६ वैशाख २०८१ बिहीबार
कला

नेफ्टा अवार्डमा नाच्न राजेश हमालको तयारी

काठमाडौं– ‘रातो टिका निधारमा’ बोलको गीत बजिरहेको थियो। अभिनेता राजेश हमाल अभिनेत्री मलिना जोशीसँग कम्मर मर्काइ–मर्काइ नाच्दै थिए। उनको डान्स स्टेपले चिसिएको मौसमलाई तताइरहेको    थियो। बुधबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा डान्स रिहर्सलका लागि हमाल क्याजुअल गेटअपमा पुगेका थिए। जहाँ उनले पुस ८ गते दुबईमा हुने नेफ्टा फिल्म अवार्डमा आफूले डान्स प्रस्तुत गर्ने बताए । तर, गीतको बोल खुलाएनन् ।

‘पहिलोपटक अवार्डमा नाच्दैछु र अलग अनुभूति भैरहेको छ’, हमालले भने, ‘पोहोर व्यक्तिगत कारणले कतार जान सकिन तर, यसपटकको अवार्डलाई सफल बनाउन मेरो योगदान हुनेछ।’ उनले पर्दा पछाडि काम गर्ने प्राविधिकसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।

आफूद्वारा अभिनित फिल्मका अधिकांश पात्रहरु मजदूर, विद्रोही र श्रमिक भएकाले लाखौं नेपाली श्रमिक कार्यरत युएइमा नृत्य प्रस्तुत गर्ने कुराले आफुलाई उत्साहित र भावुक तुल्याएको समेत उनले बताए।

यता नेफ्टा अध्यक्ष पुष्कर लामाले अवार्डको अन्तिम तयारी भैरहेको बताए। ‘नेफ्टा फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने र अवार्डलाई क्वालिटी तुल्याउने काममा प्रतिबद्ध छ’, लामाले भने, ‘नेपालबाट १ सय २० सेलेव्रिटीसहितका पाहुना लगेर हामीले सभ्य र भव्य अवार्ड गर्नेछौं।’ त्यस्तै दुबईका सम्पूर्ण व्यवस्थापन जिम्मा लिएको कन्सेप्ट भिजन एण्ड फिल्म डिष्ट्रब्युसन कम्पनीका सुवाससिंह ठकुरी (अनिश)ले पाहुनको सत्कार र अवार्ड व्यवस्थापनमा कमि हुन नदिने बताए।

कलाकारहरु मलिना, करिश्मामानन्धर, सलोन बस्नेत, साम्राज्ञी शाह, अनुप, रोहित रुम्बा, रीस्ता बस्नेत, छुल्ठिम गुरुङ, मालालिम्बु लगायतले नृत्य पूर्वभ्यास गरिरहेका छन्। नेफ्टाले स्पेक्ट्रम एडभरटाइजिङ एन्ड मिडिया कन्सलट्यान्ट, कन्सेप्ट भिजनफिल्मप्रोडक्सन एन्ड डिष्ट्रिब्युसन प्रालि, इन्टरनेसनल कन्सलटेन्सी एन्ड एचआर सोलुसन र सेभेन स्टार इभेन्ट्सँग मिलेर डिसेम्बर २३ मा अवार्ड गर्दैछ। नेपाल, मलेसिया, हङकङ र कतारपछि नवौं संस्करण मध्यपूर्वको आर्थिक राजधानी दुबईमा हुन लागेको हो। अवार्डका लागि २२ डिसेम्बरमा घरेलु फिल्मको जम्बो टोली दुबई उड्दैछ।

प्रकाशित: २३ मंसिर २०७३ ०९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App