Wednesday 10 Mangshir, 2071 |
Menu

विचार

स्वास्थ्य संस्थाको बढ्दो लापरबाही

(0 votes)
वान्ता भएर पेट दुखेपछि हतारहतार अस्पताल ल्याइएकी २२ वर्षीय युवतीको मृत्यु भएकाले लहानस्थित फ्रेण्ड्स मोडेल अस्पताल आइतबार तनावग्रस्त रह्यो। यसरी बिरामीको मृत्यु हुनुमा अस्पताल दोषी रहेको ठहर गर्दै मृतकका आफन्तले लापरबाही गर्नेलाई कारबाहीको माग राखेर प्रदर्शनमै उत्रेपछि यो अवस्था आएको हो। मृतकका आफन्तको भनाइअनुसार बिरामीलाई एक पटक पनि डाक्टरले हेरेनन्, सहायककै भरमा छाडिदिनाले उनले मृत्यु वरण गर्न बाध्य हुनुपर्योत। 
नागरिक

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

हुन त अस्पतालले सहायकले जाँचे पनि उपचारमा गल्ती नभएको दाबी गरेको छ। तर पनि सवा लाख रुपियाँ जरिवाना तिर्नुले उसले लापरबाही सकारेको प्रष्टिन्छ। मृतकका आफन्तको तर्क पनि गलत छैन। अस्पतालमा दक्ष र विशेषज्ञ डाक्टर हुने ठानिन्छ। जसले बिरामीलाई सकुशल घर फर्काउने आशा प्रत्येक बिरामी र आफन्तमा हुनु स्वभाविकै पनि हो। तर यस्तै आशा गरेर हतारहतार लगिने अस्पतालमा डाक्टरको मुखै देख्न नपाउनु विडम्बना हो। यही कारण मृतकका आफन्त आक्रोशित भएका थिए। जसले अस्पताल व्यवस्थापन, सेवाग्राहीमात्र नभएर सर्वसाधारण बटुवासमेत प्रभावित हुन पुगे।
पछिल्लो समय स्वास्थ्य संस्था र बिरामी वा बिरामीका आफन्तले एकअर्कालाई शंकाको दृष्टिकोणले हेर्ने वातावरण बढ्दै गएको छ। स्वास्थ्य संस्थामा ल्याइसकेपछि जस्तोसुकै बिरामी पनि निको हुनुपर्छ भन्ने सर्वसाधारणको मान्यता तथा आफ्नो नियन्त्रणमा आइसकेपछि जे गरे पनि हुन्छ भन्ने स्वास्थ्य संस्थासँग सम्बन्धितको दृष्टिकोणका कारण यस्तो अवस्था सिर्जना हुँदै आएको छ। यस्तो अवस्था बढ्दै जाने क्रममा उपचारमा संलग्न व्यक्ति तथा संस्थाको भौतिक पूर्वाधारमा समेत आक्रमण हुने गरेको छ। जसले सेवा लिने र दिने दुवैबीच अविश्वासको वातावरण चुल्याएको छ।
सरकारले जनताको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारलाई नेपालको अन्तरिम संविधानमै उल्लेख गरेर यसको सुनिश्चितता गरेको छ। त्यसैले सहज र सुलभ उपचार पाउनु सबै नेपालीको अधिकार नै हो। तर संविधानमै घोषणा गरिए पनि त्यसअनुरूप पर्याप्त स्वास्थ्य संस्था विस्तार नगरिनु, निःशुल्क वितरण गरिने भनिएका सेवा र औषधी प्राप्तिमा कठिनाई, स्वास्थ्य संस्थामा उपकरणदेखि जनशक्तिसमेत आपूर्ति गर्न नसक्नु जस्ता विविध कारणले जनतालाई निजी अस्पतालमा जान बाध्य पारिरहेको छ। जहाँ उनीहरुले महँगो शुल्क तिर्नुपरिरहेको छ भने त्यसअनुसारको सन्तुष्टि पाउने अवस्था पनि छैन। सेवाभन्दा पनि व्यापारिक दृष्टिकोणले खुलेका स्वास्थ्य संस्था बढी भएकाले उनीहरुले यसो गर्नु अनुचित पनि हैन। तर यस्ता निकायलाई नियन्त्रण गर्ने सरकारी संयन्त्र नहुँदा वा फितलो हुँदा पनि समस्या दिन/प्रतिदिन बढिरहेका छन्।
लहानको घटना त्यस्तैमध्येको एउटा हो। थोरै डाक्टर र कम खर्चमा खोलिएका अस्पताल नामका स्वास्थ्य संस्था अहिले धेरैको ज्यान जोखिममा पर्ने कारण बनेका छन्। हुन त अस्पताल खोल्नका लागि हुनुपर्ने पूर्वाधार, जनशक्तिलगायत्का सीमा निर्धारण पनि भएका छन् तर ती मापदण्डविनै खोलिएका अस्पताल खुलेआम सञ्चालनमा आउनु र निरीक्षण निकाय भुत्ते बन्नु वा प्रभावमा पर्नुले पनि समस्या नै निम्त्याइरहेको छ। बारम्बार स्वास्थ्य संस्था र बिरामी वा मृतकका आफन्तबीच अस्पतालहरु रणमैदान बन्नुको एउटा प्रमुख कारण यो पनि हो। जसमा कतै स्वास्थ्य संस्था त कतै भने बिरामी पक्षको अल्पबुद्धि हाबी भएको प्रष्टिन्छ।
बिर्सनै नहुने कुरा यो हो कि अस्पताल वा स्वास्थ्य संस्था र सेवाग्राही दुवैलाई दुवै अत्यावश्यक छन्। एकलाई निषेध गरेर अर्को टिक्न सक्दैन। त्यसैले बिरामी र उसका आफन्तलाई स्वास्थ्य संस्थाप्रति जिम्मेवार हुन सिकाउने र उनीहरु पनि सेवाग्राहीप्रति अनुग्रहित हुने वातावरणले मात्र यी दुईबीचको मनोमालिन्य हटाउन मद्दत गर्छ। एकले अर्कोलाई ज्यानमारा र अर्कोले एउटालाई आक्रमणकारीका रूपमा हेर्ने प्रवृत्तिले दुवै दुवैसँग जुनसुकै बेला पनि त्रसित हुनुपर्ने अवस्था रहिरहन्छ। यस्तो अवस्थामा न उपचार र उपचारकप्रति विश्वास रहन्छ, न त बिरामीका आफन्तप्रति नै।
खासमा यस्तो निरन्तरको अविश्वास चिर्न गतिलै बहस र चेतना आवश्यक छ। जसले दुवै पक्षका कर्तव्य र सीमा बुझ्न मद्दत पुर्यातउनेछ भने एकले अर्कालाई सम्मान गर्ने परिपाटी पनि सिर्जना हुनेछ। अनि दुवै पक्षको बुझाइमा निखारता आई यस्ता घटना न्युनीकरणमा सघाउ पुग्नेछ। तत्कालै आवेशमा आउने प्रवृति, अल्प ज्ञान, अरुको पेशालाई सम्मान गर्ने परिपाटीको अभाव, अनावश्यक शंका र अराजकतामा खेल्ने स्वार्थी समूहको बिगबिगीका कारण पनि यस्ता घटना दोहोरिइरहेका छन्। त्यसैले यस्तो वास्तविकता शिरोपर गर्दै एकले अर्कोलाई सघाउने मनोवृतिले मात्र बिरामी स्वस्थ हुन सक्छ भने उसलाई स्वस्थ बनाउने अस्पताल पनि स्वस्थ बन्न सक्छ। नत्र एउटा बिरामीले अर्को बिरामीलाई उपचार गर्ने कुरा जोकमा परिणत हुनेछ।