गराइसकेको उनले बताए।

 

उनका अनुसार एकदेखि तीनजनासम्म पर्यटकका लागि अंग्रेजी भाषा बोल्ने गाइडले आधा दिनको दृष्यावलोकन गराएवापत् ९ सय ३५ रुपैयाँ नयाँ शुल्क तोकिएको छ। पूरा दिनका लागि १ हजार ८ सय ७० लाग्छ। अन्य भाषातर्फ आधा दिनको १ हजार १ सय ७० र पूरा दिनको २ हजार ३ सय ४० रुपैयाँ बनाइएको छ।

 

त्यसै गरी चारदेखि १५ पर्यटकलाई अंग्रेजी भाषातर्फ आधा दिनको १ हजार २ सय ४० र पूरा दिनको २ हजार ४ सय ८० तथा अरु भाषातर्फ आधा दिनको १ हजार ५ सय ५० र पूरा दिनको ३ हजार १ सय रुपैयाँ तोकिएको छ।

 

१६ देखि ३० पर्यटकलाई अंग्रेजी भाषातर्फ आधा दिनको १ हजार ४ सय ३० र पूरा दिनको २ हजार ८ सय ६० तथा अन्य भाषातर्फ आधा दिनलाई १ हजार ७ सय ८५ र पूरा दिनलाई ३ हजार ५ सय ७० लाग्छ। त्यस्तै ३१ जनाभन्दा बढी पर्यटकका लागि अंग्रेजीतर्फ आधा दिनको १ हजार ५ सय ८० र पूरा दिनको ३ हजार १ सय ६० तथा अन्य भाषातर्फ आधा दिनको १ हजार ९ सय ७५ र पूरा दिनको ३ हजार ९ सय ५० रुपैयाँ लाग्छ।

 

हाल एकदेखि तीन पर्यटकलाई अंग्रेजीतर्फ आधा दिनको ५ सय ५० र अरु भाषातर्फ ६ सय ९०, चारदेखि १५ लाई अंग्रेजीतर्फ आधाको ७ सय ३० र अन्यको ९ सय ४०, १६ देखि ३० जनालाई अंग्रेजीतर्फ आधाको ८ सय ४० र अन्यको १ हजार १ सय १० तथा ३१ भन्दा बढीलाई अंग्रेजीतर्फ आधा दिनको ९ सय ३० र अन्य भाषाको १ हजार २ सय ९० रुपैयाँ लिइन्छ। यी सबैमा पूरा दिन भए दोब्बर शुल्क लाग्छ।

 

नाट्टाका अध्यक्ष अर्जुनप्रसाद शर्माले टुर्गानको निर्णय आफूहरूले नमान्ने बताए। ‘उनीहरूले आफूखुसी गाइड शुल्क बढाउने निर्णय गरेर पत्राचार गरेका छन्,' शर्माले भने, ‘तर, हामी उनीहरूले तोकेको शुल्क कुनै हालतमा दिँदैनौं।' व्यवसायीसँग समन्वय नगरी एकतर्फी शुल्क बढाएका कारण पर्यटन उद्योगमा समस्या आउने उनले बताए।

 

फेरि वार्ता गर्न पत्र पठाए पनि टुर्गानले जवाफ नदिएको शर्माले बताए। ंबजारको माग नबुझी टुर्गानले गाइड शुल्क बढाएको उनको भनाइ छ। विगतकै शुल्कमा काम गरेमात्र गाइडलाई पर्यटक दिइने उनले चेतावनी दिए। ‘त्योभन्दा बढी मागे आफ्नै एजेन्सीमा रहेका गाइड प्रयोग र्छौं,' उनले भने, ‘हामी अन्तर्राष्ट्रि बजार पुगेर पर्यटक ल्याउँछौं, अनि गाइडहरू यहाँ बसेर शुल्क बढाउँछन्, यसले नकारात्मक सन्देश जाने निश्चित छ।'

प्रतिक्रियाहरू (1)Add Comment
0
Khanal
July 27, 2010
122.128.97.20
भोट: +0
...

बढाउने पनि सिमा हुन्छ नि!

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ