काठमाडौं, माघ २१ (नागरिक) - ललितपुरको सानेपास्थित 'इन्टरनेसनल क्लब'मा फिल्मकर्मीको जमघट बाक्लो छ। लोडसेडिङले सहर अन्धकार बने पनि त्यहाँ उज्यालोको कमी छैन। झिलिमिली बत्ती, सबैको हातमा मदिराको ग्लास। कुनै उत्सवको संकेत गर्थ्यो त्यहाँको वातावरणले। हिरोइन रेखा थापा सबै भन्दा प्रशन्न मुद्रामा देखिइन्।
शिव श्रेष्ठ, राजवल्लभ कोइराला, निरज बराल, वीरेन श्रेष्ठ, उषा पौडेल, निशा सुनार लगायतका चर्चित कलाकारको भीडमा अर्को परिचित अनुहारको 'इन्ट्री' हुन्छ। बाक्लो जुँगा, सेतो सुट र अलिक आश्चर्य झल्काउने मुस्कानका साथ भुवन केसीको। जब रेखाको उनीसँग आँखा जुध्छ, पृष्ठभूमिमा गीत बज्न थाल्छ, 'साथी म तिम्रो...।'
'कट इट' निर्देशक शिव रेग्मी चिच्याएपछि फिल्ममा निर्देशकको रूपमा अभिनय गर्न पाएका डिसी पाखा लाग्छन्। फिल्म वितरकको भूमिका निर्वाह गरेका किरण र निर्मलको पनि त्यहाँ काम हुँदैन। बरु निर्माता बनेका भुवन र उनकै फिल्मबाट 'ब्रेक' पाई रातारात हिट भएकी रेखाको नाच सुरु हुन्छ। अबको जिम्मेवारी नृत्यनिर्देशक कविराज गहतराजको जिम्मामा।
'यो नेपाली फिल्मको वास्तविकता झल्काउने फिल्म हो। म पीडित निर्माताको भूमिकामा छु। रेखाले खेलेको फिल्मले ५१ औं दिन मनाएको सुनेर बधाई दिन आएकों,' फुर्सदमा भुवनले भूमिका सुनाए। रेखाले ठट्यौलो पारामा थपिन्, 'म त रियल लाइफमा जस्तै सुपरहिट हिरोइनको भूमिकामा छु। फरक यति हो यसमा भुवन केसीले ब्रेक दिएको देखाइएको छ।'
फिल्मको ५१ औं दिने उत्सवको सेट तयार गरिएको थियो त्यहाँ। यसलाई स्वाभाविक देखाउन भुवनले चर्चित फिल्मकर्मीलाई निम्त्याएका थिए। एउटामात्र दृश्यमा अभिनय गर्न आग्रह गर्दा समेत सहजै उपस्थित भएका शिव श्रेष्ठलाई उनी 'धन्यबाद' भन्न खोज्दै थिए। शिवले उछिने, 'तैले आज मेरो एक्टिङ देख्ने भइस्। अनि नर्भस चाहिँ नहो है।'


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



