15 Kartik, 2071 |
Menu

विचार

पचास बर्षअघिको त्यो आरोहण

  • मङ्गलबार १७ बैशाख, २०७०
  • राजेश कोइराला
  • DISQUS_COMMENTS
(0 votes)
गएको फेब्रुअरी। 'सेभेन समिट वुमन टिम' का सात नेपाली महिला अफ्रिकाको उच्च पर्वत किलिमन्जरो आरोहणका लागि जुटिरहेका थिए। यता अमेरिकाको क्यालिफोर्नियामा चार वृद्ध आरोहणको सम्झना गर्न फेब्रुअरी २२ मा भेला भएका थिए, त्यो भने सगरमाथाको। नेपाली महिलाले सफलता हात पारेका थिए, मार्च ५ मा। ती महिला जोशिलो उमेरका शैली बस्नेत, माया गुरूङ, आशाकुमारी सिंह, चुनु श्रेष्ठ, पुजन आचार्य, पेमा डिकी शेर्पा र निमडोमा शेर्पा। यता थिए, जीवनको उत्तरार्द्ध पुगेका नर्मन डिह्रेनफर्थ, जिम ह्विट्कर, टम हर्नबिन र डेभ डिङ्म्यान क्रमशः ९४, ८४, ८२ र ७६ वर्षका। नर्मन डिह्रेनफर्थको नेतृत्वको सगरमाथा आरोहण टोलीका १९ सदस्यमा अहिले यी चारमात्र बाँकी छन्। 


डिह्रेनफर्थ, ह्विट्कर, हर्नबिन र डिङ्म्यानले सगरमाथा आरोहण गरेको ५० वर्ष पुगेको छ। एडमन्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको प्रथम आरोहण गरेको १० वर्ष पुग्नै लाग्दा सन् १९६३ मे १ दिउसो १ बजेतिर अमेरिकी टोलीले सफलता हात पारेको हो। त्यही सन्दर्भमा यी वृद्धहरू पुराना कुरा सम्झन बर्कली, क्यालिफोर्नियामा भेला भएका थिए। ती अमेरिकी आरोहीमध्ये यतिबेला ८४ वर्षीय जिम ह्विट्कर बढी सक्रिय देखिएका छन्। उनलाई भ्याई–नभ्याई छ। पुरानो गाथाहरु सुनाउँदै, पावर–प्वाइन्ट प्रजेन्टेसन देखाउँदै र आफ्नो आत्मकथा 'अ लाइफ अन दी एज :  मेमोर्स अफ एभरेस्ट एन्ड बियोन्ड' (सन् १९९९) बेच्दैमा उनलाई फुर्सद छैन। यो आत्मकथाको ५० औं वार्षिकोत्सव अंक पनि निस्किएको छ।

पृथ्वी दिवसका दिन स्थानीय 'कोमो न्युज' लाई अन्तर्वार्ता दिँदै थिए– 'आरोहणको ४० औं वर्षमा म आधारशिविर पुगेको थिएँ। साथमा श्रीमती, छोराछोरी। मलाई साथ दिन आए, नवाङ गोम्बु र उनको परिवार। मेरो छोरा लिफले सन् २०१० मा सगरमाथा आरोहण गर्यो । अनि सन् २०१२ मे महिनामा फेरि आरोहण गर्योा।' सन् १९६३ मे १ का दिन चुचुरोमा पुग्नेमा जिमका साथ नवाङ गोम्बु थिए। चुचुरोमा पुग्दा/नपुग्दै अक्सिजन सकिएको थियो। हतारहतार अमेरिकी झण्डा फहराएर उनीहरु ओरालो झरेका थिए।

त्यो आरोहण सजिलो पक्कै थिएन। आरोहणका लागि ३२ जना शेर्पाले जागिर पाएका थिए। ९ सय ९ जना भरिया थिए। फेब्रुअरी २० मा काठमाडौं छाडेको टोलीसँग २७ टन सामान थियो। त्यो विशाल हुँदा काठमाडौंबाट आधार शिविर पुग्न १ सय ८५ माइल हिँडेको थियो। आरोहण टोलीमा केही वैज्ञानिक, फोटोग्राफर र लेखक पनि थिए। आरोहणसँगै शरीर विज्ञान, मनोविज्ञान, हिम विज्ञान र मौसम विज्ञानको अध्ययन गर्नु थियो। उचाईमा हुने दबाबका कारण आरोहीको मानसिक र शारीरिक परिवर्तनको अनुसन्धान पनि थपिएको विषय थियो। आरोहण एक्लो प्रयास थिएन, नेसनल ज्योग्राफिक सोसाइटी, अमेरिकी विदेश मन्त्रालय, नेसनल साइन्स फाउन्डेसन, अफिस अफ नभल रिसर्च, नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा), युएस आर्मी क्वार्टरमास्टर कर्पस्, अटोमिक इनर्जी कमिसन र युएस एअर फोर्स थिए।

सन् १९६० को दशक अमेरिकाको चरम चर्चाको समय रह्यो। जोन ग्लेनले पृथ्वीको परिक्रमा गरेका थिए। जिम सगरमाथाको सफल आरोही बनेका थिए। राष्ट्रपति जोन एफ केनेडीले जोन ग्लेन र जिम ह्विट्करलाई ह्वाइट हाउसको रोज गार्डनमा स्वागत गरेका थिए। त्यो आरोहणले ५० वर्ष पूरा गरेको छ र अहिले र पहिलेको परिस्थितिमा आएको परिवर्तनबारे जिम भन्छन्– 'अहिले लुक्लामा विमान पुग्छ। आधार शिविर पुग्न थोरै हिँडे पुग्ने भएको छ। बाटामा खाना पाइने लज बनेका छन्। आरोहणका साधन आधुनिक छन्। तर म त्यसबेला मेरा बुटका जति अरु कुनै कारणले दुःखी थिइन। बेलुका स्लिपिङ ब्यागमा कोचेका ती बुट बिहान कक्रक्क परेका हुन्थे। भनौं न ढुङ्गै भएका हुन्थे। हप्तौंसम्म चिसा बुटका भरमा त्यो आरोहण भएको थियो। अहिलेका बुट धेरै सजिला छन्।'

हो, यो आधा दशकभन्दा बढी समयमा आरोहीहरूको परिचय पूर्ण बदलिएको छ। त्यसबेला आरोहण हुन्थ्यो। शतप्रतिशत पुरूष हुन्थे। समय बित्दै गयो, महिला आरोही आए। शैली बस्नेतको समूह सबै महादेशका अग्ला चुचुरा आरोहणको मिसनमा छ। आशा गरौं, अर्को ५० वर्षपछि शैलीका सहकर्मीहरू कुनै स्थानमा भेला हुनेछन् र आफ्नो आरोहणका सम्झना गर्नेछन्।