Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

'एउटा जर्नेल कहिल्यै रिटायर्ड हुँदैन'

smaller text tool iconmedium text tool iconlarger text tool icon
आफ्नो कार्यकालमा राजनीतिक भाषण गरे भन्ने आरोप लागेका पूर्व प्रधानसेनापति रुक्माङगद कटवालले शुक्रबार बीबीसी नेपालीलाई दिएको अन्तवार्ता-

आजकाल कुन कुरामा हराउनुभयो?
खै म त नेपालमै बसिरा'छु। म एउटा नागरिक भएर नै बसिरा'छु।

राजनीतिमा हामफाल्दै हुनुहुन्छ भन्ने पनि सुनियाथ्यो, हो?

बच्चा हुँदाखेरि दुई-चारवटा कान्ला त नाघेको हो। घोडाबाट पनि हामफालेको हो, तर खै राजनीतिमा हामफाल्ने त मैले सोचेको छैन।

सेनामा हुँदा त राजनीतिक नेताले जस्तै भाषण गरेर हिँड्यो भनेर खुबै चर्चा गरेका थे?
खै अब भन्ने मान्छेले त भने होलान् तर मैले भाषण गरेर हिँडेजस्तो त लाग्दैन। तर राजनीति त बुझ्नुपर्ने हुन्छ, जसले पनि।


तपाईंले राजनीति अलि बढी नै बुझेजस्तो छ। त्यत्रो शक्तिशाली प्रधानमन्त्रीले त कुर्ची छोड्नुपर्‍यो?

त्यो मेरो कारणले छोड्नुपरेकोजस्तो त लाग्दैन।

नतिजाले त जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा प्रधानसेनापति रुक्मांगत कटवाल शक्तिशाली देखियो नि?
उहाँहरूले अब म नेपाल र नेपालीको मन्त्री-प्रधानमन्त्री भएँ भनेर देख्नुभएको भए यो सेना हाम्रो हो, राष्ट्रको हो, नेपालीको हो भनेर देख्नुभएको भए यो अवस्था आउने थिएन कि?

जे भए पनि तत्कालीन सरकार प्रमुखको कतिपय आदेश त सेन प्रमुखले नमानेको त हैन र?
हैन सेना प्रमुखले वैधानिक सरकारको आदेश नमान्ने भन्ने त प्रश्नै उठ्दैन।

त्यसो भए त्यो सरकार वैधानिक थिएन?
वैधानिक थियो। वैधानिक भनेर नै मानेको हो नि।

त्यो वैधानिक सरकारले सेनामा भर्ती नगर भनेर भन्यो, तपाईंले भर्ती गर्छु भनेर अगाडि बढाउनुभयो। पदोन्नतिको कुरा आठजना जरनेलको कुरा उसले रोक्यो, तर तपाईंले चुनौती दिनुभयो। खेलकुदमा माओवादी सरकारले खेल्ने आदेश दियो, तर तपाईंले त्यो टिमसँग खेल्दैनौं भनेर आदेश दिनुभयो? यसलाई कसरी भनेको मान्ने?
सबभन्दा पहिला त नेपाली सेनामा तीस वर्षे लगाउने भन्ने कुरा उठ्यो। त्यो तीस वर्षे सर्भिस लगाउँदा नेपाली सेना म्याससेटायर नै हुन्छ। अर्को कुरा भर्नासम्बन्धी, जरनेलसम्बन्धी, खेलकुदसम्बन्धी कुरामा कहाँ-कहाँ, के-के कानुनी भएन र व्यवहारिक भएन, खेलकुदसम्बन्धी मिलेन भनेर एक्प्लानेसन गरेर मैले लेखेर नै दिएको हो।

भनेपछि तत्कालीन सरकारले यो कानुनसम्मत् छैन भने पनि त्यसको जिम्मा मेरो हो, यो कुरा अगाडि बढाऊ भनेर भन्यो कि भनेन?
भनेको छैन। लेखेर पठाएपछि नमिले पनि अगाडि बढाउनू भनेर कहिल्यै भनेको छैन्। बरु बालुवाटारमा बोलाएर यो रोक्न पाए हुन्थ्यो भने भन्नुभो। मैले यो-यो कारणले मिल्दैन भनेर भनेको थिएँ। त्यसपछि कुनै कुरो आएन। त्यो बेलाकै सरकारको कुरा गर्दा मैले राजिनामा नदिएको भए ठूलो रक्तपात हुन्थ्यो भनेर प्रधानमन्त्रीले पुष्पकमल दाहाले भन्नुभो। कुन हिसाबले उहाँले रक्तपात हुन्छ भनेर भन्नुभो त्यो मलाई थाहा भएन।

तपाईलाई हटाउने क्रममा सेना दुई फ्याक्ट हुन्छ। त्यसको एउटा नेतृत्व तपाईंले गर्ने र दुई फ्याक्टबीच भीषण रक्तपात हुने भनेर व्यापक चर्चा गरिएको थियो नि?
त्यो कोसिस त भएको देखियो, एउटा व्यक्तिलाई प्रयोग गरेर। तर त्यो सामर्थ्य र शक्ति भइदिएको भए त हुन्थ्यो होला नि। त्यो हुन नसकेर नै कुलबहादुर खड्का जर्साबले गल्ती गरेको महसुस गर्नुभो भन्ने लाग्छ मलाई। उहाँलाई प्रयोग गर्न खोजिएको हो, पक्कै पनि। नेपाली सेनामा फ्याक्सन ल्याइदिने। खासगरी जसरी हुन्छ यसलाई डिस्ट्रोय गर्ने मनसुबा देखियो।


जे भए पनि आखिरीमा प्रधानमन्त्रीभन्दा प्रधानसेनापति पनि शक्तिशाली भएको देखिएको त हो नि?
नेपाली सेनालाई पोल्टिसाइज गर्न हुन्न। एउटा पार्टीको क्याडर बनाउन मिल्दैन, यो एउटा राष्ट्रिय सेना हो भनेर हेड अफ द स्टेटमा राति गएर यो बेठिक छ, सर्वसम्मत् छैन, कानुनसम्मत् छैन भनेर भनेको थिएँ। संविधान तोडिन्छ, सल्लाह र सहमति जुन कानुनमा लेखिएको छ त्यो मेटिन्छ भनेर भनेको कुरा सरलाई थाहा नै छ। नेपाली सेनाले पनि प्रजातान्त्रिक पद्दतिका लागि एउटा अडान लियो। संसारमा कहीँ पनि छैन यस्तो इतिहास।

यही कुरालाई लिएर तपाईंले विदेशीलाई गुहार्नुभो भन्ने पनि सुनिन्छ। तपाईंको कलेजका साथीहरू थिए रे छिमेकी सेना प्रमुखहरू?
त्यस्तो कुरा गर्ने हो भने त एउटा आफ्नो देशको कर्मचारीलाई निकाल्न विदेशी एम्बेस्डरलाई दिनको तीनचोटिसम्म बोलाको सबैलाई थाहा छ। विदेशी आठ-आठजनालाई बोलाएर लौ न यसलाई हटाउनुपर्‍यो भनेको पनि सबैलाई जगजाहेर छ। विदशी सचिवलाई भेट्न पाइनँ भनेर प्रधानमन्त्रीले भनेको पनि संसारलाई थाहा छ।

प्रसंग अलिकति बद्लौं। तपाईंले यो नेपाली सेना प्रजातन्त्रका लागि प्रतिबद्ध छ भनेर भन्नुभो। तर, माघ १९ को राजाको घटनामा त सेनाले साथ दिएको हैन? त्यो बेला प्रजातन्त्र चाहिएन?
त्यो बेला म प्रधानसेनापति थिइनँ। म अहिले स्पष्ट भन्छु, यदि त्योबेला म प्रधानसेनापति भइदिएको भए सायद यो अवस्था आउने थिएन होला। तर यहाँनिर के पनि भनुँ भने अहिलेसम्म नेपाली सेनाले त्यो पोलिटिकल सेटअपको आदेश मानिराखेको छ, जोसँग शक्ति छ। १९ गतेको सन्दर्भमा भने म त्योबेला म डिसिजन लेभलमा थिइनँ।

एउटा जनरलका हिसाबले राजालाई उक्साउनुभयो। पार्टीलाई विभिन्न लेख लेखेर ठिक लगाउनुभयो भनेर पनि भन्छन् नि?
चारवटा सुरक्षा प्रमुख राति घरमा जान्थे बारम्बार र ती चार सुरक्षा प्रमुखलाई मिटिङमा के भनेको छु भनुँ - बारम्बार आई होप यु आर नट चिटिङ त फ्युचर अफ नेपाल, मोनार्की अफ नेपाल, एन्ड योरसेल्फ, आई होप यु आर टेलिङ टु्रथ। दरबारका मान्छेलाई पनि भनेको छु, यदि राजसंस्थालाई कसैले बचाउँछ भने नेपाली जनता, पार्टीले मात्र बचाउनसक्छ, सेक्युरिटीले हैन भनेर मैले भनेको छु। कुरा सुनुवाई भयो कि भएन अर्कै ठाँउमा छ। तर म फेरि भन्छु म त्यो ठाँउमा भइदिएको भयो यो अवस्था आउने थिएन।

तपाईं दरबारको छत्रछायामा हुर्किनुभयो। तपाईंले दरबारसँग यस्तो कुरा गर्नुभयो भनेर कसले पत्याउला?
त्यसबेलाको महाराजधिराजलाई त मैले हङकङमा चिनेको हो, कर्नेल भइसकेपछि। राजा महेन्द्रले मलाई स्कुल हालेर पढाएको हो। मजस्ता धेरैलाई उहाँले पढाएको छ। तर म मात्रै यस्तो चर्चामा आएको हो।

यसरी आफूलाई हुर्काउने, बनाउने राजसंस्था जाँदा मुटु चसस्क भएन?
कैयन देसमा राजतन्त्र र प्रजातन्त्र सँगै जान सक्छन् भने नेपाल मा किन जान नसक्ने? गएको भए राम्रो हुन्थ्यो। तर, यो हुन सकेन।

तपाईंलाई राजतन्त्रले व्यक्तिगत रूपमा त्यत्रो गुन लगायो। तर तपाईं प्रधानसेनापति हुनेबित्तिकै गयो। तपाईंले त नुनको सोझो पनि गर्न पाउनुभएन नि?
मैले त संस्थाको प्रतिनिधित्व गरेको थिएँ। म सम्पूर्ण नेपाली जनातालाई कसरी सेवा दिन सकिन्छ भनेर हेर्थें। नेपाली सेनाले जे गर्‍यो ठिक गर्‍यो।


अहिलेको स्थितिमा तपाईंलाई अतिवादी, दक्षिणपंथी, राजतन्त्र ब्युँताउने व्यक्तिका रूपमा चित्रित गरिन्छ। के तपाई राजतन्त्र ब्युँताउने व्यक्ति हो?
मैले ब्युँताएर राजसंस्था ब्युँतिने भए उहिले नै ब्युँतिने थियो। जनताले ब्युँताए भने ब्युँतिने हो।

जनताले ब्युँताउने संभावना देख्नुहुन्छ?
भोलिको कुरा नगरौं। संसारमा यस्ता घटना भइरहेका छन्।

तपाईं भन्नुहुन्छ नि बेलाबेला, माओवादी आतकंकारी हुन्। यिनलाई ठेगान लगायो भने सबै कुरा ठिक हुन्छ भनेर? के यस्तै गरे ठिक हुन्छ?
एउटा जुनसुकै सेना प्रमुखले पनि संसारमा यो भनिराख्ने कुरा हो। संसार नै आतंककारीको विरुद्धमा लडिराखेको बेला यसले ठिक भन्यो भनेर स्याबासी दिनुपर्ने बेला। यसको जागिर खोस्नुपर्छ। नागरिक सर्वोच्चताको नाममा धम्काउने काम भइरहेको छ।

त्यसो भए माओवादी बुद्धि नभएका, देशभक्ति नभएका परे?
त्यसो भनौं भने देशभक्तिका नाममा मेची महाकाली हिँडिरहनु भएकै छ। यो त संसारले बुझ्ने कुरा हो।

एकताका माओवादी, सरकार र दरबारबीच सम्पर्क गराउनु खोजिरहनुभएको थियो भन्ने पनि थियो नि?
हैन म चिफ हुँदा दुई-तीनपटक यस्तो अफर आएको हो, मिलाउनुपर्छ भनेर।

के साँच्चिकै तपाई राजनीतिमा नलाग्ने नै हो त?
(हाँसो) धेरै मान्छेले मलाई पार्टी खोल्नुपर्‍यो भन्छन्। धेरैले मलाई पार्टी ज्वाइन गर्नुपर्‍यो भन्छन् । मैले के भनेको छु भने मसँग त्यस्तो खुबी नै छैन र तपाईंको प्रश्नमा भोलि के हुन्छ भनेर अहिल्यै काल्पनिक रूपमा के भनिहालौं र। राज्यले मलाई स्पेस खडा गर्छ र नेपाली जनताले महसुस गर्छन् भने जे पनि गर्न सक्छु। एउटा जरनेल कहिले पनि रिटायर्ड हुँदैन। मेरो अन्तिम सास रहेसम्म नेपाली जनताको निम्ति जे पनि गर्नसक्छु। म पछाडि हट्दिनँ।

अहिले देशको स्थिति खराब छ। समस्या समाधानका लागि नयाँ जंगबहादुर जन्मिनसक्छ भन्ने पनि गरेका छन्। तपाईं त्यस्तो जंगबहादुर बन्ने सम्भावना छ?
जंगबहादुरको समय गइसक्यो। जगंबहादुर जन्मने अवस्था पनि नआओस्। समयमै संविधान बनोस्। समयमै हतियार व्यवस्थापन होस्। समयमै शान्ति आओस्। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अन्तर्वार्ता

Nagarik Offer