१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

समय दुई तिहाइ सकिँदा काम एक तिहाइ

चितवन- राजधानीलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक खण्डको विस्तारमा भएको सुस्तता कायमै छ। निर्माण पूरा गर्ने भनेर तोकिएको समय दुई तिहाइ सकिँदा काम भने एक तिहाइभन्दा पनि कम सकिएको छ। यो बेला ५० प्रतिशत काम सकिनुपर्नेमा सोचे अनुरुप प्रगति नभएको अधिकारीहरुले बताएका छन्।

दुई वर्षभित्र काम सक्ने गरी सन् २०१५ को अप्रिलमा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो। तर भूकम्प, नाकाबन्दी लगायत समस्या आएपछि समय थपेर निर्माण सक्ने मिति सन् २०१७ को सेप्टेम्बर पुर्‍याइएको थियो। म्याद थपे पनि पछिल्लो समय सोचे अनुरुप प्रगति छैन। सोचे अनुरुप काम नभएपछि फेरि समय थप्ने तयारी छ।

'डिसेम्बर २८ सम्म निर्माण सम्बन्धी आधा काम पूरा हुनुपर्ने हो। निर्माण व्यवसायीहरुले यो लक्ष्य एक महिनाअघि नै पुरा गर्छौं भनेका थिए। तर सो अनुसार काम भएको छैन। समय थप्ने वा निर्माण कम्पनीलाई जरिवाना गर्ने भन्ने विषयमा निर्णय भइसकेको भने छैन,' नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने।

आयोजनाले दिएको विवरण अनुसार नोभेम्बर अन्त्यसम्म सडक निर्माणको ३०.४ प्रतिशत मात्रै काम पूरुा भएको छ। लक्ष्य ४६ प्रतिशत थियो। समय भने ६८ प्रतिशत सकिएको छ। 'दसैं–तिहारका बेला काम सुस्त थियो। त्यसपछि पनि सोचे अनुरुप काम हुन सकेको छैन,' खनालले भने। ३६ किलोमिटर लम्बाइको सडकलाई तीन खण्ड बनाएर विस्तारको काम हुँदै छ।

एसियाली मापदण्ड अनुरुप दुई लेनको सडक बनाउन एसियाली विकास बैंकले ऋण सहयोग दिएको छ। लगभग तीन अर्ब रुपैयाँको लागतमा सडक विस्तारको काम भइरहेको छ। तीन खण्डमध्ये सबैभन्दा धेरै काम बीच खण्ड अर्थात दासढुंगादेखि सिमलतालसम्म ३७ प्रतिशत सकिएको छ। सो खण्डमा लगभग ५० प्रतिशत काम सक्नुपर्ने लक्ष्य थियो।

त्यस्तै सबैभन्दा कम काम आँपटारीदेखि दासढुंगासम्म भएको छ। सो खण्डमा अहिलेसम्म २६ प्रतिशत मात्रै काम पूरुा भएको छ। सिमलतालदेखि मुग्लिनसम्मको खण्डमा पनि काम सुस्त नै छ। सो खण्डमा जम्मा २७ प्रतिशत काम सकिएको छ। सबै खण्डमा अहिलेसम्म ४३ प्रतिशतभन्दा माथि नै काम हुनुपर्ने लक्ष्य तय भएको आयोजनाले जानकारी दिएको छ।

पुसदेखि कालोपत्रे सुरु

पहाड काटेको र पर्खाल लगाएको ठाउँमा कालोपत्रेको काम पनि सुरु गर्ने सूचना अधिकारी खनालले जानकारी दिए। आउँदो पुसदेखि आँपटारी र दासढुंगा क्षेत्रमा कालोपत्रेको काम सुरु हुन सक्ने सम्भावना देखिएको उनले बताए।

सडक विस्तारको काम हुँदा गत वर्षको माघदेखि दिउँसो तीन घन्टा आवागमन बन्द हुने गरेको थियो। असारबाट रोकिएको सो समय सीमा फेरि सुरु गर्ने सम्बन्धमा छलफल भए पनि ठोस निर्णय केही नभइसकेको सूचना अधिकारी खनालले बताए। काम र यात्रुलाई अप्ठेरो नहुने गरेर निर्णय लिने विषयमा सरोकारवालासँग छलफल चल्दै गरेको उनले बताए।

निर्माणको काम सुरु भएसँगै ३६ किलोमिटर सडक पार गर्न अहिले कम्तीमा तीन घन्टा लाग्ने गरेको छ। पहिरो जाँदा झनै लामो समय बाटो बन्द हुने गरेको छ। सो सडक खण्ड भएर दिनमा दिनमा १० हजार हाराहारीगाडी ओहोरदोहोर गर्छन्। राजधानी काठमाडौंमात्रै नभएर पर्यटकीय क्षेत्र पोखरा जाने आउने गाडीले पनि सो सडक खण्ड प्रयोग गर्नुपर्ने अवस्था छ।

प्रकाशित: २० मंसिर २०७३ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App