Wednesday 15 Ashwin, 2071 |
Menu

स्वास्थ्य

softworica

उच्च रक्तचाप छ? कारण पत्ता लगाउनुस्

  • मङ्गलबार १० बैशाख, २०७०
  • दीपक दाहाल
  • DISQUS_COMMENTS
(0 votes)
तीन वर्षदेखि उच्च रक्तचापको औषधी सेवन गरिरहेका एक युवक केही दिनअघि खुट्टा सुन्निएको अवस्थामा राजधानीको वीर अस्पताल पुगे। मुटुरोग विशेषज्ञको निगरानीमा औषधी खाइरहेका उनी उच्च रक्तचापले मिर्गौला हानिसकेको आशंकामा अस्पताल पुगेका थिए।
मिर्गौलाको वायस्पी (टुक्राको जाँच) गर्दा मिर्गौलामा खराबी देखियो। तर, त्यो खराबी उच्च रक्तचापले गर्दा भएको थिएन। परीक्षणबाट पत्ता लागेको मेम्ब्रेन नेफ्रोप्याथी भनिने रोगको कारणले पो उच्च रक्तचाप देखिएको रहेछ। मिर्गौलासम्बन्धी रोगको उपचारसँगै उनले उच्च रक्तचापको औषधी छाड्न पाउनेछन्। तर, मिर्गौलासम्बन्धी रोगको औषधि भने जीवनभर खानुपर्ने अवस्था छ।
अस्पतालका वरिष्ठ फिजिसियन डा. अनिल बरालका अनुभवमा लामो समयदेखि रक्तचापको औषधी खाइरहेकाहरूमा पनि पछि मात्र उच्च रक्तचापको कारण अन्य नै भएको पाइएको छ। जाँचका क्रममा उच्चरक्तचाप एकदमै बढेको पाइएपछि चिकित्सकले पनि तत्कालै औषधी सुरु गरिदिने प्रवृत्ति हाबी छ। उच्चरक्तचापको कारण नै पत्ता नलगाई औषधी सुरु गर्नाले समस्या बढ्दै गएको छ।
डा. बरालका अनुसार पछिल्ला दिनमा अस्पताल आउने अधिकांश युवाहरूमा उच्च रक्तचापको समस्या देखिएको छ।
त्यसको प्रमुख कारण अन्य कारणले रक्तचाप बढ्ने (सेकेन्डरी हाइपरटेन्सन) हो। तर, अधिकांश अवस्थामा बिरामी पनि मुटुरोग विशेषज्ञकहाँ जाने र विशेषज्ञले पनि रक्तचापले गर्ने असरबाट बचाउन तत्काल औषधी चलाइहाल्छन् ।
धेरैजसो युवामा हुने उच्च रक्तचाप स्वयंमा रोग नभई अन्य रोगका कारण उत्पन्न भएको समस्या हो। यस्तो अवस्थामा अन्य रोगको सही परीक्षण र उपचारले रक्तचाप घट्छ। अन्य कारणले रक्तचाप भए पनि ती रोग पालेरै उच्च रक्तचापको औषधी खाइरहेका बिरामी अहिले वीरमा सातामा २-३ जना भेटिने गरेका छन् । 
मुटुको मुख्य नसा एर्आेटा साँघुरिने समस्या, ग्रन्थीका रोगहरू (कुसिन सिम्ड्रोम) मधुमेह, इन्डोक्राइन, थाइरोइड, स्टेरोयड औषधी, ग्रोथहर्मन वृद्धि, पेनकिलर, मिगौलीसम्बन्धी समस्यामा पिसाबबाट पोट्रीन खेर जाने रोग, मिर्गौलामा फोका देखिने रोग र मिर्गौलाको रगतको नसा सानो हुनेरोग र क्रोनिक मिर्गौला फेलियरले पनि रक्तचाप बढ्न सक्छ।
मिर्गौलासम्बन्धी विषयमा सुपरस्पेसियालिटी अध्ययनरत डा. बरालका अनुसार अधिकांश अवस्थामा उच्च रक्तचापको कारण यकिन गर्न नसकिए पनि उच्च रक्तचापका प्राइमरी कारणमा शरीरमा नुनको मात्रा बढी भएपछि नुनको भार घटाउन मिर्गौला पूरै फाल्नुपर्ने र त्यसका लागि रक्तचाप बढाउनुपर्छ। प्राइमरी रक्तचापको अर्को कारण शरीरमा एक प्रकारको मिर्गौलाबाट उत्पादन हुने रेनिन हर्मोनले कलेजोबाट उत्पादन हुने एन्जियोटेन्सिन सक्रिया गराइदिन्छ, जसले एड्रिनल ग्रन्थीबाट उत्पादन हुने अल्डोस्टेरोन नामक हर्मोनलाई सक्रिय बनाउँछ। उक्त हर्मोनले मिर्गौलाबाट नुन र पानी शरीरमा सोसेर राख्छ र रगतमा मात्रा बढाउँछ, जसले गर्दा रक्तचाप पनि बढ्छ। सिम्प्याथेटिक सिस्टमले एड्रिनलिन र नरएड्रिनलिन नामक हर्मोन उत्पादन गर्छ, जसले गर्दा मुटको गति बढाउँछ र रगतको नसा साँघुरो बनाइदिन्छ। यसले गर्दा प्रेसर बढ्छ। यी तीनवटै अवस्थामा औषधी खानुपर्छ।
संसारभर नेफ्रोप्याथी एन्ड हाइरपटेन्सन भनेर उच्चरक्तचापमा मिर्गौला रोग विशेषज्ञबाट जाँच सुरु गरे पनि नेपालमा मुटुरोग विशेषज्ञलाई देखाइन्छ। चिकित्सकहरूसमेत अन्य कारणको खोजी नगरी औषधि सुरु गर्न हतारिने गरेको डा. बराल सुनाउँछन्। 'तीन वर्षदेखि उच्च रक्तचापको औषधी खाइरहेका मानिसले बीचमा खुट्टा सुन्नियो भनेर जाँदा पनि ती मुटुरोग विशेषज्ञले किड्नीको जाँच नगराई औषधीले होला भनेर औषधि चेन्ज गरेर पठाएछन्,' डा.बराल भन्छन्, '८० प्रतिशतभन्दा बढी रक्तचापको सम्बन्ध मिर्गौलासँग हुन्छ, तर बिरामी रक्तनसा पनि जोडिने र मुटुमा असर गर्ला भन्ने डरले कार्डियोलोजिस्टलाई देखाउँछन्।' 
विभिन्न अध्ययनले नेपालमा १८ वर्षमाथिका जनसंख्यामध्ये ग्रामीण क्षेत्रमा २० प्रतिशत र सहरी क्षेत्रमा ३५ प्रतिशत उच्च रक्तचापबाट पीडित छन्। एक अध्ययनअनुसार काठमाडौंमा ३० वर्षमाथिका सम्पूर्ण जनसंख्याको १० प्रतिशतमा उच्च रक्तचाप छ। शहिद गंगालाल हृृदय केन्द्रको अध्ययन अनुसार १८ वर्ष माथिका वयस्कमा उच्च रक्तचाप २० प्रतिशत पाइएको छ। डा. बरालका अनुसार युवा अवस्थामा देखिने उच्च रक्तचापको कारण जहिले पनि 'सेकेन्डरी' हुन्छ।
बिनालक्षण शरीरका विभिन्न अंगमा गम्भीर असर पार्नसक्ने भएकाले उच्च रक्तचापलाई सुषुप्त हत्यारा (साइलेन्स किलर) भनिन्छ। जीवनशैली उच्च रक्तचापको प्रमुख कारण हो। सामान्य अवस्था रक्तचाप उच्च हुनेबित्तिकै औषधि सेवन थालिहाल्नुभन्दा पहिले सकेसम्म कारण पत्ता लगाउन खोज्ने र जीवनशैली परिवर्तन गरेर हेर्न चिकित्सकहरू सल्लाह दिन्छन्। 'नुन कम खाने, मोटोपन घटाउने, रक्सी, चुरोट सेवन नगर्ने, तनाव कम गर्दा रक्तचाप नियन्त्रणमा आउन सक्छ,' डा.बराल भन्छन्, 'माथि १५० सम्म औषधी थालिहाल्नु पर्दैन, तर औषधि थाल्ने र छाड्ने निर्णय डाक्टरको सल्लाहअनुसार गर्नुपर्छ।'
अधिकांश अवस्थामा औषधी खान थालेपछि छाड्न नहुने भएकाले होसियारीपूर्वक जाँच गराउनुपर्छ। उच्च रक्तचाप घट्यो भनेर औषधि छाड्दा ब्रेनको नसा फुटेर हुने स्ट्रोक (मष्तिस्कघात) को जोखिम हुन्छ।
आधुनिक जीवनशैली, मानसिक तनाव, धुम्रपान उच्च रक्तचापको प्रमुख कारण हो। मधुमेह बुढ्यौली, नुनको अतिसेवन र वंशाणुगत पनि उच्च रक्तचापको कारण हुने चिकित्सक बताउँछन्। जे कारणले भए पनि रक्तचाप नियन्त्रणमा नराखे हृदयघात, मिर्गौला फेलियर, मष्तिस्कघात (स्ट्रोक), आँखाको ज्योति गुम्ने पक्षघातको जोखिम हुन्छ।
स्वस्थ मानिसमा स्टिोलिक रक्तचाप ९० मिमिदेखि १४० मिमिसम्म र डायस्टोलिक रक्तचाप ६० मिमि देखि ९० मिमिसम्म हुन्छ। विश्व स्वास्थ्य संघको परिभाषा अनुसार स्टिोलिक रक्तचाप १६० मिमि (माथि) वा बढी भएमा र डायस्टोलिक रक्तचाप (तल) ९५ मिमि वा बढी भएमा यस्ता व्यक्तिलाई उच्च रक्तचाप मानिन्छ।।

कारक तत्व
मानसिक तनाव
वंशानुगत तत्व
मोटोपन
अत्यधिक नुनको सेवन
रक्तनलीमा आउने कडापन

रक्तचाप बढेको लक्षण
टाउको दुख्नु र चक्कर लाग्नु
छाती दुख्नु
दम फुल्नु
नाथ्री फुट्नु (नाकबाट रगत आउनु)