८ वैशाख २०८१ शनिबार
खेल

आहा-रारा गोल्डकप माघमा

पोखरा- मोफसलको लोकप्रिय आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १५औं संस्करण माघ पहिलो साता सुरु हुने भएको छ। विदेशी क्लबलाई समेत आमन्त्रण गरिने प्रतियोगिता माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुने आयोजक सहारा क्लवले आइतबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) बाट १५औं संस्करण आयोजनाका लागि माघ पहिलो साताको समय पाएको सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताए। उनका अनुसार प्रतियोगितामा राष्ट्रियस्तरका तीन विभागीयसहित उत्कृष्ट नेपाली क्लबको सहभागिता रहनेछ। यसैगरी आयोजक र विदेशी तीन गरी कुल १२ टोलीले ५ लाख १ हजार रुपैयाँ पुरस्कारको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पाउनेछ भने सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने बताइएको छ। यसैगरी उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक पनि पुरस्कृत हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

सहभागिताका लागि विदेशी टोलीको टुंगो लागिनसकेको अध्यक्ष आचार्यले बताए। 'भारत, बंगलादेश, भुटान लगायतका देशका क्लबहरुसँग पत्राचार भइरहेको छ। सकेसम्म राम्रा टिम ल्याउने प्रयासमा छौं,' उनले भने।

प्रतियोगिताबाट बचेको रकम सहारा क्लवले सञ्चालन गरेको एकेडेमीका बालकहरुको संरक्षणमा खर्च गर्ने अध्यक्ष आचार्यले बताए। एकेडेमीमा हाल १६ जिल्लाका २८ बालक छन्। असहाय र गरिव परिवारका ति बालकलाई क्लवले संरक्षण दिँदै निशुल्क अध्ययन, वसोवास र फुटबल प्रशिक्षणको व्यवस्था मिलाएको छ।

प्यारापिट जस्ताको तस्तै

सेती किनारको पोखरा रंगशाला परिसरमा २०३९–४० सालमा फुटबल मैदान बन्यो। १ सय १७ रोपनीमा फैलिएको रंगशालामा मैदानसँगै त्यतिबेला भिआइपीहरुका लागि सानो प्यारापिट पनि बनाइयो। तीन दशक उमेर कटाइसकेको प्यारापिट भुइचालोअघि नै मर्मत गर्नुपर्ने अवस्थामा थियो। आवस्यक मर्मतको अभावमा जीर्ण बन्दै गएको प्यारापिटलाई अघिल्लो वर्षको भुइचालोले थप जर्जर बनायो।

प्यारापिटको अवस्था कमजोर भएकैले गतवर्ष १४ औं संस्करणको आहा–रारा गोल्डकपमा आयोजक सहारा क्लबले विगतजस्तो खचाखच दर्शक राख्ने आँट गरेन। दर्शक बढि भए 'ओभरलोड' भएर भत्कने खतरा रहेको भन्दै सहारा सतर्क बन्यो। राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा रहेको रंगशाला त्यसपछि मर्मत हुने धेरैको आशा थियो। तर वर्षेनी हुने आहा–रारा गोल्डकपको अर्को संस्करण सुरु हुन डेढ महिनामात्र बाँकी छ।  प्यारापिट भने जस्ताको तस्तै छ। मर्मत सुरु समेत भएको छैन।

'१५ औं संस्करण सुरु हुँदासम्म प्यारापिट मर्मत भइसक्नेमा हामी विश्वस्त थियौ। तर, अहिलेसम्म मर्मतको एउटा इटा पनि बसेको छैन,' सहाराका अध्यक्ष आचार्य भन्छन्, 'पोहोर डराई–डराई दर्शक राखेका थियौ। अहिले पनि हालत उस्तै हुने भयो।'

पाँचसय सिट क्षमताको भिआईपी प्यारापिटले निर्माणपछि रेखदेख नपाएको उनले बताए। यस्तै अवस्था १८ सय दर्शक क्षमताको खुला प्यारापिटले पनि रेखदेख पाएको छैन।

प्यारापिट अभावमा फलामे डन्डी र स्काफोल्डिङ तेर्साएर प्रतियोगिता हुँदा दर्शकलाई बस्ने व्यवस्था मिलाइने गरेको छ। फुटबलको निकै क्रेज रहेको पोखरामा त्यसवाहेक हजारौं दर्शक भुइमा बसेर फुटबल हेर्छन। प्यारापिट चर्केको बारेमा जिल्ला खेलकुद विकास समितिले परिषदमा लिखित जानकारी दिइसकेको छ। तर, परिषदबाट बजेट नआउँदा मर्मत हुन नसकेको स्थानीय प्रशासकहरु बताउँछन्।

जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश बराल दशरथ रंगशालासँगै पोखराको लागि पनि बजेट विनियोजन हुने बताउँछन्। 'पूरक बजेट आए यसैपाली मर्मत सुरु हुन्छ। नत्र अर्को आर्थिक वर्षमा प्रर्याप्त बजेट विनियोजन गर्ने मन्त्रालयले आस्वासन दिएको छ,' तत्काल मर्मतको सम्भावना नरहेको बताउँदै उनले भने।

प्रकाशित: २० मंसिर २०७३ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App