७ वैशाख २०८१ शुक्रबार
विचार

समृद्धि, सभ्यता र नागरिक चेतना

राजनीतिक परिवर्तन सँगसँगै आमनागरिकको जीवनशैलीमा परिवर्तन ल्याउन आर्थिक समृद्धिको अभियानलाई पनि हाराहारीमै अघि बढाउनुपर्छ भन्ने बहस चलेको दशकौं भइसक्यो । देशमा जुनसुकै रूपको राजनीतिक परिवर्तन हासिल भए पनि विकास र समृद्धि सोहीबमोजिम अघि बढेन भने नागरिकको जीवनमा त्यसले अर्थपूर्ण प्रभाव पार्न नसक्ने दृष्टान्त नेपालभित्रै चरितार्थ भइसकेको छ ।

वि.सं. २००७ देखि अहिलेसम्मको ६६ वर्षे अवधिमा नेपाली जहाँनिया राणा शासनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मका विविध युगान्तकारी परिवर्तनका लागि पटकपटक आन्दोलनमा होमिए । अंगभंग भई घाइते बने । अनि धेरैले ज्यानकै आहुति दिए तर सबैभन्दा उत्कृष्ट शासन पद्धतिका रूपमा चर्चा गरिएको संंघीय लोकतान्त्रिक गणतन्त्रपश्चात पनि बहुसंख्यक नागरिकको जीवन भोगाई कष्टकरबाट माथि उठ्न सकेको छैन । अवसरको खोजीमा युवाहरु खाडी मुलुक प्रवेशको क्रम अझै नरोकिँदा प्रायः सबै गाउँ सुनसान र युवाविहिन बनिरहेका छन् । सहरमै पनि श्रमजीवी वर्गको अवस्था नाजुक देखिन्छ । देशभित्रै गरिखाने अवसर नजुटाइदिएको प्रशिक्षित बेरोजगारहरुको पनि राज्यप्रति चरम असन्तुष्टि छ ।

आजभोलि सुखद् संकेत के देखिन्छ भने प्रधान मन्त्रीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत प्रायः शीर्ष नेताको मुखबाट देशलाई समृद्ध बनाउने आतुरता अलि बढी नै अभिव्यक्त हुन थालेको छ । चालु आ.व.का लागि जारी भएको साँढे दश खर्बभन्दा माथिको बजेटलाई समृद्धितर्फकै यात्राको सुरुवात भनेर सरकारसम्बद्ध व्यक्ति तथा निकायबाट अथ्र्याउने गरिएको छ । विकासका लागि सिंगापुरे मोडेललाई अलि बढी पछ्याउन चाहने हाम्रा नेता लि क्वान युको उदार तानाशाही रूपबाट पनि केही हदसम्म प्रभावित हुने गरेका देखिन्छ, त्यसको छनक केही दिनअघि पुष्पकमल दाहालकै अभिव्यक्तिमार्फत पनि बाहिर आएको विषय हो ।

यसबाहेक पूर्वप्रधान मन्त्रीसमेत भइसकेका बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिको घोषणा सभामा त यस्तो लाग्दै थियो कि देशको आर्थिक समृद्धि नै उक्त दलको एकमात्र एजेन्डा हो । घोषणाबमोजिमको काम हेर्न समय लाग्ने भए पनि यसरी देशको आर्थिक सुदृढीकरण र विकासको सवाल दल तथा नेताहरुको प्राथमिकतामा पर्नु सकारात्मक पक्ष हो ।

देशभित्र समृद्धिको चर्चा चल्न सुरु भए पनि यस सँगसँगै जोडिने सभ्यताको बारेमा भने अझै बहस भएको पाइँदैन । समृद्धि र सभ्यताबीच अन्योन्याश्रित सम्बन्ध छ । देशको समृद्धि, राज्यले अख्तियार गर्ने नीति, लगानी, योजना र तत्परतामा भर पर्छ भने सभ्यता, नागरिकको व्यवहारद्वारा अभिव्यक्त हुने गर्छ । देशका नागरिक शिक्षित र चेतनशील हँुदै गए भने सभ्य चरित्र आफ्सेआफ प्रदर्शित हुन्छ भन्ने आममान्यता छ । धेरै हदसम्म यसलाई नकार्न मिल्दैन ।

तर शिक्षित र चेतनशील व्यक्तिहरुले भरिएको राजधानीभित्र सार्वजनिक स्थानमा प्रदर्शन हुने व्यवहार हेर्दा लाग्छ, सभ्यतातर्फको यात्राका लागि त हामीहरुले एक पाइलासमेत अघि सारेका छैनौं । बिहान हिँडडुलमा निस्कने जोसुकैले देख्ने कुरा हो कि सडकमा छरिएका अव्यवस्थित फोहोर हटाउन कुचिकारले अथक मेहनत गरिरहेका हुन्छन्, उनीहरुको लगन र परिश्रमबाट सफा भएको सडक राम्रोसँग नियाल्ने धोको पनि पूरा नहँुदै फेरि उस्तै कुरूप भइसकेको हुन्छ ।

आफ्नो शरीर स्वस्थ बनाउन एकाबिहानै हिँड्ने व्यक्तिहरुले समेत आफ्ना साथका फोहोर भर्खरै सफा पारिएको सडकमा फ्याँक्न लाज मान्दैनन् । जबसम्म जोकोहीले आफ्नो मन र व्यवहार स्वच्छ बनाउँदैन, जति गरे पनि तन कसरी स्वस्थ बनाउन सक्ला ? त्यस्तै सफा भइसकेको सडकमा आफ्ना घर पसलका फोहोर निकालेर थुपार्ने शैली जति असभ्य छ, शान र शौकातको प्रतीकका रूपमा घरमा पालिएका पाल्तु जनावरलाई सडकमा शौच गराउन निकाल्ने संभ्रान्तहरुको व्यवहार पनि देखिनसक्नुको हुने गरेको छ ।

सार्वजनिक सवारीमार्फत यात्राका क्रममा पनि असभ्य चरित्र प्रशस्तै देखिन्छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको निर्देशनबमोजिम प्रत्येक सार्वजनिक सवारीका साधनमा अपांंग, ज्येष्ठ नागरिक तथा महिलाका लागि केही सिट छुट्याइने गरिएको छ । लेखेरै तोकिएका ती सिट प्रयोगमा समेत निकै रस्साकस्सी मच्चिने गरेको यात्राका क्रममा देख्न÷भोग्न पाइन्छ । अक्षर नचिन्ने, नबुझ्ने यात्रुहरुले बरु आफ्नो व्यवहारमाथि संयमता अपनाउने गर्छन् तर भिडभाडको बीचमा बच्चा च्यापेर उभिएकी महिलालाई हेर्र्दै कतिपय पठित युवाहरु भने महिला सिटमा बसिरहन धक मान्दैनन् ।

विशेषगरी महिलाका लागि छुट्याइएको सिटप्रति धेरै पुरुष, त्यो पनि शिक्षित र युवाहरुको मुखबाट कटाक्ष हुने गरेको भेटिन्छ । ‘पुरुषसरह सबैथोक गर्न सक्छौं भन्ने, बसको सिटमा चाहिँ आरक्षण चाहिने ?’ जस्ता टिप्पणी प्रायः सबै यात्रामा नसुनी धर पाइँदैन । यतिमात्र हैन, धेरैजसो सवारीमा ‘महिला सिट’ भनेर लेखिएको अक्षरलाई केरमेट गरेर ‘पहिला सिट’ बनाइएको हुन्छ । सभ्य संस्कारबारे सामान्यमात्रै परिचित व्यक्तिबाट यस्ता टिप्पणी र व्यवहार सायदै हुने गर्छन् ।

उभिएर यात्रा गर्दा महिलालाई झैँ पुरुषलाई पनि कष्ट नहुने कुरा हैन तर भीडमा यात्रारत रहँदा शारीरिक तथा यौनजन्य दुव्र्यवहारका कारणले पनि महिला उत्तिकै सताइन्छन् । कमसेकम चार जना महिलाले सोही आरक्षणका कारण सुरक्षित यात्रा गर्ने अवसर पाउँछन् भने त्यसमा विरोध जनाउनुभन्दा आफूले सकेको सहयोग गर्नु मानवीय हिसावले पनि उत्तम पक्ष हो ।

देशभर सडक सञ्जाल विस्तार हुनुलाई विकासको प्रतीकका रूपमा लिइन्छ तर सबै ठाउँमा सडक सुविधा पु¥याउन नसकिएकाले नागरिकबीचको अन्तरघुलन, उत्पादित वस्तुहरुको स्थानान्तरण तथा समग्र विकासको मामिलामा देश पछाडि परिरहेको छ । यतिबेला राजधानीका सडक भने निकै चिल्ला र फराकिला भएका छन् तर सडक जति फराकिला भएका छन्, उत्ति नै असुरक्षित र अराजक पनि बनिरहेको छ, अनि दुर्घटनाका शृंखलासमेत बढिरहेका छन् ।

चालकको नियमविपरीत बेपर्बाह हँकाइ हेर्दा सडक, सवारी प्रतिस्पर्धाका लागि तोकिएको खुला मैदान हो झैँ प्रतीत हुन्छ । चालकहरुको हँकाइ यति गैरजिम्मेवार देखिन्छ कि बाटो पार गरिरहेका यात्रुहरु देख्दादेख्दै जेव्राक्रसिङमा समेत तिनीहरुको गति रोकिँदैन । जसले गर्दा वृद्धवृद्धा र स्कुले बालबालिकाको सडक यात्रा अति नै जोखिमपूर्ण हँुदै गइरहेको छ । त्यसैगरी ठूला सवारी साधनबाट महिला चालक रहेका सवारी साधनप्रतिको हेपाहा प्रवृत्तिले सडकको अराजकतालाई झनै चुल्याइरहेको छ । चिल्ला र चौडा सडकले राजधानीलाई निश्चय नै सुन्दर बनाएको छ तर तिनै सडकमा बढिरहेको बेथितिले निम्त्याएको कुरूप पक्षको नियमनका लागि जिम्मेवार निकायको ध्यान आकृष्ट हुनुपर्छ ।  
कुनै पनि व्यक्तिलाई सभ्य बनाउने कुरा रातारात या आजको भोलिमै सम्भव हुने कुरा हैन ।

यो त बाल्यकालदेखिकै आचरण र व्यवहारद्वारा प्रवर्धित हुँदै जाने विषय हो । नैतिकता, सम्मान र कर्तव्य बोधसँगै हुर्किने अवसर पाएका व्यक्तिहरु राज्यप्रति आफूले निर्वाह गर्नुपर्ने कर्तव्य के छ ? भन्नेमा समेत सजग भेटिन्छन् र उनीहरुले आफ्नो सभ्य संस्कारलाई देश, समाज, परिवार, व्यक्ति कतैतिरको सम्बन्धमा पनि चुक्न दिएका हुँदैनन् । एक कर्तव्यनिष्ठ नागरिकका रूपमा जिम्मेवारी बहन गर्न तथा जुनसुकै हितकारी कामका लागि नियम कानुनको खोजी उनीहरुको प्राथमिकताभित्र पर्दैन तर यसभन्दाबाहेकका व्यक्तिहरु लेखिएकै नियम कानुनलाई पनि नेदेखे÷नबुझेसरह टारिदिने प्रवृत्तिका हुन्छन् ।

राज्यबाट लाभ र सेवा अटुटरूपमा लिनेमात्र उनीहरुको बुझाइ हुन्छ र राज्यका खातिर गर्नुपर्ने सामान्य भूमिकाबाट समेत ती सधैँ पछाडि फर्कन्छन् । आफ्ना सबै नागरिकलाई सभ्य र चेतनशील बनाउनु राज्य र सरकारद्वारा पनि छिटै सम्भव हुने कुरा हैन तर एक नागरिकका हैसियतले राज्यका लागि गर्नैपर्ने न्यूनतम कर्तव्यलाई कडाईका साथ पालना गराउने र नगर्नेलाई जरिवाना÷सजायको परिपाटी बसाल्ने हो भने अहिले देखिइरहेका अप्रिय दृश्य क्रमशः न्यूनीकरण हुने पक्का छ ।

 

प्रकाशित: १७ असार २०७३ ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App