Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th
Home ब्लग ब्लग भुइँचालोले पनि लग्यो हाइटीलाई

भुइँचालोले पनि लग्यो हाइटीलाई

smaller text tool iconmedium text tool iconlarger text tool icon
एउटा देशको अवसान कसरी हुन्छ? कस्ता कारण चाहिन्छन् एउटा देश निख्रिन? के देश सकिनु भनेको नक्साको आत्मसमर्पण हो?

गलत! एकदम गलत!

वास्तुशास्त्र नमिलेकोजस्तो देश। अहँ, हुँदैन होला।

राजनीतिका अवयवहरू ध्वस्तै भएर सकिए भने। संस्कृतिका सारहरू निख्रिए भने, व्यक्तिवाद स्वार्थमा विद्रोहको सानै झिल्काले पनि सल्किएर खरानी हुनसक्छ देश। त्यहीमाथि प्रकृतिले नियोजित जस्तो आक्रमण गर्‍यो भने त देशको अस्तित्व खरानीजस्तै उडिजानसक्छ।

कुनै देशको पूरै अवसानमा यो पृष्ठभूमि रचिएको होइन तर एकपछि अर्को राजनीतिक कचिंगलमा आफ्नो सेनासमेत नभएको देश हाइटीले राजनीतिक दिशाहीनता, मानवीय ध्वंस, आन्तरिक द्वन्द्वहरूसँगै सामाजिक अस्तित्व पूरैजसो गमाएर बल्ल उठ्दै थियो घाइते सिपाही जसरी। तर, यस्तो भुइँचालो आएर लग्यो सबै कि अब फेरि उठ्न उसलाई सयौं वर्ष लाग्नेछ।

दुई वर्षअघि हाइटीसम्मको यात्रामा निस्किएका थियौं हामी। दुई घन्टामा पाकिस्तानको लाहोर, छ घन्टामा नर्वेको ओस्लो, आठ घनटामा क्यानडाको गान्दार रोकिँदै-रोकिँदै त्यसको ९ घन्टा लामो हवाइयात्रापछि बिहान सवा आठ बजे हाइटीको राजधानी पोर्ट औ प्रिन्स ओर्लिंदा बीचमा दुई रात विलय भइसकेका थिए।

जम्बो विमानको झ्यालबाट हाइटी एक सुन्दर बस्ती देखियो। घोडाको टाप आकार, समुद्रबीचका मसिना पहाडहरू। भुइँ नछोउन्जेल देखिएको हाइटीको सुन्दरताले साँच्चै मन फुर्किएको थियो। ओर्लियौं हामी र त्यहाँ रहेका नेपाली सेनाका कमान्डरहरूसँग भेटघाटपछि स्थानीयसँग भलाकुसारी भए। सहर, बस्ती र विकट गाउँ घुमियो। कति सुन्दर थियो पोर्ट औ प्रिन्स। राष्ट्रपति भवनलाई पनि भुइँचालो लग्यो। भत्किएको दृश्य हेरेपछि म एकएक हाइटीस्मरण खोतलिरहेको छु।

सन् १४९२ मा कोलम्बसले पत्ता लगाएको देश हाइटी। २७ हजार ७ सय ५० वर्ग किलोमिटर परिधि। सन् १६९७ देखि १८०१ सम्म फ्रान्सले आधिपत्य जमायो। दासहरू ओसारपसारको ट्रान्जिट प्वाइन्ट। जतिबेला क्युबाबाट दासहरू हाइटी ल्याइन्थ्यो र त्यहाँबाट अमेरिका लगिन्थ्यो। यसरी आरम्भ भएको देशकथा अहिलेसम्म आइपुग्दा निकै भयानक भइसकेको छ। यस पटक भुइँचालोले त के भत्कायो र हाइटीलाई जति ऊ भत्किसकेको थियो आन्तरिक रूपमा।

अहिले सम्झँदा मलाई किन त्यति धेरै प्यारो लागेको होला त्यो देशजस्तो लाग्छ। तर, ठिक त्यो परिस्थितिपछि समुद्रमा पौडी खेलेर पिएका बियरको क्यानलाई मैले जोडसँग हातैमा किचिमिची पारेको सम्झना गाढा भएको छ, जतिबेला म त्यो देशलाई स्वर्गको टुक्रामा परिकल्पना गर्दै थिएँ। अफसोच, कुनै अर्को देशप्रति त्यस्तो कल्पनाको हैसियत वा अधिकार ममा थिएन होला। ठानेँ, अनि झट्ट आफैलाई गाली गरेँ। हकारेर आफैलाई किचिमिची पारिएको हातको क्यान जोडसँग बगरमा फालिदिएँ त्यसपछि सल्कियो एक अर्को खिल्ली।

क्यारेबियन समुद्रमा मेरो त्यो अन्तरद्वन्द्वमा परेका बियरका क्यान र चुरोटका खिल्लीझैं हाइटीका जनता र तिनको यथार्थ बुझ्न हामी पोर्ट औ प्रिन्सकै सबभन्दा डरलाग्दो सहर-सिटी सोले पुगेका थियौं। त्यहाँ जानुअघि नै हामीलाई सेनाले फ्रग (बुलेटप्रुफ) ज्याकेट र युएनअंकित हेलमेट लगाउन भनेको थियो। त्यसैअनुसार हामी सिटी सोले पुग्यौं। जसको बारेमा हामीलाई सेना र त्यहाँका एक नेपाली कर्मचारी, जो चार वर्षदेखि त्यहाँको विकास निर्माणमा लुथ्रन फाउनडेसनअन्तर्गत रहेछन् - प्रकाश राजभण्डारी। उनले भनेका थिए - त्यो औद्योगिक सहर २००७ सम्म ग्याङ्स्टर्सको नियन्त्रणमा थियो। त्यहाँ पुग्यौं र एक चक्कर लगाएपछि देख्यौं - त्यहाँ कुनै घर छैन, जो गोलीको डामबाट मुक्त होस्। खासमा कुनै उद्योग सञ्चालनमा थिएनन्। जनताको अनुहारमा संशयमात्र थियो र तिनीहरू बडो त्रासबीच सडकमा निस्किरहे जस्तो लाग्थ्यो।

त्यो सहर २००७ पछि मात्रै युएनको नियन्त्रणमा आएको रहेछ। नेपाली सेनालाई अघि लगाएर गरिएको अप्रेसनबाट त्यो सम्भव भएको रहेछ। तर त्यस क्षेत्रको जस ब्राजिलले लिएको रहेछ र त्यहाँ उसको नियन्त्रणघेरा थियो। ब्राजिलको बटालियन छिरेर अनुमति लिएपछि हामी सिटी सोले सहर घुम्यौं। ग्याङस्टरको झडपमा ध्वस्त भएका घरहरूबीच बुलेटप्रुफ ज्याकेट लाएको थिएँ मैले।

खरानी अझै पखालिएको छैन, अंगारले छोपेको छ - सडक किनार, प्वालैप्वाल परेका घरका भित्ताछेउ नागरिक त्रास बोकेर ओहोरदोहोर गरिरहेका छन्। जब फर्किंदै गर्दा गाडीमा एकजना मेजर चित्रदाइको आइपड खोलेर सुनेँ - जहाँ बजिरहेको थियो - मेरो गीत मेरै प्रतिविम्ब होइन ' नारायण गोपालको आवाज।

नेपाली गीत र भाषालाई बुझ्ने बोल्ने थुप्रै थुप्रै स्थानीय थिए त्यहाँ। जो नेपाली बटालियन आसपास बस्छन् र काम गर्छन्। तिनीहरूले मिनुस्तालाई खुबै धन्यवाद दिए, त्यसमा पनि नेपालीप्रति आभारको थुप्रै शब्द खर्चिए। रिचार्ड नामका एक युवकले त राष्ट्रिय भावनाले भरिएका नेपालका गीत गाए :
नेपालीको छात्तीमा हिमाली छायाँ छ
नेपालीलाई नेपालको बिछट्टै माया छ
उनलाई आफ्नो देशको राष्ट्रगान गाउन मैले अनुरोध गरेँ। तर अनेक प्रयत्नमा पनि उनले सम्भिन सकेनन्। चुप लागेँ। मलाई जति दुःख लागेपनि त्यसको के अर्थ र? मैले सम्झाउन र टिभीमा त्यो देशको राष्ट्रगान बजाउन खोजको हुँ, तर असफल म भएँ वा ती नागरिक? मैले छुट्याउन सकेको छैन।

१४ कक्षाका विद्यार्थी रिचार्ड मात्र होइन देशका असंख्य नागरिक राष्ट्रियताप्रति सतर्क र जागरुक भेटिएनन्। रिचार्ड भन्दैथिए, 'देश र राष्ट्रियताप्रति किन बफादार हुने? जब राष्ट्रसँग कुनै अपेक्षा नै छैन भने।'

जनताले राष्ट्रियता बिर्सिएपछि कुनै देशको हालत कस्तो होला? जहाँ सत्र देशका सैनिक छन्, तर, देशसँग चाँहि सेना छैन, पुलिस छ तर, अरू देशका सेनाको सहारामा चलेको छ। वर्षेनी भोकमरी परिरहन्छ, देशमा राजश्वस्रोत कमजोर छ र सीमित परिवारको अर्थव्यापारमा चलेको छ देश। धनी र गरिवबीचको दुरी आका-जमिन छ। दुई छाक खाँदैनन् गरिब। धनीहरूका बिएमडब्लु कार प्रसस्त कुद्छन् सडकमा। नागरिकसँग हतियार छ र समाज सधैं आतंकित भइरहन्छ।

सन् २००४ देखि नेपाली सेना हाइटीमा छ। मिनुस्ताअन्तर्गत १७ देशका सैनिकझैं नेपाली सेनाले त्यहाँको सबैभन्दा ठूलो क्षेत्रको सुरक्षा जिम्मेवारी पाएको छ। यात्राक्रममा हामी नेपाली सेनाको जिम्मेवारी क्षेत्रहरू घुम्यौं। पोर्ट औ प्रिन्सका चोकहरूमा हाइटीको कला, संस्कृति र सभ्यता हेर्‍यौं। परेवा उडाइँदै गरेका प्रसस्त सालिकसँग देशको अशान्ति पीडापूर्ण थियो। राष्ट्रपति भवनअघिल्तिर आवाजहीन शंखघोषको लोभलाग्दो प्रतिमा हेरेर चुपचाप फर्कियौं। झन्डाहरूको पार्कमा नेपालको झन्डा फहराइरहेको हेरेर गर्व गर्‍यौं। सालिकहरू हेरेर त्यस देशको इतिहासलाई पटक-पटक सम्भि्कयौं। बन्दरगाहमा पानीजहाज चढ्दा हामीले नेपालको बन्दरगाह सम्भावना पनि देखेनौं। एउटा भोको बालकले मलाई अँगालेर पाउरोटी खान पाउँ्क भनी मरिहत्ते गर्दा देशलाई प्रत्यक्ष महसुस गर्न पाएँ। नेपाली बटालियनको छेउछाउ उभिएर भोक लाग्योसम्म भन्ने नागरिक देखेर
देशको यथार्थले खिच्यो हामीलाई। सानो देश, सानै परिवेश अथाह प्राकृतिक सम्पदा देशलाई स्वर्गजस्तो बनाउन सकिने हाम्रो कल्पना थियो तर, त्यो निरर्थक छ। ८५ प्रतिशत काला, पाँच प्रतिशत मुलाटा देशप्रतिको इमानदारीताभन्दा पेटप्रतिको बफादारीमा केन्द्रित थिए।


देशलाई लागूपदार्थ ओसारपसारको ट्रान्जिट प्वाइन्ट बनाउनेहरू रहेछन्। गरिब देश हुनुको बाध्यतामा होला अमेरिका र अरू केही राष्ट्र त्यसलाई प्रयोग गर्दारहेछन्। हामीले यतिबेला चाँहि नेपाल सम्भि्कयौं।


नेपाली सेनालाई अघि लाएर सिटी सोले कब्जा गरियो तर ब्राजिलले त्यसको ब्याज खाइरहेको छ। हाइटीको सबैभन्दा ठूलो क्षेत्रको जिम्मेवारी नेपाली सेनालाई छ तर महŒवपूर्ण अरूलाई नै।

देशका प्रमुख गाउँ र बस्ती चहारिसकेपछि लाग्यो - देशले राष्ट्रियता गुमाएपछि यस्तो हुने रहेछ? यही प्रश्न हो, जसले त्यो यात्राभर मलाई रिंगाइरह्यो। अहिले भुइँचालोले हाइटी पूरै भग्नावशेष जस्तो भएको छ। यात्रा अराजक हुने मेरो जीवनको निरन्तरतासँग मैले त्यो पटक देश, राजनीति, जनता, यात्रा र जीवनलाई थप बुझ्ने अवसर पाएको थिएँ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

ट्याग्स

कमेन्ट

    ब्लग

    विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

    - विजय राई

    केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

    - केशव थोकर

    राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

    - राजेन्द्र ज्ञवाली