१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भारतको नाकाबन्दीले ४३ अर्ब २१ करोड बचत

काठमाडौं— नेपाल आयल निगमले चालु आर्थिक वर्षमा भारतबाट ४७ अर्ब ३७ करोड २० लाखको पेट्रोलियम पदार्थको आयात गरेको छ। गत वर्षभन्दा चालु आर्थिक वर्षको पहिलो १० महिनामा ४३ अर्ब २१ करोड २० लाख रुपैयाँको कम तेल आयात भएको हो। 

गत वर्ष ९० अर्ब रुपैयाँ तेल आयात भएको भए पनि भारतीय नाकाबन्दीको कारण यो वर्ष तेल आयातमा कमी आएको हो। 

तेल आयात कम भए पनि लामो समयदेखि ऋणमा डुबेको नेपाल आयल निगमले यसै साता ऋण मुक्त हुने भएको छ । निगमले सरकारसहित विभिन्न बैंक तथा वित्तीय संस्थासँग लिएको साढे ३४ अर्ब ऋण चुक्ता गरिसकेको छ ।

भारतबाट पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास, मट्टीतेल, हवाई इन्धन) ल्याएर बेच्दै आएको निगमले ३६ अर्ब ऋणमध्ये अब डेढ अर्ब रुपैयाँमात्र तिर्न बाँकी रहेको छ । बाँकी रहेको ऋण एक साताभित्रै तिरिसक्ने निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘७० करोड रुपैयाँ शुक्रबार तिर्छौं,’ प्रवक्ता घिमिरेले भने, ‘बाँकी रहेको ८० करोड दुई÷चार दिनमा तिरेर यसै साता ऋणमुक्त हुन्छौं ।’

स्वचालित मूल्य प्रणालीमा जाने घोषणा गरेको निगमले पाँच महिनादेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरी धमाधम ऋण तिर्दै आएको हो । निगमले जुन १६ सार्वजनिक गरेको प्रक्षेपणअनुसार निगमले अहिले मासिक ८३ करोड १४ लाख रुपैयाँ नाफामा छ । निगमको प्रक्षेपणमा १५ दिनमा ४१ करोड ५७ लाख रुपैयाँ नाफा हुनेछ ।

निगमले ऋण तिरेपछि पेट्रोलियम पदार्थको मूल्य सस्तिने उपभोक्ताले अपेक्षा गरेका छन् । निगमले ऋण तिर्नको लागि उपभोक्तासँग लिँदै आएको रकम अब घटाउनुपर्ने उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिनाले बताए । ‘निगमको ऋण तिर्ने बहानामा उपभोक्तासँग अतिरिक्त रकम लिँदै आएको छ,’ उनले भने, ‘ऋण तिरेपछि मूल्य घटाउने नैतिक दबाब पर्छ ।’

निगमलाई मूल्य समायोजन गर्न नैतिक दबाब परे पनि तत्काल घटाउने सम्भाबना नरहेको आपूर्ति मन्त्रालयका अधिकारी बताउँछन् । ‘भारतमा तेल महंगो र नेपालतर्फ सस्तो भएकोले चाहेर पनि मूल्य घटाउन सक्ने अवस्था छैन,’ आपूर्ति मन्त्रालयका सह–सचिव उत्तम नागिलाले भने, ‘जनतालाई सस्तोमा पेट्रोलियम पदार्थ दिन चाहँदा पनि खुला सीमाले समस्या बनायो ।’ यता सस्तो हुनासाथ तेल फेरि उतै जाने उनले बताए ।

निगमले नेपालमा भन्दा भारतीय सीमा क्षेत्रमा पेट्रोलियम पदार्थ महँगो भएको भन्दै पाँच महिनादेखि मूल्य समायोजन गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य थपघटसँगै इन्डियन आयल कर्पोरेसन (आइओसी)ले हरेक १५ दिनमा मूल्य घटबढको सूची पठाए पनि निगमले गत माघदेखि (हवाई इन्धनबाहेक) मूल्य यथावत राखेको हो ।

सरकारले बजेट भाषणमा बूढीगण्डकी जलविद्युत परियोजनाको लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लगाउने निर्णयसँगै नाफा घटेको थियो । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३९ पैसा, मट्टितेलमा १९ रुपैयाँ ४० पैसा, ग्यास प्रतिसिलिन्डर ८ रुपैयाँ ४५ पैसा, हवाई इन्धनमा प्रतिलिटर १६ रुपैयाँ ९९ पैसा नाफा कमाउँदै आएको छ । ऋण नतिरी निगमका कर्मचारीले करिब ९० करोड बोनस खान लागेपछि चौतर्फी विरोधपछि बोनस खान रोकेको थियो ।

आयल निगमले पुँजी वृद्धि गर्ने तयारी गरेको छ । सरकारले निगमको पँुजी वृद्धि गर्न तीन अर्ब रुपैयाँ दिने भए निगमले प्रक्रिया अघि बढाएको छ । सरकारले ३ अर्ब रुपैयाँ निगमको पुँजी वृद्धि गर्ने सर्तमा निगमले बूढीगण्डकी विद्युत आयोजनामा प्रतिलिटर ५ रुपैयाँ कर लगाउन सहमति दिएको थियो । 

सरकारले तीन अर्ब पुँजी थपेपछि निगमको पुँजी तीन अर्ब ९ करोड ६७ लाखको पुग्नेछ । वार्षिक दुई खर्बभन्दा बढी कारोबार गर्ने निगमको ९ करोड ६७ लाख रुपैयाँमात्र भएको भन्दै निगमका अधिकारी विगतदेखि नै पुँजी वृद्धि गर्न माग गर्दै आएका थिए । सरकारी स्वामित्वको संस्थान भएकोले सरकारको जमानीमा निगमले अर्बौं ऋण हुँदा पनि कारोबार गर्दै आएको थियो । विगतमा घाटा सूचीको सार्वजनिक संस्थामध्ये आयल निगम सबैभन्दा धेरै १५ अर्ब रुपैयाँ नाफा कमाउने संस्थानमा सूचीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ ।  

प्रकाशित: १७ असार २०७३ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App