coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सेन्ट्रल जोनको तयारीमा भलिबल

काठमाडौं- नेपालले पुसमा एभिसी सिनियर सेन्ट्रल जोन भलिबल खेल्दा स्पाइकर सञ्जय अर्याल राष्ट्रिय टोलीमा हुने छैनन्। राष्ट्रिय टोलीबाटकरिब एक दशक खेलेका सञ्जय सुरक्षित भविष्यको खोजीमा हङकङ लागेका छन्। सञ्जयले विदेशलाई रोज्नुको दुई मुख्य कारण हुन्, घरेलु भलिबलमा सुरक्षित करिअर नदेख्नु र पछिल्लो समय नेपाली भलिबल व्यवस्थापनसँगको मनमुटाब। उपकप्तान रहेका सञ्जय र इम राना राष्ट्रिय टोलीको सबैभन्दा अनुभवी खेलाडी हुन्।

अहिले इम अनुभवी साथीबिना बंगलादेशमा हुने प्रतियोगितामा सकारात्मक नतिजा निकाल्ने लक्ष्यसहित अभ्यासमा जुटेका छन्। राष्ट्रिय टोलीमा नयाँ खेलाडीको बाहुल्यता बढिरहेको छतर सञ्जयको अभाव टोलीमा खट्किने इम बताउँछन्। नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्ने सञ्जय नेपालका नम्बर एक स्पाइकर हुन्। उनको क्विक स्पाइक र ब्लक गर्ने शैली लोभलाग्दो छ। इम भन्छन्, 'हामी सकारात्मक भएर लक्ष्य हासिल गर्ने कोसिस गरिरहेका छौं।सञ्जय नतिजामा प्रभाव पार्न सक्ने खेलाडी हुन्। उसको अभाव त पक्कै हुनेछ। टिमका नयाँ खेलाडी क्षमतावान छन् तर उनीहरूमा अन्तर्राष्ट्रिय अनुभव कमी छ।'

नेपाली टोलीमा अहिले ३४ वर्षे कप्तान इम अनुभवी खेलाडी हुन् भने २१ वर्षे भुवन कार्की कम उमेरका खेलाडी हुन्। टोलीमा आर्मी क्लबका खेलाडीको वर्चस्व छ। आर्मीका ७, पुलिसका ३ र एपिएफका २ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। तर विभागीय टोली बाहेक अन्य क्षेत्रबाट कुनै पनि खेलाडी राष्ट्रिय टोलीमा पर्न सकेका छैनन्।

नेपालले बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल दोस्रोपटक खेल्दैछ। पहिलोपटक प्रतियोगितामा भाग लिँदा नेपाल भूकम्पको पीडामा थियो। पीडामा रहेको नेपालले अन्तर्राष्ट्रिय भलिबलमा भाग लिने सम्भावना कम थियो। तर बंगलादेश भलिबल संघले आर्थिक सहयोग गरेपछि नेपालले भाग लिएको हो। सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै नेपाल फर्किएको थियो। त्यतिबेला नेपालले सुदेशकुमार रिमालको प्रशिक्षणमा प्रतिस्पर्धा गरेको हो।यसपटक जगदीश भट्टको नेतृत्वमा नेपाललेसेन्ट्रल जोन खेल्दैछ। आर्मी क्लबका प्रशिक्षक रहेका भट्टले पहिलोपल्ट राष्ट्रिय टोलीको सिनियर प्रशिक्षकमा जिम्मेवारी सम्हाल्दैछन्। अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गराइरहँदा उनलाई सहयोग गर्ने सहायक प्रशिक्षकसमेत छैन अहिले।एक्लै प्रशिक्षणको जिम्मेवारी सम्हालिरहेका भट्टले चार खेलाडीधनबहादुर भट्ट, भुवन कार्की, नरेन्द्र गिरी र ईश्वर थापालाई राष्ट्रिय टोलीमा डेब्यु गराउँदैछन्। पहिलोपल्ट भाग लिँदा नेपालले पर्याप्त तयारी गर्न पाएको थिएन। प्रशिक्षक भट्टका अनुसार यसपटक सेन्ट्रल जोनका लागि टोलीले कम्तीमा ६० दिन प्रशिक्षण गर्ने अवसर पाउनेछ।

नेपाली टोलीले लगनखेलस्थित आर्मी शारीरिक सुगठन तथा प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहेको छ।

नेपाली पुरुष टोलीले अहिलेसम्म आधिकारिक प्रतियोगिताको उपाधि जित्न सकेको छैन।तीन वर्षअघि काठमाडौंमा सम्पन्न प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा नेपालले कांस्य जितेको थियो। त्यो कांस्य नै पुरुष भलिबलले जितेको पहिलो अन्तर्राष्ट्रिय पदक थियो।

अन्तर्राष्ट्रिय अनुभव, सुविधा र अवसर कम हुनु नेपाली भलिबल खेलाडीकोप्रमुख समस्या हो। सेन्ट्रल जोनको तयारी गरिरहेको बेला मैत्रीपूर्ण खेलको अभाव रहेको बताउँछन् प्रशिक्षक भट्ट। 'हामी टोलीको समन्वय कसरी सुधार गर्ने भन्ने बारेमा ध्यान दिइरहेका छौं। प्रशिक्षण राम्रो गतिमा अगाडि बढिरहेको छ।मैत्री खेल भए राम्रो हुन्थ्यो,' उनले भने।

प्रतियोगिताको विगतको भन्दा नतिजा सुधार गर्ने लक्ष्य रहेको भट्टले बताए। उनले भने, 'यसअघि सेमिफाइनल हारेका थियौं। हामी त्यो स्थानबाट अगाडि बढ्न चाहन्छौं। तर त्यसको लागि हामीलाई साता दिनअघि बंगलादेशमा गएर प्रशिक्षण गर्ने अवसर मिले अझ राम्रो हुने थियो।'

पुस १३ सम्म चल्ने प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।

कप्तान इमका अनुसार ब्लकिङ र रिसिभ टोलीको कमजोर पक्ष हो। स्पाइकर र स्पिड बलियो पक्षमा पर्दछ। सबै विभागीय खेलाडीले भएकाले एउटै स्पिडमा खेल्न सक्ने इम बताउँछन्। तर प्रतियोगिताराष्ट्रिय टोलीका लागि नयाँ प्रयोग हुने उनको विश्वास छ। उनले भने, 'अनुवभी खेलाडीको टिममा कमी छ। नयाँ खेलाडीले टिमलाई कसरी साथ दिन्छ। त्यसले नतिजामा प्रभाव पार्छ।'

प्रतियोगिताले खेलाडीमा आत्मविश्वास बढाउने उनको आशा छ। उनले भने, 'मुख्य कुरा अवसर हो। अवसर पाए एकपछि अर्कोमा राम्रो नतिजा निकाल्ने दबाब हुन्छ। प्रशिक्षणमा मिहिनेत गरिरहेका छौं। टिममा सुधारको खाँचो छ। त्यसलाई कम गर्दै जानेछौं। विगतभन्दा राम्रो नतिजा लिएर आउने प्रयास गर्छाैं।'

खेलाडीमा इम राना (कप्तान), मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा, विजय थापा, महेन्द्र श्रेष्ठ, भैरव बम, भुवन कार्की, नरेन्द्र गिरी, देव शर्मा, इम राना, हरिहजुर थापा, ईश्वर थापा तथा प्रशिक्षकमा जगदीश भट्ट र व्यवस्थापकमा मनवीर छन्त्याल छन्।

 

प्रकाशित: २३ मंसिर २०७३ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App