Wednesday 8 Ashwin, 2071 |
Menu

विचार

softworica

दाहालको भ्रमण किन?

  • मङ्गलबार १७ बैशाख, २०७०
  • विष्णु रिजाल
  • DISQUS_COMMENTS
(0 votes)
कुन मन्दिरमा जान्छौ यात्री?
कुन मन्दिरमा जाने हो?

महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्योलमा परेको यात्रीझैँ यतिबेला एनकेपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल भौंतारिरहेका छन्– कुन मन्दिरमा जाने र कुन सामग्रीले पूजा गर्ने? उत्तरबाट सुरु भएको उनको यस पटकको यात्रा यतिबेला दक्षिणमा पुगेको छ। जसरी आफूले विगतमा जानी–नजानी गरेका गलत कार्यबाट मुक्ति पाउन धर्ममा विश्वास गर्ने यात्री मन्दिर धाउँछ, ठीक त्यही मनोदशा दाहालमा पनि देखा परेको छ। संविधान सभाको निर्वाचनपछि हातमा आएको सत्ता सेनापति प्रकरणका कारण गुमेपछि उनले असन्तुलित र मनगढन्ते आरोप लगाए। अहिले फेरि त्यसबाट मुक्ति पाउन उनी भौतारिरहेका छन्।  


संविधान सभाको निर्वाचनपछि सरकारको नेतृत्व गर्न पाएका दाहालले आफ्नै कमजोरीका कारण एउटा जर्नेलसँग जुहारी खेले। त्यही कारण सत्ताबाट बाहिरिनुपरेकोबारे आत्मसमीक्षा भने गरेनन्। राजनीतिक शक्ति सन्तुलन, कानुनी प्रक्रिया र सहयात्रीको समेत विश्वास जित्न नसकेर आफू एक्लिन पुगेको तथ्य पूरै अस्वीकार गर्दै दाहालले त्यस प्रकरणमा छिमेकी मित्रराष्ट्रको हात भएको निष्कर्ष निकाले। जसका कारण उनले सही बाटो लिन सकेनन्। साना राष्ट्रमाथि ठूला राष्ट्रका, गरिब राष्ट्रमाथि धनी राष्ट्रका, क्षेत्रीय शक्तिमाथि अन्तर्राष्ट्रिय शक्तिका आ–आफ्नै दबाब र स्वार्थ हुन्छन् भन्ने कुरा कूटनीतिमा भनिरहनु पर्दैन। अझ दाहाल जस्तो भारतमा बसेर नेपालमा 'जनयुद्ध' लडेको नेताले नेपालमा हुने ठूला परिवर्तनमा क–कसको कति हात हुन्छ भन्ने कुरा नबुझ्ने कुरै भएन। तर यी सबै कुरालाई नजरअन्दाज गरेर उनले जसरी असन्तुलित र अराजनीतिक अभिव्यक्ति दिए, शायद अहिले फेरि सम्बन्ध सुधारका लागि भारत भ्रमणमा छन्।


विभाजन भए पनि अर्को जनमतबाट खण्डित नहुञ्जेल एमाओवादी मुलुकको सबैभन्दा ठूलो र निर्णायक राजनीतिक दल हो। समकालीन नेपाली नेतामध्ये व्यक्तिगत र संस्थागत दुवै हिसावले यसका अध्यक्ष पुष्पमकल दाहाल नै सबैभन्दा शक्तिशाली र निर्णायक नेता हुने नै भए। किनभने पार्टीभित्र उनको एकल पकडमात्र छैन, उनले के बोल्छन्, अरु दलका शीर्ष नेताहरु पनि त्यही अभिव्यक्तिको खण्डन वा विवेचनाको वरिपरि घुमिरहेका देखिन्छ। मुख्य तीन दलका शीर्ष नेताहरु हेर्दा कांग्रेसभित्र आफ्ना प्रतिद्वन्द्वी शेरबहादुर देउवालाई नसोधी सभापति सुशील कोइराला कुनै निर्णय गर्न सक्ने ठाउँमा छैनन् भने एमालेमा पदीय हिसावले झलनाथ खनाल प्रमुख भए पनि नीति, विचार र संस्थागत सबै हिसावले माधव नेपाल–केपी ओली संस्थापन हैसियतमा छन्। यस हिसावले दाहाल राष्ट्रिय राजनीतिका प्रमुख खेलाडी हुन् भन्न कर लाग्छ। यही बाध्यताको चेपमा परेर उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतले अरु नेताभन्दा पहिला र बढी महत्र्व दाहाललाई दिएको हो भनेर बुझ्न कठिनाई पर्र्दैन।

तर भ्रमणका वरपर दाहालले जे/जस्ता अभिव्यक्ति दिएका छन्, विनासल्लाह र विनाआधार हचुवाका भरमा जे/जस्ता प्रस्ताव अघि बढाएका छन्, तिनले गर्दा उनको अपरिपक्वता देखिएको छ। उनको त्रिदेशीय रणनीतिक साझेदारको रटान सूत्रलाई उनी दिल्ली नपुग्दै भारतीय विदेश मन्त्री सलमान खुर्सिदले खण्डन गरिदिए। उनी जे विषयमा कुरा गर्न 'राष्ट्रको प्रतिनिधि' भएर दिल्ली जाँदै थिए, त्यही विषयको कुनै औचित्य नभएको सन्देश आइसेकपछि उनको भ्रमण फिक्का सावित भइसकेको छ।
कूटनीतिलाई घरेलु नीतिकै विस्तारका रूपमा बुझिन्छ। यस अर्थमा आफ्नै पहलमा देशभित्र निर्वाचित संविधान सभा भंग गरेर कर्मचारीलाई सरकारको जिम्मा दिएको अवस्थामा दाहालले दुई देशका उच्च नेतृत्वसँग भेट्नुपर्दा आफ्नो उचाइ बढेको ठाने होलान् कि घटेको? देशभित्र राजनीतिक हिसावले असफल नेताले अन्तर्राष्ट्रियरूपमा कस्तो छवि दिन सक्लान्? उनलाई उत्तर र दक्षिणका मित्रहरुले कसरी विश्वास गरेका होलान्? तर कूटनीतिमा देशभित्र सतहमा जो बढी प्रभावशाली देखिन्छ, त्यसैलाई समात्नु अस्वाभाविक मान्न सकिँदैन। दाहालको सन्दर्भमा पनि त्यस्तै भएको हुनुपर्छ।
 
त्यसैले यतिबेलाको उनको भ्रमण पनि दुई देशबीचको सम्बन्ध सुधार वा आर्थिक विकासका लागि भन्दा पनि  विगतमा बिग्रेको आफ्नो सम्बन्ध सुधारका लागि हो भन्ने कुरा कसैबाट छिपेको छैन। विगतमा देशभित्र शक्ति सन्तुलन मिलाउन र शासकीय क्षमता देखाउन नसक्दा भोग्नुपरेको क्षतिको दोष जसरी उनले अरुलाई लगाइरहेका छन्, अहिले त्यसैको मूल्य तिर्ने प्रयत्न गरिरहेका छन् भन्ने बुझ्न कठिन छैन। विगतमा पनि गुमेको सत्ता प्राप्तिका लागि उनले दिल्ली, बैंकक, सिंगापुरदेखि लण्डनसम्मका रहस्यमय यात्रा नगरेका होइनन्। यसपटक भने तीभन्दा भिन्न र औपचारिक भ्रमण भएका छन् तर केन्द्रमा राष्ट्रियभन्दा व्यक्तिगत स्वार्थ र  विषयवस्तु राख्नुचाहिँ विडम्बनापूर्ण छ।