13 Mangshir, 2071 |
Menu

अरबको भन्दा चटपटको कमाइ राम्रो

  • मङ्गलबार १० बैशाख, २०७०
  • नरहरि सापकोटा
  • DISQUS_COMMENTS
Ad MyNepal Nagarik
(0 votes)
रोजगारीका लागि भौतारिँदै गर्दा उनी गाडीमा खलासी पनि भएका थिए। पहिलेको अवस्था सुनाउँदै ज्ञानु भन्छन्, 'कामकै खोजीमा खाडी पनि पुगें।' उनी दुई वर्षदेखि गोरखा सदरमुकाममा चटपट बेचिरहेका छन्। उनको दैनिक कमाइ एक हजार रुपैयाँभन्दा माथि हुन्छ।

चटपट बेचेर राम्रो आम्दानी हुन थालेपछि ज्ञानुले श्रीमतीलाई पनि यही पेसा सिकाए। उनकी श्रीमती सरिता पनि एक महिनादेखि गोरखा बसापार्कमा चटपट व्यापार गर्छिन्। सरिता भन्छिन्, 'सुरुसुरुमा त लाज लाग्थ्यो, कमाइ राम्रो हुन थालेपछि बानी पर्दै गयो।' बिहान बेलुका छाक टार्नै पर्ने भएपछि काम गर्न बानी परेको उनी बताउँछन्। यो दम्पतीले चटपट बेचेरै बंगुर पनि पालेको छ। छोरालाई राम्रो स्कुलमा पढाएका छन्। घर चलाउन कुनै समस्या नभएको सरिता बताउँछिन्।
अर्का शीतल विक पनि चटपट व्यापारी नै हुन्। मोटरसाइकल चढ्ने रहर उनले चटपट बेचेरै पूरा गरे। भन्छन्, 'पहिले पहिले त युवा भएर नि के चटपट बेचेको होला भन्थे, अप्ठेरो लाग्थ्यो, जहाँ गए पनि काम नगरी खाना पाइँदैन भन्ने भएपछि अहिले बानी परिसक्यो,' उनी भन्छन्, 'विदेश जानुभन्दा परिवारसँगै बसेर मासिक १०/१५ हजार आम्दानी गर्नु नै बेस।'
गोरखा सदरमुकाम र आसपासका क्षेत्रमा चटपटको व्यापार निकै फस्टाउँदो छ। अधिकांश चटपट व्यापारी मधेसीमुलका छन्। सदरमुकाम आसपासमा मात्रै ३० भन्दा बढी चटपट व्यापारी छन्। सडकमै चटपट राखेर व्यापार गर्दै आएका यहाँका भने यी विक दम्पती र शीतल हुन्। अरु सबै तराई र भारत आसपासका हुन्।
अचेल गोरखामा चटपट बेचिरहेका बाराका गोविन्द गुप्ता धेरै पैसा कमाउन चार वर्ष पहिले विदेश गएका थिए। यहाँ चटपट बेचेर मासिक ३० हजारभन्दा बढी आम्दानी गर्ने उनले त्यहाँ १५ हजारमा चित्त बुझाउनुपरेको थियो। भन्छन्, 'विदेशमा भन्दा त यहाँ धेरै राम्रो छ।'