मार्से-इटालीका मिडफिल्डर डानियल डी रोसीले चोटका कारण युरोपियन च्याम्पियनसिप क्वार्टरफाइनलअन्तर्गत शनिबार विश्व च्याम्पियन जर्मनीविरुद्ध हुने खेल गुमाउने निश्चितजस्तै भएको इटालियन मेडिकल टोलीले जनाएको छ ।
एन्टोनियो कोन्टेको टोलीले धेरैको अपेक्षाविपरीत समूह ‘ई’ बाट विजेता हुँदै नकआउट चरणमा स्थान सुरक्षित गर्दा र अन्तिम १६ को खेलमा दुईपटकको साबिक विजेता स्पेनलाई स्तब्ध पार्दा डी रोसीको भूमिका महŒवपूर्ण थियो । तर दायाँ तिघ्रामा लागेको गम्भीर चोटका कारण जर्मनीविरुद्धको खेलमा उनी मैदान उत्रन नसक्ने सम्भावना बलियो भएको छ । स्पेनमाथि २–० को विजय हासिल गर्दा सोमबार डी रोसी घाइते भएका थिए ।
इटालीका टिम चिकित्सक इनरिको क्यास्टेलाकीले शनिबार बोर्डेमा हुने खेलका लागि एएस रोमाका मिडफिल्डर समयमा ठिक हुने सम्भावना छैन । ‘उनको चोट सुरुमा सोचिएभन्दा धेरै गम्भीर छ । टिममा उनको आवश्यकता अपरिहार्य छ । त्यसैले उनलाई समयमा ठिक पार्न हामी आफ्नो तर्फबाट शतप्रतिबत मिहिनेत गरिरहेका छौं । तर अहिलेसम्मको अवस्थाअनुसार उनी समयमा ठिक हुने सम्भावना छैन,’ क्यास्टेलाकीले भने, ‘अन्तिम समयसम्म पनि हामी उनको उपलब्धताका लागि प्रयास गरिरहने छौं ।’
युरो २००० यता प्रतियोगिताको सेमिफाइनल पुग्न पनि असफल भएको टोलीका लागि डी रोसीको अनुपस्थिति निकै महँगो हुन सक्नेछ । लाजियोका विङ्गर एन्टोनियो क्यान्ड्रेभा पनि अनुपस्थित हुने भएकाले डी रोसीको चोटले टोलीलाई थप पीडा दिएको छ ।
पहिलो खेलमा बेल्जियमलाई हराउँदा इटालीका लागि महŒवपूर्ण प्रदर्शन गर्ने शीर्ष खेलाडीमध्ये एक क्यान्ड्रेभा ह्यामस्ट्रिङको चोटबाट ग्रसित छन् । स्विडेनमाथि १–० को विजय पाएको समूह चरणको दोस्रो खेलमा उनी घाइते भएका थिए ।
दुई मुख्य खेलाडी घाइते भएका बेला इटालीसँग जर्मनीविरुद्धको खेलका लागि अर्का मिडफिल्डर थियागो मोटाको पनि साथ रहने छैन । दुई पहेँलो कार्डका कारण मोटा एक खेलको प्रतिबन्धमा छन् । तथापि मुख्य प्रतियोगितामा जर्मनीविरुद्ध निकाल्दै आएको आठ खेलको अपराजित नतिजायात्राको शृंखला कायम रहनेमा रोमाका मिडफिल्डर एलेसान्द्रो फ्लोरेन्जी विश्वस्त छन् ।
‘हामी उपलब्ध खेलाडीकै भरमा पूरा मिहिनेत गर्नेछौं । महŒवपूर्ण खेलअघि मुख्य खेलाडीको अनुपस्थितिले पक्कै पनि हामीलाई तनाब थपिएको छ । तर, उपलब्ध टोलीमाथि पनि हामीलाई पूरा विश्वास छ,’ उनले भने, ‘टिमका सबै २३ जना नै हामी जर्मनीको चुनौती सामना गर्न तयार र सक्षम छौं ।’ कोन्टेले प्रतियोगिताअघि फ्रान्स यात्रामा टोलीका सबै २३ खेलाडीलाई मौका दिने बताएका थिए । दुई खेलाडीको चोट तथा मोटाको प्रतिबन्धको अवस्थामा युभेन्ट्सका मिडफिल्डर स्टेफानो स्टुरारोले मौका पाउने सम्भावना छ ।
प्रकाशित: १७ असार २०७३ ००:३३ शुक्रबार