६ वैशाख २०८१ बिहीबार
समाज

रहस्यमय बन्दै बहुमूल्य मूर्ति चोरी

जुम्ला- कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट मंसिर ११ गते राति हराएका भनिएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये सातवटा फेला परेका छन्। घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मूर्ति चोरिएको उल्लेख छ। सो मुचुल्कामा ६ सय १ सालमा बनेको दत्तात्रयसहितका २८ मूर्ति हराएको देखाइएको छ।

तर, घटनाको ७ दिनपछि शनिबार सिआइबीले छानबिन गरी तयार पारेको मुचुल्कामा २१ वटा मूर्ति हराएको उल्लेख छ। यसै आधारमा पहिले हराएका भनिएका मध्ये सातवटा भेटिएका हुन्।

मूर्ति चोरी घटना विषयमा प्रहरीका दुई निकायले तयार पारेको मुचुल्कामा फरकफरक विवरण उल्लेख भएपछि स्थानीय आश्चर्यमा परेका छन्। स्थानीयको प्रश्न छ– ती सातवटा मूर्ति मन्दिरबाट चोरिएकै थिएनन् वा चोरले पछि ल्याएर राखिदिएको हो? यसको उत्तर मिल्न सकेको छैन। अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ।

स्थानीय प्रहरी मुचुल्कामा २८ मूर्ति चोरिएको देखाइएको छ, सिआइबीको मुचुल्कामा तीमध्ये सातवटा मन्दिरभित्रै भेटिएको उल्लेख छ.।

घटनालगत्तै प्रहरीले तयार पारेको मुचुल्कामा परम्परागत ताजादी (अभिलेख) हेरेर हराएका मूर्तिको संख्या २८ भनी यकिन गरिएको थियो। ताजादीमा उल्लेख ४५ मूर्तिमध्ये २८ हराएको मुचुल्कामा लेखिएको थियो। तर त्यही ताजादी पल्टाएर शनिबार सिआइबीले मन्दिरभित्र खोजी गरी मुचुल्का उठाउँदा हराएका भनिएका मध्ये ७ वटा मूर्ति फेलापरेका हुन्। प्रहरी निरीक्षक कलेन्द्र शाहीले चोरी भएको दिन पुजारी हडबडाएर सही जानकारी नगराउँदा यकिन विवरण आउन नसकेको स्वीकार्छन्। उनले भने, 'पुजारी हडबडिएका थिए, सबै आत्तिएका थिए, हतार–हतारमा मुचुल्का उठाउँदा संख्या यकिन हुन सकेन।'

उनका अनुसार त्यस दिन गुठी समितिका अध्यक्षको रोहबरमा मुचुल्का उठाइएको थियो। ढोकानजिकै ताजादी हेरेर मूर्तिको नाम सुनाउँदा पुजारीले २८ वटा हराएको स्वीकारेका थिए। हराएका भनिएका मध्येका ७ वटा मूर्ति फूलप्रसादले ढाकिएको र छरपस्ट अवस्थामा मन्दिरभित्रै भेटिएको सिआइबीको मुचुल्कामा देखाइएको छ। चन्दननाथ–भैरवनाथ गुठी समितिका अध्यक्ष गौरीनन्द आचार्य पुजारीको गैरजिम्मेवारीका कारण कति मूर्ति हराए भन्नेबारे स्पष्ट हुन नसकेको बताउँछन्। उनले भने, 'हराएका भनिएका मध्ये चन्दननाथ मन्दिर स्थापना कालदेखिको त्रिमूर्तिसहित दत्तात्रयको मूर्ति, भगवती, लक्ष्मीनारायण, बुद्ध, हनुमान, रामलक्ष्मण र शिवपार्वतीको मूर्ति भेटिएका छन्।

गुठीका अध्यक्ष आचार्यका अनुसार २०२४ सालमा बनेको दत्तात्रयको मूर्ति, सरस्वतीको मूर्ति, बुद्धको मूर्ति, चारहातेे देवीको मूर्ति, वालगोपालको मूर्ति, पितलले बनेको देवीको मूर्ति, तामाको मूर्ति, शेषनागसहित श्रीकृष्ण भगवानको मूर्ति, विष्णुको मूर्ति,  पितल र चाँदीले बनेका गणेशका मूर्ति, चतुर्मुखी विष्णु, बज्रगुरु भगवानको मूतिसहित २१ वटा र मन्दिरमा भएको केही सुन फेला पार्न सकिएको छैन।

मन्दिरको भित्रपट्टिको कुनाकानी हेर्दा हराएकामध्ये ७ वटा मूर्ति भेटिएका हुन्। सिआइबीको मुचुल्कामा पुजारीको भेटी राख्ने बाकसमा ११ हजार ३ सय ८० रुपैयाँ,  यार्सा गुम्बा, चाँदीको सोल र सुनको आंैठी पनि भेटिएको उल्लेख छ।  चोरीलगत्तै मन्दिरभित्र नछिरिकन मुचुल्का तयार पारिएकाले यथार्थ विवरण आउन नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिलो मुचुल्का तयार पार्दा शनिबार भेटिएका मूर्ति त्यहाँ थिएनन्।

पहिलो मुचुल्कामा शंका लागेपछि सिआइबीले नागरिक समाज, पत्रकार र स्थानीय धार्मिक अगुवाको रोहबरमा शनिबार मुचुल्का उठाएको हो। मन्दिरभित्र भएका सबै मूर्ति र सामानको मुचुल्का उठाएपछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्दिरको ताला हस्तान्तरण गरिएको छ। प्रजिअ पण्डितका अनुसार पुजारी नियुक्त गरेर सोमबारदेखि विधिवत रुपमा पूजाआजा गरिनेछ।

गुठी समितिका पूर्व अध्यक्ष बखतबहादुर महतले मन्दिरबाट हराएकामध्ये ७ वटा मूर्ति भेटिएपछि  खुसी लागेको बताए। 

यसैबीच चन्दननाथ– भैरवनाथ गुठी समितिलाई निलम्बन गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मन्दिरमा भएको चोरीको घटनाबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर समितिलाई निलम्बन गर्ने निर्णय गर्दै गुठी संस्थान केन्द्रीय कार्यालयमा पत्राचार गरेको छ। मूर्ति चोरीपछि स्तब्ध बनेका कर्णालीवासीको मागका आधारमा हालको चन्दननाथ–भैरवनाथ गुठी समितिलाई निलम्बन गरिएको जानकारी प्रजिअ पण्डितले दिए। उनले भने, 'पुजारी मौलेश्वर गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि निलम्बन गर्नुका साथै घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। मन्दिरमा नित्य पूजाआजा गर्न अन्तरिम पुजारीको व्यवस्था गरिनेछ।'

बैठकले गुठीका निलम्बित र पूर्व पदाधीकारीलाई अनुसन्धानको दायरामा ल्याउने निर्णय गरेको जानकारी पनि उनले दिए।

वर्तमान गुठि समिति निलम्बनमा परेकाले अर्को व्यवस्था नहुन्जेल मालपोत कार्यालयका अधिकृतको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, चन्दनननाथ नगरपालिका, नापी कार्यालय र जिल्ला विकास समितिबाट एक–एक प्रतिनिधि रहेको गुठी व्यवस्थापन समिति बनाइएको छ। गुठी समितिका अध्यक्ष आचार्यले पदबाट राजीनामा दिइसकेका छन्। उनले छानबिनमा प्रहरीलाई सहयोग गर्न आफू तयार रहेको बताए।

स्थानीयले चोरिएका मूर्ति खोज्न माग राखेर प्रदर्शन गरिरहेका छन्। यसले खलंगा तनवाग्रस्त बनेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चोरीका मूर्ति खोज्न अनुसन्धान तीव्र पारेको जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७३ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App