Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th

इच्छुमतीको एउटा मान्छे

smaller text tool iconmedium text tool iconlarger text tool icon
दीपेन्द्र लामा, काठमाडौं, माघ २०- पश्चिमतिरको वीर अस्पतालदेखि बगेर आउने कुलो बर्खामा यति ठूलो हुन्थ्यो कि, घरबाट सडकमा निस्किन राजु सिंह जुत्तामोजा खोल्न बाध्य हुन्थे। राजुको घरको पूर्वपट्टि नजिकै बग्ने इच्छुमती खोला ताकेर आउँथ्यो कुलो। हिजोआज त्यो कुलो जमिनमुनि कति गहिराइमा धस्सियो, संगीतकार राजुलाई अन्दाज छैन। कुलोको त्यो 'रुट'मा अहिले बग्छ त सिर्फ मान्छेको भेल।
'रित्तो सडकमा खोज्छु तिमीलाई सधैंभरि...।' १८ वर्षअघि आफूले कम्पोज गरेको यो हिट गीत गुनगुनाउँदा आज उनको मनमा एउटा प्रश्न तैरिन्छ, 'कहाँ छ रित्तो सडक?' घरको बार्दलीबाट दक्षिणतिर सडकमा नजर पुग्दा उनी द्रूत गतिमा 'बगिरहेको' भीडमा कहिलेकाही आफू पनि हेलिएको महसुस गर्छन्। किनकि, शहरका अरू मान्छेजस्तै उनलाई पनि शहर छिचोल्ने हतार सधैं हुन्छ।
राजुको जन्म २०२७ सालमा बागबजारको सडकछेउकै घरमा भएको हो। एकदिन एउटा बौलाहा गाडीले उनीसँग निहुँ खोजेपछि उनका बुबा तर्सिए। त्यही 'त्रास'ले गर्दा उनको परिवारले बाल्मीकि क्याम्पसको पछाडि इच्छुमतीको किनारमा नयाँ घर बनायो, जहाँ सुरक्षित हुर्किए राजु।
मान्छेको इच्छा पूरा गरिदिने हुनाले खोलाको नाम इच्छुमती कहलिएको उनले सानैमा सुनेका हुन्। आमाबुबाले बिहान सबेरै इच्छुमतीको पानी ल्याएर घरमा छम्केको उनलाई कताकता याद छ। आज आफू नेपालका एक महँगा संगीतकार हुनसक्नु कतै इच्छुमतीको पनि वरदान हो कि भन्ने उनलाई लाग्छ।
त्योबेला इच्छुमती सङ्लो बग्थ्यो। मान्छेहरू त्यहीँ गएर लुगा धुन्थे भने राजु आफ्ना साथीभाइसँग ठूलाबडाका आँखा छलेर पौडी खेल्थे। किनभने, पानी सफा राख्नलाई पौडी खेल्न बन्देज थियो। राजु भन्छन्, 'आज हेर्नुस्, त्यहाँ जसले जे गरे पनि हुन्छ।'
शंकरदेव क्याम्पसअगाडि इच्छुमतीको पुलसँग राजुको रमाइलो अतीत गाँसिएको छ। उनी सात-आठ वर्षको हुँदा मोटरसाइकलमात्र छिर्ने फलामको सानो पुल थियो त्यहाँ। पुलको एकपट्टिको रेलिङ बेलाबेला भाँचिरहन्थ्यो जसले गर्दा साइकल, मोटरसाइकल र भरियाहरू चिप्लिएर खोलामा गोता खान पुग्थे। यस्तो दुर्घटना देख्नु राजु र उनका साथीहरूलाई गजबको मनोरञ्जन हुन्थ्यो।
टोलमा एक सुब्बा सा'प थिए, त्यही बाटो मोटरसाइकल हाँकेर अफिस जाने। होचा भएकाले मोटरसाइकल चढ्दा उनका दुई खुट्टाले एकसाथ भुइँ छुँदैनथियो। राजुको समूहले सुब्बा आउने बेलामा पुलमाथि सुकेको केराउ छरिदिन्थ्यो र झाङमा लुकेर मोटरसाइकल खसेको दृश्य ढुक्थ्यो। तर, सुब्बा पनि चलाख थिए। मोटरसाइकल रोकी दुई हातले केराउ सोहोरेर पुल पार गर्थे। पटकपटक केराउको एम्बुस देखेपछि सुब्बाले पैसा ठेलेर सुराकी खटाए। राजु र उनका साथीभाइले यो चाल पाएनन्, जसले गर्दा एकदिन सबैले सुब्बाको हत्केला चाख्ने अवसर पाए।
एकदिन त्यो सानो पुल भत्कियो र मझौला आकारको नयाँ पुल बनाउन राजुकै हजुरबा अघि सरे, जो आर्मीका मेजर थिए। मेजर बुढाले ५० भन्दा बढी सैनिक खटाएर पुल बनाउँदाको रमिता हेर्न डिल्लीबजार र मैतीदेवीसम्मका मान्छे झुम्मिएको राजु कहिल्यै बिर्सदैनन्।
केही वर्षपछि त्यहाँ अर्को ठूलो पूल बन्यो। त्यही पुलबाट राजुको घरअगाडि पहिलोपटक कुनै गाडी वारपार भएको हो। उनलाई कुनै द्विविधा छैन, त्यो पहिलो गाडी सडक विभागको रसियन जीप थियो। गाडी ओहोरदोहोर गर्न मिलेपछि त्यहाँ बसपार्क बस्यो, जहाँबाट अरनिको राजमार्गमा गुड्ने गाडीहरू छुट्थे।
बसपार्कमा गाडीबाट उत्रिने नौलानौला मान्छेहरू देखेर राजु सुरुसुरुमा छक्कै परे। त्यो बेला बाल्मिकी क्याम्पसवरिपरि पर्खाल ठडिसकेको थिएन। हेलम्बुबाट आएका शेर्पाहरू चौरमा पाल टाँगेर बस्थे। लामोलामो कपाल, घाँटीमा रंगीचंगी पत्थरका माला र गम्लङ्ग परेको बाक्लो लुगा, ती शेर्पाको यस्तो हुलिया देख्दा राजुको सातो उड्थ्यो। उनीहरू घर आउँदा राजु कोठाभित्र थुनिएर बस्थे।
हरेकपटक मान्छेसँग तर्सिएर घरतिर दगुरेको दगुर्‍यै गर्नु साध्य थिएन! त्यसैले दिनहुँ देखिने नयाँनयाँ अनुहार र हुलियालाई उनले पचाउँदैगए। आजकल त आफ्नो टोललाई उनी सानोतिनो १४ अञ्चल ७५ जिल्ला नै भन्न रुचाउँछन्। प्रश्न गर्छन्, 'यहाँ आज कहाँको मान्छे हिँड्दैन?'
वाद्यवादक बुबा भगत सिंहको सिको गरी उनले भ्वाइलिन बजाउन सिके। कलेज, होटल, कार्यक्रम र गीतमा बाजा बजाउँदै राजु संगीतकारमा 'बढुवा' भएका हुन्। राजुलाई आफ्नो मात्र होइन टोलको पनि कदमकदमको परिवर्तन सम्झना छ।
बसपार्क हटेपछि उनको घरअगाडि सेकेन्ड ह्यान्ड लुगाको बजार बस्यो। त्यसपछि खसीबजार आयो। टोलबासीको निरन्तर दबाबमा खसीबजार आठ वर्षपछि कलंकीतिर सर्‍यो। खसीबजार सरेपछि त्यहाँ तरकारीबजार आएको छ। राजुलाई बिरानो लागे पनि, उनको टोल अरूका लागि भने सधैं बजार नै रहयो।
उनको घर भएको ठाउँलाई पहिले इच्छुमती टोल भनिन्थ्यो। यसले धेरै चोटि भिन्नभिन्न नाम बदलिसकेको छ। अहिले यसलाई महानगरपालिकाले अद्धैतमार्ग बनाइदिएको छ। उनी भने आफ्नो ठेगाना बताउँदा सोध्ने मान्छेको मनोविज्ञान बुझेर फरकफरक जवाफ दिन्छन्, कहिले शंकरदेव क्याम्पसको पश्चिम त कहिले बाल्मिकी कलेजको उत्तर। शहरको बारेमा त्यति थाहा नहुनेलाई पुरानो बसपार्कको पूर्व भनिदिन्छन्। कहिलेकाहीं काठमाडौं मोडल अस्पताल, तरकारी बजार वा पुरानो खसीबजार पनि हुन्छ उनको ठेगाना।
दिउँसोभन्दा कम हल्ला हुने हुनाले उनी राति अबेरसम्म गीत कम्पोज गर्छन्। बिहान पाँच बजे ब्युँझिने उनको नियम हो। तर, बिहान जतिसुकै चाँडो ब्यँुझिए पनि उनी पहिलो हुँदैनन्। तरकारी बेच्नेहरू राति २ बजे नै आइसक्छन्। उनले सुनेका छन्, बम्बई शहर कहिल्यै सुत्दैन! त्यही बम्बईसँग दाँज्छन् उनी इच्छुमतीलाई। भन्छन्, 'राति १२ बजेदेखि एक दुई घन्टामात्र शान्त हुन्छ।'
'रित्तो सडक'पछि 'नजरको दोषी बनी' र 'कति राम्रो अलिअलि ढल्किएको छायाँ'सहित उनले कम्पोज गरेका थुप्रै गीत हिट भए। काठमाडौंमा दर्जनौं एफएम रेडियो खुलेपछि उनले भेउ पाए, एउटा गीत कतिसम्म हिट हुनसक्छ। उनका छोराहरू हरेकदिन बाहिरबाट दौडिएर आइपुग्थे र उनलाई भन्थे, 'बुबा तपाईको गीत बजिरहेको छ।'
काठमाडौंका धेरैजसो रेकर्डिङ स्टुडियो बागबजार, पुतलीसडक र डिल्लीबजारकै वरपर भएकाले राजुलाई सजिलो छ। घरबाट हिँड्यो भने पाँच मिनेटमा जुनसुकै स्टुडियो पुग्छन्। हिजोआज भने उनको 'ख्याति' र शहरको चाप दुवै बढेकाले ठाउँठाउँमा 'हाईहेल्लो' गर्दागर्दै २०/२५ मिनेट खेर जान्छ। यस्तो 'बाधाअड्चन' छल्न उनी हतारको बेला पाँच मिनेटको बाटो समेत ट्याक्सी चढ्छन्।
पैसा तिरे पनि काठमाडौंको ट्याक्सीले छोटो दूरी गुड्न आनाकानी गर्छ। ट्याक्सीको यो अटेरीपनलाई तह लगाउने तरिका उनले यही 'शहर'सँग सिकिसकेका छन्। ट्याक्सीलाई महाराजगन्जसम्मको प्रलोभन देखाउँछन् र कमलादी पुगेपछि बहाना बनाई उठेको पैसा तिरेर ओर्लिन्छन्।
योगेन्द्रमणि दाहालको शब्द, दीप श्रेष्ठको गायन र आफ्नो संगीतमा भर्खरै निक्लिएको एल्बम 'यात्रा'ले बजारमा कस्तो तरंग ल्याउँछ भन्ने कौतुहलताले भरिएको छ उनको मन। दीप श्रेष्ठको प्रसंग निक्लिने बित्तिकै उनलाई अनामनगर र यसले मारेको छलाङ याद आउँछ। 'अहिले दीप दाइकै घर भएको ठाउँअगाडि हामी पौडी खेल्न जान्थ्यौं, त्यो खोलालाई त्यसबेला हिसाखुसी भनिन्थ्यो,' उनी भन्छन्, 'हिजोआज अनामनगर पुग्दा, अर्कै दुनियाँ जस्तो लाग्छ।'
अनामनगरको रातारात उन्नतिले जिल्लिएका राजु आफ्नो टोललाई काठमाडौंका अविकसित ठाउँमध्ये एक मान्छन्। पहिलेकै जस्तो सानो गल्ली, सुविधाविहीन अग्लाअग्ला घर र अव्यवस्थित ढलले उनलाई यस्तो सोच्न कर लागेको हो। राजु भन्छन्, 'मान्छेहरू एउटा सपना लिएर यो टोलमा डेरा गर्छन् र सपना पूरा भएपछि यहाँबाट जान्छन्, कहिल्यै नफर्कनेगरी।'
शहरको एकदम केन्द्रमा जन्मिनु र हुर्किनु धेरैलाई एउटा ईर्ष्यालाग्दो जीवन हुनसक्छ। तर, राजुको सोचाइ बिलकुल फरक छ। 'मान्छेको जीवनसँग उकालीओराली र घुम्तीहरूको कस्तो सम्बन्ध हुन्छ, मलाई ज्ञान छैन,' राजु भन्छन्, 'सायद, काठमाडौंबाहिरका कलाकारहरू यो दर्शन बढी बु‰छन् होला।'
आफू काठमाडौंबाहिरको मान्छे भएको भए अहिलेको भन्दा बढी प्रगति हुन्थ्यो भन्ने अड्कल उनको छ। 'बाहिरबाट आएको भए संघर्ष अझै कडा हुन्थ्यो होला,' उनी भन्छन्, 'मलाई खान, लाउन र डेरा भाडा तिर्नुपर्ने चिन्ता थिएन। जसले गर्दा म कहिल्यै पनि प्रतिस्पर्धी भइनँ।'
उनलाई धेरैले सोध्ने गर्छ, यस्तो कोलाहलमा कसरी गीत कम्पोज हुन्छ? 'म मानसिक रूपमै तयार भइसकेँ, एअरपोर्ट छेउछाउका मान्छेलाई हवाईजहाज उड्दा जसरी डिस्टर्ब हुँदैन, त्यसैगरी मेरो पनि यहाँ बानी लागिसकेको छ।'
मान्छेहरूका अनावश्यक किचंगल र मोटरको टाँटाँटिटीले गर्दा उनको मन एकदुई पटक यो ठाउँविरुद्ध भड्किसकेको थियो। बुबाआमाबाट पनि कुनै रोकटोक थिएन। तर, टोलबासीले दिएका इज्जत र मायालाई सम्झेर उनले मन थामे। आजकल त उनलाई मान्छेहरूको ‰याउँ‰याउँ प्यारो लागिसकेको छ। त्यतिमात्र होइन, उनीभित्र एउटा शंका पैदा भएको छ, 'एकान्त ठाउँमा सर्‍यो भने शुन्य महसुस भएर बाँच्नै पो सकिँदैन कि?' उनी भन्छन्, 'यो ठाउँ छोड्नु भनेको एउटा जीवन नै गुमाउनु हो।'
हरेक सभ्यता एउटा नदीको किनारमा फैलिएको हुन्छ। इच्छुमतीले पनि एउटा 'सभ्यता' जन्मायो, जहाँ राजु बाँचिरहेका छन्। तर, दुर्भाग्य इच्छुमतीको अस्तित्व आफैले जन्माएको 'सभ्यता'मा हराउँदैछ। आज यसलाई मान्छेहरू सङ्लो इच्छुमती होइन दुर्गन्धित टुकुचाको नामले बढी चिन्छन्। राजुलाई सबभन्दा बढी दुख्ने 'घाउ' यही हो।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

कला

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली