'जमिम शाहलाई गोली हान्ने व्यक्ति भारतीय सुरक्षाकर्मी हुनसक्ने'

smaller text tool iconmedium text tool iconlarger text tool icon
केपी ढुंगाना, काठमाडौं, फागुन २५- जमिम शाह हत्या र बुटवलमा भएको शौकात बेग हत्याका अभियुक्त मोहम्मद वकार सैयद भारतीय सुरक्षाकर्मी भए नभएकोबारे नेपाल प्रहरीले भारतीय प्रहरीसँग जानकारी मागेको छ। दुबै हत्यामा संलग्न अभियुक्त सैयद भारतीय सुरक्षाकर्मी रहेको प्रारम्भिक जानकारीको आधारमा नेपाल प्रहरीले भारतको उत्तरप्रदेश प्रहरी समक्ष टोली नै पठाएर बुझिरहेको छ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी अधिकारीले हालै भएको दुबै देशको बोर्डर सुरक्षा बैठकमा सिमावर्ती भारतीय जिल्लाहरु सिद्धार्थनगर र महाराजगञ्जका प्रहरी प्रमुखहरु राम स्वरुप र उपेन्द्र अग्रवाल एवं 'डिष्ट्रीक मेजिष्ट्रेट'हरु रविन्द्र श्रीवास्तव र शसिकान्त शर्मासँग सैयदको बारेमा सूचना सहयोग मागेको थियो।

सैयद लखनउको स्पेशसल टास्क फोर्स (एसटिसी) वा प्रतिआतंकवाद सेल (एटिएस) मा कार्यरत हवल्दार भएको जानकारीका आधारमा रुपन्देही प्रहरीले भारतीय प्रहरीसँग जानकारी माग गरेपछि भारतीय पक्षले डाटाबेस हेरेर छिट्टै सैयदको बारेमा सूचना उपलब्ध गराउने वचन दिएका थिए। तर, अहिलेसम्म सैयदको बारेमा भारतीय पक्षबाट जानकारी आएको छैन।

'विभिन्न सूचनाका आधारमा सैयद भारतीय सुरक्षाकर्मी भएको आंकलन अनुसार उत्तरप्रदेश प्रहरीसँग हामीले सूचना सहयोग मागेका छौं' जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख छविलाल जोशीले टेलिफोनमा नागरिकलाई बताए।

वेग हत्या अनुसन्धानमा सक्रिय इलाका प्रहरी कार्यालय वुटवलका प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले अनुसन्धानको प्रारम्भमा सैयद भारतीय सुरक्षाकर्मी रहेको जानकारी आएपछि भारतीय पक्षसँग जानकारी माग गरेको बताए। उनले भने' हाम्रो(नेपाल प्रहरी)को एक टोली उतै( भारत) गएर सैयदको बारेमा जानकारीका लागि भारतीय पक्षसँग आग्रह गरेको थियो। तर, उनीहरुले राम्रो रेस्पोन्स नगरेका कारण हामीले पाएको जानकारी हो या हैन पुष्टि हुन सकेको छैन।'

माघ १७ गते बुटवलको मैनावगरमा रहेको न्यु अशोक मार्टमा श्रीमती सहित मोटर मर्मतका लागि गएका वेगलाई बेलुका सांढे पांच वजे मोटरसाइकलमा आएका २ जनाले टाउकोमा गोली हानेर हत्या गरेका थिए। गोली लागेका ४० वर्षीय बेगको घटनास्थलमै मृत्यु भएको थियो।

अनुसन्धानको क्रममा हत्यामा संलग्न दुबै अभियुक्त १० दिनको प्रवेश अनुमतिसहित भारतीय नम्बरको मोटरसाइकलमा ९ गते नेपाल छिरेको र १० गते वेगको हत्यालगत्तै भारत छिरेको पुष्टिसँगै हत्यामा सैयद संलग्न रहेको खुलेको बुटवल प्रहरी दावा गर्छ। बुटवल प्रहरीले बरामद गरेको सैयदको चालक अनुमतिपत्र र हत्याका प्रत्यक्षदर्शीका आधारमा वेग हत्यामा गोली हान्ने सार्प सुटर सैयद नै रहेको निष्कर्षमा बुटवल प्रहरी पुगेको हो। प्रहरीले बरामद गरेको तस्विरलाई वेगकी श्रीमती नाजमा खातुनले पुष्टि गरेकी थिइन।

अनुसन्धानबाट उनीहरु सुनौली नाकावाट भैरहवाहुंदै बुटवल आएर वेगलाई गोली हानेर भारततिर भागेको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी दावी गर्छन। बुटवल प्रहरीले फेला पारेको सैयदको सवारी चालक अनुमति पत्रवाट उनको तस्विर लिइएको हो। चालक अनुमतिपत्रमा ३४ वर्षका सैयद महाराष्ट्रको जोहनपुर निवासी रहेको उल्लेख छ।
माघ २४ गते जमिमलाई गोली हानी हत्या भएपछि हत्याको अनुसन्धानमा जुटेको प्रहरीले प्रत्यक्षदर्शीको भनाई र अनुसन्धानकोक्रममा भेटिएको प्रमाणको आधारमा जमिमलाई गोली हान्ने ब्यक्ति सैयद रहेको निष्कर्षमा पुगेको थियो।

हत्याको विधिको विष्लेशणको आधारमा अनुसन्धानवाट वेगको हत्याको प्रकृया र जमिम हत्याको प्रकृयाबीच पूर्ण समानता देखिएको र अनुसन्धानका क्रममा जुटेका प्रमाण,घटनामा संलग्न अभियुक्तहरुले दिएको जानकारी र प्रत्यक्षदर्शीको बयानका आधारमा जमिमलाई गोली हान्ने ब्यक्ति सैयद नै रहेको निष्कर्षमा जमिम हत्याको अनुसन्धानमा संलग्न केन्द्रका प्रहरी अधिकारीहरु पुगेपछि जमिम हत्याका अभियुक्तको रुपमा वेग हत्याका अभियुक्तलाई प्रस्तुत गरेको थियो।

महानगरीय प्रहरी आयुक्तको कार्यालयले जमिम हत्याका बारेमा जानकारी दिन फागुन ३ गते आयोजना गरेको पत्रकार सम्मेलनमा एआईजी मदन खड्काले जमिमलाई गोली हान्ने सुटर नम्बर २ को रुपमा प्रस्तुत गरेको नाम र तस्विर वेग हत्यामा संलग्न अभियुक्त सैयद नै हुन। काठमाडौं प्रहरीले बुटवलप्रहरीले फेला पारेको सैयदको सवारी चालक अनुमतिपत्र मागएर पत्रकार सम्मेलनमा जमिम हत्याका सुटर नम्बर २ का रुपमा प्रस्तुत गर्‍यो।

हुलिया र प्रहरीको अनुसन्धानकाक्रममा फेला परेको तस्विरको आधारमा जमिम हत्यामा गोली हान्ने ब्यक्ति सैयदनै रहेको पुष्टी भएको डिआइजी राजेन्द्रमानसिंह भन्डारीले बताउंछन। उनले भने'काठमाडौंमा फेला परेको तस्विर बुटवल पठाएर बेगको श्रीमतीलाई देखाउँदा उनले वेगलाई गोली हान्ने यही हो भनेपछि दुबैको घटनामा एकै ब्यक्ति संलग्न रहेको खुलेको हो।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
Last Updated ( Wednesday, 10 March 2010 10:07 )
onlineversion