७ वैशाख २०८१ शुक्रबार
विचार

घाइते देश र चित्रबहादुर

चित्रबहादुर केसी माइक्रोबसबाट लडेर घाइते भए। टेलिभिजनको पर्दामा उनलाई अस्पताल भेट्न गएका उपप्रधानमन्त्रीलाई देखाइएको दृश्य–समाचारले म एकछिन स्तब्ध भएँ। सम्भवतः केसीलाई भेट्न उपप्रधान मन्त्री अस्पताल नपुगेका भए त्यो कुरा समाचारको विषय बन्ने थिएन वा चित्रबहादुर स्वयम् पूर्वउपप्रधान मन्त्री नरहेको भए त्यो टेलिभिजनको पर्दामा आउने नै थिएन। किनभने यस देशका कैयन् चित्रबहादुरहरू र अमुक बहादुरहरू मुलुकको यातायात व्यवस्थाको नाममा चलेको चरम अव्यवस्थाले पीडितमात्र नभएर तिनमध्ये कैयन्ले मृत्युको गाँस बन्नुपरेको दैनन्दिन घटना अहिले सहज बनिसकेको छ। तिनका नाममा गोहीको आँसु चुहाउनेसम्मको फुर्सद नभएका नेता र मन्त्रीले मुलुकको पूर्वउपप्रधान मन्त्री र पार्टी नेताको दुर्घटनामा सहानुभूति देखाउन जानु कुनै अनौठा विषय नहुन सक्छ।

 चित्रबहादुर केसीसँग मेरो पातलो चिनारी छ। उनीसँग प्रायजसो भेट हुने फुटपाथमै हो। उनी नेतागिरीका नाममा आयआर्जन गर्ने धन्दामा लागेका भए हामीसरह फुटपाथमा हिँडिरहेका हुन्थेनन् र माइक्रोबसको असह्य पीडाजनक कोचकाचमा भेटिने थिएनन्। लगभग दुई वर्षअघि उनी बालाजु हाइट जाने माइक्रोबसमा अकस्मात् भेटिए परस्पर अभिवादन गरेको एकछिनपछि उनी र मेरोबीच यात्रुहरूको बाक्लो पर्दा लाग्यो। एकपटक उकुसमुकुसिएर चिटचिट पसिना निकालेर झुलुक्क देखिएको रक्तिम मुखमण्डल मेरो बालाजु हाइटको निवास पुग्नुभन्दाअघि नै अरू कुनै बिसौनीमा झरिसकेको थियो शायद। यतिबेर मैले उनी माइक्रोबस दुर्घटनामा परेको खबर टेलिभिजनको पर्दामा देख्नासाथ त्यही दुई वर्षपहिले बालाजु हाइट जाने माइक्रोबसको असहज भिडमा देखेको उनको अवस्था र रक्तिम मुखमण्डल सम्झेँ। म त्यस्तै मानिसलाई गुन्द्रुकसरह कोचिने ढुंग्रोभित्र अहिले पनि यात्रा गरिरहेकै छु र यस मुलुकका नागरिकले सभ्य र मर्यादित बसयात्रा गर्न पाउने दिन अझै टाढाझैँ लाग्दैछ।

केसीका अगाडि अब संघीयताविरूद्ध साँच्चिकै सङ्घर्षमा जुट्ने र जनतालाई विकल्प दिनुपर्ने अवस्था देखापरेको छ। उनी त्यसका लागि तत्पर होलान्?

म यदाकदा सोच्छु, माइक्रोबसको प्रयोगको सट्टा सडकलाई नै गन्तव्य मार्ग किन नबनाऊँ? तर काठमाडौँका मुख्य केन्द्रका सडक पनि धुलो र हिलोको प्रदूषणले मुक्त छैनन्। फुटपाथको लामो यात्रा गर्नु भनेको त्यही धुलो र हिलोको प्रदूषणलाई फोक्सो र शरीरभर थापेर गन्तव्यमा पुग्नु हो। त्यसमा पनि काठमाडौँको मुख्य केन्द्रबाट २/३ किलोमिटर दायाँबायाँ हुनेबित्तिकै फुटपाथको कुरै छोडौँ, सवारी साधनको गाईजात्रा हेरिनसक्नु र बेहोरिनसक्नु हुन्छ। यहाँका महानगरबासीको हुर्मत लिने सडकहरू फुटपाथेलाई जिस्काइरहेका हुन्छन् र सवारी साधनका यात्रुलाई गिज्याइरहेका हुन्छन्। सडकलाई नै पैदल यात्राका रूपमा रोज्ने मेरो सोचाइलाई ६८ वर्षे उमेरलेे पनि चुनौती दिन थाल्छ। अनि म पनि त्यही माइक्रो बस नामको ढुङ्ग्रोभित्र कोचिन पुग्छु। हो, यसरी नै कोचाइमा पर्ने यात्रामा कतिपय बुद्धिजीवी र नेतालाई देख्छु/भेट्छु। अनि मलाई आफूप्रतिको ग्लानिभन्दा पनि तिनीहरूप्रतिको टीठले द्रवित तुल्याउँछ।

२०४६ सालभन्दा २–३ वर्षअघि काठमाडौँका सडकमा चलेका बसको भिडमा उभिएर यात्रा गरिरहेका सज्जन वृद्ध नेता मनमोहन अधिकारीलाई देखेर मेरो मनमा त्यस्तै टीठ लागेको थियो। त्यसरी नै मेरा सहानुभूतिका पात्र जननेता चित्रबहादुरलाई माइक्रोबसभित्र कोचिएको अवस्थामा भेटेर भएको थियो। आफूसरहका र आफूभन्दा निम्न आर्थिक अवस्था भएका बसमा  चढ्ने असङ्ख्य यात्रुको पीडा संगेल्ने हो भने शायद म आफँै त्यस पीडाको भेलमा कहाँ पुग्छु थाहा छैन। तिनीहरूको पीडाको समाधानका कुची पनि त मसँग छैन। कुची हातमा लिनेहरू भने यातयात व्यवसायीहरूको बाजामा नाचिरहेका हुन्छन्। त्यसैले उनीहरू यातयात सिन्डिकेट अन्त्य गर्ने गफ गरेर पनि व्यवहारमा देखाउन सकिरहेका छैनन्।

यहाँका सडकको स्थिति देखे/नदेखेझँै गरेर तिनीहरू असङ्ख्य यातयातका साधनलाई देशभित्र भिœयाउने अनुमति दिँदैछन्। काठमाडौँको ट्राफिक हेर्दा यहाँका यात्रुले १० मिनेट यात्राको बाटो पार गर्न १ घण्टामा पनि नसकिने अवस्था आइसक्यो। यातयात व्यवसायका नाममा रहेको यो अव्यवस्थाको एउटा अंशमात्र हो। जुन क्षेत्रमा जाऊँ, त्यही अवस्थाको चढिनसक्नु पहाड छ। यी र यस्ता अनगिन्ति अव्यवस्था अन्त्य हुने झिनो सङ्केत पनि कतै देखिँदैन। यस्तो अव्यवस्थाभित्र के गर्न सक्छु भनेर गएका थिए चित्रबहादुर के.सी. उपप्रधान मन्त्री बन्न? अनि उनले के समाधान पाए त्यहाँ गएर? यो प्रश्न यस लेखकको मात्र नभएर आमजनचासोको विषयसमेत बनेको छ।

नेपालमा संविधान सभाको निर्वाचन र त्यसपछिका संविधान सभाका अधिवेशनहरूमा अनि सार्वजनिक सभा, अन्तर्वार्ता आदिमा उनले आफू र आफ्नो पार्टीलाई अब्बल दर्जाको संघयिता विरोधीका रूपमा प्रस्तुत गर्दै आएका हुन्। संघीयता यस देशलाई टुत्र््कयाउने षड्यन्त्रको उपज हो भन्ने दृष्टिकोणलाई उनले निडर र स्पष्टवादी बनेर व्याख्या/विश्लेषण गर्दै आएका हुन्। तर उनी संघीयताको प्रवल पक्षधर नेकपा एमाले नेतृत्वको सरकारमा अनौठो ढङ्गमा प्रवेश गरे। के उनी सरकारभित्र पुगेर आफ्नो  संघियता विरोधी अडान र उद्देश्यमा केही उपलब्धि हुने आशयले प्रवेश गरेका थिए?

यतिबेला यस मुलुकमा एकाध कम्युनिस्ट पार्टी छन् जसले कम्युनिस्ट आचरण पालना नगरे पनि तिनले आफ्नो सानो सीमाभित्र रहेरै देशको अखण्डता, स्वाधीनता र राष्ट्रियताको पक्षमा वकालत गरेका छन् र सत्तालोलुपताको प्रदर्शनमा तिनीहरू हिच्किचाउने गरेका छन्। तिनमा संयुक्त जनमोर्चा र नेपाल मजदुर किसान जस्ता पार्टी पर्छन्। यस्तो स्थितिमा केपी ओलीको सरकारमा उपप्रधान मन्त्री बन्न पुगेका चित्रबहादुर के.सी. ले आफ्नो पार्टी संयुक्त जनमोर्चाको छविलाई जनसमुदायमा कुनरूपमा प्रस्तुत गर्ने हुन्?

वर्तमान सन्दर्भमा सत्तामा जानुलाई आफ्नो पार्टीको उद्देश्य ठान्ने र सत्तामा पुगेका मन्त्रीहरू मुलुकको भ्रष्टाचार, अपराधीकरण, माफियातन्त्र आदिका स्वार्थमा लुट्पटिन पुग्नुले पार्टी नेताहरूको चरित्रमाथि औंला ठडिइरहेका बेला संयुक्त जनमोर्चाका यी प्रमुख नेता कुन अभिप्रायले मन्त्रीमण्डलभित्र छिरेका होलान्? मुलुकको शासनसत्तामा प्रवेश गरेपछि घुमाउरो धन्दाबाट भित्र्याइएको आर्जनलाई पार्टीको वैध सम्पत्तिमा रूपान्तरण गर्ने परिपाटी नेपालका सबैजसो पार्टीमा घट्­बढ बसेको छ। कि चित्रबहादुर पार्टी सञ्चालनको आर्थिक कठिनाइलाई केही राहत दिन सरकारमा सम्मिलित भएका हुन्?

संयुक्त जनमोर्चाको दृश्यरूप चित्रबहादुर के.सी. हुन्। यसमा वषर्ैंदेखि भूमिगत रहेका र अहिले अर्धभूमिगत बनी पार्टीलाई निर्देशन दिने पुराना कम्युनिस्ट सिद्धान्तवादी नेता मोहनविक्रम सिंहको सहभागिता केपी ओली सरकारप्रति उनले लेखकहरूका माध्यमबाट देखाएको सदाशयताबाटै झल्किएको हो। यदि नेकपा एमालेप्रति संयुक्त जनमोर्चा नरम बन्दै गएको हो भने संविधानमा समावेश हुने संघीयता र त्यसमार्फत मुलुकमा बढ्ने भौगोलिक विभाजन र जातीय विखण्डनका स्थितिहरूमा पनि संयुक्त जनमोर्चा र एमालेको गन्तव्यमार्ग एउटै बन्न सक्ला?

म्ााथि उल्लिखित प्रश्नहरू नेपालका अन्य कतिपय राजनीतिक पार्टी र तिनका सत्तालोलुप नेतासामु राख्नु व्यर्थ छ। किनभने प्रत्यक्ष/अप्रत्यक्षरूपमा राज्य सम्पत्तिको दोहन गर्ने तिनको चरित्र जगजाहेर छ। भ्रष्टाचारलाई वैधानिकता दिई विभिन्न स्रोतबाट आएको आर्जनद्वारा आफूलाई शुद्ध प्रमाणित गर्ने ध्याउन्नमा ठूलादेखि सानासम्मका नेताहरू र शासकहरू ल्ाागिपरेका छन्। मुलुकको अर्थव्यवस्था त्यसै धराशायी बनेको छैन। दुई चार महिना मन्त्री वा उच्च सरकारी पद पाउनेहरू अवैध आयआर्जनको खोजीमा हुन्छन्। कालो धन्दा र तस्करी फस्टाउँदो छ। काठमाडौँका फराकिला भनिने सडकहरू पनि अरू एक­दुई वर्षमै आयातीत मोटरले गर्दा लामो जाममा पर्नेछन्। कुन आर्थिक स्रोतबाट सहरमा यतिका मोटर र बाइक भित्रन्छन्? त्यसको लेखाजोखा सरकारसँग छैन्। यस्तो अराजकतासँग लड्ने हुति देशका कुनै पनि नेतासँग छैन र लड्ने नियत पनि छैन। यस्तोमा एउटा कम्युनिस्ट पार्टीका नेता र सभासद् चित्रबहादुर के.सी. माइक्रोबसबाट लडेर घाइते भएका छन् र यसै बेला एक वरिष्ठ चिकित्सक डा. गोविन्द के. सी. अनेकौँ दुर्घटनाले घाइते भएको मुलुकको उपचारका निम्ति एक्लै जीवन­मृत्युको सङ्घर्षमा जुटेका छन्।

देश असङ्ख्य घाउले थिल्थिलिएर शरशैयामा सुतिरहेको छ महाभारतका सेनापति भीष्मझैँ। भीष्मसँग इच्छामृत्युको शक्तिसम्म त थियो तर यो मुलुकसँग त्यति पनि हैसियत नरहेझँै लाग्दैछ। यस्तो स्थितिमा देशको शिक्षा/स्वास्थ्य क्षेत्रको पीडालाई आत्मसात गर्दै मृत्युवरण गर्न तत्पर देखिएका छन् डाक्टर गोविन्द के.सी.। यही सन्दर्भमा जोडिन आइपुगेको छ संयुक्त जनमोर्चाका नेता चित्रबहादुर के.सी. को माइक्रोबसको दुर्घटनाबाट घाइते भएको खबर। उनको दुर्घटना र चोटपटक साधारण हो तर उनी घाइते मुलुक र डाक्टर के.सी. को जीवन­मरणको दोसाँधको स्थितिप्रति संवेदनशील बनेको खण्डमा उनले यस्ता साधारण दुर्घटना र त्यसको चोटपटकलाई मुलुकको अगाडि उत्पन्न भीषण दुर्घटनामा समाहित गरी डाक्टर के.सी. को पदचिह्न पछ्याउने बाटोमा अग्रसरता देखाउनुपर्ने हो।

देश उनको भाषण र व्याख्यानमा धेरै अभ्यस्त बनिसकेको छ। अब उनका अगाडि संघीयताविरूद्ध साँच्चिकै सङ्घर्षमा जुट्ने र जनतालाई विकल्प दिनेमात्र अवस्था देखापरेको छ। उनी त्यसका लागि तत्पर होलान्?

प्रकाशित: २१ मंसिर २०७३ ०५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App