८ वैशाख २०८१ शनिबार
कला

'पशुपतिप्रसाद' फेरि उत्कृष्ट

काठमाडौं- यस वर्ष आयोजित अधिकांश अवार्डमा वर्चस्व जमाउँदै आएको 'पशुपतिप्रसाद'ले शनिबार आयोजना भएको कामना अवार्डस्मा पनि वर्चस्व जमाएको छ। फिल्मबाट दीपेन्द्र के खनालले कथा र निर्देशनमा व्यक्तिगत २ अवार्ड जित्दा उत्कृष्ट फिल्म पनि 'पशुपतिप्रसाद' पोल्टामा पर्यो। फिल्मबाट पटकथामा खगेन्द्र लामिछाने र नकारात्मक चरित्रमा विपिन कार्कीले अवार्ड जिते। फिल्मले समग्रमा ५ विधामा अवार्ड हात पार्‍यो।

अभिनेता भुवन केसीको डेब्यु फिल्म 'ड्रिम्स'ले ६ विधामा अवार्ड हात पार्‍यो। फिल्मबाट भुवन केसी स्वयंले डेब्यु निर्देशकको अवार्ड चुमे भने फिल्मकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले डेब्यु अभिनेत्रीको अवार्ड हात पारिन्। फिल्म छायांकन, पार्श्व संगीत, मेकअप र नृत्य निर्देशनमा पनि उत्कृष्ट ठहरियो। छायांकन तर्फ  सन्जय लामा र पुरुषोत्तम प्रधानले उत्कृष्ट बन्दा शैलेश श्रेष्ठले पार्श्व संगीतमा अवार्ड थापे। निमा लामा र कविराज गहतराज क्रमशः मेकअप आर्टिस्ट र नृत्य निर्देशन तर्फ अब्बल ठहरिए।

'ड्रिम्स' लाई पछ्याउँदै 'प्रेमगीत'ले ५ विधामा अवार्ड हात पार्‍यो। फिल्मले संगीततर्फका ४ विधामा वर्चस्व जमाएको थियो। फिल्मबाट अर्जुन पोखरेलले संगीतकारको अवार्ड थापे भने सुगम पोखरेल र अन्जु पन्तले क्रमशः पुरुष तथा महिला गायनमा अवार्ड थापे। कृष्णहरि बराल पनि सोही फिल्ममा समावेश 'म त अलपत्र पर्छु' गीतका लागि उत्कृष्ट गीतकार ठहरिए। सोही फिल्मबाट सरोज खनालले सहअभिनेताको अवार्ड थापे।

यसअघिका अवार्डमा थुप्रै विधामा अवार्ड थाप्दै आएको 'क्लासिक'ले जम्मा तीन विधामा चित्त बुझायो। फिल्मबाट सदाका अवार्ड झैं नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड थापिन् भने सम्पादनतर्फ पनि सुरेन्द्र पौडेल नै अब्बल ठहरिए। प्रियंका कार्कीले सहअभिनेत्रीको अवार्ड पाइन्। सुटिङका लागि लन्डन रहेकी प्रियंकाले च्वाइस अवार्ड पनि हात पारिन्। यसका लागि उनले केकी अधिकारी, साम्राज्ञीराज्य लक्ष्मी शाह, सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठलाई पछि पारेकी थिइन्। सौगात मल्लले 'फन्को' लागि उत्कृष्ट अभिनेताको अवार्ड पाए।

३२ विधामा प्रदान गरिएको अवार्डमा विल्सन विक्रम राईले 'अधकट्टी'बाट हाँस्य कलाकारको अवार्ड पाए भने पल शाहले 'नाइँ नभन्नू ल ४'बाट नव अभिनेताको अवार्ड थापे। हिमाल केसीले 'भैरव'का लागि अवार्ड पाउँदा बाल कलाकारको रुपमा 'बाग्मति'का लागि कञ्चन ठकुरीले अवार्ड हात पारिन्। अमित श्रेष्ठले 'भाग् सानी भाग्'का लागि ध्वनी मिश्रणको अवार्ड जिते।

अघिल्लो वर्षको सफल फिल्म 'कबड्डी कबड्डी'ले भने समग्रमा दुई विधामा अवार्ड हात पार्‍यो। फिल्मबाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले संवादमा अवार्ड थापे भने फिल्म जुरीहरुको नजरमा पनि उत्कृष्ट ठहरियो।

विभिन्न ३२ विधामा बाँडिएको अवार्डको यो दोस्रो संस्करण हो । ७१ सालमा सुरु भएको अवार्ड अघिल्लो साल भूकम्पका कारण आयोजना भएको थिएन। दोस्रो संस्करणमा निर्देशक लक्ष्मीनाथ शर्मा र ध्वनी विशेषज्ञ प्रदिप कुमार उपाध्यायलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो। दुवैलाई एक लाख नगदसहित ताम्रपत्र हस्तान्तरण गरिएको थियो।

कामनाले पहिलो संस्करणदेखिनै फिल्म इतर तीन विधामा क्रिटिक्स अवार्ड प्रदान गर्दै आएको थियो। शनिबारको समारोहमा क्रिटिक्स अवार्ड संगीततर्फको विधामा राजेशपायल राईलाई अवार्ड हस्तान्तरण गरियो भने फेसनतर्फ प्रशान्त ताम्रकारले अवार्ड पाए। थिएटरबाट भने सरिता गिरी क्रिटिक्स अवार्डका लागि योग्य मानिएकी थिइन्।

कार्यक्रममा कार्टुन्ज क्रु, नम्रता सापकोटालगायतले नृत्य प्रस्तुत गरेका थिए।

प्रकाशित: २० मंसिर २०७३ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App