Wednesday 10 Mangshir, 2071 |
Menu

प्रविधि

फोन पेको ई–सेवा जोन सञ्चालनमा

Ad MyNepal Nagarik
(0 votes)
फोन पेको ई–सेवा जोन सञ्चालनमा
काठमाडौं -फोन पे प्रालिले नेपालको डिजिटल पेमेन्ट सेवा 'ई–सेवा'का सुविधामा सर्वसाधरणको पहुँच बढाउन कम्पनीले 'ई–सेवा जोन' सञ्चालनमा ल्याएको छ।  कम्पनीले सोमबार पत्रकार सम्मेलन गरेर 'ई–सेवा जोन' सञ्चालनमा ल्याएको सार्वजनिक जानकारी गराएको हो। 

कम्पनीले सन् २००९बाट ई–सेवा सञ्चालनमा ल्याएको थियो। यसअघि बैंकका खाता नभएका ग्राहकले यो सेवा लिन कठिन थियो। नयाँ व्यवस्थापछि 'ई–सेवा'का प्रयोगकर्ताले बैंक खाता नभए पनि कम्पनीका सेवा उपयोग गर्न पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत असगर अलीले जानकारी दिए। कम्पनीले सुरुवातमा काठमाडौं उपत्यकामा मात्रै यो जोन सञ्चालनमा ल्याएको छ। मोबाइल र इन्टरनेटबाट ई–सेवाका माध्यमबाट सर्वसाधरणले रकम आदान–प्रदान गर्न, बिजुली, पानी, टेलिफोन, इन्टरनेटको महसुल भुक्तानी, मोबाइल रिचार्ज, हवाई टिकट खरिद, क्रेडिट कार्डमा रकम जम्मा, कलेज, स्कुलको शुल्क बुझाउन र डिर्पाटमेन्ट स्टोरमा किनमेल गर्न सक्नेछन्।
'यसअघि यी सुविधा उपयोगमा ल्याउन प्रयोगकर्तासँग बैंक खाताको आवश्यकता पर्थ्याे, अब यो सञ्चालनमा आएपछि बैंक खाताको आवश्यकता पर्दैन,' अलीले भने। कम्पनीका अध्यक्ष विश्वास ढकालले उपत्यकाका १२ सय व्यापारी सेवा सञ्जालमा सामेल भइसकेको जानकारी दिए।
'अहिलेसम्म १२ सय व्यापारी ई–सेवाको सञ्जालमा आइसकेका छन्। योबाहेक डेढ लाख ग्राहक छन्,' उनले भने, 'यसलाई दुई वर्षमा ६० लाखको हाराहारीमा पुर्या।उने छौं।' उनका अनुसार यो सेवालाई ग्रामीण भेगसम्म पुर्या उने लक्ष्यअनुसार अघि बढाइएको छ। कम्पनीले यही मोडेलमा कम्बोडिया र बंगलादेशमा सेवा सुरु गर्दैछ। कम्पनीका अनुसार पहिलो चरणमा काठमाडौंमा तीनवटा सुपर एजेन्ट र देशभर सय एजेन्टको सञ्जाल बनाएको छ। 'आगामी दुई महिनाभित्र हामीसँग काठमाडौंमा १० सुपर एजेन्ट हुनेछन्, देशभर एक हजार एजेन्ट हुनेछन्,' कार्यकारी  अधिकृत अलीले भने, ' प्रत्येक जिल्लामा कम्तिमा पनि तीन एजेन्ट बनाइनेछ।' ई–सेवाका एजेन्टले 'कस्टमर रजिस्ट्रेसन' गर्नेछन्।  
ई–सेवामा आवद्ध उपभोक्तालाई नगद 'टप अप'को सुविधा दिनेछन्, एकजना सदस्य बनाएबापत एजेन्टले २० रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ।  ई–सेवाबाट सेवा लिएवापत उपभोक्ताले अतिरिक्त रकम नपर्ने अलीले बताए।
'हामी प्रयोकर्तालाई मोबाइलको रिचार्ज कार्ड तीन प्रतिशत सस्तो दिन्छौं भने हवाई टिकट ७ प्रतिशत सस्तो दिन्छांै,' उनले भने, 'यसबाट फिल्मको टिकट, टेलिफोनको बिल, पानीको बिल बिनाझझन्ट मोबाइलमार्फत तिर्न सकिन्छ।' एजेन्टले आफूसँग भएको बैंक खाताबाट ई–सेवाका रजिस्ट्रर्ड सदस्यलाई रकम 'टप अप' गर्नेछ। यसरी टप–अप गर्दा एजेन्टको बैंक खाताबाट रकम सदस्यको ई–सेवामा रहेको खातामा सर्ने कम्पनीले जनाएको छ।
यो रकमलाई सदस्यले ई–सेवामार्फत उपयोगमा ल्याउन सक्नेछन्। सञ्जाल बढेसँगै ई–सेवाले वस्तु तथा सेवा बिक्रीस्थलमा आफ्नो उपस्थिति पनि बढाउने कम्पनीले जनाएको छ। यी स्थलमा कम्पनीले मोबाइल क्रेडिट स्वाप  मेसिन जडान गरिदिने जनाएको छ।  'वस्तु तथा सेवा बिक्रीस्थलको संख्या बढाउन प्रोत्साहित गरेवापत ई–सेवाका एजेन्टलाई पाँच सय रुपैयाँ प्रदान गरिनेछ,' अलीले भने।  यस्तो स्थानमा सेवा वा वस्तु खरिद गरेबापत ई–सेवाका सदस्यले आफ्नो खाताबाट रकम ट्रान्सफर गर्न सक्नेछन्। 'उपभोक्ताले कुनै पनि सेवा वा वस्तु खरिद गरेपछि नगद बोक्नुनपर्ने अवधारणालाई हामी मूर्त रुप दिने प्रयासमा छौं,' अलीले भने।