७ वैशाख २०८१ शुक्रबार
विचार

मेसीको आत्मस्वीकृति

फुटबलमा सम्भवतः संसारकै तेस्रो ठूलो उपाधि कोपा कपबाट विमुख भएर लियोनल मेसीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गर्दा संसार स्तब्ध भयो । यता फुटबलको जमिनदार युरोपमा जारी युरो कपमा निदरल्यान्ड्स जस्तो तेजस्वी देश छनोट चरणबाटै बिदा हुनुपर्दा आइसल्यान्ड, वेल्सजस्ता साना देशले सनसनी मच्चाए । कोपा कपमा भने चिर प्रतिद्वन्द्वी अर्जेन्टिना र चिली भिड्दा मेसी नेतृत्वको अर्जेन्टिनाले गत वर्षजस्तै दुर्भाग्य झेल्नुपर्यो । गत वर्षजस्तै गोलपोस्टमा सम्पूर्ण खेलाडी पहरा दिएर ‘एन्टी–फुटबल’ को नमुना प्रस्तुत गरिरहेको चिलीद्वारा ऊ टाइब्रेकरमा ४–२ ले पराजित भयो ।

पेले र म्याराडोनापछि फुटबलको इतिहासमा सर्वाधिक प्रशंसित, लोकप्रिय र महान् खेलाडी कोही छ भने ती लियोनल मेसी नै हुन् । जब उनको खुट्टामा बल पर्छ, विपक्षी खेलाडीको हंशले ठाउँ छाड्न थाल्छ । दर्शकलाई भने उनले ड्रिबलिङ गर्दा तालसुर मिलेको आकर्षक नृत्य हेरिरहेझैँ लाग्छ । विपक्षीलाई छलाएर बल उनी यसरी घुमाउँछन्, दायाँबायाँ, अघिपछि पार्छन्, मानौँ, त्यो एउटा भूमरी हो जहाँबाट फुत्केर कुनै पनि बेला त्यसले विपक्षीको गोलपोस्टको जाली चुम्न सक्छ । कतिपयले भने उनको तुलना पोर्तुगाली स्ट्राइकर क्रिस्चियानो रोनाल्डोसँग गर्छन् (यिनलाई ‘रोनाल्डो’ सम्बोधन गर्दा अलिअघिका ब्राजिली तेज स्ट्राइकर रोनाल्डो भने ओझेल पर्छन् । यसले फुटबलको इतिहासमाथि नै अन्याय गरेको छ) । फिफा वर्ष खेलाडी चयन हुँदा पनि बारम्बार यी दुईबीच प्रतिस्पर्धा हुन्छ ।

रियल म्याड्रिडका स्ट्राइकल रोनाल्डोको तेज, सौर्य र गोल गर्ने क्षमता कम छैन । तर एक महान् खेलाडीमा हुनुपर्ने उदारता र विनम्रताका हिसाबले मेसीसँग रोनाल्डोको तुलना हुन सक्दैन । मेसी आफूमात्र गोल गरौँ भन्ने भावना राख्दैनन्, अरूका लागि पनि गोल गर्ने उपयुक्त अवसर सिर्जना गर्छन् । यही कोपा कपको सेमिफाइनलमा अमेरिकालाई ४–० ले पराजित गर्दा उनले अद्भूत खेल देखाए । आफूले एक गोलमात्र गरेनन्, गोन्जालो हिग्वाँलाई अन्य दुई गोलका लागि उपयुक्त पास पनि मिलाइदिए । यस्तै उदारता उनले बार्सिलोनाबाट खेल्दा उरुग्वेली स्ट्राइकर लुइस स्वारेज र अरू धेरैलाई देखाइसकेका छन् । रोनाल्डोमा भने यस्तो उदारता लगभग दुर्लभ छ । उनी सदैव ‘हान्ने राँगो’ को अवतारमा मैदानमा उत्रिएका देखिन्छन् ।
महानताको परिचय
पटमूर्खहरू आत्मस्वीकृति वा आत्मालोचनालाई कमजोरी ठान्छन् । तर, कमजोर मानिस आत्मालोचना गर्न सक्दैनन् । ती कमजोरी लुकाएर आफूलाई शक्तिशाली देखाउने निरर्थक प्रयास गर्छन् । खासमा यो एक खालको हिपोक्रेसी नै हो । आत्मालोचना आपूmलाई र संसारलाई चिन्न सक्ने महान् मान्छेले मात्र गर्न सक्छ । लियोनल मेसीले बार्सिलोना क्लबका लागि चारवटा च्याम्पियन्स लिग र आठवटा ला लिगा जिते । पाँच पल्ट फिफा सर्वश्रेष्ठ खेलाडी पनि भए । अर्जेन्टिनाका लागि ५५ अन्तर्राष्ट्रिय गोल गरेर उनले गाब्रियल बाटिस्टुटाको कीर्तिमान तोडे । अर्जेन्टिनाका लागि जुनियर विश्व कप र ओलम्पिक फुटबल (यु–२३) पनि जिते ।

तर, विश्व कप र कोपा कपको उपाधि भने दिलाउन सकेनन् भनेर कतिले उनलाई खिसी गरेका छन् । जिन्दगी अनेक संयोग र दुर्घटनाहरूको बृहत् ग्रन्थ हो, त्यसैगरी खेल आकस्मिक र दुखद् संयोगहरूको सम्मेलनस्थल हो । चिट चोरेर परीक्षामा धेरै नम्बर ल्याउने लद्दु विद्यार्थीजस्तै यहाँ झुर खेल्नेहरूले जित्न सक्छन् र राम्रो खेल्नेहरूले हार्न सक्छन् । युरो कपको प्रिक्वार्टल फाइनलमा अस्ट्रिया र आइसल्यान्ड अनि स्विट्जरल्यान्ड र पोल्यान्डबीचको खेल यसका पछिल्ला ज्वलन्त उदाहरण हुन् जसमा उत्कृष्ट खेल प्रदर्शन गर्ने अस्ट्रिया र स्विट्जरल्यान्ड हारेको दृश्य अत्यन्त टीठलाग्दो थियो ।

मेसी संलग्न तीनवटा कोपा कप र एउटा विश्वकपमा अर्जेन्टिना फाइनलमा पुगेको छ । सन् २००७ को कोपा कपबाहेक बाँकी सबैमा उनकै नेतृत्व थियो । यो सानो उपलब्धि होइन । उपाधि महत्वपूर्ण कुरा हो जसप्रति स्वयं मेसीकै ठूलो तृष्णा थियो । त्यसमा उनी सफल हुन सकेनन् । तर, खेल कौशल हेर्ने हो भने गत वर्ष र यस वर्षको कोपा कपमा चिलीमाथि मेसीकै अर्जेन्टिना हाबी थियो । चिली दुवै फाइनलमा खेललाई बराबरीमा रोकेर टाइब्रेकरमा पुर्याउन चाहन्थ्यो जसमा ऊ सफल भयो ।

फुटबलमा टाइब्रेकर यस्तो प्रणाली हो जसमा अक्सर शक्तिशाली टिमहरू पराजयका भागिदार हुन्छन् । राम्रा टोली र स्टार खेलाडीलाई अत्यधिक दबाब हुन्छ । पेनाल्टी सुटआउटमा चिलीका मिडफिल्डर भिदालको प्रहार असफल भएपछि मेसीमाथि अर्जेन्टिनालाई जिताउने महान् अवसर र दबाब दुवै थियो ।

तर, अत्यधिक मानसिक दबाबमा परेर उनको प्रहारले विपक्षीको गोलपोस्ट होइन, आकाश चुम्न पुग्यो । आफ्नो यही प्रहार असफल भएकामा पछुतो मान्दै मेसीले भावनात्मक आवेगमा आएर राष्ट्रिय टिमबाट संन्यासको घोषणा गर्दै आत्मस्वीकृति पोखे– ‘चारवटा फाइनलमा मैले खुब प्रयास गरेँ, सबैभन्दा बढी चाहेको र प्रयास गरेको थिएँ । मैले सकिनँ, त्यसैले अब सकियो ।’
मेसीको संन्यासबाट हाम्रा नेताले सिक्नुपर्छ भन्ने बतासे टिप्पणी पाठकपत्र र सामाजिक सञ्जालहरूमा पढ्दा हामीलाई खित्का छुट्छ । तर, त्यसको अन्तर्य केलाउने हो भने यो निकै गम्भीर कुरा हो । आफ्नो गल्ती र कमजोरी स्वीकार्नु भनेको भविष्यमा यस्तो गल्ती नदोहो¥याउने प्रण गर्नु पनि हो ।

देशका नाममा
मेसीको आत्मस्वीकृतिको प्रसंग आउँदा मलाई एक्कासि एमाले अल्पमत सरकारका एक जना मन्त्री हरि पाण्डेको सम्झना भयो । डेढ दशकअघि उनले आफ्नो ‘अपराध’ सार्वजनिक गर्दै सरकारसँग सजायका लागि निवेदन गर्दा सारा देशवासी हाँसे । उनलाई ‘हावा खुस्केको’ भनेर उडाउनु उडाइयो । तर, उनको भनाइमा जुन गहिरो पश्चातापको भाव थियो, त्यसले लाग्दैनथ्यो कि उनको आत्मस्वीकृति झुटो होस् । आफ्नो निवेदनप्रति सरकारको ध्यानाकर्षण नहुँदा प्रायश्चितस्वरूप उनले आफ्ना लागि आफैँले सजाय घोषणा गरे र भोगे पनि । जहाँ पाखण्ड श्रीखण्डजस्तो पवित्र मानिन्छ, त्यहाँ महान् आत्मस्वीकृतिहरू पागल प्रलाप नै ठहरिन्छन् ।

धूर्त र जालीफटाहाहरूले कुनै दिन थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टलाई पनि पागल करार गरिदिएका थिए । अब त हरि पाण्डे चर्चाको क्षितिजबाट अस्ताइसके । आजभोलि धूर्तहरूकै चर्चा र झुटो प्रशंसाले मिडियाको हल्लाको आकाश रंगिएको छ । राजनीतिमा होस् वा साहित्य कलाको क्षेत्रमा ।

अर्जेन्टिनी स्ट्राइकर मेसीको भावुक घोषणा जब आएको थियो, घोषणा फिर्ता लिन संसारैले उनलाई अनुरोध ग¥यो । अर्जेन्टिनी राष्ट्रपतिदेखि उनका आलोचक म्याराडोनासम्म । चिलीका गोलकिपर क्लाउडिओ ब्राभोले त मुखै फोरे– ‘मेसी संसार र इतिहासकै महान् खेलाडी हुन् । उनलाई सबैले चिनून् ।’ जब मान्छेले देशका लागि केही गर्न नसकेकोमा पछुतो गर्छ, उसको सच्चा भावना छताछुल्ल हुन्छ । मेसीको आत्मस्वीकृतिमा देशप्रति अगाध प्रेम प्रकट भएको छ । आफ्नो कमजोरी मात्र खुला हृदयले प्रकट गरे पनि धेरै हुन्छ । गल्ती र कमजोरी सच्चिने विन्दु त्यहीँबाट थालिन्छ ।
    

 

 

प्रकाशित: १७ असार २०७३ ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App