८ वैशाख २०८१ शनिबार
राजनीति

देश केक होइन टुक्राटुक्रा पारेर बाँड्न : ओली

काठमाडौं- प्रमुख विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राखेको संविधान संशोधन प्रस्तावमा समर्थन गर्न नसकिने स्पष्ट पारेका छन्। बरु उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संशोधन प्रस्ताव फिर्ता लिन सुझाव दिएका छन्।

'मेरो जुत्ताको तलुवा जहाँ टेक्यो, त्यहाँ चिप्लिने खालको छैन,' पूर्वप्रधानमन्त्री ओलीले आइतबार साँझ सम्पादकसहितका पत्रकारसँग भने, 'यो देश बनेको पनि कसैले भोट हालेर होइन।' कतिपय बेलामा भोट हालेका कारण देश समाप्त भएर गएको तर्क पनि उनले अघि सारे। सहमतिका लागि भनेर हिजो गरिएका निर्णयमा टेकेर अस्थिरता बढाउन खोज्ने हो भने एमालेलाई त्यो मान्य नहुने उनले स्पष्ट पारे।

'यो चार महिनामा सरकारले एउटा पाइलो चाल्यो?' ओलीले प्रश्न गरे, 'बरु यो सरकारले नदुखेको टाउको डोरी लगाएर दुखाउने काम गरेको छ।

ओलीले २०४६ सालको जनआन्दोलनको विकासदेखि हालसम्मका घटनाक्रमको चित्रण गर्दै संविधान निर्माणपछि संक्रमणकाल टुंग्याउनुपर्नेमा अस्थिरतालाई निरन्तरता दिएर मुलुकलाई अप्ठेरोमा पार्ने काम भइरहेको बताए। 'अनुत्पादक लगानीकर्ता र अनुत्पादक रोजगारदाताको सक्रियता रह्यो,' उनले लक्षणायुक्त भाषामा भने।

आफू प्रधानमन्त्री भएका बेलामा तराईमा ४७ जना सर्वसाधारणको मृत्यु भइसकेको स्थितिबाट सामान्य अवस्थामा फर्केको र भारतसँगको सम्बन्धमा समेत सुधार आएको उनले बताए। तराईको आन्दोलन समाप्त भइसके पनि त्यसैको आडमा मुलुकलाई अस्थिर पार्नेगरी सरकारले काम गरिरहेको आरोप उनले लगाए।

'यो चार महिनामा सरकारले एउटा पाइलो चाल्यो?' ओलीले प्रश्न गरे, 'बरु यो सरकारले नदुखेको टाउको डोरी लगाएर दुखाउने काम गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनरत मधेस भनेर खातिरदारी गरिरहे पनि स्वस्फूर्तरुपमा ५ नम्बर प्रदेशबाट मधेसलाई छुट्याउने सरकारको संविधान संशोधन प्रस्तावविरुद्ध उभिएका जनतालाई भने 'वितण्डतावादी' भनेकोमा पनि आपत्ति प्रकट गरे। 'वितण्डा गरेर आएका पुष्पकमल दाहालले शान्तिपूर्ण आन्दोलनमा आएका जनतालाई वितण्डतावादी भन्न मिल्छ?' प्रश्न गर्दै ओलीले भने, 'जातीयता, क्षेत्रीयता र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति उहाँ हो।'

आफूसँगको भेटका बेला २ नम्बर प्रदेश छुट्याउन मिल्छ भने ५ नम्बर प्रदेश किन नहुने भनेर दाहालले टेबुल ठोकेको उल्लेख गर्दै ओलीले भने, 'भोलि यो पनि मान्ने हो भने १ नं., ३ वा ७ नं. किन नछुट्याउने भनेर टेबुल भाँच्न बेर छैन।'

'५ नं. प्रदेश किन छुट्याइयो? यो माग कसको? केका लागि?' ओलीले प्रश्नहरूको वर्षा गरे। 'समस्या समाधान हुन्छ भने केही अनुचित काम हुन्छ भने पनि होस् भनेको हो,' ओलीले भने, 'त्यसैलाई भर्‍याङ बनाएर जाने कुरा हुँदैन।'

इतिहासको अनुभवका आधारमा पनि अहिले कुनै विषयमा निर्णय गर्दा आँखा चिम्लन नसकिने ओलीले बताए। आफ्नो कुनै छिमेकीसँग पनि यस विषयमा माग नभएको उनले उल्लेख गरे। 'हामी कसैको पनि आन्तरिक मामिलामा हात हाल्न चाहँदैनौं,' ओलीले भने, 'हामी कुनै छिमेकीले चित्त दुखाउने ठाउँ पनि दिँदैनौं।'

सीमांकन हेरफे समेत गर्नेगरी संविधान संशोधनको प्रस्ताव सरकारले राख्न नपाउने पनि उनले बताए। अहिलेको संक्रमणकालीन रुपान्तरित संसद्ले संघीय संसद्ले गर्ने सीमांकन हेरफेरको प्रस्ताव राख्न नसक्ने बताए। त्यसैगरी यस विषयमा अदालतमा मुद्दा परी कारण देखाऊ आदेशसमेत जारी गरिसकेको विषयलाई बेवास्ता गरी संशोधन प्रस्ताव राख्नुलाई पनि ओलीले आपत्तिजनक बताए। 'सबै सुतिसकेका बेला (प्रधानमन्त्रीले) लुकेर सुटुक्क संविधान संशोधनको प्रस्ताव राख्नुभयो,' ओलीले भने, 'त्यही दिन अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको थियो।'

दाहालसँगको भेटका बेला संशोधन प्रस्ताव हेर्न माग गर्दा समेत आफूले नपाएको ओलीले बताए। ओलीले सरकारलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिनसमेत सुझाव दिए।

नेपालमा विवाह गरेर भारतीय चेली आउनासाथ नागरिकता पाउने तर नेपाली चेली भारतमा विवाह गरेर गएपछि नागरिकताका लागि आवेदन गर्न सात वर्ष लाग्ने सन्दर्भ जोड्दै ओलीले भने, 'यस्तो पनि हुन्छ? यो त साह्रै नै कम्प्रोमाइजिङ एटिच्युट भयो।'

अमेरिकाका प्रत्येक राज्यबाट माथिल्लो सदनमा दुईजनाको प्रतिनिधित्व हुने गरे पनि नेपालमा नमानेकोमा पनि ओलीले आपत्ति जनाए। 'कहीं नभएको तमासा नेपालमै गर्नुपर्ने?' उनले भने, 'यो देशलाई एकताबद्ध हुन नदिने? चारजना मान्छेले देश हल्लाउने अवस्था आउनु हुन्न।'

आफूलाई कहिलेकाहीं १४ वर्षसम्म जेल किन बसें होला भन्ने लाग्ने गरेको उल्लेख गर्दै ओलीले यो उमेरमा आएर मुलुकको अहित हुने काम गर्न नदिने दृढता व्यक्त गरे। संघीयता कुनै पनि आन्दोलनको माग नभएको र सुविचारित ढंगले छलफल पनि नभई आएको उल्लेख गर्दै ओलीले त्यति बेला समस्या समाधानका लागि मात्र यसलाई मानेको बताए।

माओवादी अध्यक्ष दाहालले संसद्मा बोल्दा संघीयता एमालेको माग थिएन भनेको प्रसंग उल्लेख गर्दै ओलीले भने, 'उहाँले त्यो भन्दै गर्दा उठेर केही भन्ने कुरा भएन तर मैले पछि उहाँलाई भनेको थिएँ– यो कुरा फेरिफेरि पनि भनिराख्नोस्।'

ओलीले संघीयताकै कारण रुस टुक्राटुक्रा भएको सन्दर्भसमेत प्रस्तुत गरेका थिए। 'अहिले संघीयताको नाममा देशलाई बिगार्ने काम भएको छ,' उनले भने, 'देश कसैको जन्मदिनको केक होइन टुक्राटुक्रा पारेर बाँड्न।'

प्रकाशित: २० मंसिर २०७३ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App