किरण पुन, काठमाडौं, फागुन २०- आफ्नो पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले माओवादी जनयुद्धको विरोध गरिरहेका बेला जीवन शर्माले यसका पक्षमा गीत लेखेका थिए जसका कारण नेता अर्धभूमिगत भएको पार्टीका कार्यकर्ता जीवन पूर्णभूमिगत भएका थिए। नयाँ संविधान जारी गर्ने समय नजिँकिदै गर्दा अब यी दुई नेता कार्यकर्ता मिलेर नयाँ गीति एल्बम ल्याउने तयारी गरिरहेका छन्।अर्धभूमिगत नेता सिंहले लेखेका कवितामा शर्माले संगीत भरेको एल्बम 'लेफ्टराइट कदम बढाऔं'लाई म्युजिक नेपालले अर्को साता बजारमा ल्याउँदैछ। माओवादी पार्टी र उसको जनयुद्धका प्रखर आलोचकका रूपमा चिनिने 'प्रचण्डका गुरु' सिंहका गीतले भने त्यस्तै युद्धको वकालत गरेका छन्। र, यो एल्बमको बजार व्यवस्थापनको जिम्मा लिएकी छन्, सिंह पत्नी दुर्गा पौडेलले।
एल्बमका दुई गीतको भिडियो सिंहकै गाउँ ओखरकोट प्युठानमा गरिएको छ। अखबारमा फोटोसमेत प्रकाशन गर्न नदिने सिंह भिडियोको सुटिङमा भने उपस्थित थिए। 'उहाँले अभिनय गर्नुभएको छैन, हामीलाई सल्लाह दिन जानु भएको हो,' भिडियोको निर्देशनसमेत गरेका जीवनले भने।
आज झन् झन् कसिँदैछ बन्धन गीत २०१० मा प्युठानको किसान आन्दोलनसँग जोडिएको छ। यो गीतको सुटिङमा त्यो आन्दोलनका अगुवामध्येका खगुलाल गुरुङ पनि सहभागी थिए। 'सुटिङस्थल कमरेड सिंहकै घर भएको ओखरकोटमाथि डाँडामा गरियो,' शर्माले भने, 'अरु केही चाहिन्न को सुटिङका क्रममा एकजना आरने दाइको आरनमा जाँदा सिंह पनि सहभागी हुनुभयो।'
पाल्पा र प्युठान जेल बस्दाताका सिंहले लेखेका क्रान्तिकारी कविता यो एल्बममा समावेश गरिएको छ। 'कुरा २०४२ तिरको हो। सिंहका कविता पढ्दै थिएँ,' कविताबाट गीत कसरी बने भन्ने प्रसंग कोट्याउन शर्माले गोरखपुरको स्मरण गरे, 'गीत बनाए कसो होला भनेर सिंहसँग कुराकानी भयो। त्यसपछि कविताका शब्दलाई यताउति गर्दै भाका हालेँ।' वाम दुनियाँमा बहुचर्चित लेफ्ट राइट कदम बढाऊ सिंहको गीतलाई पहिले इन्द्रेणी सांस्कृतिक समाजले संगीत भरेर गाएका थिए।
लेफ्ट राइट, रुख भन्छ पात भन्छ, एक नयाँ दिशामा २०४३ तिरै संगीत गरे पनि बाँकी गीतमा भने जीवनले एक वर्षअघि मात्र संगीत भरेका हुन्। त्यसबेलाको कालखण्डलाई प्रतिनिधित्व गर्ने भन्दै त्यसबेला रेकर्ड भएका पुराना गीत यसपालि पनि जस्तातस्तै राखिएको शर्माले बताए।
'एन्टीकरेन्ट' विचार बोक्ने नेताका रूपमा स्थापित सिंह अहिले आफ्नी दिवंगत प्रेमिका जलजलाको नाउँमा एक हजार पेज लामो उपन्यास जलजला लेखिरहेका छन्। 'क्रान्तिको साइत नजुरेको' भन्दै माओवादी युद्धको विरोध गरेका सिंह अहिले संघीयताको पनि विरोधमा उत्रिएका छन्। संविधानसभामा सिंहको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले मात्र संघीयताको विरोध गरेको छ।
१६ वर्षको उमेरदेखि नै जनवादी गीत गाउँदै हिँडेका बाग्लुङे शर्माका चार सयभन्दा बढी गीत रेकर्ड भएका छन् भने चालीस गीति एल्बम बजारमा छन्। शर्माका ठूली, पूजा जस्ता गीति नाटक मञ्चन भएका छन्।
लेफ्ट राइट नामक एल्बममा समेटिएका सिंहका आठवटै गीतमा शर्माले संगीत मात्र दिएका छैनन् अधिकांश गीतमा स्वर पनि उनकै छ। म्युजिक नेपालले बजारमा ल्याउन लागेको यी गीतका भिडियोको निर्देशनसमेत उनैले गरेका छन्। सिंहका गीतमा शर्मापत्नी निलिमा पुन, लक्ष्मी गुरुङ, राजेश, देउमाया, झोकेन्द्र थापा र पुष्पाको स्वर छ।
माओवादीले बन्दुक शिविरमा बिसाएका बेला किन यस्ता गीत किन बजारमा ल्याउन लागे त? 'युद्ध जारी छ। शोषण र अन्याय रहँदासम्म यी गीत पुराना हुँदैनन्। साम्यवाद आएपछि मात्र सन्दर्भहीन होलान्,' 'झरनाको चिसो पानी' र 'सिमली छायाँमा बसी'जस्ता लोकप्रिय प्रगतिशील गीत गाउने शर्माले भने, 'माओवादीले छाडे अरू कोही आउला जनमुक्तिको युद्ध जारी राख्न।'


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





