Sunday 7 Baishak, 2071 |
Menu

विचार

बहुजनविरुद्ध जालसाजी

  • मङ्गलबार १७ बैशाख, २०७०
  • राजेन्द्र महर्जन
  • DISQUS_COMMENTS
(0 votes)
पराजयको पीडा कति दर्दनाक हुँदोरहेछ, त्यसमा पनि पराजयबीच तड्पी–तड्पीकन मृत्युको पीडा झेल्नुको यातना कति भयावह होला? यस्तैखालको पीडा भोग्दैथिए, दास विद्रोहका महानायक स्पार्टकस पनि। स्पार्टकसको नेतृत्वमा विद्रोहमा उत्रिएका दासहरू रोमको विशाल सेनासामु हारिसकेका थिए। उनीसहित अधिकांश सरदार समातिएका थिए र उनीहरू रोम आउने मुख्य सडकका दुवै छेउमा लाइनै सलीब (क्रस)मा टाँगिएका थिए।
दास विद्रोहीहरू जीवनबाट मृत्युतिर यात्रा गर्दै थिए, सुस्तरी–सुस्तरी। धेरैजसो बेहोस हुने र कहिलेकाहीँ होसमा आउँदा पनि स्मृतितिर फर्कने क्रम जारी थियो। स्पार्टकससँगै टाँगिएका एक सरदार भने होसमा आउनासाथ उनलाई एउटै प्रश्न बारम्बार सोध्दै थिए– 'स्पार्टकस, हामी किन असफल भयौँ?' विद्रोह किन असफल भयो भन्ने प्रश्न दास विद्रोहका नायक राम्ररी सुन्न सक्ने अवस्थामा थिएनन्। त्यतिखेरसम्म दास विद्रोह त मरिसकेकै थियो, उनी र उनका सहकर्मीहरू पनि मर्दै थिए प्रत्येक सासमा।

'कमरेड, हामी किन असफल हुँदैछौँ?'
यस्तै पराजय–बोधसहितका प्रश्न नेपालका भूतपूर्व विद्रोहीहरूको पंक्तिबाट पनि उठेका छन्, 'कमरेड, हामी किन असफल हुँदैछौँ?' यस्तै प्रश्नका साथ 'आजको मार्क्सवादी विमर्श' बारे बहस गरेका नेपाली मार्क्सवादीहरूबाट पनि सवाल उठाइएको छ, हामी स्वर्गको ठेगाना खल्तीमा हाल्दै नर्कको बाटो किन लाग्दैछौँ? हुन त दास विद्रोहीहरूमा जस्तै नेपाली विद्रोहीहरूमा पनि विद्रोहीपनाको कहाँ अभाव थियो र? हजारौंको संख्यामा आहुति दिएको विद्रोहीहरूमा विद्रोहीपनाको कुनै कमी थिएन, न त उनीहरूले गरेका भिडन्त र बगाएको रगतै कम थियो। अझै पनि 'क्रान्तिको बिगुल' फुकियो भने न जोशको खडेरी हुन्छ, न त रगतकै न्युनता हुन्छ। प्रचण्ड गोर्खाको हिंसात्मक क्रान्तिको तयारीदेखि प्रचण्ड नेतृत्वको जनयुद्ध र त्यसपछिका अनेक आन्दोलनमा जीवनको बाजी लगाएर लडभिड गर्ने जमातको अभाव भएन। तर, अभाव भयो, नेपाली जनताले बाँच्दै जीवनसम्बन्धी विचारको। खडेरी भयो, उनीहरूले जीवनमा भोग्दै र भिड्दै आएको संघर्षसम्बन्धी मतको संश्लेषणको। यस अर्थमा भन्न सकिन्छ, 'कमरेड, यो नेपालमा चिन्तनको कमी छ।'  
भिडन्त र आहुति, जोश र बलिदानको प्रचुरतामा पनि उनीहरू असफल हुन अभिशप्त भए। हुन त स्पार्टकसको नेतृत्वमा लडेका दास विद्रोहीहरूप्रति गद्दारी भएको थियो। मद्दतका लागि आउँदै गरेको अफ्रिकी जहाजलाई रोमले किनेपछि उनीहरू घेराबन्दीमा परेका थिए। यहाँ पनि 'गद्दारी' गरेको चर्काे आरोपसहित नयाँ दल बनाउने क्रम पटक–पटक नभएको कहाँ हो र! पुष्पलालदेखि प्रचण्डसम्मलाई गद्दारी गरेको आरोप लागिसकेको स्थितिमा नयाँ दल बनाएका मोहन वैद्य किरण वा अरु कुनै विप्लव, विद्रोह वा क्रान्ति नामक नेताहरू पनि यस्ता आरोपबाट मुक्त हुने छैनन्। एक विचार–निर्माता भूतपूर्व विद्रोहीले आग्रह गरेझैँ भोलि एकसेएक क्रान्तिकारी वा मार्क्सवादी वा अनेक माओवादी पार्टी पनि जन्मिँदैनन् नै भन्न सकिँदैन। तर, त्यतिखेर पनि भनिनेछ, 'कमरेड, नेपालमा पार्टी र नेताको अभाव होइन, विचार र विचारकको खडेरी छ।'
रोममा जस्तै नेपालमा पनि आरोपित गद्दारी सतही देखावटी कारण हो भने भित्री वास्तविक कारण हुन सक्छ :  यहाँ जारी क्रान्तिको प्रक्रियाअनुसारको विचार निर्माण र त्यसको वैचारिक नेतृत्वको अभाव। नेपालको वस्तुस्थिति र जीवनको विविधतालाई पचाएर क्रान्तिकारी विचार निर्माण र संश्लेषण गर्ने कमरेडी पहलसँगै त्यसलाई कार्यनीतिमा ढालेर राष्ट्रव्यापी सहमति निर्माणमा गम्भीर कमी हुनु असफलताको यथार्थ कारक तत्र्व हुन सक्छ। यस अर्थमा भन्न सकिन्छ, 'कमरेड, यहाँहरूलाई नेपालकै वस्तुस्थितिबारे कत्तिको ज्ञान छ? नेपाली जनजीवनको सुक्ष्म अध्ययन र गहन अनुभव कत्तिको छ? कतै मार्क्स, एंगेल्स, लेनिन, स्तालिन र माओका किताब पढेकै भरमा नेपाली क्रान्तिसम्बन्धी राजनीतिक सिद्धान्त निर्माण गरिएको त होइन?'
खोइ सप्तरङ्गी जीवनको छायाँ?
कुनै कवित्वपूर्ण दिमाग भएका व्यक्तिले भनेका थिए, 'राजनीतिक सिद्धान्तको रङ्ग खैरो हुन्छ, तर जीवन आफैँचाहिँ सप्तरङ्गी छ।' इन्द्रेणीजस्तो नेपाली जनजीवनलाई जर्मनी, रुस वा चीनमा बनेका राजनीतिक सिद्धान्तका खैरा रङ्गले छोप्न खोज्दा नेपाली चिन्तनको विकास नभएको त होइन? नेपाली जनजीवनका विविध रङ्गलाई एउटै रङ्ग अर्थात् वर्गीय सिद्धान्तको रङ्गले पोतेर क्रान्तिको सपना देखेकै कारण मौलिकखालको नेपाली क्रान्तिकारी विचार निर्माण नभएको त होइन?
नेपाली जनजीवन हेर्दा यसको वर्गीय आयामले पोतिएको रङ्गमात्रै व्याप्त भएको छैन, जात/जाति, जेन्डर, क्षेत्रसँग जोडिएको पहिचानको रङ्ग पनि त्यत्तिकै प्रभावशाली छ। जात/जातीय, भाषिक, धार्मिक, लैङि्गक, क्षेत्रीय पहिचानका मुद्दा त्यत्तिकै बलवान् छन्, जति वर्गीय मुद्दा छन्। वर्गभित्र जात/जाति र जात/जातिभित्र वर्गका समस्या नङ र मासुजत्तिकै मिसिएका छन्। तर, अधिकांश मार्क्सवादीका आँखामा जतिखेर पनि फुकाल्न मिल्ने वर्गको चस्मामात्रै छ, नानीमा भने जात/जातिकै लेन्स छ। वर्गीय चस्मा लगाउने नाममा उनीहरूले जीवनका अन्य सामाजिक पहिचानका मुद्दालाई बेवास्ता गरेको तथ्य बिर्सन सकिँदैन, न त क्षम्य नै छ। अन्य सामाजिक पहिचानलाई बिर्सने र 'वर्गको एकल पहिचानलाई मात्रै राजनीतिको आधार मान्ने' सैद्धान्तिक प्रस्थापनाले उनीहरूलाई घर न घाटको स्थिति बनाएको छ।
६४–६४ वर्षसम्म नेपाली जनजीवनको कुनै वर्ग–विश्लेषणबिना नै क्रान्तिको डिङ हाँक्ने मार्क्सवादीहरू कसरी मार्क्सवादी भए, अचम्म लाग्छ। नेकपाका एक संस्थापक पुष्पलालले माओले गरेको चिनियाँ समाजको वर्ग–विश्लेषणका आधारमा लेखेको वर्ग–विश्लेषणबाट काम चलाउँदै आएका मार्क्सवादीहरूको आँखामा नेपाली सन्दर्भमा वर्ग भनेकै के हो, कुनै स्पष्ट उत्तर छैन। यहाँ कुन–कुन वर्गबीच कस्तोखालको अन्तर्विरोध र अन्तर्सम्बन्ध छ, अन्तर्विरोध र अन्तर्सम्बन्धमा कसरी हस्तक्षेप गर्ने, अन्तर्विरोध र अन्तर्सम्बन्धलाई जात/जाति, जेन्डर, क्षेत्रले कत्तिको प्रभाव पारेको छ, कुनै ठोस उत्तर छैन। यस्तो अनुत्तरदायी राजनीति गरिरहेका अनेक रूपरङ्गका मार्क्सवादी वा लेनिनवादी वा माओवादीको मुखमा वर्गीय सिद्धान्त झुन्डिएको छ, मुटु पनि वर्गीय राजनीतिले नै रङि्गएको छ। तर, प्रश्न के हो भने उनीहरूको मुटु कुनचाहिँ 'वर्ग'को राजनीतिक रङ्गले रङि्गएको छ? उनीहरूले भन्ने गरेको वर्ग 'सर्वहारा वर्ग' हो कि 'सर्व–आहारी वर्ग' हो?
'सर्व–आहारी वर्ग'को राजनीति
आफूलाई मार्क्सवादी भन्ने विभिन्न रङ्गका अधिकांश कम्युनिस्ट नेताले वर्गीय राजनीतिप्रति गर्दै आएको ओठेभक्ति (लिप सर्भिस) निकै काइदाको छ। सामान्यतः औद्योगिक मुलुकमा पुँजीपति वर्गसँगै अस्तित्वमा रहने 'सर्वहारा वर्ग' को मुक्तिका लागि क्रान्ति गर्ने माला जप्दै आएका ती 'सर्वहारा वर्गका अग्रदस्ताहरू' ले यहाँ खासै अस्तित्वमा नभएका सर्वहारालाई कसरी मुक्त गर्ने हुन्, कसैलाई थाहा छैन। एक प्रतिशत पनि अस्तित्वमा नभएका सर्वहारालाई मुक्ति दिने नारा लगाउँदा ९९ प्रतिशत उत्पीडित जनलाई मुक्त नगर्दा पनि पीडा र ग्लानि बोध नहुने काइदा लागु गरिएको त होइन, शंका जन्मिएको छ। नेपाली समाजको सन्दर्भमा सर्वहारा वर्गलाई तथ्यपरक परिभाषित गर्ने प्रयासलाई थाँती राख्ने उनीहरूको ६४ वर्षे परम्पराले 'सर्व–आहारी वर्ग' को राजनीतिलाई मात्रै सेवा गरिरहने देखिन्छ।
अहिले त्यही परम्परामै रहेका र त्यसबाट बाहिर आएका विचार–निर्माताहरूले यहाँ छ दशकदेखि वर्ग–विश्लेषणै नभएको सही कुरा उठाएका छन्। उनीहरूको टिप्पणी छ, हाम्रा पार्टीहरूले वर्ग बिर्सिसकेका छन्, राजनीतिको केन्द्र वर्ग नहुँदा जातीय र क्षेत्रीय कुराहरू प्रमुख समस्याजस्तो रूपमा आइरहेका छन्। मूलतः एकीकृत माओवादीले जातीय र क्षेत्रीय मुद्दा चर्काएर वर्गीय नारा ओझेलमा पारेको र ऊ छिटै सैद्धान्तिक विचलनमा गएको छ।'
चाहे एकीकृत माओवादी होस् या अन्य कम्युनिस्ट पार्टी, उनीहरूका लागि सर्वहारा, मजदुर वा श्रमिकका मुद्दा वर्गीय 'नारा' मात्रै हो, व्यवहारमा अनुवाद गर्न नपर्ने 'नारा'। अब त्यस नाराप्रति ओठभक्तिसमेत कायम नभएकाले गुनासो बढेको हुन सक्छ। वास्तवमा नेपाली जनजीवनमा वर्गीय शोषणसँगै महत्र्व राख्ने जात/जाति, जेन्डर, क्षेत्र र भाषामा व्याप्त रहेको उत्पीडनबारे सैद्धान्तिक मत निर्माण गर्ने र त्यही सैद्धान्तीकरणलाई व्यवहारमा अनुवाद गर्ने जनमुखी राजनीति लागु नगरिएकामा कम्युनिस्ट पार्टी र तिनका नेताहरूको खरो आलोचना हुनुपर्ने हो। यहाँ त जुन पार्टीले वर्गीय शोषणसँगै महत्र्व राख्ने जात/जाति, जेन्डर, क्षेत्र र भाषामा रहेको उत्पीडनबारे मुद्दा उठाउन खोजेको थियो, उसको पो बेसी आलोचना भइरहेको छ। एकीकृत माओवादीलाई जनयुद्ध र जनआन्दोलनपछि पनि आफूले उठाएका मुद्दालाई सैद्धान्तीकरण गर्ने काममा समय र बौद्धिकता खर्च नगरेको तथा वैचारिक उचाइका साथ संश्लेषण गरी 'राष्ट्रिय सहमति' निर्माण गर्न नसकेकामा पो आलोचना हुनुपर्ने हो। यहाँ त कुरो ठीक उल्टो ढंगले पो आलोचना भइरहेको छ, कहिले जातीय र क्षेत्रीय कुरा उठाएर समाज विभाजन गरेको निहुँमा, कहिले वर्गीय नारालाई बिर्सेको आरोपमा। यस्ता आरोपले आलोचित पार्टी र नेताहरूबारे वस्तुवादी विचार बनाउन त सघाउँदैन नै, आलोचकहरूकै दृष्टिकोण र राजनीतिक धरातलबारे पनि भ्रममात्रै फैलाउँछ।
कसको कस्तो सैद्धान्तिक विचलन?
यहाँ कुनै वर्ग–विश्लेषण नगरेका, क्रान्तिकारी सिद्धान्तै बनाई नसकेका, अन्य सामाजिक पहिचानका मुद्दालाई कौडीको भाउ पनि नदिएका पार्टी र नेताहरू नै 'सैद्धान्तिक विचलन' मा गए भन्ने आलोचना पनि भइरहेको छ। नेपालको परिवर्तनबारे कुनै सिद्धान्त नै नबनाएका पार्टी र नेताहरू कसरी सैद्धान्तिक विचलनमा गए, विचलित भएर उनीहरू कहाँ पुगे, विचार–निर्माताहरूले गरेको आलोचना बुझ्न कठिन भएको छ। नेपालमा उत्पीडित वर्गका मुद्दा उठाउनु जति आवश्यक छ, त्यो कमभन्दा महत्र्वका मुद्दा होइनन्, जात/जाति, जेन्डर, क्षेत्र र भाषामा जारी उत्पीडनका समस्याको सम्बोधन गर्नु पनि। किनभने, जात/जाति, जेन्डर, क्षेत्र र भाषाकै कारण पनि सयौँ वर्षदेखि लाखौँ व्यक्ति गरिबी, उत्पीडन, अपमान र अन्यायको शिकार हुने क्रम जारी रहेको देश हो यो। यहाँ कुनै न कुनै नाराका साथ एकल वर्गवादी देखाउन चाहनेहरूले आफूले देखेको सपनाको क्रान्तिले यस्ता मुद्दाको सम्बोधन कसरी गर्छ, अहिले खाका सार्वजनिक गर्नुपर्दैन?
यहाँका अधिकांश कम्युनिस्ट नेता र विचार–निर्माताहरू यस्ता मुद्दाबारे आफ्ना लेखरचनामा एक–दुई सूत्र–वाक्य लेखेरै 'गज्जबको सैद्धान्तीकरण गरियो नि' भन्ने आत्मरतिमा मग्न छन्। जात/जाति, जेन्डर, क्षेत्र र भाषाजस्ता नेपाली जनजीवनका बहुपहिचानका मुद्दा जबर्जस्तरूपमा उठेपछि नेकपा एमाले र त्यसको स्कुलिङमा रहेका नेता र विचार–निर्माताहरूले जोडदाररूपमा वर्गवादी मुद्दा उठाउन थालेका छन्, त्यसको प्रभाव अरु दलमा पनि देखिएको छ। नेपाली राज्य जात/जाति, जेन्डर, क्षेत्र र भाषाको मामिलामा एकल जातिवादी भए पनि कुनै आपत्ति नजनाउने यस्तो राजनीतिक प्रवृत्तिले मार्क्सवादको नाउँमा राजनीतिलाई पनि एकल पहिचानवादी नै बनाउने नियत राखेको हुन सक्छ। यसको अर्थ कम्युनिस्ट पार्टीहरू वर्गवादी हुनुपर्ने जायजजस्तो लाग्ने नाराका साथ नेपाली समाजका जात/जाति, जेन्डर, क्षेत्र र भाषाको मामिलामा एकल पहिचानवादी दृष्टिकोणै थोपर्दै बस्न खोजेको आभास बहुजनको मानसिकतामा बीच तीव्र हुँदैछ।
त्यसो त कम्युनिस्ट नेताहरूले जातीय र क्षेत्रीय कुरा उठाएर फेरि पनि वर्गलाई ठग्न खोजेको हो कि भन्ने आरोप अति जायज छ। त्यस आरोपजत्तिकै जायज प्रश्न हो :  वर्गको मात्रै कुरा गरेर फेरि पनि जात/जाति, जेन्डर, क्षेत्र र भाषाकै कारण उत्पीडन र अन्याय, गरिबी र अपमान सहन बाध्य बहुजनविरुद्ध जालसाजी गर्न खोजिएको त होइन?
अन्त्यमा,
एक्काइसौँ शताब्दीको नेपालका मार्क्सवादीहरूको दुर्गति रोममा २१ सय वर्षअघि भएको दास विद्रोहको असफलतापछिको जस्तो पक्कै पनि होइन। अधिकांश उत्पीडित वर्ग, जात/जाति, जेन्डर, क्षेत्र र भाषाका जनताको आस्था र मत उनीहरूप्रति अझै बाँकी छ। त्यस्तो मत र आस्थालाई बचाएर एकल पहिचानवादी राज्यको न्यायपूर्ण पुनर्गठन गर्ने दिशातिर लक्षित पहल लिन सकेनन् भने त्यसका लागि वैचारिक नायकतत्र्व (हेजिमोनी) कायम गर्न सकेनन् भने उनीहरूको हालत पनि स्पार्टकसको जस्तै हुनेछ, पीडित, अनुत्तरित, बेहोस! 'कमरेड, हामी किन असफल भयौँ' भन्ने प्रश्नको उत्तर दिन नसक्नेगरी सुस्तरी–सुस्तरी मृत्युको मुखमा पुगिरहेका हुनेछन्, नेपालका तथाकथित मार्क्सवादीहरू पनि।