Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th
Home ब्लग ब्लग धुन्चेको सम्झना

धुन्चेको सम्झना

smaller text tool iconmedium text tool iconlarger text tool icon
मिसली र पासाङ तमुका तस्बिर मेरो फोटो ग्यालरीबाट कहिल्यै भेटिने छैनन्। न त भेटिनेछ त्यो समय, त्यो क्षण र धुन्चेका तस्बिरहरू। धुन्चेलाई म खाली सम्झन र महसुस गर्न सक्छु। ग्यालरीमा भेटाउन नसके पनि के भो र! मनभरि छताछुल्ल छँदैछ रसुवा सदरमुकाम धुन्चे।

'माम्ला मिसिली, माम्ला पासाङ तमु' (मेरो नाम मिसिली र पासाङ तमु हो) नेपाली नजान्ने यी धुन्चेका आमाहरूका तस्बिर मेरो क्यामरामा अटाएका थिए। तर, उनीहरूका यी 'माम्ला' शब्द मेरो कानमा गुन्जिरहेका छन्। झलझली टल्केको लाङटाङ हिमाल, गोसाइँकुण्डबाट कलकल बगेको गट्टेखोला, अग्लाअग्ला पहाड, राम्चेको कहालीलाग्दो पहिरो, धुन्चेको साधारण जीवनयापन मेरो क्यामराले कैद गरेको यथार्थ थिए।
ती यथार्थलाई सम्झनमात्र सक्छु म। धुन्चेलाई पलपल कैद गरेको मेरो क्यामेरा फर्किन चाहेन। धुन्चेसँग खेल्दाखेल्दै हरायो त्यो।
धुन्चे प्रकृतिको भण्डार। धुन्चेलाई मनभरी संगाल्न यात्रामा निस्किएको थियो २९ जनाको हाम्रो टोली। जाउलाखेल चिडियाघरको 'फ्रेन्ड्स अफ जु' नामक संस्थाका शिक्षकको टोली। हाम्रो उद्देश्य धुन्चे र त्यहाँका विद्यार्थीसँग साक्षात्कार।
तीनदिने योजना तय गर्दै काठमाडौंबाट हिँड्यौं हामी। काठमाडौंदेखि धुन्चेसम्मको एक सय अठार किलोमिटर यात्रा निकै रोमान्चक हुन्छ। केही पक्की र केही कच्ची धुलाम्मे बाटो, ठुल्ठुला पहाड, राम्चेको डरलाग्दो पहिरो र रहरलाग्दा बारीका पाटाहरूले सात घन्टाको यात्राको थकानलाई बिर्साइदिन्छन्। सुन्दर दृश्यलाई क्यामरामा पलपल कैद गर्दै हिडेँ। हाम्रो धुन्चेको पहिलो यात्रालाई बाटाभरि परिचित गराउँदै लगे धुन्चेमा होटल लाङटाङ भ्यु चलाएर बसेका बद्रीनिधि घिमिरेले।
यात्राको लक्ष्य धुन्चेसम्म। अलि पर छ स्याप्रुबेसी। नयाँपनको खोजी गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय पुग्दा साँझको चार बजिसकेको थियो। चिन्नै नसकिने गरी धुलाम्मे भएका अनुहार र कपडा टकटकाउँदै निकुञ्जबारे गफिन थाल्यौं। नयाँ ठाउँबारे परिचित गराउन जानकार मान्छे त चाहियो नै। 'निकुञ्ज रसुवाको गर्व' लाङटाङ संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल भन्छन्, 'यहाँको चर्चित रातो पान्डाले स्वदेशी/विदेशी सबैलाई आकर्षण गरेको छ।'
स्कुलमा लाङटाङको विषयमा केही पढेका थियौं। तर प्रत्यक्ष पुग्दा मलाई यसबारे अझ जान्ने इच्छा जाग्यो। १७१० स्क्वायर किलोमिटरमा फैलिएको संरक्षणक्षेत्र काठमाडौंदेखि सबैभन्दा नजिकको पार्क। मनमा जसरी पार्कको परिकल्पना गरेर गएका थियौं त्यसअनुसार पाउन सकेनौं। कँडेलका अनुसार अव्यवस्थित गाउँ र अत्यधिक दाउरा कटान यहाँको प्रमुख समस्या हो। जसले गर्दा हरेक दिन पार्कको सौन्दर्य र जनावर संख्या घट्दै गएको छ। यहाँ विशेष गरेर रेड पान्डा, जंगली कुकुर, हिमाली भालु पाइन्छन्।
विभिन्न किसिमको हावापानी भएको पार्क १५ सयदेखि ७ हजार मिटरसम्म फैलिएको छ। तल्लो भागमा धेरै बस्ती भएकाले पार्क र जनावरको अनुभव गर्न माथिल्लो भेगसम्म पुग्नैपर्छ।
कँडेलका अनुसार निकुञ्जभित्र ५३ भन्दा धेरै होटल छन्। जसले यस क्षेत्रमा घुम्न जंगल सफारीजस्ता विभिन्न सुविधा दिएका छन्। ४५ भन्दा धेरै गाउँ पार्कभित्र बस्ने भएकाले यहाँ पाइने जनावर माथिल्लो भेगमा मात्र भेट्न पाइन्छ।
केही समयको साक्षात्कारपछि हामी होटल लाङटाङ भ्युमा पुग्यौं जहाँ हाम्रो बस्ने योजना थियो। लामो यात्रा र भोकले सबै सुस्ताइसकेका थिए।
सेतो हिमालमाथि गुलाबी किरणले स्पर्श गर्न थालेपछि दोस्रो बिहानले मलाई निकै खुसी तुल्यायो। सफा र स्वच्छ खुलेको बिहान। सबैभन्दा नजिक पुगेर हिमाल हेर्ने चाहना पूरा भएको बिहान थियो त्यो। केही साथी हसिलो मुहार बनाउँदै झुल्के घाममा हिमाल हेर्न थाले। हामीलाई साथ दिँदैथिए होटलका साहुजी घिमिरे। धुन्चेको एउटा आकर्षण भनेकै नजिकबाट हिमाल हेर्नु पाइनु हो। यहाँबाट लाङटाङ, लिरुङ, हिमालचुली, मनास्लुजस्ता हिमशृंखलालाई नजिकबाट अवलोकन गर्न पाइन्छ।
खासगरी मध्यअक्टोबरदेखि मध्यडिसेम्बर र मध्यफेब्रुअरीदेखि मध्यअप्रिलसम्मको समयलाई पर्यटकीय सिजन मानिँदोरहेछ। त्यो समय वातावरण सफा हुने भएकाले छयाङ्गै देख्न सकिन्छ हिमालहरू। त्यस्तै जाडो मौसममा स्वाभाविक चिसो धेरै हुन्छ। हिउँ पर्ने सम्भावना पनि बढी हुन्छ।
बिहानी दृश्य मनभरि संगाल्दै घट्टेखोलासम्म ग्रिन वाक गर्‍यौं। बाटोमा पानीको डिस्टिलरी केन्द्र, काठले बनाएका साना घर र अपरिचित मान्छेसँग पनि कुरा गर्न फरासिला मिसिली र पासाङ लामा भेटिए। हामीले उनीहरूसँग केही फोटो खिच्यौं। तीसँग खिचेका तस्बिर पनि क्यामेरासँगै हरायो।
नेपाली बोल्न नजाने पनि यी धुन्चेका आमाहरू कति बाठा! फोटो खिचेको पैसा नलिई सुखै दिएनन्। यिनीहरूलाई पर्यटकसँगको आम्दानीमा बानी परिसकेछ। घिमिरे भन्छन्, 'यहाँको प्रमुख बासिन्दा भनेका तामाङ हुन्। पर्यटन विकास हुँदै गएपछि यहाँ अरू जातिको संख्या पनि बढ्दै गएको छ।' बाहिरबाट आएकाहरू होटल व्यवसायमा लागेका छन्।
तामाङहरूको प्रमुख व्यवसाय कृषि। यिनीहरू खासगरी बुद्धधर्म मान्छन््। यसको प्रमुख कारण तिब्बतसँगको सम्बन्ध।
आमाहरूसँगको अलिअलि बुझिने गफगाफपछि हामी अघि बढ्यौं। घट्टेखोला धुन्चेबाट नजिकको स्थान। गोसाइँकुन्डको मुहान भएर बगेको यो खोलाको वास्तविक नाम 'तियारी खोला' भएको स्थानीय विष्णुराम देवकोटाले बताए। पछि घट्टे राखेकाले घट्टेखोला भएको उनले सुनाए। यहाँबाट उकालो लागेपछि एक दिनको पैदल हिँडेर उच्च स्थानमा रहेको चर्चित गोसाइँकुन्ड ताल जान सकिन्छ। गोसाइँकुन्ड पदयात्रा रमाइलो हुन्छ।
धुन्चे पुगेपछि छुटाउनै नहुने नजिकको ठाउँ - स्याप्रुबेसी। दिउँसो त्यतै लाग्यौं। धुन्चेबाट लगभग एक घन्टाको गाडी यात्रामा स्याप्रुबेसी पुगिन्छ। ससाना गाउँ, अग्ला पहाड, बुद्ध स्तुपाबाहेक चिलिमे जलविद्युत गृह हेर्न लायक छन्। चिलिमे खोलाबाट स्याप्रुबेसीसम्म पानी ल्याएर बनाएको गृहबाट २२ किलोवाट विद्युत उत्पादन हुन्छ।
लाङटाङ र गणेश हिमालतिर सोझिने एउटा बाटो - स्याफ्रुबेसी। यहाँबाट लाङटाङ बेस क्याम्प पुग्न चार दिन हिँड्नुपर्छ।
स्याप्रुबेसीबाट फर्केपछि साथीहरू धुन्चेको कोसेली किन्न तम्सिए। 'लोकल रक्सी लैजाने कि चौरीको घिउ?' ठट्टा गर्दैगर्दा एक साथीले लालीगुराँसको लोकल रक्सी पोको पारिहाले। लालीगुराँस र नासपातीको लोकल रक्सी र वाइन यहाँका विशेष हुन्। यसबाहेक छुर्पी, चिज, चौरीको घिउ, सेतो सिमी पाइन्छ।
दोस्रो दिन बेलुका साथीहरूबीच रमाइलो गर्ने केही जाँगर देखियो। झुमझुम तालमा एकाएक गीतहरू बर्सिन थाले।
असनमा किनेको झागर
रक्सी नखाई आउँदैन जाँगर
कि लाऊ माया मैतिर
कि लाऊ उहीतिर
नलाऊ दुईतिर

मादलको तालमा नाच्दानाच्दै रात बित्यो। यात्राको अन्तिम दिन नुवाकोटको दरबार हेर्दै काठमाडौं फिर्ने योजना। पृथ्वीनारायण शाहले १८३१ मृत्युवरण गरेको भनिने देवीघाट र नुवाकोटको ऐतिहासिक दरबारलाई मनभरि सजाउँदै काठमाडौंतिर लाग्यौं।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

ट्याग्स

कमेन्ट

    ब्लग

    विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

    - विजय राई

    केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

    - केशव थोकर

    राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

    - राजेन्द्र ज्ञवाली