Tuesday 14 Ashwin, 2071 |
Menu

स्वास्थ्य

softworica

हिमाली क्षेत्रमा पनि औलोका बिरामी

(0 votes)
अहिले धेरैले औलोलाई तराईको रोग भन्ने ठान्छन्। तापक्रम वृद्धिसँगै तराईमा बढी भेटिने औलोका बिरामी पहाडी र हिमाली क्षेत्रमा समेत देखिन थालेका छन्। 'पहाडको माथिल्लो भाग र केही हिमाली क्षेत्रमा समेत औलोका बिरामी भेटिन थालेका छन्, ' इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिडी ठाकुरले भने, 'तापक्रम बढ्दै गएकाले असोज अन्तिमसम्म पनि औलो देखिन थालेको छ।'

महाशाखाका अनुसार विगत वर्षहरूमा औलो चैतदेखि भदौसम्म धेरै मात्रामा देखिने गरेका थियो। औलो सार्ने परजीवी नभेटिएका जिल्लामा पनि संक्रमित भेटिनुले रोगको दायरा बढ्दै गएको देखिएको छ। प्रयोगशालाबाट प्रमाणित औलो रोगीको संख्या ३ हजार हाराहारीमा रहेको र शंकास्पद औलो रोगीको संख्या अप्रत्याशित रूपमा बढ्दै गएको ठाकुरले बताए। 
महाशाखाका अनुसार समुद्र सतहबाट १ हजार ५ सय मिटरमाथिका १० जिल्लाबाहेक ६५ वटा जिल्लामा औलोको संक्रमण छ। यही आधारमा नेपालको करिब असी प्रतिशत जनसंख्या औलोका जोखिममा रहेको सरकारी अनुमान छ। हालसम्म हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, बाजुरा, रसुवा, सोलुखुम्बु, भक्तपुर र काठमाडांैमा औलोको संक्रमण देखापरेको छैन। अहिले ती जिल्लामा लामखुट्टे भेटिए पनि औलो सार्ने प्यारासाइट भने भेटिएका छैनन्। भक्तपुर र काठमाडौंमा चाहिँ रोगी भेटिइसकेका छन्। 
सरकारले अहिले औलोका उच्चजोखिम रहेका ३१ जिल्लामा गर्मी मौसमको सुरूआतसँगै विषादीयुक्त झुल वितरण र विषादी छर्ने कार्यक्रम राखेको छ। 'हामी उच्चजोखिम भएका भन्दै तराईमाकेन्द्रित छौं, औलो पहाड र हिमाल चढ्दैछ,' महाशाखाका एक अधिकारीले भने। सरकारले रणनीतिक योजना तर्जुमा गरेर औलोका प्रमुख सूचक मानिने वार्षिक परजीवी दर प्रति हजारमा एकभन्दा कमबाट बढ्न नदिने लक्ष्य लिएको ठाकुरले बताए।
सन् २०१६ सम्ममा नेपालका औलोग्रस्त क्षेत्रका कम्तीमा ९० प्रतिशत स्थानमा लामखुट्टे नियन्त्रणका उपाय अवलम्वन गरिने उनले बताए। '९० प्रतिशत शंकास्पद औलो रोगीहरूको प्रयोगशालाबाट यकिन निदान गरी शतप्रतिशतलाई प्रभावकारी उपचार गरिनेछ,' निर्देशक ठाकुरले भने।
६५ जिल्लामा औलोको जोखिम भए पनि तीमध्ये सरकारले भारतीय सिमानास"ग जोडिएका तराईका १३ जिल्लालाई औलोको उच्चजोखिममा राखेको छ, जसमा झापा, इलाम, मोरङ, महोत्तरी, धनकुटा, सिन्धुली, काभ्रे, नवलपरासी, बर्दिया कैलाली, कन्चनपुर, डडेलधुरा र बा"के छन्। यो रोग लामखुट्टेको टोकाइबाट मात्रै सर्ने भएकोले औलो सम्भावित ठाउँमा झुल प्रयोग, लामखुट्टेले टोक्न नसक्ने क्रीम प्रयोग, घर वरिपरि सरसफाइ, विषादी छरेर रोगको जोखिमबाट बच्न सकिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २००८ मा विश्वव्यापी रूपमा २४ करोड ७० लाख औलो रोगी देखिएकामा १० लाखको मृत्यु भएको थियो।

यसरी सर्छ औलो
बोलचालको भाषामा कामज्वरो भनिने औलो पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाइले सर्छ। औलो सर्न दुई वटा चक्र पूरा हुनुपर्छ। पहिलो चक्रअनुसार संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेपछि र्याईलस"गै व्यक्तिको रगतमा औलाकोे परजीवीलाई पुग्छ। संक्रमित लामखुट्टेले टोकेको १० देखि १२ दिनपछि उक्त व्यक्तिमा औलोको लक्षण देखापर्छ। दोस्रो चक्रअनुसार औलो रोगीबाट असंक्रमित पोथी एनोफिलिस लामखुट्टेले पनि स्वस्थ व्यक्तिमा औलो सार्न सक्छ। यस्तो लामखुट्टेले औलो रोगीलाई टोकेपछि असंक्रमित पोथी एनोफिलिस लामखुट्टले बिरामीको रगतस"गै औलोको परजीवीलाई समेत लिन्छ। त्यसको १२ देखि १४ दिनपछि यो लामखुट्टे संक्रमित भएर औलो फैलाउन सक्षम हुन्छ र त्यसले जति पनि स्वस्थ व्यक्तिलाई टोक्छ उनीहरूलाई औलो सार्दै जान्छ। 
चार किसिमका परजीवीले औलो गराउने भए पनि नेपालमा प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिफेरमले औलो सार्छ। यी दुई परजीवीमध्ये भाइभेक्सभन्दा फाल्सिफेरमले कडा खालको औलो गराउँछ। कडा खालको औलो रोग लाग्यो भने बिरामीको अवस्था गम्भीर हुने र मस्तिष्कमा रक्तस्राव भई मृत्यु पनि हुनसक्ने ठाकुर बताउँछन्। 
औलोको लक्षण
लामखुट्टेले टोकेका दसदेखि १२ दिनभित्र एक्कासि कामज्वरो आउने, अगाडि टाउको दुख्ने, हातखुट्टा तथा जोर्नी दुख्ने, अल्छी लाग्ने, मांसपेशी दुख्ने, ओठमा फोका देखिने, भोक नलाग्ने, जाडो भएर कम्पन छुट्ने र नरम वा मन्द ज्वरो आउने लक्षण देखिन्छ। सुरुमा जाडो हुने, ज्वरो आउने र पसिना छुट्ने तीन चरण औलोको पहिचान गर्न सकिने प्रमुख लक्षण हो। यसले असर बढाउँदै जाँदा रक्तअल्पता भई अनुहार फुस्रो देखिने, कब्जियत हुने, फियो र कलेजो सुन्निने, ठूलो हुने र थिच्दा दुख्ने हुन्छ। महाशाखाकै अर्का चिकित्सक विश्वराज खनालका अनुसार औलो हुँदा निश्चित समयसम्म जाडो हुने, गर्मी हुने र पसिनापछि केही हल्का र कम्जोर भएको महसुस हुन्छ। खासगरी बालबालिका र गर्भवती महिलालाई औलोरोग लागेमा अवस्था जटिल भई मृत्यु हुने सम्भावना बढी हुन्छ। 'रोग प्रतिरोधात्मक क्षमता अन्य उमेरका व्यक्तिमा भन्दा कम हुने भएकाले मृत्युको सम्भावना बढी हुन्छ,' उनले भने।