coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

स्वर्णिम क्षणकाे पर्खाइ

लिले– वेल्सका प्रभावशाली स्टार गारेथ बेल र पुनर्ताजगी पाएका बेल्जियमका स्टार इडेन हाजार्डले शुक्रबार लिलेमा हुने युरोपियन च्याम्पिनयसिपको क्वार्टरफाइनलमा आ–आफ्नो देशको स्वर्णिम पुस्ताको नेतृत्व गर्दा इतिहासले विजेताको प्रतीक्षा गरिरहेको हुनेछ ।
फिफाको विश्व वरीयताको दोस्रो स्थान प्राप्त बेल्जियम सबै पोजिसनमा आफूसँग भएको क्षमताको गहिराई प्रयोग गर्दै १९८६ को विश्वकपपछि पहिलोपटक ठूलो प्रतियोगिताको सेमिफाइनल पुग्न चाहन्छ । यसैगरी ५८ वर्षपछि ठूलो प्रतियोगितामा सहभागिता जनाइरहेको वेल्सको लक्ष्य पनि ठूलो छ । खासगरी बेलायती प्रतिद्वन्द्वीहरू इङ्ल्यान्ड र उत्तरी आयरल्यान्डलाई जारी प्रतियोगितामा उछिनिसकेपछि वेल्सको मनोबल उच्च छ ।

‘मेरो विचारमा बेल्जियमविरुद्धको आगामी खेल वेल्सका लागि इतिहासकै सबैभन्दा ठूलो खेल हो,’ तीन गोल गर्दै प्रतियोगिताको उच्च गोलकर्ता बन्ने दौडमा संयुक्त रूपमा अग्रस्थानमा रहेका रियाल मड्रिडका सुपरस्टार बेलले भने, ‘हामीलाई १९५८ (विश्वकप) को क्वार्टरफाइनलबारे जानकारी छ तर त्यसयता पक्कै पनि वेल्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो खेल हो । हामी यो खेलको व्यग्रसाथ प्रतीक्षा गरिरहेका छौं । हामी यो ऐतिहासिक क्षणको भरपूर मनोरन्जन लिनेछौं । सेमिफाइनल पुग्नु हाम्रो एकमात्र लक्ष्य हुनेछ । मेरो विचारमा हामी त्यसका लागि लायक पनि छौं ।’

समूह ‘बी’ को अन्तिम खेलमा रुसमाथि ३–० को विजय हासिल गरेर उत्साही क्रिस कोलम्यानको टोलीले उत्तरी आयरल्यान्डविरुद्धको अन्तिम १६ खेलमा भने जितका लागि संघर्ष गर्नुपरेको थियो । बेलायती डर्बीका रूपमा सम्पन्न खेलमा नतिजा निकाल्न वेल्सले अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो । समय सकिन १५ मिनेट बाँकी हुँदा बेलको क्रस क्लियर गर्न खोज्दा नर्दन आयरल्यान्डका गारेथ म्याकऔलीले आत्मघाती गोल गरेपछि वेल्सको भागमा जित परेको थियो । तर शुक्रबारको खेल भने पछिल्ला प्रतिस्पर्धाहरूको तुलनामा धेरै खुला हुने अपेक्षा गरिएको छ ।

पहिलो खेलमा इटालीसँग २–० ले पराजित मार्क विल्मोट्सको बेल्जियमले त्यसयता प्रत्येक खेलमा सुधारिएको प्रदर्शन गर्दै आएको छ । नकआउट चरणमा हंगेरीमाथि ४–० को जित दर्ता गराउनुअघि बेल्जियमले आयरल्यान्ड र स्विडेनलाई निराश पारेको थियो । हंगेरीमाथिको प्रभावशाली जितमा हाजार्डको म्यान अफ दी म्याच प्रदर्शन महत्वपूर्ण थियो । हाजार्डले  आफै एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेको खेलमा करिअरकै अहिलेसम्मको उत्कृष्ट अन्तर्राष्ट्रिय प्रदर्शन गरेका थिए ।
चेल्सीमा निराशाजनक सिजन बिताएर फ्रान्सका लागि बेल्जियमको टोलीको नेतृत्व लिएका २५ वर्षे हाजार्डको कप्तानीमा टोलीले दुई वर्षअघि ब्राजिल विश्वकपभन्दा सफल नतिजा हासिल गर्ने अपेक्षा गरेको छ ।

हंगेरीमाथि रवाफ जमाउँदा हाजार्डको तिघ्रामा गम्भीर चोट लागेको थियो । जसका कारण दुई दिन अभ्यासमा समावेश हुन नसकेका उनी बिहीबार अभ्यासमा फर्किने अपेक्षा गरिएको छ । वेल्सविरुद्धको खेलमा भने उनी फिट भएर पहिलो रोजाइमै हुने अपेक्षा छ ।
हाजार्डजस्तै बेल पनि उनको पूरा टोलीको उदयका नायक हुन् । गतवर्ष कार्डिफमा सम्पन्न छनोट चरणको खेलमा बेल्जियममाथि विजय हासिल गर्दा गोल गरेर बेलले शुक्रबार विपक्षीमाथि सफलता हासिल गरिसकेका छन् । त्यही जितका कारण वेल्स युरोपियन च्याम्पियनसिपलाई लायक भएको थियो । तर बेल्जियमका रक्षक टोबी एल्डरविर्ड भने आफ्नो टोली फेरि त्यस्तै नतिजाको सिकार नहुनेमा विश्वस्त छन् ।
‘बेललाई रोक्न हामीसँग पर्याप्त खेलाडी छन्,’ टोटेनह्यामका सेन्टर ब्याकले भने, ‘आफूसँग बल हुँदा हामी एकाग्रता गुमाउने छैनौं । सुरुदेखि नै प्रतियोगिता जित्ने हाम्रो एकमात्र लक्ष्य थियो । त्यसका लागि हरेक खेलमा सही ढंगले प्रस्तुत हुनु जरुरी हुन्छ । वेल्सको खेललाई हामीले सहज रूपमा लिएका छैनौं । यसपालि हामी निराश हुने छैनौं ।’

स्टेड पिरे मोउरेमा एल्डरविर्डले रक्षापंक्तिको बीचमा म्यानचेस्टर सिटीका २१ वर्षे खेलाडी जेसन डेनायेरसँग साझेदारी गर्नेछन् । पहिलो रोजाइका थोमस भेर्माइलेन प्रतिबन्धमा रहेकाले डेनायेरले उनको ठाउँमा खेल्नेछन् । एट्लेटिको मड्रिडका विङ्गर यानिक फेरेइरा कारास्कोले पनि द्रिइस मेर्टेन्सलाई स्थानान्तरण गर्दै पहिलो रोजाइमा मौका पाउने सम्भावना छ । हंगेरीविरुद्ध गोल गरेकाले कारास्को विल्मोट्सको पहिलो रोजाइमा पर्ने सम्भावना बढेको हो ।

उत्तरी आयरल्यान्डसँगको खेलक्रम आफ्नै टिमका सहयात्री जोनाथन विलियम्ससँग ठोक्किएपछि पाखुरामा चोट लागेका वेल्सका कप्तान एस्ले विलियम्स बेल्जियमविरुद्धको खेलका लागि दुविधामा थिए । तर स्वान्सी सिटीका सेन्टर ब्याकको चोट सामान्यमात्र रहेको परीक्षणमा थाहा भएपछि कोलम्यानमाथि दबाब कम भएको छ । उनी बुधबार पूरा अभ्यास सेसनमा सहभागी थिए ।

स्टार खेलाडीले भरिपूर्ण टोली भएकाले शुक्रबारका लागि बेल्जियमलाई दाबेदार मानिएको छ । तर, कोलम्यान पछिल्ला वर्षहरूमा आफ्ना खेलाडीले व्यावसायिक फुटबलमा जमाउँदै आएको प्रभावका कारण धेरै चिन्तित छैनन् । ‘शुक्रबारको खेलमा दबाब उनीहरूमाथि हुनेछ । कागजमा पक्कै पनि उनीहरू हामीभन्दा ठूलो टोली हुन्, उनीहरू दाबेदार हुन्,’ कोलम्यानले भने, ‘उपाधि उनीहरूको लक्ष्य हो । उनीहरू कम्तीमा सेमिफाइनल पुग्न चाहन्छन् । त्यसले उनीहरू आफै दबाबमा आउने छन् । हामी यो खेलमा अन्डरडगको हैसियतमा छौं । तर, हाम्रा खेलाडीले आफूलाई हरेक अवसरमा प्रमाणित गरिरहेका छन् । तथापि हामीलाई धेरैले ध्यान दिएका छैनन् । यसको हामीलाई फाइदा हुनेछ ।’

 

प्रकाशित: १७ असार २०७३ ००:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App