coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एक वर्षपछि सर्‍यो १३औं साग

काठमाडौं- नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता पूर्व निर्धारित मितिभन्दा एकवर्ष ढिला हुने भएको छ। शनिबार काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले काठमाडौंमा सन् २०१९ मार्च ९ देखि १८ सम्म प्रतियोगिताको मिति तय गरेको हो।

भारतमासम्पन्न १२ औं सागको समापन समारोहमा नेपालले २०१८ मा १३ औं साग गर्ने जिम्मेवारीसाथ झन्डा लिएर फर्किएको थियो। तर समयमा तयारीको कुनै काम अघि नबढेको अवस्थामा शनिबार यस्तो निर्णय गरिएको हो। नेपालले तयारीमा उदासीनता देखाएपछि श्रीलंकाले १३ औं साग आफू गर्न तत्परता समेत देखाएको थियो। तर नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले पूर्वनिर्धारित मितिमा एकवर्ष ढिलाई गरेर भए पनि आयोजना अधिकार भने नेपालमै सुरक्षित गरेको छ।

बैठकमा नेपाल लगायत भुटान, पाकिस्तान, बंगलादेश र श्रीलंकाका प्रतिनिधि उपस्थित थिए। यसअघि नवौं संस्करणदेखि लगातार सहभागिता जनाउँदै आएको अफगानिस्तान मध्यएसियामा सरुवा भइसकेको छ। सागकासहभागीमध्ये भारत र माल्दिभ्सका प्रतिनिधिभने शनिबार बैठकमा उपस्थित थिएनन्। बैठकपछिको पत्रकारसम्मेलनमा अध्यक्ष श्रेष्ठले विधानत बहुमतका आधारमा निर्णय लिन सकिने बताए। उनले नेपाल सरकारसँगको परामर्शमै नयाँ मिति तय गरिएको जानकारी गराए।

‘सरकारसँगको सहमतिमै हामीले आज नयाँ मिति तय गरेका हौं। अब तयारीमा गम्भीर भएर लाग्नुपर्छ,’ श्रीलंकाले १३ औं साग आयोजनाको प्रस्ताव गरेको स्विकार्दै श्रेष्ठले भने, ‘भूकम्पका कारण नेपालको भौतिक संरचनामा क्षति पुगेकाले श्रीलंकाले गर्ने इच्छा जाहेर गरेको हो। तर यो बैठकमा नेपालले चाहेसम्म श्रीलंकाले सहयोग गर्छु भनेको छ।’

नेपालले दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो मेला साग आयोजना गर्न लागेको यो तेस्रोपटक हो। यसअघि सन् १९८४ मा काठमाडौंबाट दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को नाममा सुरु भएको प्रतियोगिताको आठौं संस्करण १९९९ मा नेपालले भव्यतासाथ सम्पन्न गरेको थियो। २००६ मा श्रीलंकामा १० औं संस्करण हुँदा यसको नाम फेर्दै साफ बाट दक्षिण एसियाली खेलकुद (साग) गरिएको थियो। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको पछिल्लो निर्णय कार्यान्वयन भए दोस्रोपटक गरेको २० वर्षपछि नेपालमा तेस्रोपटक साग खेलकुद फर्कनेछ। नयाँ नाममा भने नेपालमा प्रतियोगिता पहिलोपटक हुनेछ। अहिलेसम्म भारत र बंगलादेशले ३–३ पटक प्रतियोगिता आयोजना गरिसकेका छन् भने नेपाल, श्रीलंका र पाकिस्तानले २–२ पटक गरेका छन्।

त्यसअघि उद्घाटन सत्रमा प्रमुख अतिति रहेका युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले तोकिएको मितिमै प्रतियोगिता गर्न सरकार गम्भीर भएर लाग्ने वचन दिएका थिए। ‘प्रतियोगिता आयोजना गर्न पाउनु नेपालका लागि अवसरमात्र नभएर गौरवको विषय हो,’ मन्त्री श्रीपालीले भने, ‘म यो प्रतियोगिता नेपाल सरकारको प्राथमिकतामा रहेको र तोकिएको मितिमै सम्पन्न हुने विश्वास दिलाउन चाहन्छु।’

यसैबीच वैठकले एसियाली ओलम्पिक काउन्सिलको मुख्यालय नेपालमा राख्ने निर्णय गरेको छ।१९८२ मा स्थापना भएदेखि मुख्यालय स्थापना गर्ने भनिए पनि हुन सकिरहेको थिएन। मुख्यालय स्थापनासँगै दक्षिण एसियामा ओलम्पिकको सम्पूर्ण कामकारबाही नेपालबाट हुने भएको छ।त्यस्तै आयोजक राष्ट्रको हैसियतले एनओसीका अध्यक्ष श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पा औपचारिक रूपमै एसियाली ओलम्पिक काउन्सिलको क्रमशः अध्यक्ष र महासचिव भएका छन्। बैठकमा काउन्सिलको विधान परिवर्तनको विषयमा पनि छलफल भएको थियो।

‘हाम्रो विधानलाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक छ,’ श्रेष्ठले भने, ‘कुन–कुन विधामा परिमार्जन गर्ने भनेर अब बस्ने बैठकले टुंगो लगाउने छ। अर्को बैठक ६ महिनाभित्र भुटानमा हुनेछ।’

सागको हरेक संस्करणमा कति वटा खेल खेलाउने भन्ने विषयलाई शनिबारको बैठकले टुंगो लगाएको छ। अबदेखि हरेक प्रतियोगितामा कम्तीमा २२ र बढीमा २५ खेलको सहभागिता हुनेछ। तर १३ औं सागमा कुन कुन खेल समावेश गर्ने टुंगो भने लागिसकेको छैन। एनओसीका अध्यक्ष श्रेष्ठले २५ मध्ये २ विधाका खेल आयोजक राष्ट्रले छनोट गर्न पाउने बताए।

‘प्रतियोगितामा कति खेल राख्ने भन्ने निश्चित थिएन। तर आज हामीले ढाकामा सम्पन्न ११ औं संस्करणलाई आधार मानेर अबदेखि हरेक प्रतियोगितामा थोरैमा २२ र बढीमा २५ खेलमा प्रतिस्पर्धा हुनेछ। २५ मध्ये २ खेल आयोजक राष्ट्रले छनोट गर्न पाउने सैद्धान्तिक सहमति गरेका छौं,’ उनले भने।

काठमाडौंमा सम्पन्न आठौं साफमा नेपालले तेक्वान्दो र करातेसमावेश गराएको थियो। जुन संस्करणमा नेपालले ऐतिहासिक सफलता पाएको थियो। नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य गरी ६५ पदक जित्दै भारतपछि दोस्रो स्थानमा रहेको थियो। ३१ मध्ये २८ स्वर्ण नेपालले तेक्वान्दो र करातेमा जितेको थियो।

भारतमा सम्पन्न पछिल्लो सागमा नेपालले ३ स्वर्णमा चित्त बुझाउनुपरेको थियो। १२ औं मा नेपालले कराते खेल समावेश गर्न गरेको अनुरोधलाई आयोजक भारतले बेवास्ता गरेको थिएन। नेपालमा आयोजना हुने १३ औं संस्करणमा अब नपालले कराते पनि समावेश गर्ने निश्चित छ।

पहिलो संस्करणमा ५ खेल समावेश गरिएको थियो भने दोस्रो संस्करणमा दुई खेल बढाएर ७ खेलमा प्रतिस्पर्धा गराइएको थियो। तेस्रो, चौथो र पाँचौंसंस्करणमा १० खेल समावेश थिए भने ढाकामा सम्पन्न छैटौं खेलमा ११ खेलखेलाइएको थियो।

सातौं र आठौं १३ खेल समावेश थिए भने नवांै साफमा १४ खेलमा खेलाडी प्रतिस्पर्धा गरेका थिए। त्यस्तै १०औंसागमा २०, ११ औंसागमा २३ र १२औं सागमा २२ खेल समावेश थिए।

एनओसी अध्यक्ष श्रेष्ठले अफगानिस्तान मध्यएसिया क्षेत्रमा गएको जानकारी गराएका थिए। तर औपचारिक प्रक्रिया भने बाँकी रहेको श्रेष्ठको भनाइ थियो।

प्रकाशित: १९ मंसिर २०७३ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App