Thursday 28 Magh, 2072 |
Menu

अन्तर्वार्ता

istl

सहिदले देखाएको बाटो

(0 votes)
१९०३ साल असोजमा जंगबहादुर राणले सयौँ देशभक्त तथा राष्ट्रवादी सैनिकको हत्या गरे। उनले तानाशाही परिवारिक शासन चलाउने उदेश्यले कोतपर्व मच्चाए। कोतपर्वको विरोधमा सन् १८७६ अप्रिलमा गोरखा निवासी लखन थापाले केही विद्रोही युवा साथमा लिइ सामूहिकरूपमा खुलेआम जंगबहादुरको विरोध गर्दै गाउँगाउँ घुमेका थिए। जंगबहादुरको तानाशाही आदेशले लखन थापा र उनका साथीलाई पक्रेर मनकामनादेवी मन्दिरअगाडि झुन्ड्याइएको थियो।
रामनारायण देव

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepalipatro-nagarik
त्यसैले थापालाई पहिलो सहिद मानिन्छ। पछि एकतन्त्रीय राणशासनविरुद्ध १९९७ सालमा दशरथ चन्द, गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्रीलगायत सहिद भए। ती अमर सहिदको बलिदानस्वरूप २००७ सालमा राणाशासन समाप्त भई प्रजातन्त्र आयो, तर प्रजातन्त्रको २०१७ सालमा हत्या गरियो।

प्रजातन्त्र पुनर्स्थापना गर्ने सिलसिलामा २०१७ देखि २०४६ सालसम्म कयौँ सहिद भए। ती अमर सहिदमा शुभचन्द्र मिश्र, शाकेत्तचन्द्र मिश्र, कामेश्वर–कुशेश्वर, लीला दाहाल, राम र लक्ष्मण उपाध्याय आदि छन्, जसको बलिदानस्वरूप आज हामीले प्रजातन्त्र उपभोग गर्न पाएका छौँ। प्रजातान्त्रिक आन्दोलनमा यसरी सयौँ सहिद भए। राम र लक्ष्मणजस्ता युवाले अदम्य साहस र वीरता प्रदर्शन गरी नेपाली कांग्रेसद्वारा आह्वान भएको सशस्त्र आन्दोलनको क्रममा सोलुखुम्बुमा वीर गति प्राप्त गरे। सहिद राम र लक्ष्मणको जन्म २००५ साल बैशाख ५ गते उदयपुर जिल्लाको तत्कालीन सदरमुकाम उदयपुरगढीमा पिता विष्णुप्रसाद र माता दुर्गादेवी पौडेलको जुम्ल्याहा सन्तानका रूपमा भएको थियो। विष्णुप्रसाद त्यतिबेला उदयपुर गढीको माल अड्डामा खरिदार थिए। उनको पुर्ख्यौली घर काठमाडौँको हाँडीगाउँमा थियो। २००७ सालको क्रान्तिमा महोत्तरी–सप्तरी क्षेत्रका कमान्डर रुद्रप्रसाद गिरीको नेतृत्वमा कृष्णप्रसाद भट्टराईसहित ३५ जनाको मुक्तिसेनाको डफ्फाले २००७ साल कात्तिक २७ गते उदयपुरगढीमा आक्रमण गर्न जाँदा खरदार विष्णुप्रसादले सघाएका थिए। मुक्तिसेनाले सजिलैसित उदयपुरगढीमाथि कब्जा जमाइ त्यहाँ रहेको १७ हजार रुपैयाँ फेला पारेको थियो।

विष्णुप्रसादले मुक्तिसेनालाई सघाएको भन्दै राणशासकले उनका जेठा छोरा वेदप्रसाद (५ वर्ष), छोरा राम र लक्ष्मण (दुई वर्ष)लाई पक्रेर ल्याउनु भनी प्रहरीलाई आदेश दिए। राणाका फौज र प्रहरीले उदयपुरगढीमा उनको घर घेरा हाली फायरिङ गर्न लाग्दा विष्णुप्रसाद मुस्किलले आफ्नो परिवार र राम–लक्ष्मणलाई लिएर भाग्न सफल भएका थिए। उनले आफ्नो परिवारलाई भारतको जयनगर लिएर गए। २००७ सालको क्रन्ति सफल भई फागुन ७ गते प्रजातन्त्र घोषणा भएपछि उनी सिराहाको बस्तीपुर गाउँमा बस्न थाले। त्यहाँ उनलाई मित्रलाल गिरी, रुद्रप्रसाद र मोतीलाल मित्रजस्ता प्रजातन्त्रका सेनानीले ठूलो सहयोग गरेका थिए।

राम र लक्ष्मण कक्षा ८ सम्म लहानकै विद्यालयमा पढी कक्षा ९ मा बस्तीपुर हाइस्कुलबाट २०११ सालमा एसएलसी पास गरे। बस्तीपुरमा पढ्दा त्यहाँको राजनीतिक वातावरणले ठूलो प्रभाव पार्यो । बस्तीपुरका कमान्डर रुद्रप्रसाद गिरी जेलमा बन्दी थिए भने मित्रलाल गिरीलगायत धेरै कार्यकर्ता प्रवासमा थिए। मित्रलालका छोरा प्रदीप गिरी २०१७ सालमा बस्तीपुरबाट एसएलसी पास गरी थप पढ्न बनारस गएका थिए। कांग्रेसको संघर्षशीलता र प्रजातन्त्रको पुनर्प्राप्तिले राम र लक्ष्मणको मष्तिक उद्वेलित पारिरहन्थ्यो। २०२१ सालमा महेन्द्र मोरङ कलेज विराटनगरमा पढ्न जाँदा सधैँ राजनीतिक आन्दोलनमा अग्रसर भइरहने राम–लक्ष्मणले अध्ययन क्रममा पनि जेलजीवन बिताउनुपरेको थियो। तिनले बीए परीक्षा जेलबाटै उत्तीर्ण गरेका थिए।

जेलमा रहँदै गर्दा विरामी परेकाले दुवैलाई हथकडी लगाइ अस्पताल लगिएको थियो। अस्पतालबाट फर्कंदा तिनले प्रहरीलाई छक्याइ भाग्न सफल भएका थिए। भागेर जोगबनीको काँडेदार पर्खाल नाघी उनीहरू फारबिसगन्ज (भारत) मा रहेको कांग्रेस क्याम्पमा पुगे। पूर्वसैनिक कप्तान यज्ञबहादुर थापा त्यहाँ पार्टीको गतिविधिमा संलग्न थिए। राम–लक्ष्मणले नेपालमा सशस्त्र क्रान्ति गर्ने योजनाको तयारी भइरहेको थाहा पाए। पढाइभन्दा राजनीतिक क्रियाकलापमै बढी समय व्यतित गर्ने उनीहरू एकदिन गोप्यरूपले नेपाल आइ पितालाई भेटेेर आन्दोलन गर्ने योजना सुनाएर फर्केका थिए।

उता, बनारसमा बीपी कोइरालाको रणनीतिअनुसार पहाडी इलाका ओखलढुंगा, सोलुखुम्बुमा सशस्त्र आन्दोलन गरी कब्जा गर्ने उद्देश्यले फारबिसगन्ज क्याम्पमा यज्ञबहादुर र राजनीतिक अधिकृत महेश कर्मोचाले कांग्रेसको योजनाअनुरूप बनारस पुगी बीपी र गिरिजाप्रसादसित भेटी सशस्त्र आन्दोलनको तयारी गर्न थाले। पूर्व तयारीअनुरूप सशस्त्र आन्दोलनका सिपाही बनारसबाट नेपाल प्रवेश गर्ने सिलसिलामा जयनगर पुगे। त्यहाँबाट आन्दोलनकारीको डफ्फा नेपाल सिमानाभित्र प्रवेश गरी कमला नदीको किनारैकिनार ओखलढुंगातर्फ अघि बढ्यो। सरकारले थाहा पाएर सदरमुकामबाट सेना पठायो। तर, उनीहरू यसअघि नै नदी तरेर पारि पुगिसकेकाले सेना असफल भयो।

सोलुबजारमा रहेका सेना अधिकृतसँग विद्रोहीको भित्री सम्पर्क थियो। पूर्व योजनाअनुसार विद्रोहीले सदरमुकाम पुगेर सामान्य लडाइँ गर्नासाथ सेनाले आत्मसमर्पण गर्ने र त्यसपछि हतियारयुक्त प्रहरी जवानलाई संगठित गरी स्थानीय सरकार गठन गर्ने निर्णय भएको थियो। विद्रोहीले आफूहरू आइपुग्नै लागेका खबर आफ्नो पक्षमा रहेका सरकारी सेनाकहाँ पुर्यारए, तर सरकारले तत्काल निर्णय गर्न सकेन। त्यसैले सोलुबजारबाट सरकारी सैनिक अधिकृतले पूर्व योजनाविपरीत विद्रोहीलाई दुई दिन बाटोमा पर्खने खबर पठाए। त्यो सल्लाह मान्नु नै घातकसिद्ध भयो। यसरी आफूसित मिलेका सरकारी सैनिक पनि सरकारको पक्षमा गएकाले उनीहरू दलबलसहित त्यहाँको टिम्मुरे जंगलभित्र पसे। काठमाडौँबाट आएका सैनिकले विद्रोहीलाई जंगलमा घेरे।

यस्तो संकटपूर्ण अवस्थामा टिम्मुरे जंगलभित्र ओडारमा बसेर विद्रोही आफ्ना कमजोरीको मूल्यांकन गर्दै थिए। सेनाले आफूमाथि हमला गर्न थालेपछि स्थिति बिग्रेको थाहा भयो। विद्रोही पक्षका सैनिक कमान्डर यज्ञबहादुर र राजनीतिक कमिसनर राम–लक्ष्मणबीच सुरुदेखि नै सेनासम्बन्धी तथा अन्य विषयमा मतभेद थियो। आफ्नो समूहबाट एकजना फरार भएपछि राम–लक्ष्मण टिम्मुरे जंगलभित्र असहाय महसुस गरिरहेका थिए। सरकारी सेना र विद्रोहीबीच गोली चल्न थाल्यो। सरकारी सेनाका शक्तिसामु विद्रोहीको शक्ति क्षीण हुँदै गए पनि राम–लक्ष्मणको साहस कम भएन। आखिर प्रजातन्त्रको बलिबेदीमा यी जुम्ल्याहा पञ्चायती सत्ताको गोलीबाट टिम्मुरे जंगलमा २०३१ पुसमा मारिए।

आफ्ना छोराहरू सशस्त्र विद्रोहमा मारिएको खबर सुनेपछि विष्णुप्रसाद बेहोस भए। पुत्रशोकले २०३२ मा उनको मृत्यु भयो। २०३६ मा जनमत संग्रहको घोषणा भएपछि प्रचारप्रसारका क्रममा लहानमा भएको आमसभामा बीपीले भावविह्वल भएर राम–लक्ष्मणको स्मरण गरेका थिए। पञ्चायती सेनाको गोलीबाट टिम्मुरे जंगलमा राम–लक्ष्मणका साथै विद्रोही सेनामा रहेका अगमसिंह राई पनि सहिद भएका थिए। त्यस काण्डमा पक्रिएपछि राजविराज जेल चलान गर्ने निहुँमा टोकसेलाघाटमा हर्कबहादुर कार्की, रामबहादुर सुनुवार, भीमबहादुर कटुवाल, अमरबहादुर खड्का र नेत्रबहादुर कार्कीको हत्या गरिएको थियो। यिनको बलिदानी केका लागि थियो? के अहिलेको कांग्रेस उनीहरूले देखाएको बाटोमा हिँडेको छ?

प्रतिक्रिया