Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th

पशुपतिको वार्षिक आम्दानी तीन लाखमात्रै

smaller text tool iconmedium text tool iconlarger text tool icon
गिरीश गिरी, काठमाडौं, मंसिर १- पशुपतिनाथ मन्दिरले गत वर्षभरिमा ३ लाख ६७ हजार ८ सय ९६ रुपैयाँ आर्जन गरेको छ। 'अघिल्ला वर्षको तुलनामा यो अझ बढेको हो,' पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले नागरिकसँग आइतबार भने, 'यसअघि यति पैसा पनि कमाइ हुने गरेको थिएन।'

प्रत्येक वर्ष बाला चतुर्दशीको भोलिपल्ट पशुपतिले वर्षभरी आर्जन गरेको कमाइ सार्वजनिक गर्छ। गत वर्षको यो कमाइ सोमबार बिहान नौ बजे दाखिला गर्ने कार्यक्रम राखिएको छ।
दानभेटी ठूलो मात्रामा चढ्ने भए पनि मन्दिर स्वयंको प्रत्यक्ष कमाइ भने मूलकन्तुर र विशेषपूजा गरेर दुईवटा आधार रहँदै आएको छ।

दर्शनार्थीले तोकेरै 'यो रकम श्रीको ढुकुटीमा जाओस्' भनेर चढाएको पैसालाई भट्टहरूले मूलकन्तुरमा राख्नुपर्ने प्रचलन छ। एक त यसरी थोरैले मात्र पैसा चढाउने गरेका छन् भने त्यसमाथि त्यस्तो पैसा ढुकुटीमै राख्ने/नराख्ने भन्ने पनि भट्टहरूको तजबिजमा भर पर्ने कोषाध्यक्ष वैद्य बताउँछन्। त्यस्तो कन्तुरबाट बितेको वर्षभरिमा केवल ८० हजार ४ सय ४३ रुपैयाँ मात्र संकलन भएको छ। भक्तजनबाट पशुपतिले विशुद्ध आर्जन गरेको कमाइ यति मात्र हो।

त्यसबाहेक विशेष पूजाबाट पनि पशुपति मन्दिरको भाग लाग्ने गरेको छ। यस्ता विशेष पुजाहरु ११ सय रुपैयाँदेखि १३ लाख रुपैयाँसम्मका हुने गरेका छन्। सबैभन्दा कम मूल्यको ११ सय पर्ने पञ्चामृत पुजा भएपछि त्यसमध्ये २२ रुपैयाँ मात्र पशुपति मन्दिरले पाउने गरेको छ। यसरी विशेष पुजाबाट वर्षभरिमा मन्दिरको भागमा २ लाख ८७ हजार मात्र पर्न आएको छ। यसबाटै पनि विशेष पुजा मार्फत भट्टहरुलाई हुने गरेको कमाइ स्पष्ट हुन्छ। पहिले यस्ता विशेष पुजाहरु पशुपतिको कार्यालय र भट्ट मार्फत तय हुने गरेको भए पनि यता आएर भट्टहरुले एकोहोरो रुपमा यसका सम्पूर्ण प्रक्रिया पुरा गर्दै आएको भण्डार तथा तहविल कार्यालयका एक कर्मचारीले बताए।

'भट्टको काम विशुद्ध रुपमा पुजाआजा गर्ने मात्र हुनुपर्ने हो,' पशुपति विज्ञ गोविन्द टण्डन भन्छन्,'तर व्यवहारमा पुजाआजाको ठेकेदार बन्दै गएको देखिन थालेको छ।' टण्डनका अनुसार विक्रम संवत १७९२ को ताडपत्रमा पशुपतिका भट्टले दान लिनै नहुने भनेर स्पष्ट उल्लेख भए पनि यसलाई कसैले पालना गरेका छैनन्।


यो मन्दिरबाट धेरैले अथाह पैसा कमाए पनि मन्दिर आफैँ भने गरिब रहेको बताउने उनका अनुसार यसलाई व्यवस्थित गर्ने तर्फ आजसम्म कसैले ध्यान दिएका छैनन्।


त्रिविविबाट पशुपतिमै विद्यावारिधि गरेका टण्डनसँग लामो अवधि पशुपति विकास कोषको प्रशासक भइ काम गरेको अनुभव पनि छ। भेटीघाटीमा पारदर्शिताको कुरा उठाएकै कारण उनलाई ०५० सालमा तत्कालीन मूलभट्टले सदस्य सचिवबाट राजीनामा दिन बाध्य पारेका थिए।

यसरी पशुपतिको भेटीघाटी व्यवस्थित गर्नुपर्छ भन्ने माग सबैले उठाउने गरे पनि त्यसलाई कार्यान्वयन गर्न भने आजसम्म कसैले सकेका छैनन्।

'मैले ऐन संशोधन गर्दै यसको आम्दानीलाई राष्ट्रियकरण गरिनु पर्ने र त्यसलाई सामाजिक क्षेत्रमा लगाउनु पर्ने व्यवस्था गरेको थिएँ,' पूर्व संस्कृतिमन्त्री एवं एमाले नेता प्रदिप ज्ञवाली भन्छन्,'तर त्यसको आधारमा नियमावली संशोधन गर्ने काम कत्तिको अघि बढ्यो थाहा छैन।' आफ्नो कार्यकालमा रानीको स्थानमा प्रधानमन्त्रीलाई मन्दिरको अध्यक्ष बनाउनु नै महत्वपूर्ण कदम भएको ज्ञवाली बताउँछन्। तर, पशुपतिलाई बुझेर विश्लेषण गर्नेहरु यस मन्दिरमा परिवर्तन हुन सबैभन्दा जरुरी रहेको आर्थिक पारदर्शिताका कुराहरु कसैले नउठाएको बताउँछन्। 'कुन शक्तिको प्रभावले हो थाहा छैन,' एक विज्ञले भने,'विरालोको घाँटीमा घन्टी झुण्ड्याउने यो आँट आजसम्म कसैले गरेका छैनन्।'


पशुपतिको मामलामा सबैभन्दा ठूलो आँट माओवादीले गरेको थियो। तर, उसको प्रयास पनि भेटीघाटी पारदर्शी बनाउने भन्दा मूलभट्ट हटाएर त्यस ठाउँमा आफ्नो मान्छे राख्नेमा केन्द्रित भएपछि ऊ एक्लिएको धार्मिक क्षेत्रका व्यक्ति बताउँछन्। आफ्नो प्रयास सफल हुन नसकेपछि पुजारी नियुक्तिलाई राष्ट्रियतासँग जोडेर उसले चर्काउन खोजेको थियो।
पछिल्लो समयमा माओवादीले बनाएको कार्यव्यवस्था नियमालीले भने भट्ट र भण्डारीलाई तलबका आधारमा राखिनु पर्ने प्रष्ट उल्लेख गरे पनि अहिले त्यो अदालतमा विचाराधिन छ।

'बाहिरबाट हिर्काएर अथवा भट्टको हातमा सुम्पेर दक्षिणा भेटी चढाउने पद्धतीबाट सबैभन्दा बढी पैसा भित्रने गर्छ,' टण्डन भन्छन्,'त्यसलाई कडाइका साथ रोक्ने मात्र हो भने यहाँको धेरै विकृति स्वतः नियन्त्रणमा आउनेछ।'


यसरी चढ्ने गरेको दक्षिणा भट्ट र भण्डारीले बाँडेर लिने गरेका छन्। प्रत्येक वर्ष नेपाल र भारतका करोडौं हिन्दूले भ्रमण गर्ने यो मन्दिरको आफ्नै आम्दानी झट्ट सुन्दा पत्याउन गाह्रो भए पनि विज्ञहरु मन्दिरको यहि आम्दानी पनि बढ्दै गएर 'ठूलो' देखिएको सुनाउँछन्।


'०४२ सालमा मैले पहिलो पटक मन्दिरको आम्दानी सूची निकालेको थिएँ,' टण्डन भन्छन्,'त्यतिबेला २२ वर्षको अवधिमा मन्दिरले जम्मा ८ हजार रुपैयाँ कमाइ गरेको देखेपछि त्यो फेहरिस्त नै गोरखापत्रमा छपाएका थियौं।'

त्यसै बेलादेखि मान्छेले पशुपति मन्दिरको आम्दानीका बारेमा चर्चा गर्न थालेको र त्यसको प्रभाव मन्दिरको कमाइमा पनि पर्दै गएको टण्डन सुनाउँछन्।


पशुपतिको यस्तो कमाइलाई वर्षेनी सुनमा परिणत गरेर सञ्चय गर्ने गरिएको छ।
'पहिले जम्मा भएको नगदै थुपार्ने गरिन्थ्यो,' कोषाध्यक्ष वैद्य भन्छन्,'परेवाको गुँडका रुपमा रहेको भण्डारमा त्यस्ता पैसाहरु नष्ट हुँदै गरेको पाइएपछि सुन अथवा चाँदी किनरेर जम्मा गर्न थालिएको हो।'


पशुपतिको सम्पत्ति दुईतल्ले मन्दिरकै पहिलो तल्लामा राख्ने गरिएको छ। त्यहाँ अत्यधिक परेवा बस्ने गरेको र उनीहरुको विष्टामा एसिडको मात्रा बढी हुने गरेकाले पैसा नष्ट हुन थालेको थियो। त्यसैले वर्षेनी मूल्य पनि बढ्दै जाने धातु भएकाले सुन चाँदी किनेर जम्मा गर्न थालिएको हो। यस्तो नियम ०३२ सालबाट सुरुभएको टण्डन बताउँछन्।

फेरि अर्को कमिटी

पशुपतिको भेटीघाटी पारदर्शी बनाउँदै त्यसलाई व्यवस्थित गर्नका निम्ति संस्कृति मन्त्रालयले हालै सात सदस्यीय कमिटी गठन गरेको छ। संस्कृति सचिवको संयोजकत्वमा गठित कमिटीले भारत लगायतका मुलुकमा रहेका महत्वपूर्ण मन्दिर र शक्तिपीठहरुको अध्ययन गरेर पशुपतिका हकमा हुनसक्ने उत्तम व्यवस्था ठहर गर्ने उद्देश्य लिएको छ। कमिटिले भट्ट भण्डारीलाई राम्रो पारिश्रमिकको व्यवस्था गर्दै मन्दिरका सम्पूर्ण आम्दानी राज्यको नियन्त्रणमा लिने र सामाजिक क्षेत्रमा लगानी गर्ने तर्फ विचार गरिरहेको कोषाध्यक्ष वैद्य बताउँछन्।

'यस्तो पहल धेरैचोटी भए पनि ठोस परिणाम देखिएको छैन,' टण्डन भन्छन्, 'अन्तको उदाहरण हेर्ने भन्दा पनि हाम्रो पशुपतिका निम्ति के गर्दा राम्रो हुन्छ भन्ने निर्क्यौल हामी-हामी बसेरै निकाल्न सक्छौं।'

टण्डनले पशुपतिको आम्दानीलाई व्यवस्थित पार्ने कदम संगसंगै यो मन्दिरलाई राजनीतिक नियुक्तिको थलोबाट पनि मुक्त गरेर विशुद्ध धार्मिक क्षेत्रबाटै नेतृत्व विकास गरिनु पर्ने धारणा व्यक्त गरे। 'संभावित अर्को समस्याको समाधान पनि खोज्नु जरुरी छ,' उनले भने,'नत्र समस्या फेरि अर्को रुपमा बल्झन सक्छ।'

०४४ सालमा बनेको पशुपति ऐनले यसलाई स्वायत्त क्षेत्रका रुपमा उल्लेख गरेको भए पनि व्यवहारमा यो कहिल्यै लागू हुन सकेको छैन।

भेटीघाटी बाहेक जग्गा, पर्यटक काउन्टर र सरकारको बजेट अनुदान पनि पशुपतिको आम्दानीका श्रोत रहेकामा त्यसलाई पशुपति विकास कोषले नै प्रयोग गर्दै आएको र हिसाब किताब स्पष्ट रहेको कोषाध्यक्ष वैद्य बताउँछन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
Last Updated ( बुधवार, 16 डिसेम्बर 2009 08:31 )
onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली