८ वैशाख २०८१ शनिबार
समाज

वार्ताका सकसपूर्ण आठ दिन- डिनदेखि डिनसम्म

काठमाडौं- तेईस दिनअघि अर्थात् कात्तिक २७ मा वरिष्ठता मिचेर डा. केपी सिंहलाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिन बनाएको विरोधमा भोलिपल्टदेखि नै डा. गोविन्द केसीले अनशन थालेका थिए। वरिष्ठता नमिच्न आएको तीव्र दबाबलाई कुल्चेर त्रिवि उपकुलपति तीर्थ खनियाँले डिन डा. सिहले पदबहाली गरेकै दिन २८ कात्तिकमा भनेका थिए, 'समस्याको हल हुने देखेरै सर्वस्वीकार्य मान्छेलाई डिन बनाएका हौं।'

उनको दाबी केही घन्टा पनि टिकेन। सोही दिनको अपराह्नदेखि डा. केसीले अनशन थाले। सिंहले पदबहाली गरेर र आफ्ना योजना सुनाउँदै गए। अनशनको १० आंै दिन स्वास्थ्यमन्त्री गगन थापाले डा. केसीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटेर समस्या समाधानका लागि वार्ता समिति बनाउन आग्रह गरे पनि आलटाल भयो। यसैबीच आवासीय चिकित्सकको दबाबपनि  बढ्दै गयो, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले पनि वार्ता समिति बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे। त्यसपछि मात्रै १४ औं दिनमा शिक्षामन्त्रीले वार्ता समिति बनाए।

वार्ता समिति डा. केसीका मागमा यति कठोर ढंगले प्रस्तुत भयो कि सात दिनसम्म न वार्ता रोकियो न टुंगोमा पुग्ने वातावरण नै बन्यो। सरकारी टोलीले आलटाल जारी राख्दा डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गयो। फेरि स्वास्थ्यमन्त्री थापाले केसीलाई भेटेर तत्काल संवेदनशील बन्न प्रधानमन्त्रीलाई घच्घच्याए।

बिहीबार थापाले शिक्षामन्त्री धनीराम पौडेलसहित प्रधानमन्त्री दाहाललाई भेटेर अनशन टुंग्याउन सकिने आधार दिए। उनले वरिष्ठताको आधारमा डिन नियुक्त भएपछि मात्रै अनशन तोडिने आधार बताए। सोही दिन प्रधानमन्त्रीले शिक्षामन्त्रीसहितलाई निर्देशन दिएर डीन डा. सिहलाई राजीनामा वा बर्खास्तगी गरेरै भए पनि समस्यालाई निकास दिन निर्देशन दिए। डिन बर्खास्त गर्न तयार नभए उपकुलपतिलाई नै हटाउन प्रधानमन्त्री राजी भए। शिक्षामन्त्रालयमा शिक्षा र स्वास्थ्यमन्त्री बसेर त्रिवि पदाधिकारीलाई छलफल गर्न त्यहीं बोलाए। उनीहरूले प्रधानमन्त्रीको निर्देशन सुनाए। स्वास्थ्यमन्त्री थापाले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री विमललेन्द्र निधिसँगसमेत छलफल गरेर उपकुलपति खनियाँलाई निकास निकाल्न निर्देशन दिन लगाए। त्यसपछि बल्ल खनियाँ राजी त भए तर उनले पनि आफ्नो पद जोखिने आश्वासन खोजे।

मध्यरातसम्म बसेर छलफल गर्दा उपकुलपति खनियाँ आफ्नो पद जोगिने अवस्थामा डिन डा. सिंहलाई हटाउन सहमत भए। सोही आधारमा स्वास्थ्यमन्त्री थापाले डा. केसी पक्षीय चिकित्सकसँग समेत छलफल गरेर उपकुलपतिका गलत कामको छानबिन न्यायिक समितिबाट गर्ने र विश्वविद्यालयमा हुने नियुक्ति व्यवस्थित गर्नेगरी उपकुलपतिको  बर्खास्तगीको मागमा लचिलो बनिदिन आग्रह गरे। सोही अनुसार डिनलाई समेत भेटेर मन्त्री थापाले बुधबारै राजीनामा दिन आग्रह गरेका थिए। बिहीबार उपकुलपतिसमेत आफूप्रति सकारात्मक भएको नपाएपछि डिन डा. सिंह राजीनामा दिन तयार भए। उनी राजीनामा दिन तयार नभए बर्खास्त गर्ने तयारीमा सरकार पुगेको थियो।

यति भइसक्दा पनि सरकारी वार्ताटोलीले डिन सिंहको राजीनामा गराउने छनक दिएको थिएन। सरकारी टोली घरि ७२ घन्टाभित्र डिन नियुक्ति प्रस्ताव फाल्थ्यो घरि नयाँ डिनका लागि डा. जगदीश अग्रवालबाहेक अन्य नाम दिन माग राख्थ्यो। तर डा. सिंहले शुक्रबार राजीनामा दिए। शुक्रबार दुई पक्षीय वार्ता चलिरहँदा चिकित्सक संघको एउटा टोली छिरेर बरिष्ठता आधारमा डिन नियुक्ति र नयाँ मेडिकल कलेजलाई सम्बन्धन तथा मनसायपत्र नवीकरणका विषयमा फरक मत राख्यो। संघको साथ पाएर सरकारी टोली  केसीका मुख्य मागमा अझै कठोर रुपमा प्रस्तुत हुन थाल्यो।

डिनबाट डां सिंहको राजीनामालगत्तै त्रिविले शुक्रबारै नयाँ डिनमा नाम सिफारिस गर्न सर्च कमिटी बनायो। त्रिविले सर्च कमिटीसँग सोही दिन नाम सिफारिस गर्न भन्योे। डिन नियुक्तिको तयारी हुँदै गर्दा मध्यरातमा त्रिवि रजिस्ट्रार डिल्ली उप्रेती फेरि बिच्किए। उनले एक व्यक्तिको दबाबमा अग्रवाललाई डिन बनाउन नसक्ने भन्दै शनिबार एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेर मात्रै निर्णयमा जाने बताए। त्रिवि पदाधिकारी रजिस्ट्रार उप्रेतीबिनै पनि निर्णय गर्न तयार भए पनि शनिबारसम्म पर्खिने सहमतिमा मध्यरातसम्मको प्रयास त्यसै टुंगियो। शनिबार पनि आलटाल जारी रहेपछि स्वास्थ्यमन्त्री थापा फेरि मुख्यसचिव सोमलाल सुवेदी तथा वार्ता टोलीका सदस्य शिक्षा र स्वास्थ्यसचिवसहित प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे।

त्यहाँ त्रिवि पदाधिकारीसमेत बोलाएर डिनमा डा. अग्रवाललाई नियुक्ति गर्ने निर्णय भयो। तर आफूलाई बर्खास्त गर्ने माग डा. केसीले नछाड्ने डरले उपकुलपति खनियाँले सहमतिमा हस्ताक्षर नभइकन अग्रवाललाई नियुक्ति पत्र नदिने सर्त राखे। स्वास्थ्यमन्त्री थापा त्यसको ग्यारेन्टी बसे। नियुक्तिको पत्र थापाले नै राखे। शनिबार बिहानै सो पत्र डा. केसीलाई हेर्न दिइयो र वार्ता समिति अन्य विषयको मस्यौदा तयारीमा जुट्यो। साँझ मस्यौदा लिएर केसीलाई भेट्न उनी पक्षीय चिकित्सक पुगे। केसीले केही परिमार्जन गरेर आइतबार मात्रै सम्झौता गर्ने र अनशन तोड्ने बताए।

आइतबार बिहान नयाँ डिनको नियुक्तिपत्र र सम्झौतापत्र लिएर सरकारी वार्ताटोली केसीको अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुग्यो। स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले पहिला सम्झौतामा हस्ताक्षर नगरी नियुक्तिपत्र नदिने भन्दै अड्को थापे। डा. केसीले सम्झौतामा हस्ताक्षर गरेपछि उप्रेतीले डा. अग्रवालाई डिनमा नियुक्तिको पत्र दिए। डा. अग्रवालको पदबहाली र डा. केसीको अनशन तोड्ने काम एकै समयमा भयो।

प्रकाशित: २० मंसिर २०७३ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App