Wednesday 20 Shrawn, 2072 |
Menu

शुक्रबार

ist-cc

'गाउँको त डनै थिएँ म'

(1 Vote)
सिर्जना सुब्बा सिर्जना सुब्बा
हक्की स्वभावकी अभिनेत्री सिर्जना सुब्बा कसैसँग दब्दिनन्। चित्त नबुझेको कुरामा पड्किहाल्छिन्। उनलाई कतिले 'जिद्दी' र 'केटाको जस्तो स्वभाव भएकी' समेत भन्छन्। थिएटर र फिल्ममा जमिरहेकी सिर्जनासँग धनबहादुर खड्का र सजना बरालको अन्तरंग कुराकानीः
खुब रिसाउन सक्ने हुनुहुँदो रहेछ?
आफूले राजकाज दाउमा राखेर प्रेम गरिएको छ। त्यो पनि चोरसँग। उसले भनेको नमान्दा रिस उठ्दैन त।

यो त नाटक 'चरणदास चोर'को महारानीको कुरा भयो। साँच्चीकै नि?
रिस उठिराख्छ मलाई। तर, धेरै बेरसम्म रिसाउँदिनँ। झनक्क रिसाउँछु। एकैछिनमा कुल पनि भइहाल्छु।

रिसको झोँकमा बबाल गरेको कुनै घटना याद छ?
स्कुल पढ्दाको कुरा हो। एकदिन हामी फुटबल खेल्न गएका थियौँ। हामी आएको चाल पाएपछि पल्लो गाउँका केटाहरू पनि आएछन्। सिक्ने त हो भनेर फिल्डलाई आधा–आधा भाग लगायौँ। तर ती केटाहरूले त ठाउँ मिच्दै–मिच्दै पो आए। केही बेर त सहेर बस्यौँ। अति भएपछि तिनलाई साफ थर्कायौँ। 'भोलिदेखि यहाँ आयौ भने ठीक हुँदैन' भनेपछि तिनीहरू कहिल्यै देखा परेनन्। त्यो दिनदेखि अरू कसैले हामीसँग निहुँ खोज्ने आँट गरेनन्।

गाउमा हुँदा डनै हुनुहुन्थ्यो?
हो नि। सात–आठ जना केटीको हाम्रो ग्याङ थियो। सबैजना झोँकी स्वाभावका थियौँ। कसैले केही गर्‍यो भने त्यसको झाँको झार्दिन्थ्यौँ। यताउति कुराको बालै हुन्थेन हामीलाई।

लिडर चाहिँ तपाई नै हुनुहुन्थ्यो?
त्यस्तै भन्नुपर्‍यो।

कतिञ्जेल फुटबल खेल्नुभयो?
धेरै खेलिनँ। जम्मा दुई वर्ष खेलेँ। आठ र नौ क्लासमा हुँदा खेलेको थिएँ। तर, त्यति समयमा पनि फुटबलले मलाई निकै फाइदा पुर्‍याएको थियो। म त क्या स्लिम पो थिएँ त त्यतिबेला! घाँटी तन्केर लामो न लामो भा'थ्यो। दह्रो एक्सरसाइज हुन्थ्यो।

त्यसपछि फुटबलको ग्राउन्ड छोडेर र्‍याम्पमा 'कुद्न' थाल्नुभयो?
प्लस टू सकाएपछि थप अध्ययनका लागि म काठमाडौँ आएकी थिएँ। तर, भित्रभित्रै मोडलिङ गर्ने रहरले गाँज्दै लगेको थियो। साथी र आन्टीबाहेक कसैसँग भनेकी पनि थिइनँ।  काठमाडौँ आएपछि 'मिस्टर एन्ड मिस ओमकार' प्रतियोगितामा भाग लिएँ। टाइटल पनि जितियो। त्यही बेला यस क्षेत्रका थुप्रैसँग चिनजान भयो। जिन्दगीमा पहिलोचोटि आफ्नो ग्याङबाहेकका मान्छेसँग घुलमिल पनि भएकी थिएँ। नयाँ–नयाँ मान्छे भेट्दा रमाइलो पनि लाग्थ्यो। बिस्तारै मोडलिङ फिल्डकै मान्छेहरूसँग उठबस हुनथाल्यो। तर, दुईतीनचोटि र्‍याम्पमा हिँडेपछि यो फिल्ड पनि खास मन लागेन। मलाई एक्टिङ गर्ने रहर जाग्न थाल्यो।

त्यसपछि थिएटरको यात्रा सुरु भयो होला।
मोडलिङ छाडेर डान्स सिक्न थालेँ। सानोमा पनि राम्रै नाँच्थँे। १५ दिनमै म त डान्स राम्रो नाच्ने भइसकिछु। त्यसपछि स्टेज प्रोग्राममा नाच्न थालेँ। एक वर्षजति स्टेजमा डान्स गरियो। त्यही बेला नेपाल टेलिभिजनमा आउने 'सुपरएक्टिङ' भन्ने रियालिटी सोमा भाग लिएकी थिए। नाचघरमा भएको अञ्चलस्तरीय नाटक प्रतियोगितामा त पुरस्कार पनि पाएकी थिएँ। त्यहीँ एक्टिङ सिक्ने कुरा भयो। साथीको सल्लाहमा एक्टर्स स्टुडियोमा सिक्न गएँ।

मोडलिङमा मन भाँच्चिनुको कारण?
साँच्चै भन्ने हो भने मलाई मोडलिङमा खासै रुचि थिएन। गर्दिऊँ न त भनेर मात्रै गरेकी थिएँ। नाटक गर्न भनेपछि सानैदेखि  रमाइलो लाग्थ्यो। एक्टिङतिर लाग्ने मेसो नपाएर मोडल बनेकी थिएँ। नाटक पाएपछि त्यो छोड्दिएँ।

कतिवटा नाटक खेल्नुभयो अहिलेसम्म?
तेह्रवटाजति पुगे कि? आजसम्म यतिमात्रै नाटक हुनाका कारण थिटरमा एउटै नाटक महिनौँसम्म प्रदर्शन हुन्छ। कहिलेकाहीँ पुरानै नाटक फेरि देखाइन्छ। फिल्मजस्तो नाटकमा एकचोटि प्रदर्शन गर्नासाथ साराले हेर्ने र सकिहाल्ने हुँदैन। थिएटर आर्टिस्टको काम गणितमा धेरै देखिँदैन।

उही नाटक, एउटै एक्टिङ, उही कथा, उही संवाद दोहोर्‍याउँदा वाक्क लाग्दैन?
लाग्दैन। बरु जति पटक गर्‍यो, उति रमाइलो लाग्दै जान्छ। पहिलो सोभन्दा दोस्रोमा 'इम्प्रुभमेन्ट' हुँदै जान्छ। गल्ती सच्याउँदै गइन्छ। त्यसैमाथि अडियन्स बढ्यो भने त त्यतातिरको ऊर्जा पनि आफूमा समाहित भएको जस्तो हुन्छ। हरेक फिल्डका मान्छेको काम दोहोरिरहेकै हुन्छ नि। हामीलाई त उल्टो नाटक देखाउन पाएन भने दिक्क लाग्छ।

नाटक गर्ने ऊर्जा अझै पनि सन्तुष्टिमात्रै हो। आर्थिक सन्तुष्टि मिलिहाल्ने अवस्था आएको छैन भन्छन् नि?
सानदार जीवन बाँच्छु, फुर्मासी गर्छु, नाटक गरेरै गाडी चढ्छु भन्नेलाई त सम्भव छैन। तर साधारण जीविकोपार्जन गर्न चाहिँ कठिन छैन। थिएटरको अवस्था पछिल्लो केही वर्षमा उँभो लागिरहेको छ। यसले आशावादी पनि बनाउँछ। एक समय थियो, नाट्यकर्मीलाई सबैले महान् ठान्थे। त्यो देखेर जो पनि नाटक खेल्नतिर तानिए । नाटकलाई नबुझीकन नाटक खेल्न थाले, जसले गर्र्दा नाटकको हालत यस्तरी खस्कियो कि बीचको १०–१२ वर्ष नाटक नामेट नै भयो। गुरुकुलको स्थापनापछि चाहिँ क्रमशः सुधार हुँदै छ। फेरि थिएटर आर्टिस्टको दिन फिर्ने संकेत प्रशस्तै भेटिन थालेका छन्।

अचेल त नाट्यकर्मीले फेरि वाहवाही पाउन थालेका छन् है...
सबैतिरबाट वाहवाही भएको छैन। काठमाडौँबाहिरका मान्छेलाई अझै पनि नाटक गर्ने कलाकार भनेका सडकमा 'नौटंकी' गर्ने हुन् भन्ने बुझाइ छ। नाटक थिएटरमा यति राम्रोसँग प्रदर्शन हुन्छ भन्ने थाहा छैन। तर, काठमाडौँबासीले भने बुझेका छन्, हेरेका छन्। त्यसैले वाहवाही पनि गरिरहेका छन्। फिल्ममा पनि थिएटर आर्टिस्टको माग बढिरहेको छ। थिएटरका कलाकारले राम्रो गर्छन् भनेर धेरैले पत्याउन थालेका छन्।

थिएटर आर्टिस्टले फिल्म खेल्न जरुरी छ?
छैन। आ–आफ्नो च्वाइस हो। तर, खेल्दा कुनै नोक्सान हुँदैन। फेरि नेपालको हालत त्यही हो। व्यापारीबाहेक एकातिर मात्रै काम गरेर धान्न सकिने अवस्था कसैको छैन। सक्नेजति काम गर्दा आफैँलाई फाइदा हुने त हो नि।

तपाईंले चाहिँ कतिवटा फिल्म खेल्नुभयो?
फिल्म 'आवाज'मा छापामार युवतीको भूमिकामा अभिनय गरेकी थिएँ। त्यसपछि 'लुट'मा पुतली भएर गरेँ। फिल्म 'नतिजा' र 'उमा'मा पनि अभिनय गरेकी छु। केही दिनबाट अर्काे फिल्म 'राहदानी'मा पनि अभिनय गर्दै छु।  

'लुट'मा अभिनय गरेयता तपाईंलाई सिर्जनाभन्दा बढी पुतली भनेर चिन्छन्, होइन?
पहिले पुतली भनेर चिने पनि त्यो सिर्जना सुब्बा भन्ने पनि धेरैलाई थाहा भइसक्यो होला अब त। त्यसअघि 'आवाज'मा छापामार युवती भएर काम गर्दा चाहिँ माओवादी युद्धमा सामेल भएकै केटी रहिछ भनेछन् धेरैले। अहिले बाटोतिर मास्क नलगाई हिँड्यो भने धेरैले पुतली भनेर बोलाउँछन्। नसुनेझैँ गर्नुपर्छ। स्टेज कार्यक्रम गर्न जाँदा 'हाकु खोइ?' भनेर हैरान पार्छन्। जे होस्, पुतली निकै फेमस भएकी छे।

साँच्ची, पुतलीको हाकु खोइ, बिहे गर्ने बेला भएन?
बिहे गर्न जुरेकै छैन, हौ। म एक्लैले गर्छु भनेर भएन। साथीभाइलाई केटा खोज्देऊ भन्यो भने 'तँ पनि केटासँग बिहे गर्छस् र?' भनेर उल्याउँछन्। म अरू केटीजस्तो लसक–मसक गर्ने खालकी छैन रे। केटाजस्ती छस् भन्छन्। सँगै काम गर्ने केटा साथीसँग अरूको लभ पर्छ रेे, मेरा त बेस्ट फ्रेन्ड हुन्छन्।

शंका गर्ने खालको कुरा पो गर्नुभयो त?
हैट्! त्यस्तो केही होइन। म त शतप्रतिशत केटी। तर, अलि फरक सोच र स्वभाव भएकी। धेरै लजाउन आउँदैन, चित्त नबुझेको कुरा फ्याट्टै भन्छु। फेरि, मेरो हुर्काइ पनि त्यस्तै भयो। स्कुलदेखि नै 'डन टाइप'की थिएँ। संगत पनि त्यस्तै खालका केटीहरूसँग थियो। त्यसकै प्रभाव परेको होला।

जे भए नि विवाह त गर्नैपर्ला नि!
दुईचार वर्षभित्र आँट्नुपर्ला। भने निँ, बिहे गर्नलाई आफूले मात्रै प्लान गरेर भएन। जुरेकै हुनुपर्छ। ढुक्क हुनहोस्, तपाईंलाई पनि निम्तो आउँछ।

चाँडै गरे पो। ढिलो गर्‍यो भने हामी कहाँ पुगिसक्छौँ होला....
जहाँ पुगे पनि फेसबुक छ नि। म निम्तो ट्याग गर्दिउँला, तपाइं दाइजो ट्याग गर्दिनुहोला। हाहाहा...।

फेसबुकको अम्मली नै हुनुहुन्छ कि कसो?
त्यतिबिघ्न चलाउँदिनँ । तर दुईतीन महिना भयो फुर्सद पाउनासाथ एकफेर खोलिहाल्ने बानी परेको छ। राति पुस्तक पढ्ने समय पनि फेसबुकले खाइदिएको छ। फाइदा चाहिँ स्कुल पढ्दाका साथीभाइसँग कम्युनिकेट गर्न सजिलो भएको छ। तर, फाइदाभन्दा नोक्सान धेरै भएकाले अब यसकोे लतबाट छुट्कारा पाउने कोसिस गर्दै छु।

एमाओवादी थप कमजोर

एकीकृत नेकपा माओवादीभित्र फेरि एकपटक नेतृत्व हस्तान्तरण र विकासको प्रसंग उठेको छ। ०४५ सालमा भएको सेक्टर काण्डपछि मोहन वैद्य किरण कारबाहीमा परेर पार्टी नेतृत्वबाट बाहिरिएका थिए। त्यसपछि निरन्तर पार्टी नेतृत्वमा...

'कविता मूल्यांकनमा निष्पक्षताको ग्यारेन्टी दिन्छु'

'कविता मूल्यांकनमा निष्पक्षताको ग्यारेन्टी दिन्छु'

विसं २०२२ देखि हरेक वर्ष असार ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महोत्सव यसपल्ट माघ २६ गते हुँदैछ। असार ९ गते आयोजना हुन नसकी स्थगित भएको महोत्सव...

मूर्तिजस्तो मान्छे

मूर्तिजस्तो मान्छे

मानिसको जीविकाको माध्यमको कुनै सीमा हुँदैन। अनौठो काम गरेर गुजारा गर्ने मानिसमध्ये बेलायती नागरिक पल एडमिड्स पनि एक हुन्। लन्डननिवासी पल मूर्तिजस्तो भएर उभिने गर्छन्। हप्तामा पाँच दिन उनी मूर्ति...

प्रकाशकीय

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको साप्ताहिक प्रकाशन शुक्रवार पाँचौँ वर्षमा प्रवेश गरेको छ। प्रकाशन सुरु भएको हप्तादेखि नै पाठकले देखाएको माया र सद्भावले हामी अत्यन्त उत्साहित थियौँ।

सेतो पर्दा : अडिसनका फाइदा

केही समयअघि एउटा अनलाइन पत्रिकाले ‘अडिसनमा फलानो कलाकार फेल भए’ भनेर समाचार लेखेको थियो। उक्त समाचार प्रकाशित भएपछि केही फिल्मकर्मीले आपत्ति पनि जनाए। समाचारको लेखाइ र अडिसनप्रति पत्रिकाको बुझाइ गलत...

सुरक्षा नीतिबारे अन्तर्राष्ट्रिय सम्मेलन : जनताले आफूलाई सुरक्षित ठानोस्

सुरक्षा नीतिबारे अन्तर्राष्ट्रिय सम्मेलन : जनताले आफूलाई सुरक्षित ठानोस्

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनुभवी सुरक्षा विज्ञहरूबीच नेपालको भावी सुरक्षा नीतिबारे गत हप्ता ललितपुरमा बृहत् बहस भयो। देशको बदलिँदो सुरक्षा संवेदनशीलतामाथि गम्भीरतापूर्वक विमर्श नगरिएकोमा सहभागीहरूले चिन्ता व्यक्त गरे। राजनीतिक दबाब...

विमान खाने सागर

विमान खाने सागर

इन्डोनेसियाबाट सिंगापुर गइरहेको एयर एसियाको विमान क्यूजेड ८५०१ अझै बेपत्ता छ। विमानमा १ सय ५५ यात्रु सवार थिए। हराएको विमान र एयर ट्राफिक सिस्टम (एटीसी) बीच भएको अन्तिम संवादमा विमानका...

'सदा चमत्कारको आशामा हुन्छु म'

'सदा चमत्कारको आशामा हुन्छु म'

रंगमञ्चबाट फिल्ममा प्रवेश गरेर सम्भवतः सबैभन्दा जमेका अभिनेता हुन्, सौगात मल्ल। 'कागबेनी', 'लुट', 'कथा', 'उमा', 'सुनगाभा', 'छड्के' लगायत फिल्ममा उनले आफ्नो अभिनय कौशल देखाएर दर्शकको मन जितेका छन्। आफ्ना पात्रलाई...