Wednesday 16 Bhadra, 2072 |
Menu

अन्तर्वार्ता

ist-cc

सुस्ताउँदै क्रिकेट

(0 votes)
सुस्ताउँदै क्रिकेट
काठमाडौं- शक्ति गौचन र बसन्त रेग्मी राष्ट्रिय टोलीका मुख्य खेलाडीमा पर्छन्। टोलीका सबैभन्दा पाका भए पनि उनीहरूविना टोलीको कल्पना गर्न सकिन्न। ढल्कँदो उमेरमा पनि विकल्प वा चुनौती दिने खेलाडी अहिले छैनन्।
– कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकरलगायत अन्य केही सिनियर खेलाडी पनि झन्डै एक दशकदेखि राष्ट्रिय टोलीको महŒवपूर्ण हिस्सा बनिरहेका छन्। तत्कालीन प्रदर्शन छोडेर समग्र प्रदर्शनलाई हेर्दा उनीहरूको पनि विकल्प देखिँदैन। तर दशकभन्दा लामो समय राष्ट्रिय टोलीको सेवा गरिसकेका उनीहरुको उमेर पनि ढल्कँदो अवस्थामा छ। प्रदर्शन विस्तारै ओरालो लाग्ने क्रममा छ।

– पारसको पुस्तापछि सागर पुन, पृथु बास्कोटा, प्रदीप ऐरी, नरेश बुढाऐर, विनोद भण्डारीजस्ता खेलाडी आएका छन्। तर, यो पुस्ता क्षमताअनुसारको प्रदर्शनबाट चुकिरहेको छ। साथमा टोलीलाई आवस्यक संख्या छैन।

– सोमपाल कामी, करन केसीजस्ता आशलाग्दा खेलाडी पनि यसबीचमा आएका छन्। तर, उनीहरूले राष्ट्रियभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव बटुलेका छन्। घरेलु क्रिकेटमा उनीहरूको बलिङ अन्य खेलाडीले कमैमात्र खेल्न पाएका छन्।

– विश्व ट्वान्टी–२० छनोटका दौरान अधिकांश सिनियर खेलाडी फ्लप भएपछि जोखिम मोल्ने क्रममा प्रशिक्षक पुबुदु दासानायकेले सिद्धान्त लोहनीलाई उतारे। उनले धेरैको अनुमानविपरीत डेब्युमै सबैलाई आश्चर्यमा पार्ने प्रदर्शन गरे। सबैको वाहवाही पाए। उनले आफ्नो प्रदर्शनलाई निखार्नका लागि फेरि अर्को मौका तत्काल पाउनेमा भने शंका छ। किनकी नयाँ खेलाडी आउने क्रम अत्यन्तै न्युन भएकाले प्रशिक्षकसामु टोलीमा जमेका खेलाडीको विकल्प खोज्ने सुविधा छैन।

दक्षिण अफ्रिकाका नियमित विकेट किपर क्विन्टन डि कक खराब फर्मबाट गुज्रेका कारण टोलीबाट हटाइए। न्युजिल्यान्डविरुद्धको एक दिवसीय र ट्वान्टी–२० क्रिकेट शृंखलामा डि ककको सट्टा अर्कोले मौका पाए। डि ककको फर्म खराब भए पनि उनी घरमा आराम गरिरहेका छैनन्। भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकी 'ए' टोलीमा परेका छन्। सम्भवतः त्यो भ्रमणले उनलाई फर्ममा फर्कन वा अझै निखारिन मद्दत पुग्नेछ। भारत भ्रमणको मौका नहुँदा पनि सायद उनी घरेलु क्रिकेट वा अन्य कुनै देशमा पुरानै अवस्थामा फर्कन प्रयासरत हुन्थे।

त्यसैको सेरोफेरोमा नेपाली क्रिकेट टोलीका नियमित विकेटकिपर एवं ओपनर सुवास खकुरेलको फर्म पनि निकै खराब रह्यो। आयरल्यान्ड र स्कटल्यान्डसले संयुक्त रूपमा आयोजना गरेको विश्व ट्वान्टी–२० क्रिकेटमा खकुरेलले थोरैमात्र अवसर पाए। पाएका अवसरमा पनि उनी रन बनाउनबाट चुके। हुन त अभ्यासका दौरानदेखि नै उनको फर्म कमजोर थियो। ट्वान्टी–२० छनोटलगत्तै नेपालले स्कटल्यान्डविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेल्दा सुवास स्वदेश फर्काइए। सुवासको फर्म खराब भएको मात्रै हो, पूर्ण रूपमा उनको क्रिकेट स्किल सकिएको होइन। तर, सुवाससँग डि ककको जस्तो मौका छैन। उनी विदेशबाट फर्केयता आराम गरिरहेका छन्। उनीसँग डि ककको जस्तो सुविधा पनि छैन। न नेपालसँग 'ए' टोली छ न सुवासले खराब फर्मबाट बाहिर निस्कन पसिना बगाउने तत्काल कुनै घरेलु प्रतियोगिता नै। सुवास अहिलेका उदाहरणमात्रै हुन्, उनीभन्दा अघिका नियमित विकेटकिपर महेश क्षेत्री पनि त्यस्तै नियतिको सिकार भएका थिए। महेशले निकै लामो विश्रामपछि यो विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्ने मौका पाए। तर महेश आफैले राम्रो प्रदर्शन गरेर वा फर्म प्रमाणित गरेर राष्ट्रिय टोलीमा फर्किएका होइनन्। सुवासको खराव फर्मका कारण महेशले मौका पाएका थिए। नेपाली क्रिकेटमा खोज्दै जाँदा यस्ता उदाहरण धेरै पाइन्छ।

नेपालका अन्तर्राष्ट्रिय क्रिकेट अम्पाएर दुर्गानाथ सुवेदी (देवेन्द्र) अहिलेको घरेलु संरचनाले नयाँ खेलाडीको पहिचान गर्न कठिन हुने बताउँछन्। उनी घरेलु क्रिकेटलाई अलि फराकिलो बनाउन दीर्घकालीन ढंगले नसोच्ने हो भने नेपालको क्रिकेट अहिलेको भन्दा पनि कमजोर बन्ने अनुमान गर्छन्। 'जेठदेखि भदौसम्मको चार महिना वर्षाका कारण यहाँ क्रिकेट गराउन सकिन्न,' सुवेदी भन्छन्, 'त्यसबाहेक आठ महिनामा क्रिकेट खेल्ने वातावरण तयार पार्न आवश्यक छ। नेपालले प्रकृतिबाट पाएको ८ महिना क्रिकेट सुहाउँदो मौसमको फाइदा लिनुपर्छ।'

नेपाल क्रिकेट क्रिकेट संघ (क्यान) ले उमेर समूह, महिला तथा सिनियर खेलाडीका लागि झारो टार्ने पारामा एक दिवसीय र ट्वान्टी–२० का एक/एक प्रतियोगिता आयोजना गर्छ। त्यो पनि नियमित छैन। क्यानको अहिलेको संरचनाभित्र रहेका संगठनलाई परिचालन गर्ने हो भने पनि घरेलु क्रिकेटमा धेरै परिवर्तन आउन सक्ने सुवेदीको बुझाइ छ। 'आठ महिनालाई पूरा उपयोग गर्ने गरी क्यालेन्डर बनाउन आवश्यक छ। त्यसमा पनि मुख्यतः लामो स्वरुप (दुई दिवसीय, तीन दिवसीय) क्रिकेट गर्न उपयुक्त देखिन्छ,' उनले उपाय सुझाए, 'क्यानमा आबद्ध जिल्ला र क्षेत्रीय क्रिकेट संघलाई क्रियाशील नबनाउने हो भने क्यानले चाहेर मात्र नेपाली क्रिकेटको विकास हुन सक्दैन र नयाँ खेलाडी पनि आउन सक्दैनन्। आइहाले पनि सीमितमात्र आउनेछन्।'

क्यानले नियमित कामबाहेक क्रिकेटलाई देशव्यापी बनाउन नसकेको आरोप खेपिरहेको छ। विगतमा नेपालले दिलाएको सफलतबाट क्यान निकै रमायो तर त्यसलाई निरन्तरता दिन क्रिकेट संस्कृतिको विकासमा चुक्यो। क्यानले यो वर्षदेखि बढाएर क्षेत्रको बजेट एक लाख रुपैयाँ पुर्यानएको छ। सुवेदी भन्छन्, 'त्यो रकम कार्यालय सञ्चालनलाई पनि पर्याप्त छैन। अनि कसरी आयोजना हुन्छ, क्रिकेट?'

सुवेदी क्यानमा आबद्ध नौ क्षेत्र र दुई विभाग गरी ११ टोलीको नियमित क्रिकेट गराउन ढिलाइ भइसकेको तर्क गर्छन्। 'लामो स्वरुपको क्रिकेट र त्यसलाई होम एन्ड अवेको आधारमा गर्ने हो भने अहिलेको अवस्थामा सुधार आउँछ। नयाँ खेलाडी आउने सम्भावना पनि रहन्छ। अहिले राष्ट्रिय क्रिकेटमा रहेका खेलाडीले निखारिने मौका पाउँछन्,' उनले थपे, 'जिल्लालाई क्लब क्रिकेटको आयोजना गर्न लगाउनुपर्छ। जिल्ला, क्षेत्र र क्यानले केन्द्रीय स्तरमा प्रतियोगिता गर्ने हो भने लगभग आठ महिना क्रिकेटमय वातवरण तयार हुन्छ। त्यसले अहिले देखिएका धेरै समस्या समाधान हुन सक्छन्।'

नियमित क्रिकेट आयोजना गर्न सके त्यसले राष्ट्रिय टोलीलाई फाइदा पुग्ने सुवेदीको तर्क छ। 'सबै खेलाडी सधैं पिक फर्ममा रहन सक्दैनन्। राष्ट्रिय खेलाडीको फर्म कमजोर भएका बेला फर्केर घरेलु क्रिकेट खेल्ने वातावरण बनाउनुपर्छ,' उनले भने, 'तीन महिनाअघिको प्रदर्शनका आधारमा खेलाडी छनोट गर्दा प्रतियोगिताको समयमा उसको फर्म गुमिसकेको पनि हुन सक्छ। करेन्ट फर्मका आधारमा राष्ट्रिय टोली तयार पार्ने हो भने खेलाडीका बीचमा प्रतिस्पर्धा पनि हुन्छ। त्यसले टोलीलाई सफलता दिलाउन पनि सक्छ।'

एपिएफका प्रशिक्षक राजु बस्यात सुवेदीसँग सहमति जनाउँदै यथास्थितिमा रहने हो भने नेपाली क्रिकेट आउँदो पाँच वर्षमा धरासायी हुने देख्छन्। उनको विचारमा भाग्यले साथ दिएर नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेख सफलता हासिल गरेको हो। तर, त्यसलाई क्यानले 'क्यास' गर्न नसकेको बस्न्यातको आरोप छ। 'आठ/दस वर्षअघिको क्रिकेट संरचनाबाट आएका खेलाडीले अहिले राष्ट्रिय टोली थेगिएको छ,' बस्न्यातले भने, 'अहिले त राष्ट्रिय प्रतियोगिताका नाममा झारो टार्ने काममात्र भएको छ। यसले नेपाली क्रिकेटको भविष्य थेग्न सक्दैन। २० बाट २१ खेलाडी हामीसँग छैनन्।'

बढीभन्दा बढी प्रतियोगिता गर्न सके नयाँ खेलाडी आउने र क्रिकेटको विकास हुने उनको बुझाइ छ। 'हामीले पछिल्लो दुई तीन वर्षमा अन्तर्राष्ट्रिय स्तरमा निकै ठूलो फड्को मार्यौं्। क्रिकेटमा सबैको चासो बढ्यो। प्रायोजकहरू पनि क्रिकेटमा लगानी गर्न तयार थिए,' उनले भने, 'त्यसलाई क्यानले क्यास गर्नै सकेन। त्यो समयमा बढीभन्दा बढी प्रायोजक भित्राएर घरेलु संरचनालाई समृद्ध बनाउने अवसरबाट हामी चुक्यौं।'

विकेन्द्रित नगर्ने हो भने केही वर्षमा नेपाली क्रिकेट कथामा रूपान्तरण हुने उनको ठम्माइ छ। उनले भने, 'संगठनको संरचनाका हिसाबले जिल्ला, क्षेत्र र केन्द्र छ। पदाधिकारीको हिसाब गर्ने हो भने सयौंको संख्यामा पुगिसकेको छ। तर कसैले प्रतियोगिता आयोजनाको पहल गरेको देखिन्न।'

जिल्लादेखि क्षेत्र हुँदै केन्द्रसम्मको क्रिकेट संरचना सक्रिय बनाउन ढिला गर्न नहुने उनको सुझाव छ। 'जिल्लाले क्लब क्रिकेट अनि क्षेत्र र क्यानले नियमित प्रतियोगिता गर्ने हो भने क्रिकेट सधैं चलायमान हुन्छ,' उनले थपे, 'नौ क्षेत्रले हरेक वर्ष एक प्रतियोगिता आयोजना गर्दा पनि हामीसँग क्रिकेट नै क्रिकेट हुन्छ। केन्द्रमा वर्षको एउटा प्रतियोगिता गराएर अब क्रिकेटको विकास र नयाँ खेलाडी आउने कल्पना गर्नु मुर्खता सिवाय केही होइन।'

क्रिकेट विकासमा क्यानका वर्तमान पदाधिकारीको भूमिकाप्रति पनि बस्न्यातले आक्रोश व्यक्त गरे। 'क्यानमा सबै क्षेत्रको प्रतिनिधित्व छ। तर, प्रतियोगिता गर्नेमा उहाँहरूको कहिल्यै प्रतिस्पर्धा छैन,' उनले आरोप लगाए, 'विदेश यात्रामा जान र व्यक्तिगत फाइदा हुन्छ/हुन्न भन्नेमा मात्र चासो छ। आफ्नो क्षेत्रमा एउटा सानो प्रतियोगिता गर्नेतर्फ पनि उहाँहरूको ध्यान जाँदैन।'

बस्न्यातले भनेजस्तै यसअघिका सफलताको कथा सुनाएर मात्र क्रिकेट चल्न सक्दैन। यसलाई चलायमान बनाइरहन अहिलेको संरचनामा व्यापक परिवर्तनसँगसँगै नियमित प्रतियोगिता आवश्यक छ।

क्यानको सम्झौतामा रहेका खेलाडीहरू

पारस खड्का– २७ वर्ष, २००४ अप्रिल

ज्ञानेन्द्र मल्ल– २४ वर्ष, २००६ मार्च

प्रदीप ऐरी– २२ वर्ष, २०१० अगस्ट

नरेश बुढाऐर– २३ वर्ष, २००९ नोभेम्बर

अनिल मण्डल– २४ वर्ष, २०१० फेब्रुअरी

महेश क्षेत्री– २७ वर्ष, २००५ अप्रिल

सुवास खकुरेल– २२ वर्ष, २०११ डिसेम्बर

विनोद भण्डारी– २५ वर्ष, २००९ नोभेम्बर

शरद भेषावकर– २६ वर्ष, २००४ मार्च

पृथु बास्कोटा– २३ वर्ष, २०१० नोभेम्बर

महबुब आलम– ३३ वर्ष, २००० नोभेम्बर

राजेश पुलामी मगर– २२ वर्ष, २०१४ नोभेम्बर

सोमपाल कामी– १९ वर्ष, २०१४ जनवरी

सागर पुन– २२ वर्ष, २०१३ मार्च

सिद्धान्त लोहनी– २० वर्ष, २०१५ जुलाई

वशन्त रेग्मी– २९ वर्ष, २००६ मार्च

आरिफ शेख– १७ वर्ष, २०१४ मे

अमृत भट्टराई– २४ वर्ष, २००६ अक्टोबर

राजु रिजाल– १८ वर्ष, यु–१९ कप्तान

शक्ति गौचन– ३१ वर्ष, २००२ जुलाई

भुवन कार्की– २१ वर्ष, २०१२ अक्टोबर

अविनाश कर्ण– २० वर्ष, १०१३ अगस्ट

करण केसी– २३ वर्ष, २०१५ जनवरी

जितेन्द्र मुखिया– २२ वर्ष, २०१३ डिसेम्बर

राहुल विश्वकर्मा– २२ वर्ष, २००७ मलेसिया

प्रतिक्रिया