Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

धीरजका २० वर्ष, २० पाइला

smaller text tool iconmedium text tool iconlarger text tool icon

दीपेन्द्र लामा- उनी एक नम्बरका गायक होइनन्। तर, चल्तीका भने हुन्। गीत गाउन सुरु गरेको २० वर्ष पूरा हुँदा पनि उनको जोश सेलाएको छैन। देशबाहिर र भित्रका स्टेजमा उनी अझै सक्रिय छन्। गीत गाएरै घरजग्गा र गाडी जोड्न सफल थोरै कलाकारमा गनिन्छन् उनी।
पपगायनमा २० वर्ष बिताएपछि उनी अर्थात् धीरज राई केही दिनमै स्रोतामाझ 'ट्वेन्टी इयर्स्' नामक एल्बम लिएर आउँदैछन्। यो उनको एघारौं एकल एल्बम हो। आफू सफल हुनुको जस उनी आफूले २० वर्षे यात्रामा चालेका यी २० पाइलालाई दिन्छन्।

१. जोखिम उठाउनु
एसएलसी पास हुने बित्तिकै उनीसामु दुई रोजाइ थिए, पप संगीतको अनिश्चित भविष्य र अस्ट्रेलिया जाने अवसर। त्यो बेला जस पाउने विधा थिएन पप। तैपनि उनले पप संगीतलाई रोजेर जोखिम उठाए।

२. न्युनतम बाँच्ने आधार खोज्नु
पपगायकका रूपमा बजारमा चिनिसकेका भए पनि २०४८ सालतिर आफ्नो गुजारा चलाउन उनीसँग पैसा थिएन। त्यसैले सानासाना स्कुलमा केटाकेटीलाई संगीत सिकाउँदै र गौशालाको अप्सरा रेस्टुरेन्टमा गिटार बजाउँदै उनले डेराभाडाको जोहो गरे।

३. फरक र नयाँ संगीत दिनु
आफ्ना बुबाआमाले सुन्दै गरेकाभन्दा अलग र नयाँ गीतलाई उनले रोजे। रेडियो नेपालमा सधैं एकै खालका गीत बज्थे। युवायुवतीलाई चंगा दिने गीतको आवश्यकता महसुस गरी उनले पपका नयाँनयाँ स्वाद पस्कन थाले।

४. स्टेजमा पकड जमाउनु
रेडियो नेपालमा पप बज्दैनथ्यो। स्रोतालाई गीत सुनाउने भरपर्दो माध्यम स्टेज नै थियो। त्यसैले जसरी हुन्छ स्टेजमा आफ्नो पकड मजबुत हुनुपर्छ भन्ने उनलाई लाग्यो। सन् १९९७ पछि उनले हङकङबाट विदेशमा पनि स्टेज कार्यक्रम सुरु गरेका हुन्।

५. संगीतको आम्दानी व्यापारमा लगाउनु
पन्ध्र वर्षअघि जापानबाट उनले तीन लाख कमाएर ल्याए। उनलाई गाडी चढ्ने सोख थियो। तर, त्यसलाई त्यागेर उनले सबै पैसा जग्गामा लगानी गरे। त्यो जग्गालाई उनले किनबेच गर्दै लगे। उनीसँग अहिले पहिलेको भन्दा बढी जग्गा जम्मा भइसकेको छ।

६. सही सल्लाहकार चुन्नु
उनले आफ्नो सल्लाहकार बुबाआमालाई माने। उनको नजरमा आफ्ना बुबाआमा संगीत बुझ्ने व्यक्तिहरू हुन्। उनका शिक्षित बुबाआमाको सल्लाहले नै अहिलेसम्म आफू कहिल्यै खाल्डोमा नपरेको र आफ्नो बाटोमा अवरोध नआएको उनी दावी गर्छन्।

७. मिडियाको महत्त्व बुझ्नु
उनलाई पप संगीत र आफू मिडियामा छाउनुपर्छ भन्ने लाग्यो। र, उनले मिडियाको सहयोग लिए। तर, उनी भन्छन्, 'मिडियाको काम खेलाडीलाई मैदानमा उतार्नुमात्र हो, मैदानमा कस्तो खेल्ने खेलाडीको काम हो।'

८. आदर्शवादी होइन यथार्थवादी बन्नु
उनलाई थाहा छ, कलाकारहरू हृदयबाट धेरै चल्छन्, मस्तिष्कबाट कम। कलाकारको कुरा बढी भावुक र कम तार्किक उनले पाएका छन्। उनी भन्छन्, 'म यसबाट अलग भएँ र यथार्थ धरातलमा उभिएर सोच्न थालेँ।'

९.असफलताबाट निराश नहुनु
उनको चौथो र छैठौं एल्बम बजारमा चलेनन्। उनी त्यतिबेला लोकप्रिय थिए, स्थापित थिएनन्। त्यस्तो समयमा एल्बम हिट हुन जरुरी थियो। त्यसैले उनी सुरुवातमा निराश बने। तर, पछि उनलाई लाग्यो, निराश हुनुभन्दा निरन्तरता दिनु सही हो। उनी सम्हालिए।

१०. आफैसँग प्रतिस्पर्धा गर्नु
हरेक एल्बममा कम्तीमा दुइटा गीत हिट हुनुपर्छ भन्ने मान्यता उनको छ र हरेक एल्बममा तीन गीत हिट छन्। उनी अरूलाई आफ्नो प्रतिस्पर्धी मान्दैनन्। भन्छन्, 'म आफैसँग प्रतिस्पर्धा गर्छु, आफूलाई निखार्दै जान्छु।'

११. समयको साँचोमा आफूलाई ढाल्नु
समयअनुसारको गेटअप उनले अपनाउँदै आएका छन्। डिंंगो बुटको जमानामा पनि उनी स्टाइलिस्ट बने। त्यतिबेला 'डिंगो कि भुवन केसीले लाउँछ कि धीरजले' भन्ने चर्चा सहरमा चलेको उनी सुनाउँछन्। जिन्स ज्याकेट र लामो कपाल बेलाबेला धीरजको 'ब्रान्ड' नै बने।

१२. बौद्धिक जमातबीच संवाद गर्न खोज्नु
पपगायक र पपलाई संगीतै नमान्ने जमातबीच असमझदारी अहिले पनि छ। यो खाडल पुर्न उनले बौद्धिक भनिएका जमातलाई गुरुकुलमा पपगीत सुनाए। 'आकुञ्जन' नामक त्यो कार्यक्रम पपकै लागि ठूलो उपलब्धि मान्छन् उनी।

१३. पढाइ जारी राख्नु
ओभरसियरको अध्ययन सकिएपछि उनीसँग लोकप्रिय गायकको पहिचान थियो। आम्दानी पनि बलियो थियो। तर, उनी पढाइमा थामिएनन्। आफूभन्दा १० वर्ष कान्छा भाइबहिनीका माझ उनले बीएको जाँच दिए र पछि अंग्रेजीमा एमए पनि गरे। भन्छन्, 'पढाइले मलाई कला, संस्कृति र साहित्य अझ गहिराइमा बु‰न सहयोग गरेको छ।'

१४. संघर्षका लागि सधैं तयार रहनु
बाह्र तेह्र वर्षअघि ईर्ष्याबाट प्रेरित भएर मलाई संगीत क्षेत्रकै एक सिनियर दाइले धरानमा हातपात गरे। म यो क्षेत्रबाटै हराओस् भन्ने चाहनुहुन्थ्यो उहाँ। तर, म हारिन। संघर्ष गरेँ। रातिराति आफै पोस्टर छाप्दै मैले परम्परागत सोचसित लडेँ।

१५. अमेरिकामा नबस्ने निर्णय गर्नु
डेढ दर्जनभन्दा बढी देश घुमेपछि उनी पहिलोपटक अमेरिका पुगे। अमेरिकामा हप्तौं बसे उनी विभिन्न स्टेटमा गीत गाउन। त्यो बीचमा धेरै मोह र दबाबले उनको आँखा छोपियो। साथीभाइले पनि उनलाई अमेरिकामै बस्ने सल्लाह दिए। तर, उनी फर्किए।

१६. संकुचित सोच तोड्नु
एल्भिस प्रिस्ले, बिटल्स, बब मार्ली र माइकल ज्याक्सनले कसरी परम्परागत संगीतभन्दा अलग रही काम गरे, उनलाई सधैं प्रेरणा बन्यो। रेडियो नेपालमा गीत रेकर्ड गर्नेलाई मात्र गायक मान्ने संकुचित सोच नेपालमा थियो। उनी त्यसलाई तोड्न सधैं लागिपरे।

१७. बजार व्यवस्थापनको योजना बनाउनु
उनी हरेकपटक एल्बम निकाल्दा बजारको नीति बु‰ने गर्छन्। 'मैले आफ्नो स्टार भ्याल्यु बुझेको छु,' बजार व्यवस्थापनलाई गम्भीर मान्ने उनी भन्छन्, 'त्यसलाई म बढाउने कोशिस गर्छु नत्र कायम राख्ने प्रयास गर्छु।'

१८. सही जीवनसंगिनीको छनोट गर्नु
एउटा गायक पहिले व्यक्ति हो भन्ने कुरा उनी कहिल्यै बिर्सदैनन्। 'कलाकारलाई पनि घरपरिवार चाहिन्छ,' उनी भन्छन्, 'सही जीवनसाथी भेटेन भने जीवन कष्टकर हुन्छ।' आफूले एकदमै समझदार साथी भेटेकोमा उनी सन्तुष्ट छन्।

१९. नयाँ पिढीलाई पछ्याउनु
बीस वर्षदेखि उनले आफ्नो स्रोतामा समानता देख्छन्। भन्छन्, 'बीस वर्षअगाडि मेरो स्रोता किशोरकिशोरी थिए भने अहिले पनि मलाई किशोरकिशोरीले नै सुन्छन्।' आफूले सधैं नयाँ पिढीलाई पछ्याएकोले यसो भएको उनको ठहर छ।

२०.सहभागिता होइन समर्पित हुनु
संगीतलाई उनले रहरको रूपमा मात्र लिएनन्। बरु, यसमै जीवन देखे। उनी नयाँ नयाँ सपना देख्छन् संगीतमै। उपस्थितिमात्र देखाउन होइन समर्पित हुन उनले मिहेनत गरे।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

कला

Nagarik Offer