८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधन अनुकूल भए मोर्चा चुनावमा जाने

काठमाडौं- केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेताहरूसँग स्थानीय निकायको चुनावमा जान औपचारिक र अनौपचारिक रुपमा पटकपटक प्रस्ताव राखेका छन्। मोर्चाका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले संविधान संशोधनसँगै स्थानीय चुनावमा जाने वातावरण मिलाउन मोर्चाका  नेताहरूको प्रतिबद्धता माग्दै आएका छन्। स्रोतका अनुसार मोर्चाका नेताहरूले चुनावमा जाने प्रस्तावको विरोध गरेका छैनन् तर चुनावमा जान आफूले भनेअनुसार संविधान संशोधन विधेयक परिमार्जनसहित पास हुनुपर्ने सर्त दोहोर्‍याइरहेका छन्। उनीहरूले संविधान संशोधन नभएसम्म चुनावमा जान नसकिने बताएर प्रधानमन्त्रीलाई त्यस्तो वातावरण बनाउन दबाब दिइरहेका छन्।

प्रधानमन्त्री दाहालले आइतबार संघीय समाजवादी  फोरमका अध्यक्ष  उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइसँगको संयुक्त भेटमा पनि चुनावमै जाने प्रसंग उठाए।

यादवले संविधान संशोधन विधेयक परिमार्जनसहित पास नभएसम्म स्थानीय चुनाव हुन नसक्ने धारणा राखेका थिए। यादवले केही दिनअघि पनि प्रधानमन्त्रीसँगको भेटमा स्थानीय निकायलाई राजनीतिबाट टाढा राख्न स्वतन्त्र शैलीबाट चुनाव गर्न सुझाएका थिए। उनको यो प्रस्तावमा मोर्चाका अन्य नेताले पनि समर्थन जनाएका छन्। 'संविधान संशोधन विधेयक परिमार्जनसहित पारित भए हामी चुनावमा जान्छौं तर त्यसरी संशोधन नभईकन चुनावमा जान सकिँदैन', संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नागरिकसँग भने।

मोर्चामा आबद्ध दलले चुनावमा जान संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने सर्त अघि सारेपनि भित्रभित्रै संगठन विस्तार र चुनावको पनि तयारी अघि बढाएका छन्। चुनावलाई लक्षित गर्दै मोर्चाआबद्ध दलहरूले संगठन विस्तार अभिायन तीव्र बनाएका हुन्। मधेसवादी दलका नेताहरू जिल्ला जिल्ला पुगेका छन्। 'हामीले चुनाव र आन्दोलनलाई केन्द्रमा राखेर संगठन विस्तार गरिरहेका छौं। चुनावको मोह हामीलाई पनि छ', सद्भावना पार्टीका महासचिव मनीष सुमनले भने, 'तर चुनाव हुनका लागि हाम्रो अनुकूल संविधान संशोधन हुनुपर्छ।'

 संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्नुअघि पनि प्रधानमन्त्रीले मधेसी मोर्चाका नेतासँग चुनावमा जाने प्रतिबद्धता खोजेका थिए। त्यतिबेला पनि मोर्चाका नेताले आफ्नो मागअनुसार संविधान संशोधन भए चुनावमा जाने बताएका थिए।

प्रकाशित: २० मंसिर २०७३ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App