Sunday 2 Falgun, 2072 |
Menu

अन्तर्वार्ता

istl

अभावकै बीच दसैं मनाइँदै

  • शुक्रबार २९ असोज, २०७२
  • पूर्वेली ब्युरो
  • DISQUS_COMMENTS
(0 votes)
विराटनगर- लगातार बन्दले तराई आक्रान्त हुँदा मुख्य चाड दसैं प्रभावित छ। त्यसमाथि थपिएको नाकाबन्दीले पेट्रोलियम, खाना पकाउने ग्यासलगायत उपभोग्य सामग्री सहज हुन सकेको छैन। मालसामान आपूर्ति गर्ने नाका तराईमा बढी भएकाले पहाडमा समेत बन्दको सोझो असर परेको छ। पूर्वी क्षेत्रका नागरिक अभावकै बीच पनि उमंगपूर्वक दसैं मनाउन तयारी गरिरहेका छन्।

nepalipatro-nagarik
भोजपुरस्थित नागरिक संवाददाता धु्रुव सुवेदीका अनुसार विगतको तुलनामा यस वर्ष दसैंको चहलपहल छैन। सहरबाट गाउँ फर्किनेको संख्या कम छ भने गाउँबाट सहर जानेको संख्या पनि न्यून देखिन्छ।

विगतका दसैंमा सदरमुकाम सुनसानै रहे पनि गाउँमा निकै चहलपहल हुन्थ्यो। यसपालि भने गाउँमा पनि कुनै रौनक छैन। लगातारको तराई बन्द र भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका कारण तराई र राजधानीबाट मानिस गाउँ आउन सकेका छैनन्। बरु सदरमुकामका बासिन्दा पनि काठमाडौं जाने तयारीमा छन्। काठमाडौंमा रहेका परिवार सदस्य गाउँ आउन नपाउने भएपछि भोजपुर नगरपालिका–७ का जीवन श्रेष्ठ कात्तिक ४ मा हवाईजहाजमार्फत उतै जाँदै छन्। पत्नीलाई यसअघि नै पठाइसकेका उनले छोरा र आफू काठमाडौं जान लागेको बताए।

अहिले भोजपुर आउने–जाने गाडीको संख्यासमेत घटेको छ। दिनहुँ १० यात्रुबाहक सवारीसाधन चल्ने भोजपुरमा यति बेला पाँच बस मात्र चल्दै छन्। पेेट्रोलियम अभाव हुँदा सवारी साधन घटाइएको हो। सातामा छ दिन हवाई उडान भए पनि यात्रुको चापका कारण जहाजको टिकट पाउनै मुस्किल छ।

ताप्लेजुङस्थित संवाददाता खगेन्द्र अधिकारीका अनुसार सदरमुकाम फुङलिङमा दसैंका लागि लत्ताकपडालगायत सामग्री ग्राहकको मागअनुसार छैन। ग्राहक पनि कमै छन्। तर, सामग्रीको भाउ भने महँगो छ।

फुङ्लिङका कपडा व्यवसायी ईश्वरी खतिवडाले बन्द–हडतालका कारण पेट्रोलियम आयात ठप्प हुँदा बढेको ढुवानी खर्चको मारमा व्यापारी पनि परेको बताए। यसै कारण उपभोक्तालाई महँगोमा सामग्री बेच्न बाध्य भएको उनी सुनाउँछन्।

नयाँ संविधान नस्विकार्ने पक्षले साताभन्दा बढी आमहडताल नगरेकाले पूर्वी पहाडको व्यवसाय उति थलिएको भने छैन। ताप्लेजुङ उद्योग वाणिज्य संघ अध्यक्ष तारानाथ घिमिरेले पेट्रोलियमबाहेक दैनिक उपभोग्य सामग्रीमा खासै समस्या नरहेको बताए। उनले स्थानीय व्यवसायीसँग मौज्दात र केही आयात गरिएकाले बजार धेरै असहज हुन नपाएको उनको भनाइ छ। 'ढुवानी खर्च बढ्नु र बजारमा भनेजस्तो सामग्री नपाएका कारण भाउ उतारचढाब हुनुलाई अस्वाभाविक मान्न हँुदैन,' घिमिरेले भने।

दसैंका बेला पाथीभरा क्षेत्रमा देखिने चहलपहल भने यसपालि छैन। बन्दको असरले मानिस कम आएका छन्। होटलहरूमा खाना पकाउने ग्याससमेत अभाव भएको होटल व्यवसायी संघ जिल्ला अध्यक्ष दिनेश खवासले बताए।

पहिलेजस्तो सजिलो नरहे पनि यातायात व्यवसायीले यात्रुलाई सकेसम्म सुविधा दिलाउन प्रयास गरिरहेको ताप्लेजुङ बुकिङ काउन्टरका इन्चार्ज जंग मुखियाले बताए। यातायातमा समस्या हुन नदिन जिल्ला प्रशासनले यहाँका दुई डिपोमार्फत तेल आपूर्ति गर्ने व्यवस्था गरेको छ। निमित्त प्रजिअ भगीमान मादेनले आएजति पेट्रोलियम समानुपातिक ढंगले वितरण व्यवस्था मिलाइएको जानकारी दिए।

धनकुटास्थित संवाददाता सिद्धराज राईका अनुसार दसैं नजिकिएपनि धनकुटा बजारमा विगतभन्दा चहलपहल कम छ। अरूबेला कर्मचारी र विद्यार्थीका कारण चहलपहल हुने कोसीका पहाडी जिल्लाका सदरमुकामबाट कर्मचारी र विद्यार्थी दसैं मान्न घर जान थालेपछि बजार सुनसान भएका हुन्। अन्य सहरमा दसैं–तिहारमा बाहिरबाट आउनेको संख्या धेरै हुन्छ। तर, धनकुटालगायत पहाडी बजारमा यो संख्या कम हुने गरेकाले चहलपहल घटेको धनकुटा बजारका व्यापारी विक्रम पौडेलले बताए।

दसैंको बजार लागे पनि मान्छेको भीडभाड छैन। 'बजार आउनेको भन्दा फर्कनेको भीड छ। सदरमुकाममा मान्छेको चहलपहल घटेपछि व्यापार पनि घट्न थालेको छ,' व्यापारी पौडेलले भने। गत दसैंका बेला पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गरेका व्यापारीले यस वर्ष त्यति व्यापार गर्न नसकेको उनको भनाइ छ।

पाँचथरस्थित संवाददाता गिरिराज बाँस्कोटाका अनुसार लामो समय घरबाहिर रहेकाहरू दसैं आएसँगै धमाधम फर्किरहेका छन्। पूर्वी पहाडी जिल्लामा भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण इन्धन अभाव, आपूर्ति असहज भए पनि दसैंको उमंग भने बिस्तारै बढ्दैछ।

पाँचथरसहित तेह्रथुम, इलामलगायत जिल्लामा दसैंको रौनक छाउँदैछ। घरमा ग्यास, चामल, नुन, तेल, चिनीजस्ता अत्यावश्यक सामग्री अभाव रहेपनि स्थानीय दसैंलाई अभाव टार्ने मेलो खोज्दैछन्। गाडीका लागि इन्धन अभाव भए पनि भएकै इन्धन व्यवस्थित गरिँदैछ। सहरमा खाना पकाउन दाउरा प्रयोग बढाइएको छ। गाउँमा घर भएर सदरमुकाममा रहेका धेरै बासिन्दा दसैं मनाउन आफ्नै गाउँ फकिँदैछन्। 'दसैैंको रौनक बढ्दैछ। अभाव, दुःख भए पनि रमाइलो गरी मनाउने तयारी गर्नैपर्छ,' पाँचथर उद्योग वाणिज्य संघ अध्यक्ष मित्रप्रसाद काफ्ले भन्छन्, 'खाना पकाउने ग्यास र इन्धनको ठूलो समस्या छ। तैपनि, समस्यामा जुधेर दसैंको रमाइलो बढ्दैछ।'

प्रतिक्रिया