Wednesday 10 Baishak, 2071 |
Menu

सांसारिक स्वामी

  • मङ्गलबार १० बैशाख, २०७०
  • सन्तोष रिमाल
  • DISQUS_COMMENTS
(1 Vote)
काठमाडौं - काठमाडौंमा गर्मी चर्किरहेको बेला पनि बालाजु बाइपासदेखि ५ किलोमिटर परको ओशो तपोवन शीतल नै रहन्छ। गत शनिबार बिहानैदेखिको झरीले काठमाडौं शीतल थियो, तपोवनमा भने जाडो। तर त्यहाँको मेडिटेसन हलमा चलेको अन्तर्क्रियाले सबैको दिमाग तताएको थियो।

नवलपरासीकी युवतीमाथिको सामूहिक बलात्कारको समाचार चर्चा  हुँदैथियो त्यहाँ। बढ्दो बलात्कारका घटना कडा कानुनले मात्र रोक्न नसक्ने धारणा सुनाउँदै तपोवनका स्वामी अनन्द अरुण यसको सामाजिक कारण खोतल्दै छन्, ‘संसारका सबै धर्मले यौनलाई दबाउन सिकाएका छन्, यस्तो घटना त्यसकै परिणाम हो।'
हालै तीन हप्ता लामो अमेरिका भ्रमण गरेर फर्किएका अरुणले उता यौनमा बढी खुला हुँदा निम्तिएको समस्या पनि पोखे। अमेरिका बस्ने एक भारतीयको समस्याले उनलाई झन् चकित तुल्याएछ। ‘१३ वर्षीया छोरीलाई डिप्रेसन भएछ, केही उपाय छ कि भन्दै मकहाँ आए,' अरुणले भने, ‘छोरीका सबै साथीले प्रेगनेन्ट भइकन एबोर्सनसमेत गराइसेका रहेछन्, ती विचरी  प्रेगनेन्ट नै हुन नपाएकाले फ्रस्टे्रट रहिछन्।'
यौनलाई कतै दबाएर त कतै खुला छोडेर समस्या निम्तिएको छलफल चल्दा स्रोताका रुपमा अधिकांश युवा थिए। ‘राम्रो चिज पढ्ने, ध्यान गर्ने गरेको भए न बलात्कारका घटना हुँन्थे न १३ वर्षमै प्रेगनेन्ट नभएको निहुँमा फ्रस्टे्रट। यौनलाई दबाउनु र अनुशासित नहुनु दुवै अवैज्ञानिक छन्,' उनले भने।
तपोवनमा ध्यानका साथै आनन्द अरुणको ‘सत्संग'मा यस्ता समसामयिक समस्या र निराकरणको उपायमाथि नियमित छलफल चल्छ। तपोवनमै बस्ने युवा स्वामी आनन्द अर्हत ध्यान र सत्संगमा युवा सहमागिता बढ्दै गएको देखेर खुसी छन्।
इन्जिनियरिङमा प्रमाणपत्र तह पूरा गरेर उच्चशिक्षाका लागि रुस उड्दा आनन्द अर्हतसँग सांसारिक सपना थियो। राम्रो पढ्ने, राम्रो कमाउने र फर्केपछि व्यावसायिक रुपमा स्थापित हुने। ६ वर्ष लगाएर उनले ‘कम्प्युटर सिस्टम एन्ड नेटवर्क' विषयमा मास्टर्स गरे। देश फर्कंदा उनको सपना बदलिसकेको थियो।
‘म को हुँ?' अर्हत भन्छन्, ‘रक्सीले मातेका बेला मलाई सधंै यही प्रश्नले बिथोल्थ्यो। ५ दिन कोठाको ढोका बन्द गरेर जवाफ खोजें, पाइनँ।' नेपाल फर्केपछि उनले दुई चिज खोजिरहे, एउटा यो प्रश्नको जवाफ अर्को जागिर। उनले नेपाल विद्युत प्राधिकरणमा करारको जागिर पाए। ध्यानको चक्करमा पर्दै गएका अर्हतलाई त्यहाँको माहोलले दुई वर्षभन्दा टिकाएन।
नेपाल बंगलादेश बैंकको जागिरमा पनि उनी सन्तुष्ट हुन सकेनन्। आशो रजनिशको ‘गीता दर्शन'ले उनलाई नयाँ बाटो देखायो। ‘ध्यानबाटै मैले लामो समयदेखि खोजिरहेको प्रश्नको जवाफ पाउँछुजस्तो लाग्यो,' उनी १२ वर्षअघि फर्कन्छन्, ‘तपोवन गएर सन्यास लिएँ, आफ्नो समस्या स्वामीजी (आनन्द अरुण)लाई बताएँ, त्यति नै बेला कम्प्युटर सेक्सन खाली भएछ, उहाँले बोलाउनुभयो।' त्यो बेलादेखि नै अर्हत तपोवनमा रमाइरहेका छन्। आफ्नी जीवन संगिनी पनि उनले यहीं भेटे।
सुरुमा समाजबाट पलायन भएको आरोप लगाउनेले पनि अहिले अर्थपूर्ण जीवन बाँचेको प्रतिक्रिया दिएको बताउँछन् उनी। जागिर नछोडेको भए कति पदोन्नति हुन्थ्यो उनले कहिल्यै सोचेनन्। आफ्नो ‘आध्यात्मिक उन्नति'ले उनलाई सन्तुष्ट तुल्याएको छ। आध्यात्मिक शिविर चलाउन देश विदेश चाहर्ने अर्हतलाई यस कुराले खुसी बनाएको छ, ‘जीवनमा ध्यान, प्रेम र वैराग्यको सन्तुलन चाहिन्छ।  मेरो जीवनमा त्यही सन्तुलन छ।'
१२ वर्षमा उनले देखे, ध्यानबारे युवापुस्ताको सोचाइमा आएको परिवर्तन। उमेर घर्किएपछि मात्र ध्यान, योगमा लाग्नुपर्छ भन्ने मान्यता बदलिन थालेको उनी दाबी गर्छन्। ‘युवासँग ऊर्जा हुन्छ। तर, त्यसलाई कहाँ प्रयोग गर्ने भन्ने राम्रो ज्ञान हुँदैन। ऊर्जाको सन्तुलन र सञ्चालन गर्ने तरिका जान्न, दिग्भ्रमको बादल हटाउन ध्यान आवश्यक छ,' उनी भन्छन्, ‘मन बादल लागेजस्तो धुम्म किन हुन्छ भनेर सोच्न समय दिनुपर्छ। त्यो हटाउन सके सूर्य त छँदैछ नि, न्यानो र छर्लङ पार्न।'
अर्हतजस्ता अरु युवा पनि तपोवनमा बस्छन्। हास्य, नृत्य र कार्यकौशललाई उनीहरुले जीवनको भाग बनाएका छन्। ‘हामी काम गरेरै यहाँ बसेका छौं, समस्यासँग डिल गर्न सिकाउँछौं, आगन्तुकसँग आस हैन प्रेमको सम्बन्ध छ,' अर्हत सुनाउँछन्।
स्वामी ध्यानऋषि पनि अर्हतजस्तै तपोवनमै बसोबास गर्छन्। आशोको ‘कुण्डलिनी यात्रा'मा पाएको ध्यान विधिले आकर्षित गरेको उनी बताउँछन्। ‘नौ वर्षअघि शिविरमा आउँदा स्वामीजीले स्वयंसेवक चाहिएको घोषणा गर्नुभयो। मैले ईच्छा बताएँ, काम मिल्यो,' उनी उनी कम्युटर सेक्सनमा काम गर्छन्।
योग, सक्रिय ध्यान, विपश्यना, नादब्रम्ह, कुण्डलिनी, सत्संग आदि तपोवनमा नियमित हुने कार्यक्रम हुन्। तीनथरीका साधकले उक्त कार्यक्रमको लाभ उठाइरहेका छन्। एकथरी त्यहीं बस्छन्, त्यहीं काम गर्छन्। तपोवनमा बस्ने, काम गर्न बाहिर जानेको संख्या ठूलै छ। त्योभन्दा ठूलो छ, बाहिरी दुनियाँमा रमाउने उपाय खोज्न तपोवनको शिविर धाउनेको संख्या। त्यस्तो सूचीमा देश र विदेशका चर्चित सेलिब्रेटी र नेताहरु पनि छन्।
पाँच वर्षदेखि डिपार्टमेन्ट अफ इन्टरनेसनल डेभलभपमेन्ट (डिएफआइडी) नेपालको जागिर तपोवनबाटै भ्याएका छन् नवीन दाहालले। १२ वर्षअघि ओशो सन्यासी बनेका उनी त्यहाँको माहौलसँग रत्तिएपछि उतै बस्न थालेका हुन्। ‘बाहिर बस्दा पार्टी, टिभी, अन्य गतिविधिले गलाउँछ र त्यस्तै बनाउँछ। यहाँ बस्यो त्यस्ता झन्झटबाट पूरै मुक्त,' उनी कम्युन रोज्नुको कारण छ।  
भौतिक समृद्धि र ध्यानलाई सँगसँगै लैजाने ओशो दर्शनबाट उनी इन्जिनियरिङ कलेज पढ्दै प्रभावित रहेछन्, १९९० तिरै। ओशोका किताबले उनलाई तपोवनको बाटो नाप्न प्रेरित गरेछ। ‘ओशोप्रतिको आकर्षण र ध्यानको आनन्दले यहीं बस्न प्रेरित गर्‍योे,' दाहाल आफ्नी श्रीमतीसँगै तपोवनमा बस्छन्। त्यहाँ बस्दा घर र भान्छाको व्यवस्थापनमा खेर जाने शक्ति जोगिएको उनले अनुभव गरेका छन्।
पुतलीसडकको नटराज टुर्स एन्ड ट्राभल्समा एकाउन्ट र फाइनान्सको काम गर्छन् अखिल गौतम। एक हप्ताको मानसिक थकान मेट्न र अर्को हप्ताका लागि ऊर्जा बटुल्न उनी प्रत्येक शनिबार तपोवन पुग्छन्। त्यहाँ स्वामी प्रेम अखिलको नामले उनी चिनिन्छन्। ‘आनन्द, शान्ति र स्वच्छताको लागि म यहाँ आउने गर्छु, प्रेसर थेग्ने क्षमता बढेको महसुस हुन्छ। एउटा प्रवचनले नै शान्त र आन्नद बनाउँछ,' जहाँ रह्यो त्यही दुनियामा रम्ने क्षमता (स्चिङ क्यापासिटी) बढेको उनले अनुभव गरेका छन्।
सही बन्ने प्रयत्न गर्ने र बाहिरी दुनियाँको अनावश्यक टिप्पणी नगर्ने अवस्थामा पुग्न तपोवनको ‘प्याकेज'ले सघाउ पुर्‍याएको उनको अनुभव छ। नौ वर्षअघिसम्म उनको जीवनशैली आमयुवाको भन्दा फरक थिएन। बियर पार्टी, पिकनिक, तास र क्याम्पफायरको योजना उनकै अगुवाइमा बन्थ्यो। अहिले उनी ती कुराले आकर्षित गर्दैन भन्छन्। कामप्रति उत्तरदायित्व, लगाव र नतिजामुखी हुन ध्यानले सघाउ पुर्‍याएको उनको अनुभूति छ। ‘शान्त मनको पृष्ठभूमिमा सबै काम ध्यानजस्तो लाग्छ, कहिल्यै फ्रस्टे्रसन हुँदैन,' उनी खुलाउँछन्।
स्मारिका रिजाललाई तपोवनका सन्यासीहरु ‘मा ओशो अर्पिता' भन्छन्। प्लस टु पढ्दै गर्दा १० वर्षअघि नै उनले सन्यास लिइन्। समाजशास्त्रमा स्नातकोत्तर गरेपछि तपोवनकै स्वामी योग नित्यानन्दसँग विवाह गरिन्। तपोवनबाटै भयो उनको विवाह। दिदीको संगतले ओशो साहित्यप्रति आकर्षित उनलाई तीन दिनको शिविरले सन्यासी बन्न प्रेरित गर्‍यो। ओशो भवन कमलादीमा काम गर्न उनी तपोवनबाटै आइपुग्छिन्।
दैनिक डायनामिक्स (सक्रिय ध्यान) गरेपछि उनी अफिस जान्छिन्। फर्केपछि साँझको कार्यक्रममा भाग लिन छुटाउँदिनन्। ‘आनन्दको स्रोत त यही होजस्तो लाग्छ। ऊर्जा लिएर काममा जान्छु, ऊर्जा लिन साँझ आइपुग्छु,' उनी ध्यानले जीवनप्रतिको बुझाइ बदलेको ठान्छिन्।
उनीसँगै काम गर्ने श्वेता रानाभाट वनस्थलीकी बासिन्दा हुन्। मेडिटेसनले आफ्नो बाबुको बानीमा आएको आमुल परिवर्तनले उनलाई यसमा ‘केही छ' जस्तो लाग्यो। ओशोका किताब र म्यागेजिनको उनी नियमित पाठक बनिन्। तीन वर्षअघि सन्यास लिएकी छिन्। तर, तपोवनमै बस्ने धारणा बनाएकी छैनन्। ‘पहिला करिअर बनाऔं, त्यसपछि जीवन कसरी अघि बढाउने सोचौंला,' रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारितामा स्नातकोत्तर गर्दै गरेकी उनी भन्छिन्।
उनलाई अफिसले नै ध्यान गर्ने सुविधा दिएको छ। पब्लिक रिलेसन अफिसरमा करिअर खोजिरहेकी श्वेता ‘कामसँगै ध्यान'को पक्षमा छिन्। उनलाई ओशोको ‘जोर्बा दी बुद्ध'को दर्शन उपयुक्त लाग्छ।
‘आजसम्म मनुस्य दुई खेमामा विभाजित छ। ओशोको नयाँ मनुष्यको परिकल्पना जोर्बा र बुद्धको समन्वयमा छ। उनले भनेका छन्, जब म जोर्बालाई देख्छु उसलाई अधुरो पाउँछु। उसमा उत्सवको संगीत छ तर मौनको शान्ति छैन। जब म बुद्धलाई देख्छु मौन र साधनाको शान्ति र सौहार्दता त छ तर उत्सव, प्रेमको नृत्य र लालित्य छैन। म यस्तो मनुष्यको परिकल्पना गर्छु जसमा यी दुवै गुण हुन्। उनले समृद्ध, स्वस्थ, उत्सवपूर्ण तथा धर्म र ध्यानको शान्ति र मौनको सुवाससित जीवनको परिकल्पना गरेका छन्,' अरुणले आफ्नो पुस्तक ‘सन्त दर्शन'मा उल्लेख गरेको पंक्तिले श्वेतालाई ‘जोर्बा दी बुद्ध'को मार्गमा आकर्षित गरेको हो।
‘व्यक्ति भोगवादी भए या त्यागवादी, कि रागी भए कि वैरागी। ओशोले कल्पना गरेको नयाँ मानव वितरागी हुन्छ, जसमा राग र वैराग्य दुवैको सन्तुलन हुन्छ,' तपोवनका युवा सन्यासी ‘वितरागी'को मार्गमा छन्।
Our website is protected by DMC Firewall!